दिनेश वाग्ले
यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।
अब तपाईंले पढ्ने विवरण जापानी सिनेमा ‘चाकुसिन अरई’ मा आधारित भई बनाइएको र यसै वर्षको जनवरी ८ मा उत्तर अमेरिकामा रिलिज गरिएको हलिउड फिल्म ‘वान मिस्ड कल’ को कथा होइन। फिल्म हेर्नुस् भन्न खोजेको झनै होइन। बरु छ भने आफ्नै मोबाइल फोन हेर्नुस्, त्यहाँ कम्तीमा एउटा ‘मिस्ड कल’, तपाईं हाम्रो बोलिचालीको भाषामा ‘मिस कल’, अझ भनौं ‘मिस्कल’, आएको हुनसक्छ। हो, मिस्कल, मिस्कल, मिस्कल!
‘छुटेको’ अर्थात ‘मिस्ड’ कलको कथा हो यो। मुख्यतः त्यस्ता ‘मिस्कल’ जो ‘मिस्ड’ भा’ का होइनन्, ‘मिस्ड’ गराइएका हुन्। ‘छुटेका’ होइनन् ‘छुटाइएका’। कलकर्ता अर्थात कलरले नै छुटून्, नटिपियून्, रिसिभै नगरियून् भनि डायल गरिएका। ‘मिस’ गराउने उद्देश्यले जानिजानी दिइएका। त्यसैले यहाँ वान होइन, टु होइन, थुप्रै मिस्कलहरूको कुरा भइरहेको छ जो दिनहुँ (र रातभरि पनि) नेपाली मोबाइल बाहकहरूले पाइरहेका छन्, दिइरहेका छन्।
कुरा म बढाइचढाई गरिहेको छैन, कथाको तेस्रो अनुच्छेदमा आइपुग्दा अहिले कुनै एउटा सोमबारे रातको साढे ११ भएको छ, इयरफोन मोडमा राखिएको छेवैको मेरो फोनमा भर्खरै दुईवटा ‘मिस्कल’ आएका छन्। ती पूर्ण कल किन भएनन्? मैले तिनलाई उठाउन पाएको भए पो! एक घन्टी आउन नपाई अर्थात एआर रहमानको इन्स्ट्र्युमेन्टल ‘प्रे फर मि ब्रदर’ बज्न थालेको सेकेन्ड नबित्दै उताबाट लाइन कट्! अनि कतिबेला उठाउनु? कलरलाई मैले मेरो पैसा खर्च गरेर डायल नगरेसम्म कुरा गर्नु नै छैन। त्यसैले ती मिस्कलहरूबाट मैले बुझिदिनुपरेको छ– उताबाट मेरो खुबै सम्झना भएको या उतापटिट्का हातका औंलाहरू त्यसैत्यसै बेरोजगार भएका छन् र तिनले मोबाइललाई मसाज गरेर टाइम पास गर्ने उपाय फेला पारेका छन्। साँच्चै, नेपाली मोबाइलधारीहरूले ‘सञ्चार नै नगरी सञ्चार गर्ने’ कलामा निपुणता हासिल गरेका छन्।
लौ, लौ, लौ– नेपाली मोबाइलधारीहरूलाई मात्र त्यसको ‘जस’ नदिइहालौं किनकि ‘मिस्कल संस्कृति’ भारतमा कति व्यापक छ भने धेरै पश्चिमाले त्यो विशुद्ध भारतीय संस्कृति ठान्छन्। दक्षिण एसियाका पाकिस्तान र बंगलादेश यो उत्तिकै चलनमा छ। रुवान्डा र घानासहित अफ्रिकाका थुप्रै मुलुकमा मिस्कलको दबदबा छ, जहाँ यसलाई ‘बिपिङ’ वा ‘फ्ल्यासिङ’ भनिन्छ। स्पेनिस भाषीहरूले मिस्कललाई ‘इलामादास पेर्दिदास’ (हराएका कलहरू) भन्छन् भने इन्डोनेसियामा यो ‘मेमान्सिङ’ (माछा मार्ने) बाट पुकारिन्छ। मुख्यतः तेस्रो विश्वमा व्यापक रूपमा फैलेको नौलो सञ्चार संस्कृति ‘मिस्कल’ विकसित विश्वमा चलनमा छैन। एउटै अपवाद अस्ट्रेलिया हो, जहाँका युवाले बढ्दो रूपमा ‘मिस्कल’ गर्न थालेका छन्, जसलाई त्यहाँ ‘प्य्राकिङ’ भनिन्छ।
