यी मेरा (राम्रा) अक्षरहरू!

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको जस्तो मेरा आँखा अगाडी अक्षरहरु नाच्दैनन्। मैले प्रायः नबुझ्ने ती मेरा अक्षर अरुले बोल्दाबोल्दै र आफ्ना आँखा तिनकामा राखेर तिनले बोलेकै गतिमा हतार हतार टिपिएका हुन्। तर समश्या बोल्नेहरुको तीब्र गतिमा छैन। छ्या लेख्ने बानी नै पो छैन हौ।

सोचील्याउदा अच्चम्मै लाग्छ, लेखेवापतै तलव पाउने र त्यसैबाट जीउने मेरो ‘लेख्ने’ बानी वितेका थुप्रै बर्षयता कसरी स्वाट्टै हराइरहेको छ। लाग्छ, खाली पानामा राम्रो कलमले म सरर्र पढ्न सकिने र लय मिलेको एउटा वाक्य पनि लेख्न सक्दिन। थुप्रै बर्षअघि विश्वविद्यालयको एउटा परिक्षामा बस्दा शुरुमा मिहिनेतसाथ लेखिएका खुबै राम्रा अक्षर उत्तर पुस्तिकाको अन्त्यतिर पुग्दा मुसो लखेट्दा थाकेको विरालो जस्तो लम्पसार पर्न थालेका थिए। तिनलाई जाचकीले उति राम्राे नबुझेकको कुरा परिक्षाफलले पुष्टि गरेको थियो!

त्यो पृष्ठभूमीमा मलाई यति भन्न कत्ति शरम लाग्दैन– तपाईले पढिरहेका यी एउटै आकारका चटक्क मिलेका अक्षर मेरा होइनन्। सोचेका मैल्यै हो, शंका छैन। तर लेखेको मैले होइन। यी अक्षर सोझै मेरो दिमागबाट निस्केर औलाको टुप्पा र कम्प्युटरको की–बोर्ड हुदै बडेमाको अफसेट प्रेसमा छापिएर तपाईसामू आएका हुन्। धन्न कसो कसो त्यो प्रकृयामा औलाको चाहि भूमिका छ तर कलमको केही छैन। मसिको पनि छैन– प्रेसमा बाहेक। कम्प्युटरमा मसी भन्नुनै पिक्सेल हो जो कहिल्यै सकिदैन। यस्तै लेख या चिठ्ठीपत्र टाइप गर्ने सफ्टवेयर माइक्रोसफट् वर्डमा मैले यो लेख्दा ‘कान्तिपुर’ नामका यी फन्ट (अक्षर) को आकार २४ प्वाईन्ट थियो, तपाई यीनलाई साढे ११ मा पढ्दै हुनुहुन्छ।

‘लेख्ने बानी छैन’ भन्दा मैले पन्नामा कलम घोट्ने कुराको संकेत गरेको। कम्प्युटरको कुरा त मैले अघि नै भने जागिरै त्यही हो, सोखपनि त्यसैसँग सम्बन्धित छन् र ट्याम्पास पनि त्यसैबाट गरिन्छ। जस्तो कि, वितेका थुप्रै बर्षहरुमा लाखौ शब्दका समाचार स्टोरीहरु लेखियो होला, करोडौका इमेल र वेब डायरीहरु कोरियो होला र अर्बौका च्याट गरियो होला! रुपमा हेर्दा ती संख्यामा हल्का बढाईचढाई हुनसक्छ तर सारमा कुरो यही हो– समाजमा कम्प्युटरको बढ्दो प्रयोगले हस्तलिपीलाई संकटमा पारिरहेको छ।

तेस्रो विश्वका र जनजीवनमा कम्प्युटरको प्रयोग तुलनात्मकरुपमा कम हुने नेपाल जस्ता मुलुकमा अहिल्यै त्यो संकटले धेरैको ध्यान नतान्ला तर अमेरिका जस्ता विकशित विश्वमा त्यो देख्न थालिसकिएको छ। ‘सक्कल कागजातहरुको अध्ययन गर्ने प्राज्ञहरु हस्तलिपीको अन्त्यले भविश्यमा गरिने ऐतिहासिक विषयका अनुसन्धानहरुको शक्ति र तथ्यता घटाउने बताउछन्,’ दुई बर्ष अघि वासिङट्न पोष्ट पत्रिकाले लेखेको थियो– ‘अरु चाहि सौन्दर्य, वैयक्तितता र आत्मियताका लागि हस्तलिखित सञ्चार गुमेकोमा विलौना गर्छन्।’

