स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।
लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन पलमा बेहुलीको सिउँदोमा सिन्दुर हालिन्छ निश्चित छैन। खासमा सिन्दुर हालिने छैन र विवाहमा बाजा पनि बजाईने छैन किनकी त्यो ‘कोर्ट म्यारिज’ हुनेछ–जिन्दगी विताउन होइन कसैलाई देखाउन। विहे प्रमाणपत्र लिएलगत्तै अदालतबाहिर उनीहरुले त्यस्तै अर्को सम्झौता गर्नेछन्– ‘हामीले साच्चै विहे गरेको होइन है।’
‘त्यसो भए विहे गरेजस्तो चाहि महशुस नहुने भो?’ हनिमुन र त्यस्तै अन्य गतिविधि लक्षित गर्दै मैले ‘बेहुली’लाई सोधे।
‘हुनुपनि भएन,’ उसले भनि र नजिकै छुट्टै सोफामा बसेको ‘बेहुलो’ तिर हेरी।
‘किन?’
‘इन्टेन्सन इज नट टू म्यारी,’ उसले अंग्रेजीमा भनि– ‘(उद्देश्य विहा गर्नु होइन।) इन्टेन्सन इज टू गो एब्रोड (उद्देश्य विदेश जानु हो)।’
करिव दुई घन्टा लामो कुराकानीको अन्त्यतिर मैले सेलाएको र निखि्रदो चिया घुटुक्क पिए। अर्को प्रश्न सोच्दैगर्दा ऊ बोली।
‘आ–आफ्नो उद्देश्य पूरा गर्न हामीले उपाय भेट्टायौं।’
चित्र: दिपक
………..
टुटेको परिवार, शोषित बाल्यकाल, गरिवीबाट उब्जिएको नैराश्यता र राजनीतिक/सामाजिक अवस्थाप्रतिको वितृष्णाको समग्र कथा हो यो जसका पात्र बढ्दोरुपमा भइरहेका छन् शिक्षित नेपाली तन्नेरीहरु। सम्पन्न पृष्ठभूमीका होउन् या खान लाउन धौधौ पर्ने परिवेशका, काठमान्डूको बालुवाटारका होउन या संखुवासभाको तुम्लिङ्टारका, प्लस टू सकिनासाथ जसरी पनि विदेशिन चाहने नयाँ पुस्ताको सदश्यसंख्या हालैका बर्षहरुमा ह्वात्तै बढेको छ। अघिल्लो पुस्ताभन्दा महत्वकाँक्षी, यथास्थितीसँग तीब्र असन्तुष्ट र सम्पन्न पश्चिमा संसारलाई टीभीमा देखेर कल्पिने शिक्षित तन्नेरीहरुलाई दुतावासका ढोकाहरुबाट चम्किलो अनुहार पार्दै या आशु झार्दै निस्केको देख्न सकिन्छ।
ठ्याक्कै त्यही पुस्ताको प्रतिनिधित्व गर्छन् यी हुनेवाला कागजी ‘बेहुला–बेहुली’ले जोसँग गत साता पुतलीसडक र तीनकुनेमा छुट्टाछुट्टै र सँगै लामो गफ गरेको थिए मैले। विदेशिने प्रकृयामा जारी भएकाले उनीहरूको खास परिचय लुकाइएको छ किनकी छललाई उदाङ्गो पार्नु यो जर्नलको उद्देश्य होइन बरू उनीहरुको सहमतिमा कथा भनेर धेरैलाई नयाँ सामाजिक लहरबारे जानकारी दिनु हो।
…………..
