काठमान्डूको साँखुबाट देखिएको सूर्यास्त

उबरमान्डू

धेरैपछि फेरी एक पटक दिल्लीको गर्मीमा अाफैसँग सिकसिको लाग्नेगरी पसिनाले फतक्कै भिजेको डेढ दिन के भएको थियो मलाई काठमान्डूका कतिपय कुराहरू खड्किन थालेका थिए ।

१४ सय मिटरमा अवस्थित उपत्यकाको प्रशंसा गरेर नथाकिने मुख्य कुरा यहाँको मौसम हो जस्तो लाग्छ मलाई । सजिलै पुगिने र चढ्न सकिने वरिपरीका हरिया डाँडाहरूलाई पनि म यो ठाउँको सवल पक्ष मान्छु । काठमान्डू खाल्डो घेर्ने पहाडहरूको महत्व मेरालागि अाफू कहाँ छु भनि ठम्याउने कुरासँग पनि जोडिएको छ । पहाडमा पलाएका अनि हुर्केकाहरू सबैलाई यस्तै हुन्छ कि मैलाई मात्र हो मैले खुट्याइसकेको छैन । दक्षिण बग्ने लिखु खोलाको दाईने किनारबाट उम्रिएर पश्चिमतर अडेस लागेको रामेछापेली पाखोमा जन्मे-हुर्केको मेरालागि म कुन उचाईंमा या ठ्याक्कै कहाँ छु भन्ने ठम्याउन सबैभन्दा महत्वपूर्ण सन्दर्भ विन्दु हुन्थ्यो, लिखुको द्रेब्रेकिनारबाट अग्लिएर पूर्वतिर लमतन्न फैलिएको अोखलढुङ्गे पाखोको टुप्पो । पूर्वतिर फर्केको घरको अाँगनमा उभिएर त्यो अोखलढुङ्गे भिरालोमा अाँखा सार्दै टुप्पैसम्म पुर्याएर त्यो पानीढलो पछ्याउदै उत्तर बढ्दा पुगिने हिमालमै पुगेर ठोक्किएपछि मात्रै म निश्चित हुन्थे अाफ्नो अवस्थितिप्रति । काठमान्डूमा पनि पहाडी टुप्पाहरूले मलाई “ए, म यहाँनिर छु है” भनि खुट्याउन साह्रै सघाउँछन् ।

पहाडहरूसँगको सामीप्य त्यस्तो बानी परिसकेको छ ।

जब म पहाड नदेखिने ठाउँमा पुग्छु मलाई अाफू ठ्याक्कै कहाँनिर छु भनि पत्तालगाउन कठिन हुन्छ । त्यस्तो बेला अाकाश अलि धुम्म परेको छ भने त उकुसमुकुस हुन बेरलाग्दैन । कुनैबेला म दिल्लीको अस्थायी बासिन्दा हुँदा पनि मलाई पहाडहरूको अभाव खड्केको थियो । घरैमात्र देखिन्छन् जहीं पनि । त्यो पनि सम्झनलायक अाकार, व्यक्तित्व र उचाई भएका त झन् पटक्कै हैनन् ।

Likhu Mist Nepal
लिखु खोला माथि कुहिरो
सैलुङ डाँडाबाट देखिएका झन् अग्ला डाँडाहरू ।
सैलुङ डाँडाबाट देखिएका झन् अग्ला डाँडाहरू ।

हो, फोन खोलेर गुगल नक्सामा अमेरिकाले संसारलाई सित्तैमा उपलब्ध गराईरहेको पृथ्वीमा अाफ्नो भौगोलिक/शारीरिक स्थान पहिल्याउने प्रणाली (ग्लोवल पोजिसनिङ् सिस्टम/जीपीएस) मार्फत अाफू कहाँ उभिएको ठम्याउन नसकिने हैन । केही महिना अघि काठमान्डूबाट नेपालका केही ठाउँहरूमा हेलिकप्टरबाट दौडादौड गर्दा मैले फोनकै जीपीएस अनि गुगल नक्साको संयोजनले अाफू अहिले ठ्याक्कै कुन पहाड माथि छु भनि ठम्याउँदा एकखाले रोमाञ्च महशुस नभएको हैन । तैपनि नाङ्गा अाँखाले पहाडको टुप्पो हेरेर अाफूलाई पहिल्याउन बानी परेको र रमाउने मनलाई जीपीएसले पूर्ण सन्तुष्टि नदिंदो रैछ । प्रविधीका कयौं पक्षहरूसँग जीवनले पूर्णरूपेण सहजता महशुस गर्न समय लाग्दो रहेछ ।

