मोटरसाईकल डायरी

nepali_village_woman_n_her_son_10

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।

हिलाम्मे र चिप्लो कच्चि बाटोमा दर्किदो पानीको चुटाई खादै ओर्लिएका हामी दिन ढल्किदै गर्दा कुहिरोले छेकिएको त्यो सानो होटलमा पुगेका थियौं। हामी चढेको बाईकमा कुनै थकानका संकेत देखिएका थिएनन् तर केही घन्टा अघि काठमान्डूको महाबौद्धमा चारसयमा किनिएको डबल बर्सादीले पानी थेग्न नसकेको प्रष्टै थियो। गर्धनतिरबाट चुहेको पानी मेरुदन्डहुदै बाइकको सीटसम्मै पुगेको थियो।
‘चिया खान पाइन्छ कि?’ सुरज कुँवरले परित्यक्त जस्तो लाग्ने एउटा थोत्रो घरको दलानमै बाइक पार्क गर्दै गर्दा मैले साहुनीलाई सोधेको थिए।

‘किन नपाईनु?’ साहुनीले भनिन्– ‘नरम कि कडा?’

वाह ! मैले पुलुक्क पर्दै मनमनै ठाने– यस्तो प्रश्न कामाठमान्डूमै पनि सबैठाउमा गरिदैन। नरम म खादै खान्न, रंग पनि कडा र बाहुन भएकाले चिनी पनि कडै। झन कफी त पुरै स्ट्रङ् चाहिन्छ। तीतो भए राम्रो। अफिस बाहिरको चिया पसलमा हामी घामले डढेका नारी देखाउदै चिया बनाउने थामी भाईलाई भन्थ्यौ– ‘यी यस्तै रंगको चिया बनाउनु है। कडा।’

‘कडा,’ मैले हौसिदै साहुनीलाई भने– ‘कडा।’

nepali_village_woman_n_her_son_06

nepali_village_woman_n_her_son_16

Dinesh Wagle Dances in a Nepali Village 5

पानी कहिल्यै नरोकिएला र हामी बसेको पहाडै बगाउलाझैं दर्किरहेको थियो। जस्ताले छाएको, बाटैमुनीको त्यो एकतल्ले माटे होटलको एउटा कुनामा बेन्चमाथी बसेर तीन जना तन्नेरीहरु पिइरहेका थिए। ढोकासँगैको अघेनोमा आधि ओस्सिएका दाउरा बलिरहेका थिए, धुवाको मुस्लो सोझै कुहिरोमा मिसिइरहेको थियो। अगेनो नजिकैको एउटा सानो टुक्सेमा बसेर एकजना पौढ जुका टिपिरहेका थिए। तिनको पिडौलाबाट रगत बगिरहेको थियो।

‘ला…यो त हैन नि,’ साहुनीले भुइमा राखिदिएको भरि तर चिसो गिलास के छोएको थिए, म चिच्याएको थिए। त्यो क्षँण ममा सांस्कृतिक स्तब्धता छाएको थियो। ‘मैले साच्चैको चिया पो खोजेको छ,’ मैले चिसो गिलास साहुनीतिर पन्साउदै भने– ‘तातो।’

‘लौ हाम्रो तिर यसैलाई चिया भन्छ,’ उनले मतिर हेर्दै सहतासाथ भनिन्। तत्कालै नजिकैका साहुजीले अर्थ्याए– ‘कडाको १० रुपैया गिलास। नरमको ५।’

