दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।
चित्र स्रोत
त्यो निम्ता रंगीन डोरीले बाँधिएको गाढा रातो खाममा आएको थिएन। त्यसमा लामो भूमिका बाँधिएको पनि थिएन। ‘विषय’ भागमा कालो बोल्ड अंग्रेजी अक्षरमा प्रस्ट लेखिएको थियो– ‘दीनबन्धु लंकेशले तपाईंलाई हाई फाइभमा साथी बन्न अनुरोध गरेका छन्।’ त्यसमा क्लिक गरेपछि देखिने मूल भागमा दीनबन्धुले सारमा यस्तै भनेका थिए– उनले हाई फाइभमा प्रोफाइल बनाएका छन् र मलाई साथीका रूपमा थप्न चाहन्छन् ताकि हामी तस्बिर साझेदारी गर्न सकौं र हाम्रो सञ्जाल बनाउन थालौं। पहिला म हाई फाइभमा सामेल हुनैपर्छ, त्यसमा भनिएको थियो, जसबाट मलाई प्रोफाइल बनाउन, तस्बिरहरू साझेदारी गर्न र साथीहरू खोज्न मौका मिल्नेछ।
दीनबन्धु लंकेश– क्या नाम छ है! – काल्पनिक हो तर मेरो इन्बक्समा त्यो ‘अनुरोध’ पठाउने व्यक्ति मेरा निम्ति त्योभन्दा वरका होइनन्। तिनलाई चिनेको छैन, मित्रता प्रस्ताव कसरी स्विकार्ने? हुन त मित्रता नचिनेकैसँग गरिन्छ क्यारे तर माई स्पेस, फेसबुक र हाई फाइभजस्ता सामाजिक सञ्जाल साइटहरूको बढ्दो लोकप्रियताले अमेरिकाजस्ता इन्टरनेटले व्यापकता पाएका देशमा ‘व्यक्तिका कतिजनासम्म साथी हुन सक्छन्’ र ‘ठ्याक्कै साथी भन्नाले को’ जस्ता विषयमा विवाद सुरु भएका छन्। त्यसबारे अलि तल लेखौंला।
त, म इमेल चेक गर्दै थिएँ। त्यो एउटा गजबको अनुभव हो। एउटा जबर्जस्त चासो हुन्छ– इन बक्समा के होला भन्ने। युजरनेम बक्सामा आफ्नो नाम र त्यसपछि पासवर्ड– त्यो त यहाँ किन लेख्थे नि दैव!– फ्याट्ट टाइप गरेपछि इन बक्स ह्वात्तै खुले नपढिएका ‘बोल्ड’ इमेलहरूमा सीधै आँखा पुगिहाल्छन्। कनेक्सन स्लो पर्यो र जिमेलद्वारा प्रबन्धित यसै लेखको अन्त्यमा दिइएको मेरो इमेल इन बक्स लोड गर्न समय लाग्यो भने हुटहुटी झन् बढ्छ। त्यस्तो तीव्र उत्सुकताबीच खुलेको इन बक्समा दीनबन्धु लंकेशका जस्ता ‘फोकटिया सन्देश’ देखेपछि कन्सिरीका रौं नताते के तात्छ? नेपोलियनले भए युद्ध छेड्थे होलान्। फ्याट्टै बेहोसै नपारे पनि इन बक्सको पहिलो दर्शनले कतिपय मान्छेमा थरीथरीका प्रतिक्रिया उत्पन्न गराउँछ। एकदिन अफिस सुरु हुनै लाग्दाको बखत पत्रिकाका मेरा सहकर्मीले सिनित्तको इन बक्स देखेपछि बडो विरक्तिँदै सारमा यस्तै टिप्पणी गरेका थिए– ‘यार यसरी खाली इन बक्स देख्दा मेरो मुढ पूरै खराब हुन्छ, दिनै बिग्रेजस्तो हुन्छ। मेरा कोही छँदैछैन जस्तो लाग्छ। यत्रो रातभरिमा यत्रो संसारभरिबाट मलाई कसैले अलिकति पनि नसम्भि्कए जस्तो लाग्छ।’ उनलाई सान्त्वना दिने शब्दहरू मसँग थिएनन्। त्यतिबेला दीनबन्धु लंकेशले हाई फाइभमा एकाउन्ट खोलिसकेका थिएनन्।