युगान्डादेखि नेपालसम्म मिस्कलका समर्थकहरू टन्नै र आलोचकहरू अलिअलि भेटिन्छन्। माथि उल्लेखित देशका थुप्रै तन्नेरीहरू जस्तै अधिकांश नेपाली युवाका लागि मोबाइल मिस्कल दिनै मात्र बनेजस्तो महसुस हुन्छ। त्यो ‘महसुस’ लाई नेपाली तन्नेरीहरू खुसीका साथ स्विकार्छन्। ‘दिइन्छ, धेरै दिइन्छ,’ सँगैको तस्बिरमा बायाँबाट प्रथम इन्जिनियरिङ कलेज पुल्चोकका विद्यार्थी कोशराज रिमालले आफ्नो मिस्कल बानीबारे भने– ‘दिनमा २५/३० वटा दिइन्छ।’
‘म्याक्सिमम दिइन्छ,’ कमल ओझाले थपे र आफ्ना मिस्कलको अर्थ लगाए– ‘म तिमिलाई कति मिस गर्छु भन्ने हो। (फोनै गर्न त) सेलमा ब्यालेन्स पनि हुनुपर्यो।’
‘साथीलाई क्लास भइरहेको छ भन्न’ मिस्कल दिने दीपेश पाण्डे र अरुणकुमार लामिछानेले बताए। ‘मेरो नम्बर सबैलाई थाहा नहुन सक्छ, त्यसैले मिस्कल दिएर हैरान पार्ने,’ विराट ढकालले भने। ‘विराटले मलाई हैरानै पार्यो,’ आशिषदेव पन्तले भने। ‘पैसा बचत हुन्छ,’ अञ्जना भट्टले भनिन्। ‘त्यत्तिकै सम्भि्करहेको छ भनेर (जानकारी दिन),’आस्था बिष्टले भनिन्। ‘सरले पढाउँदा झ्याउ लाग्यो भने,’ आनन्द मिश्रले भने।
दुई सयको प्रिपेड कार्डले महिनाभरि फोन चलाउनुपर्ने विद्यार्थी मात्र मिस्कलका आनन्ददायी प्रयोगकर्ता होइनन्, जागिरे, अविभावक र व्यापारीहरूले पनि त्यो निःशुल्क सुविधालाई भरपुर प्रयोग गर्ने गरेका छन्। मिस्कल एउटा आन्दोलन भएको छ, नयाँ भाषा भएको छ, जसमार्फत मोबाइलधारीहरू आपसमा सञ्चार गर्छन्। यो लहर तेस्रो–विश्वव्यापी छ र रुवान्डा होस् या नेपाल मिस्कलका प्रयोगजन र प्रकृति लगभग उस्तै छन्। माइक्रोसफ्टको भारतस्थित अनुसन्धान अफिसका जोनाथन डोन्नरले रुवान्डाको बिपिङ या मिस्कल संस्कृतिको अध्ययन गरेर ‘बिपिङका नियमहरू: नियतबसका ‘मिस्ड कलहरू’ मार्फत मोबाइल फोनमा सन्देशको आदानप्रदान’ शीर्षकको अनुसन्धानपत्र प्रकाशित गरेका छन्। डोन्नरको अनुसन्धानले तीनखाले मिस्कलहरू पहिल्याएको छ– १) कलब्याक, २) पहिले नै तय गरिएका सन्देश पुष्टि गर्ने र ३) सम्बन्धात्मक मिस्कलहरू।
‘प्राय मिस्कलहरू तत्कालै कलब्याक गरिहाल्ने अनुरोधात्मक हुन्छन्,’ डोन्नर भन्छन्– ‘तर तिनले ‘मलाई टिप्न गाडी लिएर आऊ’ या ‘म घरबाट हिँडे है’ जस्ता पहिले नै तय गरिएका सन्देशहरू पनि पठाउन सक्छन्। त्यस्तै मिस्कलले ‘म तिम्राबारे सोचिरहेको छु’ जस्ता सम्बन्धात्मक सन्देशहरू पनि प्रवाह गर्छन्।’