‘तर मैले साच्चैको चिया खोजेको, दुध हालेको,’ मैले भने।

‘त्यसो भए एकछिन,’ उनले भनिन् र दाउरा झोस्न थालिन्।

…….
त्यो कुरा १९५२ को दक्षिण अमेरिकाको, यो अहिलेको नेपालको। त्यसैले हामीले आफूलाई अर्नेस्टो ‘चे’ ग्वेभारा र अल्बर्टो ग्रानाडो ठानेका थिएनौं। हामीसँग ‘लू पोदोरोसा’ अथार्त ‘द माइटी वान’ (शक्तिशाली) उपनाम दिइएको १९३९ ताकाको थोत्रो ‘नोर्टन ५००’ बाइक थिएन। हामी हालसालै किनिएको १२५ सीसीको नयाँ होन्डा साईनमा थियौं। ल्याटिन अमेरिकी जीवन बुझ्न हौसिएका उनीहरुको जस्तो नौ महिने यात्रा हाम्रो थिएन, गाउँ खोतल्न हामीले हतारका दुईदिन छुट्याएका थियौं। त्यतिबेला २९ का अल्बर्टोको उमेरसँग मेरो अहिलेको ठ्याक्कै मिलेपनि त्यतिबेला २३ का चे भन्दा एकबर्ष पाका छन् बाइकर सुरज। गाउले जीवन ‘एक्स्प्लोर’ गर्ने बाहानामा न्यूजरुम र सडकबीचको होहल्लायुक्त शहरी दैनिकीबाट उम्किन गत साताको शुरुतिरै हामी दक्षिणी ललितपुरको दुर्गम क्षेत्र बत्तिएका थियौं। ‘अच्छा कन्डिसन’को बाईक आवाजै नदिइ स्टार्ट भएको थियो।

….
‘हैन यो ललितपुर भन्नु मात्रै हो,’ अघिल्लो डाडामा उभिएको होटलमा पस्दा चित्रराम महतले भनेका थिए– ‘दुर्गम पनि होइन, सुगम पनि होइन। देखि हाल्नुभयो यहासम्म आउन कति कस्ट गर्नुपर्छ। यो ठाउ जस्तो दुखिया कहि छैन। धान पनि नहुने, मकै पनि नहुने।’ बुखेल गाउका ६३ बर्षे कृषक हालैका बर्षमा बारिमा देखिएको ‘समाधानहिन’ समश्याबाट चिन्तित थिए। ‘आए मकै नआए भोकै,’ उनले भने र सरक्क चुरोट ताने। ‘गोल्डफ्लेक’ ब्रान्डको।

‘दुई बर्ष भयो लगातार हाम्रो मकै विग्रेको,’ उनले भने– ‘यसपाली पनि कुहिए तीन बर्ष हुन्छ। अहँ संसार गरियो भएन। फल्न आटेपछि पात स्वात्त पहेलिने, अनि लतक्क कुहिने। कृषि कार्यालयका मान्छे आए, अनुसन्धान गरे, तर अ147ह उपाय निकालेनन्। पोहोर एक दाना पनि टिप्न पाइएन।’ उनले फेरी एउटा लामो सर्को ताने, दुबै ओठ चुच्चो पार्दै धुवा फुररर्र फ्याके जो तत्कालै कुहिरोमा मिसियो।

‘आए मकै नआए भोकै,’ उनले दोहोर्यानए।

‘नाउ मात्रै हो राजधानीको जिल्ला,’ टेबुलसँगै जोडिएको खाटमा उत्तानो परेर सुतेका एकजना पौढले थपे– ‘भोकमरी ठाउ हो यो त।’

‘धान पनि नहुने, मकै पनि नहुने,’ एकले भने।

‘पहिले मकै तमास हुन्थ्यो,’ अर्का एकले भने– ‘आलु पनि हुन्थ्यो।’

surya bahadur thing

होटल छिरेका दुई तन्नेरी पत्रकारहरु भएको चाल पाउनेवित्तिकै अघिसम्म खाटमा पलेटी कसेर बसेका सूर्यबहादुर थिङ् जुरुक्क उठेका थिए। ‘२०२८ सालदेखिको पोल्टिकल मान्छे म,’ उनले भने। अचेल राजनीतिबाट पूर्णत अलग पञ्चायतकालीन एकजना नेताको नाम लिदै उनले थपे– ‘म उहाँको सेक्रेटरी। यी, उहाको जग्गा यही छ।’ उनले सेक्रेटरी भनेका हुन् या ती नेताको जग्गाको ‘सेक्युरिटी’ उनको आवाज लर्वरिएकाले मैले प्रष्ट बुझ्न सकिन। उनका आखा राता थिए, गाला चम्किला। पछि सुरजले भने ती चिसो चियाले फिट्टु थिए। म मान्छे फिट्टु भए नभएको हत्तपत्त चाल पाउदिन।