बृहत् नेपाली शब्दकोश या ‘शब्दसागर’ मा दर्ता भइसकेको शब्द होइन होला यो तर इन्टरनेटका सिटिजन (नागरिक) लाई ‘नेटिजन’ भनिएजस्तै नेटका नेपालीलाई ‘नेटपाली’ भन्नैपर्छ भन्ने मेरो विनम्र दाबी हो। हाई फाइभमा दीनबन्धु लंकेशले भन्दा सात वर्ष जति अघि खोलिएका दुईवटा र माइस्पेस, अर्कुट, फेसबुक, फ्रेन्डस्टर, लिंक्डइनलगायत थुप्रै सञ्जालहरूमा कम्तीमा एक–एकवटा एकाउन्ट तथा अन्य थुप्रै वेबसाइटमा दर्ता भएका युजरनेम र पासवर्ड मेरो नेटपाली नागरिकताका प्रमाण हुन्।
प्रमाण त हुन् तर तिनको प्रबन्धन गर्न मलाई आच्छुआच्छु पर्छ। न्युयोर्क टाइम्सको वेबसाइटमा मेरो युजर नेम र पासवर्ड के? वासिङ्टन पोस्टकोमा? गार्जियनमा? अनि मासाचुसेट्स इस्टिच्युट अफ टेक्नोलोजीका प्रेस जर्नलका लागि मैले के युजरनेम र पासवर्ड राखेको थिएँ? मेरो अफिस–इमेलको पासवर्ड? हटमेलको? याहुको? मेरा आफ्नै वेबसाइटहरूका लग–इन विवरण? इन्भेस्टमेन्ट बैंकको वेबसाइटको मेरो एकाउन्ट पासवर्ड? खुर्र्र्र्ईईईईय! कस्तो थकाइ लाग्यो। ‘त्यसलाई लग–इन थकान भनिन्छ,’ फ्रिल्यान्सस्विच.कममा कोलिस ताइत लेख्छन्– ‘औंला या आँखालाई पासवर्डका रूपमा प्रयोग गरिने बायोमेटि्रक प्रणाली साइन्स फिक्सनबाट हाम्रा किबार्डमा नओर्लिएसम्म या ओपन आईडी प्रणालीले मूलधारको स्वरूप नलिएसम्म त्यो थकान झन बढ्ने छ।’
त्यसो भए सबै साइटका लागि एउटै युजरनेम र पासवर्ड राखे भइहाल्यो भन्ने तर्क गर्न सकिन्छ तर त्यसमा निश्चित खतरा छन्। कसैगरी त्यो पासवर्ड ह्याक भए? अरू त्यस्तै हो बैंक वेबसाइटको युजरनेम–पासवर्ड ह्याक भए एकाउन्टभन्दा पनि पैसा पो चट् हुन्छ! लग–इन थकानबाट बच्न एउटा गोप्य इमेल ठेगाना खोल्ने, त्यो कसैलाई पनि नभन्ने र त्यसलाई प्रायः एकाउन्टहरूमा वैकल्पिक इमेलका रूपमा प्रयोग गर्ने उपाय हुनसक्छ। इमेलका बहु–एकाउन्ट प्रबन्धन गर्न चाहिँ हालैका वर्षमा केही सजिलो भएको छ। जस्तो– साइटमा दर्ता हुने, इन्टरनेट ग्रुपका सन्देश पढ्ने या अन्य विविध प्रयोजनका लागि मेरा कम्तीमा १५ वटा इमेल ठेगाना होलान्, जसलाई मैले जम्मा दुईवटा ठेगानामा लग–इन गरेर चेक गर्नसक्छु। मेरो प्रिय इमेल सेवा जीमेलले एउटा एकाउन्टमा आएको इमेललाई स्वतः अर्कोमा फरवार्ड गर्ने सुविधा प्रदान गर्छ। त्यसमा भएको ‘लेबलिङ’ सुविधाबाट इन्बक्सलाई चाहेझैं वर्गीकृत गर्न सकिन्छ। हटमेल र याहुले पनि स्वचालित फरवार्डिङ सेवा थालेकाले दिनहुँ तिनकै वेबसाइटमा लग–इन गरिरहनुपर्ने बाध्यता हटेको छ।