इतिहासकारहरुका लागि हस्तलिखित कागजात बढी महत्वको हुन्छ किनकी त्यसको आधिकारिकता पुष्टि गर्न सजिलो हुन्छ। ‘उनीहरु त्यो लेख्ने व्यक्तिलाई आफूजस्तै ठान्दै ऊसँग बढी निकटता महसुस गर्छन्,’ इतिहासका अमेरिकी प्राध्यापक जिम मोर भन्छन्।

अमेरिकी स्कुलहरुमा सन् ७० को दशकसम्म हस्तलेखनका लागि छ कक्षासम्म एउटा छुट्टै पिरियडको व्यवस्था हुन्थ्यो तर २००३ मा प्राथमिक विद्यालयमा गरिएको एउटा सर्वेमा हस्तलेखनका लागि दिनमा १० मिनेट या कम समय दिइने गरेको पाइयो।

नेपालमा त्यस्तो सर्वे भए–गरिएको थाहा छैन तर स्कुलहरुमा शिक्षकले अक्षरको सौन्दर्यलाई उल्लेख्य महत्व दिन्छन् र विद्यार्थीलाई अक्षर राम्रा पार्न प्रोत्साहन गरिरहन्छन्। ‘छ्या, कागले छेरे जस्ता अक्षर!’ या ‘वाह! यस्ता पो अक्षर’ भन्ने टिप्पणी तपाईले स्कुले जीवनमा सरहरुबाट सुन्नुभएकै होला। कतिपय शिक्षकका लागि विद्यार्थी चिन्ने माध्यमै उनीहरुका अक्षर हुन्छन्।

‘विद्यार्थीको अनुहार हो हस्तलिपी,’ मिनभवन, काठमान्डूको इङि्लस प्रिपेरोटरी स्कुल (इपीएस)का नेपाली शिक्षक लक्ष्मण प्रधानले भने– ‘हस्तलिपी राम्रो छ भने विद्यार्थीको (परिक्षा) कपी जाच्न पनि जागर चल्छ, केही लेखेको छ कि भन्ने हुन्छ।’ उनले विद्यार्थीहरुलाई हस्ताक्षर सुधार्न प्रसस्त प्रेरणा दिने गरेको र राम्रा हस्ताक्षर भएका विद्यार्थीलेे परिक्षामा पनि प्रायः राम्रो गर्नेगरेको अनुभव सुनाए।

निरक्षरहरुको कुनै कमि नरहेको हाम्रो समाजमा हस्तलिपी उसैपनि के ज्युदो छ र? तर व्यापकरुपमा साक्षरता भएका र कम्प्युटरको उत्तिकै चलन भएका समाजमा अचेल यस्तो प्रश्न गर्न थालिएको छ– के हस्तलिपीको मृत्यु हुनलागेको हो?

‘कोही भन्छन् त्यो संस्कृती दोबाटोमा छ,’ वासिंटन पोष्ट लेख्छ– ‘लेखिएको संसारबाट स्थायीरुपमै टाइप गरिएकोतिर मोडिदै छ।’ बेलायती पत्रिका गार्जियनमा ‘कलम र कागजको फाइदा’ शीर्षकको हालैको लेखमा ‘फिसिङ् इन युटोपिया’ पुस्तकका लेखक एन्ड्रयू ब्राउन भन्छन्– ‘३० बर्षअघि टाइपराइटर चलाउन थाल्दा म सधै छेउमा कलम र कागज राख्थे। शुरुमा किन त्यसो गर्‍याथें भने म ढिलो र दुखपूर्वक टाइप गर्थ्ये र हातैले चाहि सोचेकै गतिमा मज्जाले लेख्न सक्थे। टाइपराइटरले मलाई एउटा शब्द टाइप गर्नु अगाडी पुरै वाक्य सोच्न सिकायो किनकी त्यसमा लेखिसकेपछि सच्याउनु लगभग असम्भवै थियो। अचेल म पढ्नयोग्य अक्षर लेख्नु भन्दा छिटो टाइप गर्न सक्छु तर सोच्ने यन्त्रकारुपमा हस्तलेखन विस्थापित होला भन्ने मलाई लाग्दैन।’ त्यही लेखमा ब्राउनले कागजमा लेखेका अक्षर पछि पढ्दा कसरी आफूले ती लेख्दाको क्षण मनमा उब्जिएका सोचहरु सम्भि्कने र ती अक्षरसँगको भावनात्मकतामा रोमान्चित हुने उल्लेख गरेका छन्। हस्ताक्षरबाटै व्यक्तिको व्यवहार, बानी र भविश्य समेत आकलन गर्न सकिने अक्षर विशेषज्ञहरुको दावी रहन्छ।