ती बाहेक, उल्लेख गर्नै पर्दैन, प्रापकलाई हैरान पार्न, उसको निद्रा बिगारिदिन र फोनको ब्याट्री चाँडै सिध्याइदिन पनि मिस्कलको प्रयोग हुने गर्छन्। कतिपय अफिसमा, मैले देखेको छु, मानिसहरू आफ्नो मोबाइलमा मिसकल आउने बित्तिकै अफिसको ल्यान्डलाइन खोज्न दौडिन्छन् (मिस्कल नम्बर १) ता कि कुरा गर्न पाइयोस्, आफ्नो र प्रापकको पैसा खर्च नहोस्, अफिसको चाहिँ होस्! ‘ल पुगेपछि मिस्कल दिउँला,’ मैले बसमा कत्तिपटक त्यस्तो सुनेको छु (मिस्कल नं. २)। ‘अरू केही पर्दैन यसो बेलाबेलामा मिस्कल चाहिँ दिइहरनु है,’ सुदूरपश्चिमका एकजना परिचित युवाले हालै छुट्टिने बेलामा मुस्काउँदै एउटी युवतीलाई भनेको मैले सुनें (मिस्कल नं. ३। यो एसएमएस तपाईंले पाउनुभएको छ, छैन कुन्नि? ‘तिम्रो मिस्कल मेरो मुटुको घड्कन हो, त्यसैले प्लिज मेरो मुटुलाई धड्काइराख!’
निर्दयी भएर खुलस्त हुनुपर्दा मलाई मिस्कल पटक्कै मन पर्दैन। त्यसको अर्थ मैले मिस्कल दिँदैदिन्न भन्ने होइन। सबैभन्दा बढी मिस्कल म त्यतिबेला दिन्छु जब मैले प्रापकलाई एसएमएस पठाएको हुन्छु र त्यो नेटवर्क समस्याका कारण डेलिभर भएको हुँदैन। त्यो अवस्थामा प्रापकलाई मिस्कल दियो भने मेरो अनुभव छ, धेरैजसो अवस्थामा नेटवर्क खुल्छ र छिटोमा केही सेकेन्डमै मेसेज डेलिभर हुन्छ।
नेटवर्कको प्रसंगमा त्यो घाटाको कुरा आउँछ, जो फोन कम्पनीहरूलाई मिस्कलले दिलाएका हुन्छन्। नेपाली फोन कम्पनीहरू मिस्कलबारे उति जानकार नभएको आभास मिल्यो। सबैभन्दा ठूलो नेपाल टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक लोकराज शर्माले मिस्कलबारेको प्रश्न सुन्न नपाउँदै ‘उहाँलाई थाहा हुन्छ, भेट्नुस्’ भन्दै एकजना इन्जिनियरको नाम लिए। ती इन्जिनियरले मिस्कलबारे यसअघि नसोचिएको र तथ्यांक फेला पार्न मुस्किल हुनसक्ने बताए। ती इन्जिनियरका हाकिम लोचनलाल अमात्यले इमेलमा मेरा प्रश्नहरू लिए तर त्यसको जवाफ दिने आवश्यकता देखेनन्। बरु मैले उनलाई गरेका दुईवटा कल उनले नउठाएका कारण मिस्कल भए! उनलाई प्रश्नहरू सम्झाउँदै पठाइएको एउटा एसएमएस डेलिभर त भयो तर तिनले प्रतिक्रिया जनाएनन्। मेरो मोबाइलकी सोमा थापाले उनको कम्पनीको नेटवर्कमा हुने मिस्कलका तथ्यांकबारे मेरा प्रश्नहरू इमेलमा त लिइन् तर त्यसपछि मैले उनलाई गरेको कल मिस्कलमा परिणत भयो।
