कफी हाउसकी केटी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्‍याउँदै छे।

एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को लगभग त्यही उमेरको तर सफा गाला भएको नेपाली उसलाई हेरिरहेका छन्।

स्वरबिनाको इन्स्ट्र्युमेन्टल धुन पनि अलि पर कतैबाट आइरहेको छ।

देब्रेपट्टिको अर्को टेबुलमा दुई केटाहरू कुनै गहिरो ग्लासमा कोल्ड कफी पाइपले पिइरहेका छन्।

वास्तविक ताजा र भर्भराउँदो कफी एउटा लत हो, जसले यदाकदा ममा उखरमाउलो सिर्जना गर्छ। त्यस्तो हुटहुटी मेटाउन सहरका केही स्थान सधैं तयार हुन्छन्, जसमध्ये एउटा हिमालयन जाभा कफी हाउस हो, जो काठमान्डूको पर्यटकीय केन्द्र ठमेल प्रवेशद्वारैमा छ। त्यो नेपालीका लागि होइन भन्ने कुरा त्यसको मेनुले प्रस्ट पार्छ तर कफी पनि हाम्रो पेय होइन भन्न धेरै गमखाइरहनै पर्दैन। तर त्यो लत, त्यो हुटहुटी पक्का नेपाली हो, जसलाई एस्प्रेसोको त्यो तीतोपना या लात्तेको बाफमा फैलेको बासनाले मात्र शान्त पार्न सक्छ।

चुर्लुम्म ज्यान डुबाउँदै पाखुरा फैलाएर बस्नुपर्ने सोफामा म त्यो क्षण म कहिले आँखा चिम्म गरेर त कहिले वरपर नियाल्दै बसिरहेको छु।

खैर, कफी पनि एउटा बहाना न हो। कुरा यहा अर्कै छ। जाभाजस्ता उन्नतकोटीका ह्याङ आउटहरूमा आएर वास्तविक कफीको चुस्किसँगै सामाजीकृत हुनु या एस्प्रेसोका नाममा लामो समय अनेकौ गफमा चुलुर्म्म डुब्नु धेरैको धेय हुन्छ। त्यसैले एकजना साथीसँगै यहाँ मैले यसरी लात्तेले भरिएको कप पर्खिंदै बस्नुमा पिउनु मात्र उद्देश्य छैन। गफिँदै त्यहाँको माहोलमा घेरिएर भित्ताको ठूलो फ्ल्याट स्त्रि्कनमा ओलम्पिक उद्घाटन समारोह प्रत्यक्ष हेर्नुमा अर्कै मज्जा छ। आँखाहरू टीभीमै मात्र किन बाँधिन्थे?

खैरो कपालको लामो चुल्ठो पछाडि बाँधेकी एउटी खिरिली नेपाली युवती हातमा गाढा पहेंलो जुसको ग्लास समाएर कालो छालाले मोरेको ठूलो पाखुरे कुर्सीमा पूरै ढल्केर बसेकी छे– मानौ ऊ वर्षौंको थकाइ मारिरहेकी छे। उसलाई त्यस्तो अवस्थामा एक्लै देख्दा ममा सहानुभूति उत्पन्न हुनु मानवीय भइहाल्यो। ऊ अगाडिको खाली सोफामा बस्दै, उसको आँखामा हेर्दै र मुस्काउँदै उसको हाल सोध्न मन लागेको छ।

‘एई, जाभामा भेटौं न,’ डेढ महिनाअघि एउटीले त्यसो भनेकी थिई। कुरा नगर्‍या धेरै भा’थ्यो। उसले सिकागोबाट नेपालमा कुनै एउटा गैरसरकारी संस्थामा भोल्युन्टर गर्न आएकी उसकी अमेरिकी साथीलाई पनि निम्त्याएकी थिई। उसको एउटा एजेन्डा थियो। नेपाली केटीहरूले उनीहरूका केटा समकक्षीको तुलनामा स्वतन्त्रता पाएका छैनन् भन्ने उसको तर्क थियो, जसलाई ऊ अमेरिकी संगीनीको दृष्टिकोणसहित मसामु प्रस्तुत गर्न चाहन्थी ताकि मैले त्यसलाई आफ्नो लेखमा समेट्न सकूँ। ‘तिमी घरमा जतिबेला पुगे पनि हुन्छ, जतिबेला निस्के पनि हुन्छ, जे गरे पनि हुन्छ,’ उसले भनेकी थिई– ‘कति स्वतन्त्रता छ तिमीलाई। तर हामीलाई? जहाँ जान पनि घरमा भन्नुपर्छ, अलिकति ढिला भए अनेकौ प्रस्टीकरण दिनुपर्छ। प्रस्टीकरणलाई शंकाले हेरिन्छ, जसले सत्य बताउनभन्दा ढाँट्न प्रेरित गर्छ। लागेको कुरा मन खोलेर गर्न पाइँदैन।’

