बस बाहिरका मान्छेहरू

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका छन्। स्टिभन स्पिलबर्गको सन् २००५ को फिल्म ‘वार अफ द वर्ल्ड्स’ का दृश्यहरू झल्झली भइरहेका छन्– टम क्रुज अभिनित रे फेरियर नामको पात्र आफ्ना बच्चाहरू रचेल (ड्याकोटा फ्यानिङ्) र रब्बी (जस्टिन च्याटविन) लाई बस्तीको एउटै मात्र काम लाग्ने गाडीमा हालेर न्युजर्सीबाट अर्को अमेरिकी सहर बोस्टन भागिरहेको छ। त्यस्तै अवस्था चित्रण गर्ने अन्य हलिउड फिल्महरूमा जस्तै त्यसमा पनि गाडीमा भागाभाग र अत्तालिएका मानिसहरूको हतारोबाट सिर्जिएको ट्राफिक जामले उनीहरूकै यात्रा अवरुद्ध गरेको छ। लगभग त्यस्तै जाम, जो हालैका महिनाहरूमा काठमान्डूमा बारम्बार देखिनु सामान्य भएको छ ।

सन् ९० को दशकको सुरुतिर सोभियत संघको विघटनसँगै गुमेको साख हालैका वर्षहरूमा तेलको बढ्दो मूल्यमार्फत फिर्ता पाएपछि रसियाले जर्जियाली प्रान्तहरू दक्षिणी ओसेटिया र अब्खेजियामा धावा बोलेको हो। तेलमा त्यस्तो ताकत छ। त्यही तेल नहुँदा हामी निरीह भएका छौं– जतिसुकै नचाहे पनि अव्यवस्था, अभाव र अराजकता तेस्रो विश्वका विशेषता बनेका छन् ।

पक्कै तेस्रो विश्वका केही फाइदा पनि छन्। मैले यो लेख्न प्रयोग गरेको मेरो डेस्कटप कम्प्युटरको विन्डोज सफ्टवेयर सक्कली होइन र त्यसलाई मैले छुट्टै किनेको होइन। तेस्रो विश्वको एक ‘गौरवशाली’ नागरिकका रूपमा मैले त्यो सफट्वेयरको पाइरेटेड या अनधिकृत कपी निःशुल्क लिएको हुँ। कुनै पनि हलिउड फिल्मको डीभीडी सार्वजनिक हुनु महिनौं अगाडि हामी तिनलाई कम गुणस्तरकै सही तर सस्ता भीसीडीमा हेर्छौं, जो थाहा पाउने पहिलो विश्वका मानिस जिब्रो निकाल्दै आश्चर्य प्रकट गर्छन्।

केही अघिको एउटा गफमा मैले ठमेलको पसलबाट बब मार्ली र जोन लेननका सयौ गीतहरू चारवटा सीडीमा एक हजारभन्दा कममा किनेको सुन्दा एउटा युरोपियन ठिटो तीनछक परेको थियो। ‘त्यो म यहाँ कल्पनासम्म गर्न सक्दिनँ,’ इटालियन सहरबाट सासारीबाट उसले भन्यो– ‘यहाँ कानुन कति कडा छ, त्यसरी सबै एल्बम एउटै सीडीमा हालेर बेच्न र किन्न मिल्दैन।’ उसले मेरो नयाँ संगीत संग्रहप्रति लोभिँदै थुक निलेको जानकारी दियो। मैले आफ्नो कम्प्युटरमा एडोबे फोटोसपदेखि पेजमेकरलगायत थुप्रै प्रोपाइटरी अर्थात ट्रेडमार्क दर्ता भएका र निःशुल्क नपाइने सफ्टवेयरहरू कम्प्युटर किन्दा त्यसैमा आएको बताउँदा उसले चकित भएको झल्काउने अनुहार बनोट च्याटमा पठाएको थियो।

कानुन हाम्रोमा पनि छ क्यारे तर यहाँ सीडीमा अनधिकृत कपी गर्न मिल्छ, बेच्न मिल्छ, किन्न मिल्छ र त्यो सबै गरेको कुरा पत्रिकामा लेख्न पनि मिल्छ। धन्यवाद तेस्रो विश्व!

