रोसी खोला तिरैतिर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।


कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।

कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ।

तर सुखद चाहनाहरु कटु वास्तविकता भन्दा प्रायः अलि फरक हुन्छन्। हामी इटालीको नेपल्समा होइन सिन्धुलीको नेपालथोकमा थियौं। ऊ दिनभरी गाडी चलाएर थाकेको ड्राइभर थियो जो, म पक्का थिए, त्यतिबेला मोडलिङ्भन्दा बढी निद्राबारे सोचिरहेको थियो। दिनभरी काभ्रेको पाचखाल–रवीओपी हिले कच्चीबाटोमा र साँझ चिल्लो बीपी राजमार्गमा गरी दर्जनौ किलोमिटर बाइकमा हुइकिएर त्यहाँ पुगेका दुई थकित रिपोर्टर प्रश्नको मुडमा खासै थिएनन् तर एउटाको दिमागमा अघिल्लो साता जय नेपालमा हेरेको बलिउड सिनेमा ‘रक अन’को त्यो रमाइलो गीत गुन्जिरहेको थियो–

आसमा हे निला क्यू, पानी गिला गिला क्यू, गोल क्यु हे जमीन?
सिल्क मे हे नर्मी क्यु, आगमे हे गर्मी क्यु, दो ओर दो पाच क्यु नही?

किन त्यस्तो हुन्छ, कसैले सोचेको छ? सन्नाटा किन सुनिदैन? हावा किन देखिदैन? थाकेर सुत्दा पनि किन निद्रा लाग्दैन? नजिकैको रोसी र अलिपरको सुनकोशीबाट विहानीपख आउने हावालाई यो सिरकविहीन खोलले थेग्छ थेग्दैन?

‘हेएएए, थेग्छ,’ केल्भिन क्लाईन मोडलले मेरो शंका निवारण गर्न भन्यो जो मैले अपेक्षा गरेको थिइन। ‘यस्तो गर्मीमा खोल काफी छ,’ उसले थप्यो– ‘जाडो हुदैन यहाँ।’

उसले हाम्रो ओछ्यानमा भएजस्तै एउटा सेतो खोल तान्यो र कम्मरदेखि तिघ्रासम्म छोप्यो। उत्तानो परेको उसको छाती फराकिलो र खुला छ। मान्छे आफैमा चाहि ऊ लिखुरे छ।

‘हैन, हामीले अघि तल सँगै खाना खाएको हो कि क्या हो?’ मैले सोधे।

‘हो,’ उसले भन्यो र मतिर कोल्टे फर्कियो।

अघिल्लो शनिवार आठबजेतिर हामी ‘चौकोटेको होटल यही हो?’ भन्दै त्यहा पुगेका थियौं। भकुन्डेबेसीमा हामीलाई कसैले सुझाएको थियो– ‘नेपालथोकको टप होटल चौकोटेको हो। बस्ने राम्रो व्यवस्था छ।’

‘हो हजुऊऊऊर,’ एकजनाले लेघ्रो तान्दै भनेका थिए।

‘लौ दाजू त्यसोभए आज यही बस्नुपर्योे,’ सुरज कुँवरले भने।

‘हुन्छ हजुऊऊऊर,’ होटल मालिकले भने– ‘दुखसुख बसौला नि हजुर के छ र।’

roshi and sunkoshi rivers

केही छैन खासमा, आजको रात विताउनु छ। पाएसम्मको मिठो खानु छ। मान्छेहरुका कुरा सुन्नुछ। विहान फेरी काठमान्डू गुड्नुछ।
खाना पाक्दैगर्दा एउटा बस लामो र संयोजितजस्तो लाग्ने धुन बजाउदै बजारतिर नजिकियो। ‘ऊ आयो,’ होटलमालिकले ड्राइभरको नाम लिदै आफ्नी पत्नीलाई भने– ‘खाना तयार पार।’

बस झनै नजिकियो, त्यसले ‘कजरा रे कजरा, तेरे कारे कारे नयना’को बलिउड धुनयुक्त हर्न बजाइरहेको थियो।

एकैछिनमा हामी दायाँ पट्टीको टेबुलमा दाल, भात, भुटेको तीतेकरेला र दुध खाइरहदा ऊ जोडिएको अर्कोमा त्यस्तै साकाहारी खाना खाइरहेको थियो। उसले सामान्यत चुपचाप खायो र बीचैमा आफ्नो गाडी सहायकलाई बोलाएर काक्रो माग्यो। ‘ह्या, तैले राखेको होला भनेर पो मैले पछि किनिन,’ सहायकले काक्रो त्यतिबेलै सकिएको बताएपछि उसले भन्यो। ऊ फेरी चुपचाप चपाउन थाल्यो। खासै केही नबोली ऊ त्यहाबाट हरायो।