त्यो साँझ कुरा निकै लामो भा’थ्यो ‘स्वतन्त्रता’ का बारेमा। आज यो ओलम्पिक उद्घाटनको साँझ टीभीमा दुई सुन्दर चिनियाँहरू नाच्दैगर्दा, बेइजिङको ‘बर्डस् नेस्ट’ उपमा दिइएको रंगशालामा आतिसवाजी हुनै लाग्दा मेरो सामुन्ने टेबुलका एक जोडी पश्चिमाले बारम्बार एकअर्काका ओठमा चुम्बन गरेर मलाई विकर्षित तुल्याइरहेका छन्। एउटा अर्को नेपाली जोडी अँगालो मार्दै, एकअर्काका हात सम्हाल्दै नजिकैको अर्को फराकिलो सोफामा बसेको छ। भर्खरै मैले लात्ते सिध्याएर डबल ग्य्रान्ड मोक्का अर्डर गरेको छु। आज यहाँ लामै समय बित्नेछ, चीनले उद्घाटनलाई पहिले नै प्रतिज्ञा गरेअनुरूपको भव्य बनाइरहेको छ। सामान्य कल्पनाशीलतालाई छायामा पार्ने अभ्यासहरू त्यहाँ भइरहेका छन्, जसलाई मजस्तै विश्वभरिका चार अर्बजति मानिसले हेरिरहेका छन्।

दाहिनेतिरका दुइटा मात्र कुर्सी भएको टेबुलमा एउटी नेपाली केटी आएर मेरो ध्यान खिँची। एकैछिनमा उसले खै कुन ब्रान्डको हो चुरोट सल्काई र उसले नदेख्ने गरी त्यता चियाउँदा उसले फुरर्र धूवाँ उडाएको मैले देखेँ। कसो कसो हाम्रा आखा जुधिहाले। मलाई लाग्यो, फेरि उसलाई के त्यस्तो टेन्सन पर्‍यो। (त्यो क्षण म पूरै विभाजित थिएँ– आफैंमा भव्य त्यो ओलम्पिक समारोहमा नेपालका तेक्वान्दो स्टार दीपक बिष्टले चन्द्र–सूर्य बोकेर हाम्रो देशको खेल टोलीको नेतृत्व गर्दै प्यारापिटमा मार्चपास गरेको हेर्नु कि त्यो केटीलाई? त्यो अवस्था बुझेको मेरो साथीले पछि गरेको टिप्पणी म सम्भि्कन्छु– ‘मलाई चाहिँ उसले तान्दै गरेको चुरोट स्वात्तै खोसेर आफंै एक सर्को मारूँ जस्तो लागेको थियो।’) चुरोट पूरै सिध्याएपछि ऊ मलाई एक नजर दिँदै धुम्रपान गर्न नपाइने भागतिर गई, जहाँ उसका तीन संगिनी आपसमा इत्रिँदै छन्।

‘मेरो डिफिनेसनको फ्रिडम पाएकी छैन,’ मेरी साथीले क्रमशः ‘परिभाषा’, ‘स्वतन्त्रता’ र ‘तुलनात्मक रूपमा’ अर्थ दिने अंग्रेजी शब्दहरू प्रयोग गर्दै डेढ महिनाअघिको भेटमा भनेकी थिई– ‘तर कम्प्यारेटिभ्ली धेरै पाएकी छु।’

‘फ्री छु जस्तो कहिल्यै नि लाग्दैन,’ उसले भनी।

‘नचाइने प्रेसर भएको जस्तो लाग्छ,’ मैले टाउको हल्लाउँदै गर्दा उसले थपी– ‘मेरो जिन्दगीलाई अरूले आफ्नो स्वामित्वको जस्तो ठानेको मलाई मन पर्दैन। आफ्नै बाबुआमा पनि त्यस्तो पोसेसिभ भएको मन पर्दैन।’
मैले टाउको हल्लाएँ।

‘कुनै पनि मूल्यमा ममी ड्याडीको चित्त दुखाउँदिन,’ सरोबरी अंग्रेजी शब्दहरू प्रयोग गर्दै उसले आफूलाई निरन्तरता दिई– ‘तर मन पनि पर्दैन क्या फ्यामेली स्यामेली।’