काठमान्डूको भाडिएको र समश्याग्रस्त परिवारकी १९ बर्षे केटी। मध्य नेपालको लगभग निम्नमध्यम बर्गीय घरको २३ बर्षे ठिटो। नेपालबाट उम्किने दुबैको उद्देश्य ठ्याक्कै मिलेको छ तर अस्ट्रेलिया पुगेपछिका उद्देश्य भिन्न छन्। केटी पढ्न चाहन्छे– कम्प्युटर इन्जिनियरिङ्। केटा काम गर्न र टन्न पैसा कमाएर व्यापार गर्न चाहनछ। केटी नेपाल फर्किन चाहन्न, केटाको उद्देश्य त्यही छ।
पतिसँग सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग बस्न थालेकी महिला केटी र उसकी बहिनीकी आमा हुन्। ती आमा जो यतिखेर प्रेमीबाट पिडकमा परिणत दोस्रो श्रीमानबाट छुट्टिने प्रकृयामा छिन्। दुई पुरुषहरुसँगको आमाको जटिल सम्बन्धको प्रष्ट असर केटीमा पाच/छ कक्षा पढ्दैदेखि परेको हो। असरले त्यतिबेला चरमरुपम लिएको थियो जतिबेला, केटी भन्छे, सौतेलो बाबुले ऊसँग ‘जवरजस्ती विवाह गरौ’ भन्यो।
‘म पाच कक्षामा हुदा परिवारमा समश्या शुरु भयो,’ उसले सम्भि्क– ‘अर्को बर्ष म दोस्रोबाट दशौमा झरे। समश्या चर्किदै गयो, पढाई झन् विग्रदै गयो।’ आठ कक्षादेखि सानोतिनो विद्रोहै गरेर होस्टलमा बसेकी उसले एसएलसीमा ७० प्रतिशत ल्याई। ‘मेरो दिमाग एकदम सार्प (तिक्ष्ण) छ क्या,’ उसले भनि– ‘तर पाच/छ बर्षको अन्तरालमा मानसिक तनावले गर्दा हुनुपर्नेजति सार्प छैन।’
घरायसी समश्याले विदेश जानैपर्ने सोच बनाएकी केटी प्लस टू नगरी त्यो सहज नभएको थाहा पाएपछि दुई बर्ष पर्खि। तर उसले विश्वास गर्ने भाग्य उसको पक्षमा थिएन। लगातार चारपटक अमेरिकी दूतावासले भीसा निवेदन अस्विकार गर्यो। पहिलो पटक ११ डिसेम्बर २००७ को विहान साढे आठबजे भिसा रिजेक्ट हुदा उसलाई सबै सपना ‘आँखै अगाडी झरेर’ चकनाचुर भएजस्तो लागेको थियो। ‘तर (दूतावासबाट) निस्कदा मेरो फेस चार्मिङ् (हसिलो) थियो,’ उसले भनि– ‘कतिले भिसा लागेछ भन्ठानेर बधाई दिए। मलाई घर जानै मन लागेन। साईबर गए र अमेरिकमा आन्टिलाई फोन गरे। त्यतिबेला चाहि रोए।’
स्कुल पढाईमा समेत सघाएकी अमेरिकाकी स्थायी बासिन्दा उसकी काकीले केटीलाई विश्वविद्यालय भर्ना लगायतमा सहयोग गरेकी थिइन्। दुईमहिनापछि दोस्राेपटक भिसा निवेदन अस्विकृत हुदा उसलाई ‘बाहिर नजा भनेर कसैले रोकिराखेको’ र ‘नजानु नै लेखेको रहेछ’ भन्ने लागेको थियो। काकीले फेरी अर्को आइ–ट्वान्टी पठाइदिइन्। तर त्यसपछिका दुईवटा प्रयास पनि दुतावासका शंकालु कर्मचारीले तुहाईदिए। ‘कस्तो मुर्ख प्रश्न गर्ने,’ केटीले कन्सुलर शाखाका अन्तवर्ताकारप्रति रोष प्रकट गरी– ”हाउ मेनी विन्डोज एन्ड डअर्स इन योर यूनिभर्सिटी’ भन्ने। (तिम्रो विश्वविद्यालयमा कतिवटा झ्याल र ढोका छन्?)’
उसले चिया पिइ। उसका आखामा रिस छचल्किएको थियो।
‘रिस त यति उठेको थियो,’ उसले फरर्र भनि– ‘साले, गधा, कुत्ता, भाते, चोर भन्नु भएन। हास्दै निस्के।’
चौथो प्रयास असफल भएपछि आफन्तले उसलाई घेरेर अब ‘नेपालमै पढ्’ भनेपछि उसले एसएलसी र प्लसटू गरेको बानेश्वरको एउटा कलेजमा बीएस्सी फर्म भरी। प्रवेश परिक्षा यसै साता छ।
………….