विश्वको १२ औं गरिब यो देशका जनताको इन्टरनेटमा सहज पहुँचका निम्ति कम्प्युटर र बिजुलीको उपलब्धतादेखि फोन सञ्जाल र आर्थिक क्षमतासम्मका थुप्रै चुनौती छन्। तैपनि बितेका थुप्रै वर्षमा नेटपालीहरूको संख्या बढिरहेको छ। मैले दिनमा पाँचवटा जस्तो हाई फाइभ–फेसबुक–वेवान (नेपाली सञ्जाल साइट) का अनुरोध पाउनु त्यसैका द्योतक हुन्। तर दीनबन्धु लंकेशजस्ता नेटपालीको बेतुकका निम्ता या फरवार्डिङ इमेलबाट बच्नचाहिँ व्यापक चेतनाकै आवश्कता हुन्छ। इमेल सञ्चारका निश्चित नियम र बानीबेहोरा हुन्छन्। पाएँ भन्दैमा ठेगाना पुस्तिकामा भएजति सबै इमेल ठेगानाहरूमा त्यो सन्देश पठाउनु कत्तिको उपयुक्त हो? अनि केही नेटिजनहरूको अन्धविश्वासको सिकार अरूले किन हुनुपर्ने? दुई साताअघि एउटा इमेल आयो, विषय बक्सामा ‘तस्बिर ध्यानपूवर्क हेर्नु’ लेखिएको थियो। राधा–कृष्णको हो कि क्या हो फोटो तर इमेलमा यस्तो सारमा पनि लेखिएको थियो– ‘अर्जेन्टिनाका राष्ट्रपतिले यसलाई जंकमेल ठानेको आठ दिनपछि उनका छोरा मरे। एक व्यक्तिले यसलाई तत्कालै अरूलाई फरवार्ड गरे। तिनले चिट्ठा जिते। खै कसले हो कुन्नि चाहिँ फोटोको प्रति बनाउन सेक्रेटरीलाई दिएछन्, सेक्रेटरीले बनाइन् तर उनीहरूले बाँड्न बिर्सिए। सेक्रेटरीको जागिर चट्, हाकिमले परिवार गुमाए। यो ‘जादुमयी र पवित्र’ तस्बिरलाई १३ दिनभित्र २० जनालाई फरवार्ड गर्नु!’
त्यस्तो ‘धम्कीपूर्ण’ इमेलबाट कुन अन्धविश्वासी नेटिजन नतर्सिएला? त्यो इमेल एकअर्कालाई फरवार्ड गर्नेमा जिल्ला विकास समिति महासंघ नेपालको वेबसाइटमा इमेल हुने महासंघका कर्मचारीदेखि काठमाडौंस्थित राष्ट्रसंघीय निकाय युनिफेम (प्रोग्राम कोअर्डिनेटर!) सम्मका कर्मचारी रहेछन्। तिनले त्यो इमेल फरवार्ड गर्ने समय कुनै उत्पादनशील काम गरेको भए केही फाइदा हुन्थ्यो होला कि? एउटा अनुसन्धानले अनावश्यक इमेलहरू हेर्न लाग्ने समयको बर्वादीले अमेरिकी अर्थतन्त्रमा अर्बौं डलर घाटा पुर्याएको पत्ता लगाएको छ। अर्को कुरा कसैले धेरै व्यक्तिलाई पठाएको इमेलको जवाफ प्रेषकलाई दिने हो भने रिप्लाई बटन मात्र थिचे पुग्छ, किन ‘रिप्लाई टु अल’ बटन थिचेर अरू प्रापकहरूलाई पनि जवाफ पठाउनु र ती प्रापकको समय बर्दाद गर्नु? झन् अर्को कुरा, कार्ड किन्न पैसा पनि लाग्दैन, लेख्न मसी पनि चाहिँदैन भनेझैं गरी नचिनेकालाई किन दसैं या क्रिसमसको शुभकामना पठाउनु? कि कसो दीनबन्धु लंकेश?