‘त्यसो भए तिमीलाई के गर्न पाउँदा आफू स्वतन्त्र भएको महसुस हुन्छ?’ मैले सोधें।

‘फ्री भयो भने फ्री हुन्छ,’ तीन दिनअघि ब्युटिपार्लरमा गएर कर्ली बनाएको तर कसोकसो त्यो नटिकेर फेरि स्ट्रेट हुन लागेको कपाल हल्लाउँदै उसले भनी। (ऊ आँखामा गाजल लगाउँछे र भन्छे– ‘मेकअपका नाममा मैले गर्ने यत्ति हो।’
‘प्रिटेन्ड गर्नु नपरोस्,’ उसले अर्थ्याई– ‘बाहानावाजी गर्न नपरोस्। कसैको डर नहोस्। मलाई जस्तो मन लाग्छ त्यस्तै हुन पाइयोस्।’

दुइटा उदाहरण दिई उसले। पारिवारिक नियन्त्रणका कारण आफूले चाहेजस्तो स्वतन्त्रता उपभोग गर्न नपाएको पुष्टी गर्न। ऊ पछाडिपट्टि दाहिने कुममा एउटा स्थायी ट्याटु राख्न चाहन्थी। ‘यो होइन कि म सधैं कुम देखाउने कपडा लगाएर बाहिर हिँड्छु,’ उसले भनी– ‘मलाई त्यसरी ट्याटु देखाउनु पनि छैन। तर हुन्छ नि कहिलेकाहीँ, मन लागेको बेला देखाउने? आफ्नै लागि।’

पक्कै, ऊ बाबुआमाले चालै नपाउने गरी शरीरको त्यो निश्चित भागमा ट्याटु छपाउन सक्थी तर त्यो तरिका उसको प्राथमिकतामा थिएन। ‘राखेर पनि के फाइदा भयो उहाँहरूलाई मनपर्दैन भने,’ उसले भनी– ‘मैले मेरो बडीमा ट्याटु लगाएँ रे ल, तर डरले लुकाएर राख्दा त्यसको के अर्थ?’

हाम्रा धेरैजसो गफहरू नेपालीमा भइरहेका थिए तर सिकागोवालीको सुविधाका लागि ऊ बेलाबेलामा तिनलाई अंग्रेजीमा संक्षेपीकृत गर्थी।

त्यस्तै उसले ग्रन्ज अर्थात खुज्मुज्जिएको जिन्स प्यान्ट लगाउन खोज्दा उसकी आमाले बडो चित्त दुखाएकी थिइन्। उसले आमालाई मनाउन खुबै प्रयास गरेकी थिई। अन्त्यमा आमाले ‘लाउँछ्यौ भने लगाऊ, तिमीलाई त्यस्तो मन छ भने तर मलाई चाहिँ मन पर्दैन,’ भन्दै खिन्नता व्यक्त गरेपछि उसको उत्साहको पारो स्वात्तै घटेको थियो र ग्रन्ज लगाउने चाहना त्यागेकी थिई। ‘कुरा ग्रन्ज जिन्सको होइन,’ उसले तीतो एस्प्रेसोको चुस्की लिएर केही निमेष मुख बिगारेपछि भनी– ‘मलाई इच्छा लागेको काम गर्न किन नपाउने?’

म उसलाई हेरिरहेको थिएँ। उसका ठूला गाजलु आँखामा केही असन्तुष्टि र आवेग देखें मैले। ऊ आमाबाबुसँगको मायाले भरिएको रिस मेरो सामु पोख्न चाहन्थी। ‘मैले मात्र भनेको होइन यो,’ उसले थपी– ‘तिम्रा अरू साथीलाई पनि सोध, उनीहरूको पनि धेरथोर यस्तै समस्या हुन्छ।’

त्यो भेटपछि मेरो मनमा ‘नेपाली केटीहरू’ र ‘फ्रिडम’ शब्दहरू बारम्बार दिमागमा आइरहे। त्यसैले मैले केही चिनेका र केही उति नचिनेका सहरी केटीलाई ‘तिमी आफूलाई कत्तिको फ्री महसुस गर्छ्यौ?’ भनी सोधेको थिएँ। लगभग सबैले आफूहरूले चाहेजस्तो स्वतन्त्रता नपाएको, घरमा दाजुभाइको तुलनामा आफूहरूलाई नियन्त्रणमा राख्ने गरिएको र त्यो पटक्कै मन नपरेको बताए।