त्यतिबेलै केटो दृश्यमा आएको थियो। पुतलीसडकको त्यही बैदेशिक अध्ययन पराशर्म केन्द्रको एउटा कोठामा ढोका थुनेर मैले उनीहरुको अर्न्तवार्ता गरेको थिए जहाँ केटीले अमेरिकी भर्नाको परामर्श लिएकी थिइ। केटो ताल्चाको साचो बनाउने सिलसिलामा पहिलोपटक त्यहा पुगेको थियो।
अस्टे्रलिया जाने विद्यार्थीले सातामा सीमित घन्टामात्र काम गर्न पाउछन् तर विद्यार्थीले भरपर्ने (डिपेन्डेन्ट) भएर जानेले पुरै अवधी। त्यसैले केटो ‘विद्यार्थी–केटी’ खोजिरहेको थियो। परामर्श केन्द्रका सञ्चालकले ‘यो केटासँग अस्ट्रेलिया जाने?’ भन्दा केटीले अस्विकार गर्न सकिन। ‘मैले एउटालाई अस्विकार गरिसकेकी थिए,’ उसले केटाको नाम (जो मैले बदलिदिएको छु) लिदै भनि– ‘तर अनिशदाईलाई देखेपछि खै किन हो हार्टले डिसिजन दियो– मुटुले निर्णय दियो– जाउ भन्ने।’
उसले केन्द्रबाटै आमालाई फोन गरेर प्रस्ताबारे बताउदा छक्क परेकी आमाले ‘घर आउ, कुरा गरौला’ भनेकी थिइन्।
‘हुन्छ,’ केहीदिनदमै केटा हेरेपछि आमाले छोरीलाई भनेकी थिइन्– ‘केटो ट्रस्ट (विश्वास) गर्न लायकको छ।’
……………
लायक साच्चै उपयुक्त शब्द हो– केटाको बर्णन गर्न। जति सुन्दर छे त्यो दोहारो आङ्की केटी, त्यति नै चिटिक्क छ त्यो गोरो हसिलो केटो। मध्य नेपालको कुनै एउटा प्रतिष्ठित तर प्रतिस्ठा धान्न धौ धौ पर्ने आर्थिक अवस्थाको परिवारको ठिटो प्लस टू गरेपछि तीनबर्षअघि काठमार्डौ आएर एउटा सरकारी कलेजमा भर्ना भएको थियो। यसैबर्ष उसले पढाई सिध्यायो तर त्यो भन्दा बढी पढेर केही ननापिने निस्कर्षमा पुगेपछि ऊ विदेशिने धुनमा लागेको हो। ‘नेपालमा पढेर केही स्कोप देखिएन,’ उसले कान्तिपुर कार्यालयको क्यान्टिनमा चिया खादै भन्यो– ‘आफूलाई रुचिभएको फिल्डमा काम पाइदैन।’
उसलाई मोडलिङ्मा रुचि थियो तर समश्या ढोकैमा थिए। ‘छिर्नै गार्हो,’ उसले भन्यो– ‘छिरेर पनि के? अलिकति पपुल्यारिटी पाउनेवित्तिकै मुख छोपेर हिड्नु पर्छ, त्यो अनुसारको लाईफ मेन्टेन गर्न गाह्रो।’
काठमान्डू आउदा उसका बाबुले केही ठाउमा जागिर खोजिदिएका थिए– सेल्सम्यानदेखि डिपार्टमेन्ट स्टोरमा विक्री प्रबन्धक सम्मको। सानै सही तर सिर्जनशिल भएको ठहर गर्दै उसले साचो डुप्लिकेट बनाउने काम रोजेको थियो। आफू नेपालकै दक्ष साचो नक्कल गर्ने व्यक्ति हुनसक्ने धाक लगाउदै थप्यो– ‘अस्ट्रेलियामा सकेसम्म यही काम खोज्छु।’
जान त उसलाई अमेरिका मन थियो तर पातालको यात्रा ‘साह्रै गाह्रो’ हुने थाहा पाएपछि उसले ‘डाउन अन्डर’को विकल्प रोजेको थियो। विद्यार्थी भएर जादा काम गर्न नपाईने हुदा डिपेन्डेन्ट बनेर जाने टुंगोमा ऊ पुगेको थियो।
त्यति नै बेला उसको भेट त्यो केटीसँग भएको थियो।
……….
विद्यार्थी र डिपेन्डेन्ट व्यक्तिबीचको समभदारीमा खर्चको टुङ्गो हुन्छ। सामान्यत डिपेन्डेन्ट हुनचाहनेले कम्तिमा ५० प्रतिशत खर्च व्यहोर्छन् तर यो मामिलामा केटाले केटीको सबै खर्च व्यहोर्दै छ। त्यो जम्मा आठ लाख हुने छ र उसले रिन गरेर त्यसको जोहो गर्दैछ। ‘उसको कथा सुनेपछि साह्रै माया लागेर आयो,’ केटोले केटीबारे भन्यो– ‘उसलाई लगेर धर्म हुन्छ, लाईफमा एउटा केही गरे भन्ने हुन्छ जस्तो लाग्यो। त्यसैले उसको पनि पैसा हाल्दै छु।’
‘आठ लाखले यही केही हुदैन?’ मैले सोधे– ‘त्यति खर्चगरेर उता पुगेपछि काम पाइएन भने?’