गत वर्ष ठमेलमा एक जोडी डच भेटेको थिएँ, जो उता नयाँ घर बन्दै गर्दा तेस्रो विश्व भ्रमणमा निस्केको थिए। ‘घर नबनुन्जेल भाडामा बस्नुपर्ने भयो,’ श्रीमान्ले भने– ‘हिसाब गर्दा निष्कर्षमा पुग्यौं– छ महिनाको भाडाले नेपालजस्ता देश एक वर्ष घुम्न सकिँदो रहेछ।’ उताको घर बेच्दा तेस्रो विश्वमा जीवनभर राजाझैं ‘बस्न सकिने’ अनुभव गरेको उनले बताए।

तेस्रो विश्वको जिन्दगी उति साह्रो सुखद नभएको र अभावले प्रमुखता पाउने गरेको मेरो केही निराशाजनक भनाइ सुनेपछि डच श्रीमतीले भनेकी थिइन्– ‘तर मान्छेको अनुहारमा त्यो झल्किँदैन त? ठाउँ हामीलाई एकदम रमाइलो लाग्यो। हेलम्बुको पदयात्रा गर्‍यौं। कस्तो सुन्दर ठाउँ, कति दयालु मान्छे।’

खासमा त्यो जोडीलाई मैले हेलम्बुबाटै काठमान्डू फर्किंदाकै यात्रा गर्दा पहिलोपटक भेटेको थिएँ। ‘केही दिनका लागि पर्यटक भएर गाउँमा डुल्दै मानिसहरूको अनुहार हेर्दै र ‘वाह ब्युटिफुल’ भन्दै डाँडाकाँडाको सौन्दर्यमा भुल्नु एउटा कुरा, जिन्दगी तिनै डाँडामा तिनै दुखियाका झैं बिताउनु अर्को। के तिमी ती डाँडामा तिनीहरूकै स्तरमा जीवन बिताउन सक्छौ?’

तिनी चुप भएकी थिइन्।

प्रथम विश्वमै पनि जीवनशैली कम्ती अप्ठेरो छैन भन्ने तर्कको उदाहरण तिनै डच जोडी भइहाले। त्यो सासारियन ठिटोले पनि हालैको च्याटमा आफ्ना समस्या राखेको थियो। उसले नयाँ अपार्टमेन्ट खोज्नुपर्ने, जागिर नभई नहुने, विश्वविद्यालय शिक्षा लिँदा ऋणमा परेको जस्ता गुनासा खुबै गरेको थियो। ‘खै यहाँको जीवन बडो स्ट्रेसफुल छ,’ उसले भन्यो– ‘कहिलेकाहीँ त लाग्छ म कुनै मेसिन हुँ, जसको कुनै भावना छैन बरु कसैले तोकिदिएको लक्ष्य भेट्टाउन निरन्तर दौडिरहेको छु।’

२००५ को सुरुतिर ज्ञानेन्द्रको संकटकालताका मिडियामा लागेको सेन्सरसिप छल्दै वेबसाइटमार्फत सूचना प्रवाह गर्ने मेरो चालबारे समाचार लेख्ने क्रममा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका दक्षिण एसिया ब्युरो प्रमुख टेरी फ्रेलले टिप्पणी गरेका थिए– ‘विश्वको गरिबतम र पिछडिएको राष्ट्रमध्येको एक नेपालका पत्रकारले शाही कुसँगै लादिएको सेन्सरसिप छल्न आधुनिक प्रविधिको प्रयोग गरिरहेका छन्।’ उनले तेस्रो विश्वमा बसेर इन्टरनेट चलाउनु अस्वाभाविक भएको र त्यसो गरेकामा चकित भएजस्तो भाव प्रकट गरेका थिए।

त्यसको प्रतिक्रियामा मैले अर्को एउटा वेबसाइटमा लेखेको थिएँ– ‘त्यस्तो (गरिब) देशमा बस्ने मान्छेले विश्वकै धनी या विकशित मुलुकमा बस्नेकको भन्दा कम या सानो कुरा सोच्छन् भन्ने होइन। आर्थिक मापदण्डमा हामी गरिब हौंला तर सोच्ने र विचारहरू लागू गर्ने कुरामा होइन। कल्पनाको कुनै सीमा हुँदैन र त्यसको पैसासँग लेनादेना हुँदैन। एउटा माग्नेले पनि आफू अर्को विल गेट्स भएको कल्पना गर्न सक्छ।’ हुनु नहुन अर्कै कुरा!

थुप्रै साताअघि प्रथम विश्वको एउटा सदस्य अस्टे्रलियाबाट समाचार आएको थियो, जसमा एकजना लखपति नेपाली हेम तामाङको कोवर्गस्थित एउटा घरमा ४८ जना नेपाली विद्यार्थीलाई राखिएको उल्लेख थियो। एउटा कोठामा चारजना बसेका थिए, जो नेपाली स्तरअनुसार असामान्य होइन। कोवर्ग नगर परिषद्का एक अधिकारीले विद्यार्थीहरू बसेको स्थितिलाई ‘तेस्राे विश्वको अवस्था’ भनी वर्णन गरे। नेपाली विद्यार्थीले चाहिँ अस्टे्रलियामा त्यसरी बस्न पाउनु नै ठूलो भएको भन्दै तामाङप्रति आभारी प्रकट गरे।

खासमा तेस्रो विश्व भनेकै त्यसरी कोचिने र थिचिने अवस्था हो। हालैको एक साँझ अफिसबाट घर जाँदै थिएँ– भन्नै पर्दैन त्यो सार्वजनिक बसमा मानिसहरू टनाटन थिए, भित्र र छतमा पनि। सबैलाई जानु थियो, डिजेलको अभावले गाडीहरू कम चलेका छन्, एउटा छुटे अर्को आउन निकै समय लाग्छ। ‘खुट्टो हाल्ने ठाउँ छैन,’ एउटीले गुनासो गरिन्– ‘यस्तो प्याकमा कसरी जानु?’