हस्तलेखनका बारेमा एउटा अर्को सन्दर्भमा पनि चिन्ता व्यक्त गर्ने गरिन्छ। केही बर्ष अघि रोबर्ट फ्रस्टको हस्तलेखनका कविता भेटिदा कतिले केके न भेटिएझै खुशीमनाएका थिए। कल्पना गर्नुस् फ्रस्टले ती कविता कम्प्युटरमा टाइप गरेका भए! कसले लेखेको भनि पुष्टि गर्नै महाभारत पर्थ्यौ कि? अर्को कुरा पहिले साहित्यकारले एक अर्कामा गर्ने पत्राचार गहकिला पुस्तकमा परिणत हुन्थ्ये, अहिले धेरैजसोले कुराकानी इमेलमै गर्छन् र पासवर्ड उनीहरुसँगमात्र हुनेहुदा तिनको मृत्युपछि ती पत्राचार इन्बक्सको इन्बक्समै। सोच्नुस् न, जवाहरलाल नेहरुका पालामा इमेल भएको भए र तिनले इन्दिरा गान्धीलाई हस्तिलिखित पत्रको साटो इमेल पठाएको भए?

हस्तलिपीको लोपले सिक्ने र तर्क गर्ने प्रकृयाको मनोबैज्ञानिक नतिजामा पनि असर पर्ने केही अध्येताको ठहर छ। सोचहरुलाई औलामार्फत लिखित संकेतहरुसम्म डोर्‍याउने स्नायू प्रकृया अति जटिल हुन्छ। सानो उमेरमा राम्रो हस्तलिपी क्षमताले बच्चाहरुलाई उनीहरुका सोच राम्रोसँग अभिव्यक्त गर्न सघाउने थुप्रै प्राज्ञिक अध्ययनले पत्ता लगाएका छन्।

केटाकेटीमै सिकिने कुरा पक्कै हो तर राम्रा अक्षर लेख्नु केटाकेटी खेलचाहि होइन। एउटा फाउन्टेन पेनले लेखनलाई केही राम्रो बनाउन सक्ला तर पन्नाका अक्षरहरु दौडिरहेका चल्लाजस्ता देखिए भने कलमलाई मात्रै दोष दिएर हुदैन। कलम अठ्याउनेदेखि हात चलाउने र शरिरको अवस्थितीसम्मले अक्षर राम्रा–नराम्रा पार्ने विज्ञहरु ठान्छन्। ‘कलमलाई निचोर्ने होइन,’ ड्यास लसन एउटा लेखमा भन्छन्– ‘हल्का अठ्याउने। अक्षरहरुको चित्र कोर्ने होइन, हातले कागजलाई बेस्सरी थिच्ने होइन, बारम्बार हात निकाल्दै यताउता सारीरहने पनि होइन।’

तर लेख्न कलम र कापी नै किन चाहियो? राती निदाउन आट्याबेला या बसमा दौडिरहदा आएका यसै लेखका कतिपय हरफहरुलाई मैले तत्कालै मोवाईल फोनमा नोट गरेको थिए। केही मानिस र केही व्यवसायका लागि नेपालमै पनि जमाना निसन्देश डिजिटल हुदै गएको छ।

मायागर्नेहरूकै कुरा गरौं। अर्कोलाई प्रभावित पार्नकै लागि पनि प्रमेपत्र राम्रा अक्षरमा लेख्नुपर्थ्यो भन्छन् एनालग जमानामा प्रेमीहरू। अहिलेको डिजटल युगमा इमेल, इ–ग्रिटिङ्सहरू र एसएमएसले गर्दा मनका कुरा कागजमै लेख्नुपर्ने भन्ने नरहेको प्रेमीहरुको ठहर छ।

टाइपिङ् र हस्ताक्षरलाई लिएर सबैको उस्तै धारणा हुदैन। मलाई चाहि यस्ता कतिपय स्टोरीहरु कीबोर्डमा औला नछुवाई लेख्नै आउदैन, लाईनै फुर्दैन मानौ मैले होइन, औला र कीबार्डले आपसमा सल्लाह गरेर लेख्ने जस्तो। तर टाईपमा उतिसारो सहजता नभएका केहीले चाहि ‘कम्प्युटरमा लेख्नै सक्दिन, लाइनै आउदैन, सबै ध्यान टाइपमै केन्द्रित हुन्छ, लेख्नेकुरा कतिबेला सोच्ने’ भन्ने गरेको मैले थुप्रैपटक सुनेको छु। त्यस्ताले प्राय कागजमा लेख्ने र त्यसलाई टाइप गर्ने गरेको देखेको छु।