प्रायः सामाजिक सञ्जाल साइटहरूमा दर्ता गर्नेबित्तकै प्रयोगकर्ताको हटमेल, याहु या जिमेलजस्ता वेबमा आधारित इमेल सेवाका एड्रेस बुकमा भएका सम्पर्कहरू त्यो सञ्जालमा पहिल्यै भए नभएको हेर्न र नभएकालाई निम्त्याउने छनोट मिल्छ। दीनबन्धु लंकेशले त्यही सुविधाको प्रयोग गरेर त्यो निम्ता मेरो इन बक्समा पठाएका हुन्। कसोकसो म उनको एड्रेस बुकमा थिएँ। फेरि उही सुरुकै प्रश्नहरू– ‘व्यक्तिका कतिजनासम्म साथी हुन सक्छन्’? ‘ठ्याक्कै साथी भन्नाले को’? फेसबुक र माइस्पेसजस्ता साइटमा ‘साथी’ को अर्थ के? त्यसको प्रकृति के? ती साइटका ‘साथी’ सँग कुन हदसम्म मित्रवत् हुने? त्यस्तै प्रश्न इस्ट्यान्ट मेसेन्जरहरूमा जोड्न अपरिचतहरूका सन्दर्भमा पनि लागू हुन्छ। लेखको अन्त्यमा दिइएको मेरो ठेगानाले एमएसएन, जीमेल, याहु र एआईएमका मेसेन्जरमा मेरो प्रतिनिधित्व गर्छ। तर त्यसमा नचिनेकालाई पनि जोड्दा त्यो च्याट वातावरण सार्वजनिक च्याट रुमको भन्दा फरक कसरी होला?
अमेरिकी कलेज विद्यार्थीहरू लक्षित गरी खोलिएको फेसबुकमा सुरुवाती समयमा अफलाइन चिनजान भएकाले मात्र एकअर्कालाई अनलाइनमा ‘साथी’ का रूपमा जोड्ने गर्दथे। फेसबुकले सकेसम्म नचिनेकालाई साथी नबनाउने नीतिको प्रवर्द्धन गर्दै पाँच हजारभन्दा बढी ‘साथी’ बनाउन दिँदैन तर माइस्पेस त्यसको सीमा छैन। त्यसैले त्यहाँ ‘बिराला’ पनि साथी हुन सक्छन् र त्यो साइटमा एकजना प्रयोगकर्ताका २० लाख ‘साथी’ छन्। दुई वर्षअघि फेसबुक विश्वव्यापी रूपमा सबैका लागि खुला गरिएपछि त्यसको सदस्यता ह्वात्तै बढेको छ (संस्थापक २३ वर्षे मार्क जुखेनबर्ग अर्बपति भएका छन्) र विश्वभरिबाट मान्छे त्यसमा दर्ता भएका छन्। खुलेकै साता म त्यसमा दर्ता हुँदा अफलाइनकी मेरी अमेरिकी साथीले बधाईको लवजमा भनेकी थिइन्– ‘लौ, तिम्रो पनि बेला भयो फेसबुकमा आउने!’
