हलो अड्काएर गोरु कुट्ने

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

कृषिप्रधान मुलुकमा खेतबारीका कुरा राजनीतिक दाउपेचमा प्रशंगवश प्रयोग हुनु के नौलो भयो? त्यसैले केही वर्षअघि एकजना नेताले आफ्नो पार्टीलाई अप्ठेरोमा पारेर पेल्न खोजिएको अवस्था चित्रण गर्न ‘हलो अड्काएर गोरु कुट्ने’ उखान प्रयोग गर्दा सायद कमै मानिसको ध्यान राजनीतिबाट हटेर गोरुमा पुगेको थियो। सोच्दा महसुस गर्न सकिन्छ, जोत्दा थाकेको त्यो गोरु जसले तानेको हलो कुनै एउटा दरिलो ढुंगोमा अड्केको छ र त्यो थाहा नपाएको विचरो हली– जो आफैंमा कम थाकेको छैन र त्यसैले खुबै रिसाएको पनि छ– लगातार गोरु चुटिरहेको छ। त्यो एउटा विडम्बनात्मक अवस्था हो, किनकि हलो अड्केको कुरा हलीले थाहा पाएको छैन, तर जानी–जानी हलो अड्काएर गोरु कुट्ने हलीलाई के भन्ने?

अनि सडक किनारमा सुतिरहेको फुच्चे बाछोको घाँटीमै किल्चेर त्यसलाई रगताम्य अवस्थामा छाडेर भाग्ने ट्याक्सी चालकलाई? तपाईंले आफ्नो छोरालाई म्याग्निफाइङ ग्लास प्रयोग गर्दै कमिला जलाइरहेको देख्नुभयो भने के त्यसले तपाईंलाई उसले फलामे डन्डीले मुसालाई तड्पाइरहेको घटना देख्दाभन्दा कम चिन्तित तुल्याउला? सर्पलाई त्यसैगरी यातना दिएको देख्दा? या उसकी दिदीलाई?

अनि अमेरिकी पत्रकार ड्यानियल पर्लको टाउको आफैंले काटेको भन्ने ग्वान्टोनामो बेस्थित थुनुवा खालिद शेख मोहम्मदले उनले पर्ललाई नदिएको अधिकार उपभोग गर्न पाउँछन्? कुनचाहिँ अधिकार? पीडाहीन मृत्युदण्ड? मृत्युदण्डबाट छुटकारा? या जेलमा राम्रो अवस्था?

‘गत महिना स्पेनी संसदको वातावरण समितिले हाम्रा सबैभन्दा नजिकका जैविक नातेदारहरू, ठूला बाँदरहरू– चिम्पाञ्जी, बानोबो, गोरिल्ला र ओराङओटान्सलाई सीमित अधिकार प्रदान गर्ने पक्षमा मतदान गरेपछि आपसमा असम्बन्धित देखिने त्यस्ता प्रश्न उठेका छन्।’ दुई साता अघिको न्युयोर्क टाइम्समा डोनाल्ड मक्निल लेख्छन्।

त्यो निर्णयले स्पेनलाई ‘ठूला बाँदर परियोजना’का सिद्धान्तसँग बाँध्नेछ– त्यो सिद्धान्त जसले बाँदरमा डर र खुसी महसुस गर्न, साधन बनाउन, भाषा प्रयोग गर्न तथा भूत सम्भि्कन र भविष्यको योजना गर्नसक्ने सहितका मानवीय गुण हुन्छन् भन्ठान्छ।

‘ठूला बाँदर’लाई सीमित मानवअधिकार प्रदान गर्ने त्यो स्पेनी निर्णयले भन्दा पनि बिहीबार कोटेश्वरमा ट्याक्सीले किल्चेको त्यो विचरो बाछोलाई देख्दा मेरा मनमा लगभग डोनाल्डले उल्लेख गरेजस्तै प्रश्न उब्जेका थिए। भाडामा सहमति अनुसारको छुट नपाएका रुष्ट विद्यार्थीको हडतालको चपेटामा परेको त्यो दिन कोटेश्वरमा हिँडिरहँदा मैले एउटा सानो भीडबाट घेरिएको फुच्चे बाछो देखेको थिएँ– त्यो कामिरहेको थियो र उसको मुख र कानबाट रगत चुहिरहेको थियो। मानिस भागेको त्यो ट्याक्सी चालकप्रति रोष प्रकट गर्दै बाछोप्रति गहिरो सहानुभूति प्रकट गरिरहेका थिए।

‘हेर यो त शिव, महादेव’, एउटी महिलाले भनिन्– ‘कसरी कुल्चेर भाग्नसकेको होला (त्यो ड्राइभर)?’

‘च्व–च्व–च्व’ अर्कीले भनिन्– ‘अब यो मर्ने भयो नि। कसले यसको उपचार गर्ला?’