…….
त, साहुनी हाम्रा लागि तातो चिया बनाउदै थिइन। उनले भाडो अगेनामा बसाईन् र त्यसमा दुध खन्याइन्। मलाई लाग्यो, म झुक्किएको देखेर उनी अझै हासिरहेकी छिन्। उनको सानो छोरो कहिले यता, कहिले उता दौडिरहेको छ। ‘यता यस्तो चिया धेरै विक्दैन,’ उनले भनिन्– ‘दुध पनि धेरै ल्याएको छैन।’

‘के को दुध हो यो?’ मैले सोधे।

साहुनीले पुलुक्क मेरो मुखमा हेरिन् र दुधतिर फर्किइन्। ‘मान्छेको त पकाउने हैन क्यारे,’ उनले फुत्त भनिन्– ‘भैसीको त हो नि। अरु के को हुन्छ र?’

मलाई फेरी अर्को सास्कृतिक स्तब्धता छाएजस्तो भयो। म त्यतिबेला कति लजाएको थिए भने– कृष्ण धराबासीको उपन्यास ‘राधा’मा जंगलको एकान्तपछि कृष्णले काधमा बोकेर ल्याएर अन्य गोपिनीको बीचमा ओराल्दाकी राधा जस्तै। लाग्यो, मेरा गाला र कानहरु पाकेको काफल जस्तै गाढा राता भएका छन्। मैले जसो तसो आफूलाई सम्हालेर यति भन्न भ्याए जो मलाई लाग्यो स्थितीलाई काबुमा ल्याउन पर्याप्त थिएन।

‘हैन, हैन मैले गाईको पो हो कि भनेको।’

नजिकै कतैबाट, तर साहुनीबाट हैन शायद साहुजीबाट, जवाफ आएको थियो– ‘हामी भैसी र गोरु मात्र पाल्छौं। अलिअलि बाहुनक्षेत्रीले गाई पाल्छन्। तामाङ्ले पाल्दैनन्।’

……
दिमागले क्या चक्कर खाएछ भने। साहुनीले चिया बनाउदै गर्दा मैले झोलाबाट किताव झिकेर पढ्ने सोचेको थिए तर कुराकानी कस्तरी कता मोडियो भने किताव झिक्ने साहसै आएन। आफ्नो मुढसँग मिल्ने किताव मैले बोकेको थिए– सरुभक्तको ‘पागल बस्ती’, लगभग पागल प्रोफेसर मुख्य पात्र भएको सञ्जीव उप्रेतीको ‘घनचक्कर’, र शायद त्यस्तै प्रोफेसरहरुले मात्र बुझ्ने बिषय अर्थात दर्शनबारेको एउटा अर्न्तवार्ता संग्रह ‘द ह्युमानिटिज एट वर्कः इन्टरनेशनल एक्स्चेन्ज अफ आइडियाज इन एस्थेटिक्स, फिलोसोफी एन्ड लिटरेचर’। पछिल्लो किताव त्यसका अर्न्तवर्ताकार/सम्पादक युवराज अर्यालले केहीदिन अघि अफिसमै दिएका थिए। दर्शनबारेको नेपालबाट आएको यो यसखाले पहिलो कृती हो, तिनले भनेका थिए।