अनि ऊ विछ्यौनामा त्यो अवस्थामा भेटिएको थियो।

‘ड्राइभरिङ् रमाइलो छ?’ मैले सोधे।

‘छ पनि, छैन पनि,’ गफप्रति खासै रुचि नदेखाउदै उसले भन्यो र फेरी उत्तानो पर्यो ।

‘ड्राइभर भनेपछि केटीहरु हुरुक्कै हुन्छन् नि,’ सुरजले भने– ‘तपाईका पनि होलान्।’

‘छैन त्यस्तो,’ उसले भन्यो– ‘यो रुटमा अप्ठेरो छ गाडी चलाउन।’ रुट भन्नाले ऊ वीपी राजमार्ग अर्न्तगतको बनेपा–भकुन्डेबेसी–नेपालथोक खन्डको लगभग ५४ किलोमिटरको संकेत गरिरहेको थियो।

‘किन अप्ठेरो?’ मैले सोधे र जापानी सहयोगमा बनेको बाटोको प्रसंसा गरे– ‘यस्तो राम्रँे बाटो छ। मलाई नेपालकै सबैभन्दा उत्कृष्ट र दरिलो लाग्यो। फेरी पिच पनि गज्जव।’ मलाई लाग्यो, काठमान्डूबाट लङ् राइड जान चाहनेहरुका लागि त्यो उपयुक्त हो जसमा अहिले खासै बाक्लो ट्राफिक हुन्न र– दृश्यको के कुरा गर्नु– घमाइलो दिनमा आँखा बाटोमा अडिदैनन्।

‘खासमा त्यो पिच हैन,’ उसले भन्यो–’त्यसमाथि नेपाल सरकारले अझ कालो पिच गर्नुपर्ने हो। सडक अलि साघुरो छ। फेरी जता कोल्टो, उतै गाडी ढल्किन्छ।’

ऊ वास्तवमा ड्राइभर मात्र होइन, त्यो गाडीको मालिक पनि हो। बनेपाको स्थानीय उसले २०५५ मा एसएलसी दिनुअघि नै गाडीलाईनमा काम थालेको थियो। दुई बर्ष अघि उसले सानो गाडी बेचेर ठूलो टाटा बस किन्यो। एउटा गाडीमा गरेको लगानी सामान्यत चार बर्ष उठ्ने उसले बतायो। सडक लम्बाई बढेको छैन तर गाडी निरन्तर थपिइरहेका छन् नेपालमा त्यसैले रुटहरुमा पालो पाउन तिनले मज्जाले क्युमा बस्नुपर्छ। हालैका बर्षहरुमा सिन्डिकेटविरुद्ध आन्दोलन चलेपनि त्यो खराव आलोपालो प्रथा देशका धेरैठाउबाट अझै हट्न सकेको छैन। रोसी सुनकोसीमा मिसिने र सिन्धुली, काभ्रे र रामेछापको त्रिवेणी नेपालथोक रुटमा पनि सिन्डीकेट दरिलो छ।

‘सात दिन यता बस्नुपर्छ, सात दिन उता,’ उसले नेपालथोक–बनेपाबीच बाडिएको जिन्दगीबारे भन्यो– ‘अर्को सात दिन रेस्ट (आराम) गर्ने, क्यू पर्खिदै।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालले काठमान्डूलाई देशको पूर्वी भागसँग जोड्न सबैभन्दा छोटो मार्गको उद्घाटन २०१५ सालतिरै गरेका थिए। उनकै पार्टी काङ्ग्रेस र भाई गिरिजाप्रसाद कोइरालाले वितेका १८ बर्षमा थुप्रैपटक सत्ताको बागडोर सम्हाले पनि र जापानको भव्य सहयोग मिलेपनि त्यो अहिलेसम्म पुरा हुनसकेको छैन। नेपालथोक नपुग्दैका केही किलोमिटर अझै पिच छैनन्। त्यहाभन्दा उता दर्जनौ किलोमिटर बाटै छैन भन्दा हुन्छ। पाचबर्ष जति अघि नेपालथोकसम्म यात्रु बस चल्न थाले। त्यतिले पनि मान्छेलाई ठूलो राहत मिल्यो।

‘हिडेर बाह्र घन्टा लाग्छ बनेपा,’ नेपालथोकमास्तिरको गाँउ दुम्जाका एकजना स्थानीयले भने– ‘अहिले सरर्र अढाई घन्टामा।’

तर ड्राइभरलाई रुटबाट खासै सन्तुष्टि मिलेको छैन। ‘यो रुटका मान्छै नराम्रा,’ उसले तिक्तता पोख्यो– ‘गाडी रोकेन भने डाइभर कुटिहाल्छन्।’ केही अघि सडक किनारका यात्रु नदेखेपछि गाडी सोझै अगाडी बढाउने ड्राइभरलाई स्थानीयले गोदेको उसले बर्णन गर्योत।