‘राम्रोसँग जान आफ्नै गाडी किन्नुपर्छ,’ यात्रुहरूलाई भित्र जान निरन्तर आग्रह गर्दा थाकेका गाडी सहायकले तिक्तता प्रकट गरे।

हाम्रो जस्तो इन्धनको प्रत्यक्ष अभाव भोगी नसकेको तर त्यसबारे चिन्तित प्रथम विश्वले कतिपय सहरमा निजी गाडीलाई निरुत्साहित गर्दै जनतालाई सार्वजनिक साधन प्रयोग गर्न उत्साहित गरिरहेको छ। अरू के कुरा बेइजिङमै पनि ओलम्पिकको बहानामा या वातावरण सफा तुल्याउने निहुँमा त्यहाँका नगर अधिकारीले जनतालाई निजीको साटो सार्वजनिक यातायाततिर प्रोत्साहित गरेका छन्। छ हजार डलर प्रतिव्यक्ति आय भएको चिनियाँ राजधानीको तुलना काठमान्डूसँग कसरी गर्न सकियोस् तर दक्षिण एसियाको गरिबतम मुलुकको राजधानी सहरमा निजी गाडी उसै पनि कम छन् र बहु जनसंख्या सार्वजनिक यातायातामै भर पर्छ।

त्यसमै हाम्रो पर्याप्त समस्या छ। २००६ को अप्रिल क्रान्तिपछि देशमा सबैभन्दा बढी कतै लोकतन्त्र आएको छ भने त्यो सडक नै हो। खै लोकतन्त्र भन्ने कि भाँडतन्त्र। ट्राफिक नियम कसैलाई पछ्याउनै मन लाग्दैन, जसलाई पनि पहिला जाऊँ भन्ने लाग्छ। अधैर्य ड्राइभर, चाहे त्यो बसको होस या कारको या बाइकको, एकैछिन जाम भयो कि आफ्नो लेन छाडेर छवैको खाली ठाउँमा उफ्रिहाल्छ। उसको त्यो कदमले तत्कालै त्यहाँ अर्को जाम सिर्जना हुन्छ। त्यसपछि अर्को। एउटा चकलेटको निहुँमा झगडा गरेर तीनतिर फर्केका तीन फुच्चेजस्ता हुन्छन् सडकका गाडी जसको प्रबन्धन गर्न उसै पनि नुर गिरेका ट्राफिकलाई बिछट्टै गाह्रो हुन्छ। गाडीभित्र बस्ने यात्रुको अप्ठेरो आफ्नै ठाउँमा छ।

त म त्यो साँझ घर फर्किरहेको थिएँ, गाडी बिछट्टै प्याक थियो। एउटा स्टपमा मानिसहरू ओर्लिंदै थिए, छतबाट पनि एक तन्नेरी झर्दैथियो। छतमै पनि भीड भएकाले ऊ भर्‍याङबाट होइन बीचैबाट ओर्लिंदै थियो। कसोकसो उसको खुट्टो झ्यालमै नअडिएर झ्यालसँगैको सिटमा बसेका एकजना अधबैंसेको मुखमा जोतिन पुग्यो।

‘थुइक्क,’ ती अधबैंसेले चुक अमिलो आएझैं अनुहार पार्दै मुखमा छिरेको हिलो निकाल्न खोजे। तिनले हतारमै सर्टको बाहुलाले ओठ र मैले देखें, जिब्रो पनि पुछ्न खोजे। बाहुलामा खैरो–कालो धब्बा बस्यो तर तिनको मुखबाट हिलो सबै गएन। तिनी ओ हेनरीको कुनै अतिव्यंग्यात्मक कथाको एउटा पीडित पात्रजस्तै थिए। विडम्बना उनको मुखमा जुत्ता पुर्‍याउने युवकलाई ती अधबैंसेको हबिगतको पत्तोसम्म थिएन। ऊ आफैं संघर्ष गर्दै जसोतसो छतबाट झरेर अँध्यारोमा घरतिर लम्किसकेको थियो।

पाँच मिनेट पछि पनि ती अधबैंसे जिब्रो निकाल्दै, ओठ चलाउँदै, मुख पूरै बिगार्दै झयालबाहिर थुक्दै थिए। तिनको अनुहार म प्रस्ट पढ्न सक्थें– तिनी सिटमा बसेर गरेको यात्राप्रति खुबै पश्चाताप गरिरहेका छन्।