‘मेरो ड्याडी प्रविधिको प्रेमी, त्यसैले टेलिकमको त्यो सस्तो इन्टरनेट राखिदिनुभएको छ,’ एउटी स्नातक तेस्रो वर्षकीले इमेलमा भनी– ‘तर के गर्नु उहाँले न मलाई इन्टरनेट प्रयोग गर्न दिनुहुन्छ न टीभी हेर्न। गत साता मेरो परीक्षा सिद्धियो तर उहाँको अगाडि टीभी हेर्न र नेट चलाउन डर लाग्छ। इन्टरनेट हेरेको थाहा भयो भने उहाँलाई पूर्ण प्रतिवेदन चाहिन्छ। हा हा हा सोच म कस्तो जिन्दगी बाँचिरहेकी छु।’

कुनै एउटा यात्रा कम्पनीमा काम गर्ने ऊ आफैं चाहिँ काठमान्डू बाहिर विरलै निस्केकी छे। भनी– ‘बिहान चार बजे उठ्यो, छ बजे कलेज, अनि अफिस। त्यसपछि घर। एक वर्ष भयो मैले आफूलाई इन्टरनेटबाहेकको संसारबाट अलग्याएकी छु।’

केही दिनमा उसले भनी– ‘आज म घुम्न जाँदै छु। साथीहरूसँग। आठ महिनापछि पहिलोपटक। म मज्जाले हाँस्दै रमाइलो गरौंला भन्नेमा विश्वस्त छु।’

त्यही साँझ उसले साथीहरूसँगको भेटघाटबारे लेखी यदाकता नेपाली शब्दहरू मिसाउँदै– ‘मेरो ह्याङ्आउट हाउडे भयो…सधैंजस्तै। ड्याडले मेरो स्कुटी लैजान दिनुभएन। भाइ भएको भए उहाँले आफ्नै बाइक दिएर पठाउनुहुन्थ्यो। तर तिमीलाई थाहा छ? उहाँले मलाई स्कुटी लैजान दिनुभएन। छाडिदिऊँ त्यसलाई। मेरो भाइले मलाई ड्रप गरिदियो।’

उसले भेदभाव र नियन्त्रण प्रस्ट महसुस गरेकी छे, त्यसलाई रुचाउँदिन तर त्यसविरुद्ध लड्न ऊसँग पूरा साहस या चाहना नभएको मैले उसको उत्तरमा महसुस गरें।

‘स्वतन्त्रताको अवधारण’ बारेको प्रश्नका लागि मलाई धन्यवाद दिँदै उसले अघिल्लो अनुच्छेदमा भनेकी थिई– ‘म अरूभन्दा बढी आफैंबाट बाँधिएकी छु। लाग्छ, मैले आफंै स्वतन्त्रता चाहेकी छैन। भाइभन्दा पनि सानो ठान्छु आफूलाई र त्यसै अनुरूपको व्यवहार गर्छु।’

उसले अन्त्यमा भनी– ‘मैले पक्कै मेरो स्वतन्त्रता पाउनेछु।’

स्वतन्त्रता। त्यसका धेरै परिभाषाहरू छन्– केटीपिच्छे। ती कहाँ र कुन पृष्ठभूमिमा बसेका छन् भन्नेले परिभाषाहरूलाई उत्तिकै प्रभाव पार्ने गरेको छ। गाउँका केटीहरूका एकखाले चुनौती हुन्छन् भने सहरीका अर्का। अनि उनीहरूलाई स्वतन्त्रता दिनेमा (र नदिनेमा) तिनका अविभावकदेखि सडकसम्मको भूमिका हुन्छ। केही साताअघि काभ्रेमा सडकबारेको एउटा सार्वजनिक कार्यक्रममा एउटी युवतीले भनेकी थिइन्– ‘सडक आउनुअघि हामी कतै जान खोज्दा (पुरुषहरूले) कता जान लागेको भन्दै रोक्थे, अहिले हामी जता जान पनि (स्वतन्त्र) छौं।’

अघिल्लो जाभा भेटमा साथीका कुरा सुनेपछि मैले सिकागोवालीलाई सोधेको थिएँ– तिमीलाई कस्तो लाग्यो उनका कुरा? उसले अमेरिकी अविभावकहरूले छोरा होस् या छोरी भेदभाव नगर्ने, निश्चित उमेर भएपछि आफ्नो जिन्दगी आफैं जिऊ भन्ने शैलीमा छाड्ने गरेको बताई। ‘राजनीतिक दृष्टिले महिलाहरूले अधिकार पाएको धेरै भएको छैन तर,’ उसले भनी– ‘नेपालको तुलनामा उताका केटीहरू कति स्वतन्त्र छन् कति।’ ‘१८/२० वर्षको भएपछि पनि परिवारसँगै बस्नुपर्दा अमेरिकी युवाहरूलाई ग्लानी महसुस हुन्छ,’ उसले भनी– ‘त्यसैले उनीहरू छुट्टै बस्न चाहन्छन्, आफैं केही गर्न खोज्छन्।’ त्यस्तोमा जिन्दगीलाई कसरी लैजाने भन्ने पूर्ण स्वतन्त्रता सम्बन्धित केटीलाई भनेपछि चुनौती पनि उत्तिकै हुने उसले बताई। आफ्नै एपार्टमेन्ट खोज्नुपर्ने, त्यो र पढाइलाई धान्न जागिर पाउनै पर्ने बाध्यताले जीवन प्राय दबाबयुक्त हुने पनि उसले बताई।