‘देशको स्थिती हेर्नुस् न,’ उसले भन्यो– ‘कहाँ खर्च गर्न सकिन्छ? डुव्यो भने डुवियो। कसले रिस्क लिने? उता त जे होस विस्तारै काम पाइन्छ। जस्तो पनि गरिन्छ। म कामलाई सानो भन्दिन। मुख्य कुरा त्यही हो।’
अनि उसले नेपालमै गरेका केही प्रयासको बृत्तान्त लगायो जसमध्ये काठमाडौंमा सार्वजनिक फोन बुथ सञ्चालन गर्ने योजना थियो। ‘तर गर्नै नसकिने यहाँ,’ उसले भन्यो– ‘घुस खुवाउनु पर्ने। खुवाउछु भन्दा पनि भएन। मेरो मन मरेको त्यहीबेलादेखि हो।’
केही बर्षमा निश्चित पैसा कमाएर देश फर्किने र केही गर्ने उसको योजना छ। ‘अलिकति आफ्नो आर्थिक अवस्था राम्रो बनाउदै अर्न्तराष्ट्रिय विजनेशम्यान बन्ने,’ उसले भन्यो– ‘म मेरो देशलाई पुरै सहयोग गर्न चाहन्छु। हामीसँग ज्ञान छ तर पैसा छैन।’
‘कति कमाउने विचार छ?’ मैले सोधे।
‘हेरौ कति हुन्छ, धेरै त सकिदैन होला,’ उसले भन्यो र अंक उल्लेख गर्न मैले जोड गरेपछि उसले थप्यो– ‘४०–५० लाख त ल्याउनै पर्छ। त्यति नभई विजनेश शुरु गर्न सकिदैन।’
अहिलेलाई अर्कै विजनेशको टुंगो लगाउनुपर्ने छ। यतिखेर केटी आइइएलटीएसको तयारीमा छे र परिक्षा नजिकिदै छ। केटीले पर्याप्त नम्बर ल्याउनेमा दुबै पक्का छन्। त्यसपछि भिसा प्रकृया थालिने छ र ‘विवाह’ गरिने छ। लगत्तै ‘त्यो झुटो भएको’ दावी गर्ने अर्को सम्झौता गरिने छ ताकी लगभग तीन महिना पछि उनीहरुमध्ये एकले छुट्टिन चाहेमा सजिलो होस्।
‘यस्तोमा केटी सधै फाइदामा हुन्छन्,’ कागजी विवाह र त्यसका परिणामबारे केटीले भनि– ‘उता गएपछि केटी समश्यामा परे डिपेन्डेन्ट केटाले पाल्नुपर्छ, छुट्टिन चाहे आधा सम्पत्ती दिनुपर्छ।’ उसले आफ्नो पुरुष साथी एउटीको डिपेन्डेन्ट भएर गएको र केटीले उसलाई अहिले खुबै दुख दिएको बताइ। दुई बच्चाकी आमा दिनभरी सुतेर बस्ने, केटाले दिनभरी काम गर्ने। ‘राती छिटो आएन भनेर पुलिसलाई भन्दिछ,’ केटीले भनि– ‘अब ऊ अफिसबाट घर, घरबाट अफिसमात्रै गर्न पाउने भएको छ। त्यो केटीलाई मैले भेट्टाउन पाए…।’ उसले दात किट्दै मुठ्ठी बाधी।
‘त्यसैले केटीको विश्वास गर्न हुदैन,’ उसले भनि– ‘उनीहरुको मन कुनबेदा बदलिन्छ, पत्तै हुदैन।’ उसले केटोतिर हेरी र भनि– ‘तर दाईले मलाई किन पत्याएको हो थाहा छैन।’
केटाले हल्का मुस्काउदै उसलाई हेर्यो।
‘श्रीमान श्रीमतीकारुपमा अस्ट्रेलिया गएपछि त्यसैगरी बस्नुपर्यो,’ मैले भने– ‘अनि फेरी विहे नगरेझै बस्ने पनि भन्छौं।’
‘दाईले सोध्न खोजेको कुरा मैले बुझें,’ केटाले मुस्काउदै भन्यो।
‘त्यो सम्बन्धित मान्छेमै भरपर्छ,’ केटीले भनि– ‘उनीहरु एकअर्कालाई बुझ्ने र सम्झौता गर्न सक्ने हुनुपर्यो।’
‘साच्चैको विहे कहिले गर्ने?’ मैले केटीलाई सोधे।
‘सानोमा लाग्थ्यो म जिन्दगीमा कहिल्यै विहे गर्दिन,’ उसले भनि– ‘तर अचेल धेरैले ‘उमेर पुगेपछि विहा चाहि गर्नैपर्छ, एक्लै बस्नु जस्तो गाह्रो केही हुदैन’ भन्छन्।’
मलाई लाग्यो ऊ अचेल ती भनाईसँग सहमत छे।