चक्कर चलिनै रहेको थियो, ‘घनचक्कर’का प्रोफेसरलाई जस्तै दिमागमा अनेकौ विम्बहरु आइरहेका थिए जो कतै पोखिन चाहन्थे। शायद म पेन्टिङ् गर्न चाहन्थ्येँ ! लाग्यो म आफूलाई पल्पसा क्याफेको दृश्य ठानिरहेको छु। अघिल्लो डाडाको होटलमा सूर्यबहादुर थिङ्ले मलाई छेवैमा रहेका एकजना युवालाई देखाउदै ‘उहाँ सचिव, माओवादीको। परिचय गरौं न’ भन्दै जोड गर्दा ती युवा विलखबन्दमा परेजस्तो देखिएका थिए। यो क्षेत्रबाट रोल्पाका माओवादी बर्षामान पुनले संविधान सभा चुनाव जितेका हुन्। ती सबै कुराको संयोगले शायद मैले आफूलाई दृश्य ठानेको हुनुपर्छ। यदि म दृश्यै हुँ भने खै मेरी पल्पसा? चे र अल्बर्टको पुस्तक ‘मोटरसाइकल डायरीज’ पछि फिल्म बन्यो, के पल्पसाले पनि यो हाम्रो यात्रालाई डकुमेन्ट्रीमा ढाल्ने योजना बनाइरहेकी त छैन? कि ऊ अर्कै प्रोजेक्टको तयारीमा छे? न ऊ यो साउनमा हरिया चुरा र हातमा मेहन्दी लगाएर बसीरहेकी छ कि? कुन प्रशंगमा सुरजले प्वाक्क भनेका थिए– ‘दाई, केटी राम्रा त शहरमै हुन्छन् !’ मैले साहुनीलाई पुलुक्क हेरे, उनी मैतिर हेरिरहेकी थिइन्। मलाई लाग्यो उनले भनिरहेकी छिन्– ‘पल्पसाहरुलाई शहरमै छाडेर यो झरीमा गाऊ दौडेका मोराहरु।’ एकमनमा लाग्यो, के यो साहुनीले त्यो किताव पढेकी होली? खुईईईईय…। दिमाग एउटा रेल हो जो हामी चढेको होन्डा साइन भन्दा कति गुणा बढी दौडिन्छ एकठाउबाट अर्कोमा।

….
दौडिने तेर्सोमा हो, यो उत्पातको ओरालोमा हाम्रो ‘साईन’ चिप्लिरहेको छ– न्यूट्रलमा। स्टार्ट गरिएको छैन किनकी सुरजको एउटै ध्येय छ– पेट्रोल जोगाउनु। शहरमा पेट्रोलको कस्तो हाहाकार छ केहीदिन अघिमात्र एकजना सहकर्मीले क्यान्टिनमा टिप्पणी गरेका थिए– दुईलिटर पाइयो भने पनि श्रीमतीलाई फोन गरेर खुशी हुदै ‘मैले पेट्रोल पाए’ भन्नुपर्ने अवस्था छ। स्टार्टै नगरेपनि ओरालोमा बाईक कति छिटो बत्तिन्छ भने कतै टर्निङ् नपुग्दा त्यो माल दुई यात्रुलाई सगै लिएर तल कतै खोलामा पुग्ला भन्ने डर। जुकाको आक्रमणबाट बच्नु बम्पर चुनौती भएको थियो। के साह्रो मात्तिएका हुन् कुन्नी ती जुका घुडामुनी टोकेर सन्तुष्टै नहुने। मध्यतिघ्राभन्दा अलिमास्तिर दुई इन्चको फरकमा मस्ति गरिरहेका दुई जुकालाई टिपेर फाल्न सानोतिनो संघर्षै गर्नुपरेको थियो। जुकास147गको लुकामारी, पानीको चुटाई र कच्चीमा बाइकको उफ्राइमा पर्दा गर्दन, कम्मर र औलादेखि परेलासम्म एकतमासले थाकेका थिए। बेलुका चन्दनपुर गाउमा एउटा ड्याम्म परेको मकैको रोटी, दही, घिऊ र भात बजाएपछि फोहोरी ओच्छ्यानमा डङ्रग पल्टेका सुरजले भनेका थिए– ‘आज डाइवर खुव थाकेको छ।’