धेरैले अनलाइन मित्रतालाई अफलाइनकै निरन्तरताका रूपमा लिएको पाइन्छ, जसमा म लगभग सहमत हुन्छु। त्यो सजिलो पनि हुन्छ। कहिल्यै नभेटेको, नदेखेको, नबोलेको, इमेल पनि नगरेको व्यक्तिलाई कसरी आफ्ना निजी सूचनाहरूसमेत देखिने प्रोफाइलमा पहुँच हुनेगरी साथीका रूपमा जोड्न सकिन्छ? आखिर सबै व्यक्ति एमी वेइनहाउस या क्रिस्टिना अगुलेरा पनि होइनन्, जसले माइस्पेसका ‘साथी’ लाई आफ्ना एल्बम क्रेताका रूपमा लिऊन्। त्यसैले म दिनहुँजस्तो ‘दीनबन्धु लंकेश’ हरूको हाई फाइभ–फेसबुक–माइस्पेस र गत साता पहिलोपटक पाएको ‘जेबो’ निम्ता अस्विकार गरिरहेको छु।
hi net-agle
LikeLike
seems like you’ve got a new nick-name from reality bites!!
I read your article, it was nice… beautifully justified. But as I am a user of facebook myself, I believe, it’s somewhat okay. I get to connect with friends I had lost contact long years back… that is my school-friends who are abroad… it’s okay if we utilise it in a proper way, that is only adding friends whom we know and can trust to share our profile with. Yeah, it gets on my nerves when unknown persons’ invitation to accept friends keep flooding my inbox. However, the choice is mine, whether to accept or simply ignore such invitations!! 🙂
LikeLike
too good article dinesh bro……wish to read ur novel in near future….
LikeLike
Delicious articles.. simply I enjoyed your blog 🙂 Thanks for sharing.
LikeLike
तपाईलाई कसैले नचिन्ने अनि तपाईलाई धेरै ले सेलिब्रेटि मान्ने नभएको भए सायद दिनबन्धूले निम्ता गर्दैनन् थिए होला । साँच्चै भन्दा यस्ता धेरै दिनबन्धुहरुले धेरै भन्दा धेरै निम्ता दिँदैन थिए होलान्, सायद तपाईलाई, यदी तपाईलाई कसैले पनि नचिन्ने अर्थात सेलिब्रेटि नभएको भए ।
अनि अर्को कुरा, म त केही नराम्रो देख्दिन नचिनेका अनुहारहरुले निम्ता दिँदा, मलाई लाग्छ, उ सँग सम्बन्ध गाँसियो भने, उसको बारेमा नयाँ कुरा थाहा पाइन्छ, तर साँच्चै हो हामीलाई कुनै किसिम को फाइदा नहुन पनि सक्छ । बेक्कार मा समय को दुरुपयोग पनि लाग्नसक्छ ।
सारा संसार नै हाम्रो घर अनि विश्वका सारा मानिस हाम्रा आफन्त हुन् भन्ने कुरा मैले ६ कक्षा मै पढिसकेको छु भने, सोच्नुस् मेरा साथी अनगिन्ति हुन सक्छन् । तिनीहरुको निम्ता मान्दैमा के बिग्रन्छ ? अनि ती साथीहरुलाई फेसबुक मा my friends भन्ने ट्याग भिराउन किन अप्ठ्यारो, भलै यो कुरा प्राक्टिकल मा ठिक नलाग्ने भएपनि ।
मलाई नेटपाली बानि मा कुनै आपत्ती छैन, यदी यस मा आपत्ती लाग्छ भने, नेट को संसार मा नछिर्नु नै बेस । व्यर्थमा आफ्नो टाइम फेसबुक र हाईफाइभ जस्ता साइट मा किन बिताउने ????
नेटपाली बानी झेल्न सकिँदैन भने, नेटाग्ले ज्यु, फेसबुक , हाईफाईभ जस्ता साइट बाट आफ्ना एकाउन्ट डिलेट गर्दिनुस्, तपाई का वरीपरि का साथीसँग त च्याटमा, ईमेल मा भेट भैहाल्छ । दिनबन्धु लोकेसहरुको बालै भएन नि ! कि कसो ?
LikeLike
*लंकेश
LikeLike
Pingback: मेरो इन्टरनेटसँगको भेट | Wagle Street Journal
Pingback: मेरो इन्टरनेटसँगको भेट | ब्लगमान्डू
i want 2 creat account.
LikeLike
Pingback: The Kathmandu Post interview: When blogs were Twitter and Facebook | Wagle Street Journal