अफ्रिकी मुलुकहरूका फोन कम्पनीहरूले मिस्कलले पुर्याएको क्षतिको आकलन गर्दै ग्राहकलाई बेखुसी नपार्ने र नेटवर्क पनि फोकटमा व्यस्त हुन नदिने उपाय खोजेका छन्। तान्जानियामा भोडाफोनले आफ्नो नेटवर्कको एउटा ग्राहकले अर्कालाई ‘मलाई कल गर’ भन्दै दिनमा तीनवटासम्म एसएमए पठाउन सक्ने सुविधा दिएको छ ताकि ग्राहकले मिस्कल गरेर नेटवर्क व्यस्त नराखिदिऊन्। जमैकामा पनि त्यस्तै छ भने घानाका मोबाइल कम्पनीले मिस्कल घटाउने उद्देश्यले ग्राहकहरूलाई कहिले र कतिसम्म फ्ल्यास (मिस्कल) गर्ने भन्ने चेतानमूलक अभियान चलाउँछन्।
नम्बर डायल गरेर उतापट्टिको फोनको घन्टी बजाउँदा मात्रैका लागि प्रयोग हुने प्रविधि, सफ्टवेयर, फ्रिक्वेन्सी र स्पेक्ट्रम खर्च पनि उच्च हुन्छ, जसले फोनगराइलाई महँगो तुल्याएको हो। त्यही कल एउटाबाट अर्को नेटवर्क (उदाहरणका लागि मेरोबाट एनटी) मा जाँदा झन् महँगो पर्छ। त्यसैले घन्टीमात्रै बज्यो तर कुरा भएन भने कम्पनीको खर्च हुन्छ तर आम्दानी हुँदैन। निश्चयै कम्पनीले कल शुल्क कायम गर्दै त्यस्तो सम्भावित खर्च पनि सामेल गरेका हुन्छन्, एउटा वेबसाइटले लेखेको छ तर के त्यस्तो अनावश्यक खर्च नभएको अवस्थामा कम्पनी कलदर घटाउने सक्ने अवस्थामा हुने थिएन र? ‘मिस्कलको अर्काे प्रभाव नेटवर्क जाममा देखिन्छ, जसले आवश्यक परेर कल गर्न खोज्नेहरूलाई निराश पार्छ,’ साइट भन्छ।
मोबाइलमा हुने आएका र गएका कलको रेकर्ड राख्ने सुविधा, ठेगाना पुस्तिका, प्रिपेड ब्यालेन्स प्रणाली आदिले मिस्कल गर्न र तिनको व्यवस्थापन सजिलो तुल्याएको हो। मिस्कलहरू त्यस्ता सञ्चार हुन्, जसमा कुनै शब्द या वाक्यको प्रयोग हुँदैन, पैसा लाग्दैन र तिनको अर्थ प्रायः ती कुन सन्दर्भमा दिइएका छन् भन्नेमा भर पर्छ। त्यस्तै कतिपटक र कति लामो समयसम्म दिइएको छ भन्नेले पनि मिस्कलको अर्थ राख्छ। आपसमा अपरिचितहरूबीचका भन्दा परिचतिहरूबीचका मिस्कल प्रभावशाली हुन्छन्। प्रापकको फोनमा कलरको नाम र नम्बर उल्लेख छ भने प्रापकले केही न केही सन्देश पाउन सक्छ, नम्बर छैन भने त कसले गर्यो कसले भइहाल्छ। ‘नचिनेकोबाट मिस्कल आउँदा (कलब्याक) गरूँगरूँ लाग्छ,’ अरुणले भने– ‘कलब्याक गर्दा केटी रहिछे भने रमाइलो लाग्छ।’ ज्योतिले थपे– ‘क्लासबाहेकको केटीले मिस्कल गरेको भए खुसी लाग्छ।’
तस्बिरमा देखिएका सबै तन्नेरीसँग मोबाइल छन् र सबैले मिस्कलको खुलेर प्रशंसा गर बचाउ गरे। उनीहरूले मिस्कलबाट धेरै फाइदा लिएको उल्लेख गर्दै त्यो कदाचित् बन्द भएमा आफूहरूलाई नोक्सान हुने, सञ्चारमा सीमितता आउने बताए। ‘बिहान पाँचै बजे उठिन्छ। त्यसैले साथीहरूलाई मिस्कल दिइन्छ,’ आस्थाले भनिन्। ‘आस्थाले मिस्कल दिएपछि बेलैमा उठिन्छ,’ ज्योति लम्सालले भने। सित्तैमा मिलेको सुविधालाई नरुचाउने कमै हुन्छन्। तीनैमध्येका एक हुन् बाबा पाजिरो।