कम्प्युटरमा लेख्नुका निश्चत खतरा पनि छन्। अस्ति एकचोटी सात सय शब्द लेखिसकेपछि कम्प्युटर ह्याङ्ग भयो, रिस्टार्ट गर्दा फाइल चट्। कहिलेकाँही हार्ड डिस्क क्रयास भइदिन्छ अनि लेखेको फाइल करप्ट हुन्छ र सबैकुरा उड्छ। घन्टौं लगाएर लेखेको र सयमसीमा नजिकिएको त्यस्तो अवस्थामा फाइल करप्ट भइदिदा यस्तो लाग्छ– ‘हे भगवान तिमीले यो कम्प्युटर किन पठायौं? कति खुशी थिएँ म त्यो पुरानो कागज–कलमको जमानामा जतिबेला ह्याङ्–क्रयासको कुनै चिन्ता हुदैनथ्यो, त्यति दुख गरेर लेखेको व्यर्थैमा खेर जादैनथ्यो।’

त्यसो भन्दैमा लेख्नैका लागि कम्प्युटर छाडेर कलम समाइहाल्ने म कुनै सम्भावना देख्दिन। कम्प्युटरले दिलाएको लेखन सहजताप्रति म कसैप्रति आभारी छु भने ती ‘कट’ र ‘पेस्ट’ सुविधा बाहेक अरु केही हुन सक्दैनन्। ”कट एन्ड पेस्ट’ नभा’भए के हुन्थ्यो होला?’ मैले सहकर्मी सुदीप श्रेष्ठलाई सोधें। चकित भएका उनले मतिर हेर्दै भनेका थिए– ‘झुरै हुन्थ्यो नि। कागजमा लेख्या जस्तै हुन्थ्यो।’ उनीपनि स्टोरीबारे झ्वाट्ट आएका वाक्यलाई मोवाईलमा नोट गरिहाल्छन्।

साच्चै, कट एन्ड पेस्ट नभएको भए कम्प्युटर टाइपराइटर जस्तै हुन्थ्यो– लेखेको शब्द एउटा अनुच्छेदबाट अर्कोमा सार्न नसकिने, एउटा वाक्यबाट अर्कोमा लान नसकिने। यो लेख्दा मैले अनगिन्ति पटक त्यो सुविधा प्रयोग गरेको छु, पहिलो अनुच्छेदमा कम्तिमा २० पटक फेरवदल गरेको छु। पाचौ अनुच्छेद सिध्याएपछि दोस्रोमा केही थपेको छु, तेस्रोबाट केही निकालेको छु र अन्तिम दोस्रो अनुच्छेद सम्भवत सबैभन्दा पहिला लेखेको थिए। कागजमा त्यस्तो स्वच्छन्दता कहाँ पाइनु?

5 thoughts on “यी मेरा (राम्रा) अक्षरहरू!

  1. yes yes ………me too writing these words in screen…..expressing our feeling through 10 fingers in keyboard is more powerful than touching 3 constant fingers……….it feels like exercising fingers and …every fingers has equal opportunities and u cannot say that I am left or right handy like in hand writing …..it’s real democracy participation of fingers and hands !!
    Sorry if I am wrong !!! but u have to approved it through pen for ur full proof signature !!

    Like

  2. Yup, dherai lekhne student ko ta dherai ramro handwriting hunna vane aruko ta kurai chhodaun. But Wagle da hajurko lekh anusar Akshyar ni ramro hola vanne maile socheko thiye. Anyway sayadai hajurko lekh directly padhne awasar milla tyasaile hami pathak ko sarikar ko bishaya vayena. Yanhako bichar ra vawana nai hamile manan garne ho. Tara pani kasaile aafulai e-mail bata pathayeko messege vanda uska sundar akshyar jadit shabda harule nai aaja pani maya badhaunchhan. tyas kuralai ekpatak samjhaunu vayekoma yanhalai dhanyabad ra dherai dherai Shuvakamana.

    Like

  3. wow!!!!!! tapai ko soch lai maile manne wagle jee kati sano sano kura lai tapai le bisaye basto banayera singo lekh lekhna saknu hunchha maile pahila ko comment mai bhanisake yesto kura haru hamro agadi pachadi pani bhairahane kura ho tara yesma maile kahile dhayn diyinna malai pani yesto lekh khubai lekhna mann lagchha mann ma lekhna sochhu tara key board wa kalam haat ma liye pachhi sabai bichar haru kata janchha janchha herdai jao tapai ko yestai khal ko 100-200 wata lekh padhe pachhi kaso ma pani lekhna nasakula ra …………………..dhanyabad

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s