‘मरिसकेको’ अर्कीले भनिन्– ‘सबैको मायाले बाँचेको।’

‘ट्याक्सी नम्बर देख्न पाएको भए त्यसैलाई समातेर (बाछोलाई भेटनरीमा) लान हुन्थ्यो’, एकजना तन्नेरीले भने।

दुई ठिटाले त्यो बाछोलाई फुटपाथमा ल्याए। उनीहरू सहानुभूतिले भरिपूर्ण थिए। ममा पनि खुबै सहानुभूति (माया हो या दया प्रस्ट छैन) आएको थियो, तर रिपोर्टर न हुँ, त्यो अवस्था देख्दैगर्दा मैले सबैभन्दा पहिलो यो लेखबारे सोचेको थिएँ। त्यसैले म प्रत्यक्षदर्शीहरूसँग कुरा गर्दै तस्वीर लिइरहेको थिएँ। लामो समयदेखि त्यो बाछोलाई दयापूर्वक हेरिरहेकी तर केही नबोलेकी एउटी युवतीले भनिन्– ‘तपाईंले लेखुन्जेल यो मरिसक्छ, लेख्नुसाटो यसलाई उपचार गराउनेतिर सोच्नुस्न।’

खासमा त्यो एउटा चुनौती थियो, जसलाई मैले तत्कालै स्वीकारेँ, यद्यपि घटनामै सामेल हुनु रिपोर्टरको कर्तव्यमा पर्दैन। मेरो सहभागितासहित ती युवती बबिना मुडभरीको प्रयासपछि एकैछिनमा त्यहाँ लुम्बिनी केनल क्लबका भेटनरी प्राविधिक नारायणप्रसाद अधिकारी आएर त्यो परित्यक्त बाछोलाई सुई लगाए।

‘खसी–बाख्राजस्तो गाईको बाछोलाई माया गर्दैनन् काठमाडौंमा’, नारायणले भने– ‘गाउँतिर जोत्न प्रयोग हुने भएकाले माया गर्छन्। सहरमा ती बाछा साँढे हुन्छन् र हेला गरिन्छन्।’

मानवअधिकार मान्छे हेरी कम–बढी हुने यो संसारमा जनावरहरू बीचको भेदभाव के अस्वाभाविक भयो? कुकुरलाई म्वाइँ गर्नेहरूले बाख्रोलाई त्यसो गर्छन्? हुन त सबै कुकुर न्युयोर्कको ‘ट्रवल’ (समस्या) जस्तो भाग्यमानी कहाँ हुन्छन्? गतवर्ष मृत्यु भएकी उसकी मालिक न्युयोर्ककी अर्बपति लियोना हेल्म्स्लीले आफ्नो इच्छापत्रमा ट्रवलका लागि १ करोड २० लाख डलर छाडेको गत महिना सार्वजनिक भयो। लियोनाले आफ्नो ५ देखि ८ अर्ब डलरसम्मको लगभग पूरै सम्पत्ति कुकरहरूको हित र स्याहारमा समर्पित कोषलाई दिइन्। उनका दुई नाति–नातिनाले चाहिँ जम्मा ६० लाख डलर पाउने भए। अचानक धनी बनेको ट्रवलको ज्यानमा धम्की महसुस हुनथालेपछि उसलाई अहिले एउटा गतिलो सुरक्षा घेरामा राखिएको छ, जसलाई धान्न वर्षमा एक लाख डलर लाग्ने न्युयोर्कको एउटा पत्रिकाले उल्लेख गरेको छ।

‘ट्रवल’को जति सुखसुविधा र अधिकार विश्वका कति कुकुर या मान्छेले नै पाउलान्? स्पेनमा अब त्यो विधेयक पारित भएमा प्रतिरक्षामा बाहेक ठूला बाँदर मार्नु गैरकानुनी हुनेछ। त्यो पनि हाम्रालागि के नौलो भयो र? यहाँ गाईले त्यो विशेषअधिकार पाएका छैनन् र? तर गोरुलाई त थाकेर रिसाएका हलीले कुटेको–कुट्यै छन्। जनावरलाई कति अधिकार दिइनुपर्छ भन्ने कुरा विश्वमा व्यापक विवादको विषय छ। पिपुल फर इथिकल टि्रटमेन्ट अफ एनिमल्स (पेटा) जस्तो विश्वव्यापी आन्दोलनले यदि जनावरमा गरिने परीक्षणबाट एड्सकै औषधी निस्कन्छ भने पनि त्यस्तो परीक्षण गरिनुहुन्न भन्ने तर्क गर्छन्। स्पेनी संसदीय समितिको भोटलाई कोशेढुंगा ठान्ने पेटाका संस्थापक इङग्रिड न्युकिर्क भन्छिन्– ‘प्रजातिहरू बीचको विभेद हटाउने यो महान सुरुवात हो। त्यस्तो विभेद जसअन्तर्गत मानिसलाई चाहिँ भगवानजस्तै ठानिन्छ र बाँकी जनावर चाहे ती चिम्पाञ्जी हुन् या अरू केहीलाई धूलोको कणका रूपमा व्यवहार गरिन्छ।’