‘मलाई जतिबेला पनि ‘बिप’ (मिस्कल) गरिरहने र उनीहरूलाई कल गर्न बाध्य पार्ने मेरा तथाकथित साथीहरूदेखि रिस उठेको थियो,’ युगान्डाको ‘द विक्ली अब्जर्भर’ मा स्तम्भकार बाबा पाजिरोले लेखेका छन्– ‘कहिलेकाहीँ कसैले मलाई बिप गर्नु बुझ्न सकिने कुरा हो। मेरो समस्याचाहिँ के भने कति धेरै युगान्डेलीहरू– सांसदहरूदेखि वरिष्ठ सैनिक अधिकारी र कम्तीमा एकजना सरकारी मन्त्री–ले ‘बिपिङ’ लाई व्यवसाय बनाएका छन्।’
नेपाली मोबाइल समाजमै पनि अनुभव गर्ने कुरा हो, जो जोनाथन डोन्नरको अनुसन्धानले पनि पहिल्याएको छ– मिस्कलका पनि नियमहरू हुन्छन्, जो लेखिएका त हुँदैनन् तर तिनको पालना प्रायः गरिएको हुन्छ। ‘जे पनि धेरै भए नराम्रो हुन्छ,’ अरुणकुमार लामिछानेले भने– ‘लिमिटमा भएको राम्रो।’ कमलले थपे– ‘सताउने हिसावले होइन, सम्भि्कने किसिमले गर्नुपर्छ।’ डोनरको अनुसन्धानले पहिल्याएका मिस्कल नियमहरू यस्ता छन्–
१) कलब्याक मिस्कल बढी पैसा भएकालाई– दूरसञ्चार विशेषज्ञ एन्ड्र्यु डाइमोन्डले यसलाई ‘धनीले तिर्छ’ नाम दिएका छन्। घानामा फर्किएपछि ‘न्क्रुमाह–बोटेङ्ले आफ्नी भतिजीबाट यो निमयबारे जानकारी पाए। ‘मेरो अस्पष्टताबारे चालपाएपछि ऊ हाँसी र बिस्तारै त्यसबारे मलाई बताई। म भर्खरै विदेशबाट फर्केकाले स्वत अनुमान गरिएको थियो कि (मसँग धेरै पैसा छ र) म उनलाई कलब्याक गर्न सक्षम छु। कर्मचारी र रोजगारदाता अर्को उदाहरण हुन्। सामान्यतः कर्मचारीले हाकिम या रोजगारदातालाई मिस्कल दिन्छन् र कलब्याक पाउँछन्।
२)ब्यालेन्स सकिएपछि साथी र परिवारलाई मिस्कल– एकअर्कालाई विश्वास गर्ने र प्रायः कल गरिरहने बराबरीका माझ ‘धनीले तिर्छ’ लागू हुँदैन। त्यस्तोमा चाहिँ एउटाको ब्यालेन्स सकिए उसले अर्कोलाई मिस्कल दिने भन्ने समझदारी हुन्छ। पती–पत्नीले पनि त्यस्तो गर्छन्।
३) कसैबाट काम लिनुछ भने मिस्कल नदिने– कुरा सीधा छ, काम पनि लिनु छ अनि फोन पनि उसैलाई गर्न लाउने? नेपाल जस्तो चाकरी प्रथा भएको मुलकमा झन् त्यो नियम प्रस्टसाथ लागू भएको देखिन्छ। ‘आधुनिक घानामा मिस्कलको आयामिकता मान्छेको आर्थिक अवस्थ्ा, लिंग, कलर र प्रापकको सम्बन्धको प्रकृतिमा भरपर्ने टुंगोमा म पुगें। यदि व्यापारी हुनुहुन्छ भने आफ्नो ग्राहकलाई मिस्कल दिएर तपाईं आफ्नो इज्जत धुमिल्याउन चाहनुहुन्न। आत्मसम्मान भएको कुनै पनि पुरुषले आफ्नी प्रेमिका या पत्नीलाई मिस्कल गर्ने सपनामा सम्म देख्दैन भलै त्यो फोन नै उसले प्रेमिका या पत्नीलाई किनिदिएको किन नहोस्।’ कुनै युवतीलाई फकाउनु छ भने त उसलाई मिस्कल गर्दै नगर्ने, जोनाथन लेख्छन्। जाबो एककल फोनै पनि गर्न नसक्नेसँग कुन केटी आउली!