nepali village watermill man

nepali village watermill man

nepali village watermill man

nepali village watermill man

watermill_guy_02

watermill_guy_04
……
मकै मुख्य बाली हुने यो उपत्यका बाहिरको उच्च पहाडी ललितपुरे भुभागमा ड्याम्म परेको त्यो मकैको रोटी झन्डै खान नपाएको। धन्यवाद सुरजको त्यो होटल छनोट नीतिलाई जसले प्रष्ट पारेको थियो– जसले मकैको रोटी जसले खुवाउछ त्यही बस्ने। संयोगले त्यही होटलमा चिया–साच्चैको चिया– गफ गर्न छिरेका थिए ७१ बर्षे जीतबहादुर श्रेष्ठ जो तीनपुस्ता देखि होटल नजिकै टुङ्गुन खोला किनारमा घट्ट चलाइरहेका छन्। भन्नै पर्दैन वितेका केही बर्षमा उनको व्यवसायमा चोट पुगेको छ।

‘गाऊमा मकै छैन,’ सुधारिएको घट्ट चलाउन कुलो घट्टतिर लगाउदै उनले भने– ‘तपाईहरुले रोटी खाने रहर गर्नुभयो, त्यही भएर मसग भएको मकै पिस्दिन आटेको।’

बेलुका होटलमा जम्मा भएका गाउलेले कसरी आफ्नो बारिको मकै सखाप भएको, त्यसबाट आफूहरु कसरी भोकमरीको सामना गर्ने अवस्थामा पुगेका उल्लेख गर्दै कतिपयले मकैको साटो बन्दा लगायतका तरकारी लगाउन थालेको विवरण सुनाए। ‘यो क्षेत्रका आठ गाउमा यो रोग लागेको छ,’ एकजनाले भने– ‘अब पात पहेलिने बेला भयो। यसपाली पनि लाग्ला जस्तो छ रोग।’ खै कस्को हो कुन्नी बारीमा अहिल्यै सलाई लगेर झोसे डढेलो लाग्ने अवस्था भइसकेको उनले बताए। ‘बन्दामा पनि पो डडुवा लाग्ला जस्तो भयो,’ उनले चिन्ता जनाए– ‘गरेर खान नपाइने भइयो। यसपाली पनि डडुवा लागे सुकुम्बासी होइन्छ।’

7 thoughts on “मोटरसाईकल डायरी

  1. yo article ko bare ma malai ma jaba dashain ma nepal gaye ko thiye taba dai le malai sunaonu bhaye ko thiyo tehi bela ho tapai ko bare ma thaha bhaye ko mero dai tapai ko nikai fan hunu hunchha (jun kura maile aagillo comment ma pani bhani sake) waha book padhnu ra tapai haru jastai ko lekh padh na thulo soak rakhnu hunchha ra jaba maile dai lai kunai ramro book padh na ko lagi maile mage tes bela dai le malai arabian samundri……….. ko lekh prakasit bhaye time ko chyatisake ko koseli patrika malai yo padha bhane ra diye ko thiyo jun malai sarai mann padhe ko lekh pani ho ra aaja tapai ko yo lekh bisesh gari “khaye makai nakhaye bhokai” bhane bakye ma malai yaha bidesh ma basera padha aaja malai ma dai sanga Nepal mai mero ghar ko kitchen ma basera kura gareko yaad bhayo dhanyabad mero dai lai jasle malai tapai ko parichaye garai diyo

    Like

  2. Reblogged this on Wagle Street Journal and commented:
    ठ्याक्कै छ बर्षपछि म फेरी चन्दनपुर पुगें अस्तिको सप्ताहन्त । पछिल्लो अनुभव र तस्विर एकदुई दिन मै लेख्ने छु, थप्ने छु तर अहिलेलाई त्यो मोटरसाइकल डायरी ।
    And related links:
    1. Walking Around a Nepali Village https://wagle.com.np/2008/08/03/walking-around-a-nepali-village/
    2. The Motorcycle Diary: Nepali Version! https://wagle.com.np/2008/07/31/the-motorcycle-diary-nepali-version/

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s