त, म दिल्लीमा काठमान्डूका के खड्किए वेलिविस्तार लाउन खोज्दै थिए, पहाडहरूमा बरालिएछु । काठमान्डूमा बसेर दिनको २० रूपैयाँमै न्यूयोर्क टाइम्स को मुद्रित संस्करण पढ्न पाउनु सानो कुरा होइन भन्ने मेरो बुझाई छ । चाहेको बेला एफएम रेडियोबाटै काठमान्डूमा बीबीसी विश्व सेवा सुन्न सकिनुलाई पनि म चानचुने सुविधा मान्दिन । यी दुई कुराले समग्र शहरकै गुणस्तर र अाकर्षण बढाएका छन् भन्ने मेरो मत हो । संसारसँग उति राम्ररी नजोडिएको तेस्रो विश्वको सानो धुलौटे शहरको पनि सीमान्तमा बस्ने म जस्तो मानिसलाई प्राय: साना कुराले ठूलै सन्तोष दिन्छन् ।

निश्चयै ३० लाख अरू कुराहरू छन् जसले जोकसैलाई काठमान्डू मन नपराउने बनाइदिन्छन् । अभावको कुरा गर्न खोज्या ।

सेवा र सामानका लागि इन्टरनेटबाटै तिर्न सकिने व्यवस्था अहिलेसम्म नहुनुले मलाई साह्रै विरक्त पार्छ । झन् वेबमा अाधारित व्यवसाय गर्न चाहने उद्यमीहरूलाई कति निराश पारेको होला । इन्टरनेट र मोवाइल फोनबाट मान्छेले कुरा गर्न, माया गर्न अनि एक अर्कालाई हेर्न थालेकै यतिका वर्ष भइसक्यो । तर पैसा तिर्न सकिएको हैन अहिलेसम्म । कमाउन पनि सकिएको छैन । एकाध बर्षअघि एकजना विदेशीलाई नेपालमा वेब साइटमार्फत पैसा तिर्न सकिदैन भन्नुपर्दा मलाई त अप्ठेरो लागेको थियो नै उनले पनि सहजै पत्याएनन् । इन्टरनेट/मोवाइल फोन मार्फतको अार्थिक कारोबारमा लागेको यो बिर्को कुनै न कुनै ढंगमा ढिलोचाँडो खुल्न लागेको संकेतहरू मिल्दैछन् । तर चिन्ता त्यो खुलाई कुन हदसम्मको होला भन्ने हो । अनि नेपाली माटोमै पूर्ण अनलाईन किनमेल नगरेरै जिन्दगी फ्याट्टै वितिहाल्ला कि भन्ने पनि हो ।

दिल्लीको शहरी रेल प्रणालीमा धेरैजसो मध्यम र निम्ममध्यम बर्गीय मानिसहरूले यात्रा गर्छन् ।
दिल्लीको शहरी रेल प्रणालीमा धेरैजसो मध्यम र निम्ममध्यम बर्गीय मानिसहरूले यात्रा गर्छन् ।

त्यति सामान्य कुरा काठमान्डूमा नभएको तर दिल्लीमा फालाफाल भएको मात्रै हैन झन् बढीरहेको देख्दा पसिनामा पौडिएर भएपनि बसाइ एकदुइ दिन लम्ब्याउँजस्तो लाग्ने के । त्यस्ता सामान्य कुरा सहजै उपलब्ध र प्रयोग हुँदा सबैभन्दा फाइदा सामान्य जनतालाई हुँदोरहेछ । उसको जीवन सहज अनि अलि गुणस्तरीय बन्दोरहेछ । फोनको एप्प खोलेर ट्याक्सी बोलाएको केही क्षणमै अाफू भएकै ठाउँमा तुलनात्मकरूमा सस्तोदरमा चल्ने तर सुरक्षित र सुविधाजनक गाडी अाउँदा के त्यसले जीवनमा सकारात्मक प्रभाव पारेको होइन र ?