इस्लामिक समाजको तुलनामा नेपालीमा केटीहरूले ‘तुलनै गर्न नसकिने’ लाउने, हिँड्ने र बोल्ने स्वतन्त्रता पाएको उल्लेख गर्दै उसले भनी– ‘नेपाली केटीहरूबारे मेरो एउटा रोचक निष्कर्ष छ। जतिसुकै आधुनिक हुन चाहे पनि देखिए पनि उनीहरू गहिरो रूपमा परम्परागत र आध्यात्मिक छन्। उनीहरू पारिवारिक नियन्त्रण चाहँदैनन् तर सोझै परिवारको विरुद्ध जाने भन्दा आफ्ना क्रियामा परिवारको स्वीकृति खोज्न चाहन्छन्।’

अहिले मेरो मनमा प्रश्न छ– त्यो अघि चुरोट पिउने केटी कुन कोटीमा पर्ली?

Advertisements

6 thoughts on “कफी हाउसकी केटी

  1. Mr. Wagleji!!!
    Namaste. Well, after reading your article on the topic ‘ coffee house ki keti’, I feel that now is the right time for all the Nepalese woman to decide what they want? We all have a dream and a thirst to bring it into reality. We have our destiny to follow…so many things to be done. Yet, I feel so many women, even though they are educated do not want to face the obstacles of life alone, standing on their own feet. It seems to me that we, as I am also a Nepali women, always want to dwell in a place where there is some one to act as a protective layer. It’s like, you know, there is so much dissatisfaction in heart yet we never dare to express it at right time and in front of right people. And, the inevitable consequence is that we end as timid fellows who are strong in their talks and weak in their deeds. The main point is let us express ourselves regardless of all those barriers of hesitance, fear. All women should build up a perception that family, kids, husband is not the only thing that a society has to offer,. Let’s explore beyond…

    Like

  2. Why do Nepalese women seek Freedom so much?????Simple ans coz they don’t have it.In my personal view i think gals should be given freedom tara excessive chahi hoina,hami freedom kina khoj6u??????man laageko saathi banauna,manlaageko khana,manlaageko thau ma hidna BLAH BLAH BLAH!!!!!!!
    Hami maanchhe[not only GALS] ke aafno laagi matra baach6u?Hamro family prati,Samaaj prati kehi Responsibility 6ina?Haamile aafno laagi matra hoina as a whole sabaiko lagi sochnu par6.
    Next thing M also an gal,I don’t & I Repeat I don’t get freedom to stay out of home after Office time & I say its really beneficial,Yes it is really beneficial to me,If i were given permission to stay out my study wud have gone to hell,Its not dat those who stay out late don’t study tara hun6 ni euta jaba time maa ghar pugin6 taba time ma padhin6 ra aru kaam pani time mai hun6.Our parents are not MONSTERS.they always want us to be happy & contempted.Tapai(esp. gals)
    Parents lai vanera hernus “I get hurt when u discriminate between brother & me,I can’t concentrate on anything if u make me feel like a Prisoner.”They’ll think about it,& they’ll change their behaviour as well AT LEAST TRY IT OUT!!!!!
    Pls.. Take my view as a View of a 18 yrs old gal.
    I’ve not written this with or against anyone.
    My last request,PLS…All Teenagers gals out their Make Urself & ur parents both happy.How do u do this it depends upon ur own Moral!!!!!!!!!!!!

    Like

  3. It’s remind me the coffee guff of Narayan wagle, anyway it’s really nice to read those things Koseli again. I want to meet you and i hope somewhere we will meet may in the crowd of thamel or in some trekking route or may be in some airports. take care

    Like

  4. i like it.. its abstract.. and i like that style..
    i do really try to read your article anywhere .. so its happens good job and fantasy journalism.. as well.. somewhere i felt that u stolen my dream.. ha.ah.a
    any way good job

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s