सबैजना त्यो स्पेनी निर्णयबाट सन्तुष्ट छैनन्। जस्तै– वैज्ञानिकहरू एड्स भाइसरको अध्ययन गर्न चिम्पाञ्जीको प्रयोग गर्न चाहन्छन्, किनकि त्यो उनीहरूबाटै आएको विश्वास गरिन्छ। स्पेनकै क्याथोलिक धर्मगुरुले मानिसलाई जनावरभन्दा माथि राख्ने दैविक चाहनाको अवमूल्यन गरेको भन्दै त्यो संसदीय निर्णयलाई आक्रमण गरे।

मानवअधिकार जनावरमा पनि फैलाइनुपर्छ भन्ने धारणा खासमा त्यो तर्कबाट आएको हुन्छ, जसले भन्छ– मानिसहरूले पीडा महसुस गर्छन् र उनीहरूको अधिकार हुन्छ। त्यसैले जनावरको पनि अधिकार हुनुपर्छ। ‘यो तर्क पूरै ढोँगी र बेतुकको छ’, लामो समयदेखि जनावर–मावनअधिकार विवादमा सामेल युनिभर्सिटी अफ मेरिल्यान्ड एट कलेजपार्कका प्राध्यापक एडविन लके ‘इन्टेलेक्चुअल कन्जर्भेटिभ’ वेबसाइटमा लेख्छन्– ‘अधिकार भनेका नैतिक सिद्धान्त हुन्, जो तर्क र छनोट गर्न सक्षमहरूका सन्दर्भमा मात्र लागू हुन्छ। एउटैमात्र आधारभूत अधिकार छ– मान्छेको जिउने अधिकार।’

प्रोफेसरसँग असहमत छिन् बबिना जसलाई मैले सोधेको थिएँ– बाछोको ठाउँमा मान्छे भएको भए उनको व्यवहार अर्कै हुन्थ्यो कि? ‘मैले गर्ने व्यवहारमा केही फरक हुँदैन थियो’, बीएस्सी नर्सिङ प्रवेश कक्षाका तयारी गरिरहेकी विद्यार्थीले भनिन्– ‘मेरो हिसाबमा मान्छे र पशु हुनु एउटै हो। तपाईंले कुनै मान्छेलाई माया गर्दा कस्तो भावना आउँछ भन्नुस्न, मलाई त्यस्तै भयो त्यो बाछोलाई देख्दा।’


तपाईंले कुनै मान्छेलाई माया गर्दा कस्तो भावना आउँछ, मलाई त्यस्तै भयो त्यो बाछोलाई देख्दा।

तर प्रोफेसर एडविनको विचार अर्कै छ। ‘सफलतापूर्वक बाँच्न मान्छेले आफ्नो निर्णयक्षमताको उपयोग गर्नैपर्छ, जो छनोटबाट आउँछ’, उनी भन्छन्– ‘सम्पन्न हुन र बाँच्न ऊ स्वतन्त्र हुनु र अर्को मान्छेको डरबाट मुक्त हुनुपर्छ, तर जनावरको सम्बन्धमा त्यो केही लागू हुँदैन। उनीहरू तार्किक सोचबाट बाँच्दैनन्, न मनोवैज्ञानिकले सिकाउने सांकेतिक भाषाबाट। जेब्रा खाँदैमा या मान्छेलाई आक्रमण गर्दैमा सिंह अनैतिक हुँदैन, किनकि सिकार उनीहरूको प्राकृतिक र एकैमात्र बाँच्ने उपाय हो। अर्को उपाय सिक्ने क्षमता हुँदैन।’

त्यसो भन्दैमा जानी–जानी हलो अड्काएर गोरु कुट्ने निर्दयिता देखाउनुहुन्न भन्नेमा चाहिँ प्रोफेसर एडविन पनि सहमत छन्। ‘पक्कै, विनाकारण जनावरलाई पीडा नदिनु राम्रो हो’, उनी भन्छ्न्। उसो त त्यो भगौटे ट्याक्सी चालकले पनि जानी–जानी त्यो बाछोको मुख कुल्चिँदै गाडी दौडाएको होइन होला। जे हो, त्यो बाछो सायद भाग्यमानी रहेछ, तार्किक सोच भएका र सहृदयी मानिसको भीडले उसलाई पानी खुवायो र उपचार गराए। उसको पीडा कति कम भयो ठ्याक्कै महसुस गर्न सकिएन। तर नारायणले सुई लगाएपछि बाछो अलिकति गोब्र्याउँदै तङग्रियो।

2 thoughts on “हलो अड्काएर गोरु कुट्ने

  1. वा, वाग्लेजी, कस्तो सटीक कुरा उठाउनुभाएको , सामान्य लागने कुरालाई पानी कस्तो कलात्मक ढंग बाट प्रस्तुत गर्नुभएको, मलाई खूब मन पर्यो……….

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s