४) अतिचाहिँ नगर्ने ल ब्रो– यसबारेमा अरुण र कमलले माथि नै भनिहाले।
नवीनताको सिद्धान्तअनुसार प्रविधिलाई मानिसले आफ्नो सुविधाका लागि तोडमरोड गर्नसक्छ। तर मिस्कलको हकमा प्रविधि आफैंलाई बदल्ने भन्दा पनि त्यसैको सेरेफेरोमा आधारित भएर मानिसहरूले प्रस्ट सामाजिक अभ्यासहरू सिर्जना गरेका छन्। नोकियाको देश फिनल्यान्डमा धेरै पहिले टिनेजरहरूले मिस्कल जस्तै ‘बम कलिङ’ गर्थे, जो पछि ठूलाले जिस्काउन थालेपछि हराउँदै गयो। ‘अहिले दूरसञ्चार सेवाहरूमा विश्वका व्यापक जनसमुदायको पहुँच बढेकाले बिपिङ, फ्ल्यासिङजस्ता नामसँगै मिस्कलको चलन पनि बढेको हो,’ कन्सल्टेन्सी संस्था गामोसको एउटा अनुसन्धानले भनेको छ– ‘जुन नाउमा जस्तो सन्देशका आदानप्रदान भए पनि मिस्कलको मुख्य उद्देश्य बढ्दो आर्थिक कठिनाइको माझमा पैसा बचाउनु हो।’ अर्का अनुसन्धाता थप्छन्– ‘हालैका वर्षहरूमा मोबाइल फोनको बजारको धेरैजसो वृद्धि विकासोन्मुख देशहरूमा भएको छ, जहाँ प्रयोगकर्ताहरूको आम्दानी ठीकठकिैको मात्र छ र ग्राहकहरूले मोबाइल ल्यान्डलाइनको विकल्पको साटो आफ्नो पहिलो (र एकमात्र) फोनका रूपमा किनिरहेका छन्। आर्थिक कठिनाइमा रहेका हुनसक्ने त्यस्ता नयाँ ग्राहकले मिस्कल दिई नै रहनेछन्।’
मिस्कलबारे कुनै प्रतिक्रिया? यसपालि इमेल होइन एसएमएस गर्नुस् ९८५१०६७००५। कृपया नो मिस्कल!
dinesh bro,
ek dum ramro lagyo………
i like ur writing style…..full of research ……as well
i like how u convert small incidence in a big story in a exciting way…
LikeLike
I agree with Ishwar…
LikeLike
Very interesting write up and new develpment of communications in non-developed countries.
Deepak Bista, Australia.
LikeLike
aaba bhannus dinesh dai tapailai kattiko miss call aayo tyo din tapaile email hoina post paid number chappnu bhako thiyo..hoina ra???
LikeLike
I give miss call to make my loved ones realise that i am thinking about them yet i could find no words to express the feelings.
In such case a call would be a waste while a missed call would convey so much more……………….
So, Mr. respect those missed calls as they might have deeper intentions.
Jokes apart,
your article was flawless………….keep writin n we promise to keep reading
LikeLike
misscal dine bani nai chai ramro hoina tara kahele kahi miscal dinu bhaneko samjheko bhanne bujhanu parcha hoina ta mitra haru
LikeLike
हेर्नुस न दिनेश सर, तपाईको यो लेख पढेपछि miscall दिनु नराम्रो हो भन्ने कुरा त थाहा भयो, तर किन हो किन यो मन नै मान्दैन भन्या, miscall दीन मन लागिहाल्छ, के गर्नु सर यो पापी मनलाई सम्हाल्नै सारै गारो पर्दोरहेछ, तैपनी ठीकै छ, अबबाट माँ मेरो मनलाई सम्हालने कोशिश गर्छु है त .
LikeLike