मलाई संकेत मिलिसकेको छ यो टुक्रो कता मोडिदै छ भनेर । प्रशंसाबाट शुरू भएको यो विवरण काठमान्डूलाई सखाप गाली गरेर टुङ्गिने वाला छ । तर के गर्नु कहिलेकाही अाफूलाई रोक्न नसकिदो रैछ । त्यस्तै मध्येको क्षण हो यो ।

जनसंख्या, अाकार, अर्थतन्त्र र बाहिरी विश्वसँगको सम्बन्धमा काठमान्डूभन्दा कयौं गुणा ठुलो र अगाडी रहेको दिल्ली अन्तर्राष्ट्रिय मापदन्डमा चाँही खासै सुविधासम्पन्न र भयंकर पूर्वाधारयुक्त शहर होइन । अस्ती जोन केरी झन्डै सडकमा जमेको बर्षाको पानीमा गाडीसहित डुवेका । तर अाफूसँग हिरो साइकल पनि नहुँदा छिमेकीको थाेत्रो होन्डा पनि के के न लाग्ने रैछ । दिल्ली, मुम्बई, ब्यांग्लोरको कुरै नगरौं, गुवाहटीजस्ता भारतका तेस्रो/चौथो तहका शहरहरूमा त्यस्ता सुविधा जनताकालागि उपलब्ध छन् जो काठमान्डूमा छैनन् । हो, म काठमान्डूलाई त्यो अासामेली शहरकै हाराहारीमा राख्छु । अझ तल झार्नुपर्छ, पुर्वाधारको तुलना गर्ने हो भने ।

बस बाहिरका मान्छेहरू
बस बाहिरका मान्छेहरू

काठमान्डूको सार्वजनिक यातायातको बेथितिको झन कुरागरी साध्य छैन । ठ्याक्कै अाठ बर्षअघि मैले एउटा लेखमाशहरको सार्वजनिक यात्राबारे गरेको निराशाजनक वर्णनमा अहिलेसम्म सुधार भएको छैन । जनताले सडकमा लामोसमय पर्खिनुपर्छ अनि गाडीभित्र कोच्चिनु र चेप्टिनु पर्छ । तर रातो बत्ति र साइरनवालाहरूकालागि चाँहि एकथान मान्छे हिड्न अगुवा-पछुवा सहितका गाडी दौडिने । त्यो हिँडाइलाई सहज तुलाइदिन बिचरा सर्वसाधारणले जो जुन हालतमा छ त्यही अवस्थामा छेउ लागिदिनुपर्ने । अन्यथा पछुवा गाडीमा रहेका पोशाकमा सजिएका मेशिनहरूको हातमा झुन्डेको रातो झन्डा बेरिएको लठ्ठीले घोचिनुपर्ने ।

संसारका थुप्रै शहरहरूमा ट्याक्सीको यात्रामा क्रान्तिकारी परिवर्तन अाइसकेको वा अाइरहेको छ । यस्ता परिवर्तन सेवाग्राही यात्रुका पक्षमा भएका छन् जसले एक ठाउँबाट अर्कोमा जान सहज र सस्तो भएको छ । तर हाम्रा ट्याक्सी चल्ने दुई मुख्य शहरहरूमा ट्याक्सी चढ्नु मोलमोलाई र लुटको प्रकृयाबाट गुज्रिने यात्रा भइरहेको छ ।

अनि यस्तो शहरबाट गएको मान्छे उबरबाट प्रभावित नहोला ? जाबो उबरबाट ?

पुनश्च: काठमान्डूमा उबर अायो भने शहरको एक फन्को लगाएपछि लेख्ने टुक्रोको शीर्षकलाई मैले अहिल्यै प्रयोग गरिदिएँ । यो लेखको दोस्रो भाग हो “उबर दिल्ली” ।

सबैभन्दा माथिको तस्बिरमा- काठमान्डूको साँखुबाट देखिएको सुर्यास्त ।

तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउन पाउनु मेरोलागि खुशीको कुरा हुनेछ । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद 🙂

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

यो लेख तपाईले वेबसाईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुहुन्छ भने बाकससँगैका बटन थिच्नुहोला सहजताकालागि । धन्यवाद ।