कुनबेला कुरा बन्द भयो थाहा भएन तर विहान रोशीको सिरेटोले हल्का भेट्टाएजस्तो लाग्दैगर्दा संकेत नटिप्ने मेरा जीएसएम र सीडीएमए मोवाईल सेटहरुबाट एकनासको अलार्म टोन बज्न थाल्यो। देब्रेपट्टीको हाम्रो भुई–छ्यानसँगै एउटा सानो खाटमा सुतेको होटलमा काम गर्ने फुच्चे कुनबेला उठेर निस्किसके छ। ‘यो सुत्ने होटल होइन नि दाई,’ उसले बेलुका सुत्नु अगाडी भनेको मैले सम्भि्कए– ‘यसो कोही अभरमा परेकालाई राख्ने गरेको मात्रै हो।’

विहानी उज्यालोमा देखियो साइनबोर्ड– चौकटे भोजनालय एन्ड खाजा घर। साहुजीको नाम–ज्ञानेन्द्र श्रेष्ठ– हत्तपत्त कसले विर्सने? बनेपाका स्थानीय उनी वितेका केही बर्षयता सपत्नी नेपालथोकमा होटल चलाईरहेका छन् (‘जुठा भाडा माझ्ने त हो नि हजुऊऊऊर’)। बेलुका उनका ‘हजुरका हजुर’ सुन्दा यी व्यक्ति फिट्टु छन् कि जस्तो लागेको थियो तर विहान टुंगोमा पुगें हैन, यीनी साच्चैका मृदुभाषी व्यापारी हुन्। मोटो शरिर र त्यो भन्दा अलि ठूलो पेट भएका उनी आक्रोसले पनि भरिएका थिए।

‘अब हेर्नुस् हजुर सादा खानाको ४५,’ उनले भने– ‘तर के त्यो सबै ४५ मैले राख्ने हो र? त्यसो भए त म पनि केही कमाउने थिए। तर के चामल सित्तैमा आउछ हजुर? दाल सित्तैमा आउछ? त्यो सबै खर्च कटाउदा कति नै बच्छ र हजुर?’

‘बनेपाको मान्छे, किन यहाँ आउनुभएको?’ मैले सोधे।

‘खानु पर्योन नि हजुर,’ उनले भने– ‘घर बसेर मिल्दैन।’

‘त्यो त हो,’ मैले भने– ‘त्यसैले हामी पनि कहिले कता बरालिन्छौ, कहिले कता।’

चाहविलमा कपडा पसल गर्ने ज्ञानेन्द्र ‘व्यापार नुहुने, भाडैमात्र तिर्नुपर्ने’ हुनथालेपछि दिक्क हुदै करिअर बदलेर नेपालथोक आएका थिए। दैनिक दर्जनौ मानिसलाई औसतभन्दा मिठो खान्की खुवाउने ज्ञानेन्द्र सोचेजस्तो व्यापार नभएकोमा खिन्न छन्। विहानीसम्ममा दुई पाहुना पत्रकार भएको थाहा पाएका उनी आफ्ना समश्याबारे लेखिएको देख्न चाहन्थे। उनले महगी अचाक्लि बढेको, कमाउन निकै गाह्रो भएको उल्लेख गर्दै दशै नजिकिइसकेको तर त्यसका लागि पर्याप्त पैसा जम्मा नभइसकेको बताए। उनले क्यालेन्डर पल्टाए, घरजान तीन साता जति भएको हिसाव निकाले, पत्नीसँगै एकछिन मुस्काए र तत्कालै खिन्न मन पारे। ‘हेर यो २१ दिनमा अब के कमाउने, बच्चाहरुलाई के किनिदिने?’ उनले भने र सरकारलाई निशाना बनाए– ‘हेर्नुस हजुर गरिव दुखीलाई जो आए पनि केही हुदैन। खै, माओवादीले पनि के गरे? तिनले रातभरी अर्काको खादै हिडे, अहिले जनतालाई खै के भयो? यहाँ हामीलाई सधै दुखको दुखै।’

तिनका कुरा सुन्दै गर्दा मलाई गत बर्ष न्यूयोर्क टाइम्सकै सन्डे म्यागेजिनमा प्रकाशित एउटा लेख याद आयो जसमा पारीपट्टी रामेछापको गुरे सार्कीले दुईटा पाठा समाईरहेको श्यामस्वेत तस्बिर छापिएको थियो। तस्बिरसँगैको लामो आखेलमा कतै भनिएको थियो– ‘अफ्रिका बाहिर कुनै पनि देश नेपालभन्दा गरिव छैन। उसको २७० डलर प्रतिव्यक्ती आम्दानी देख्दा त्यो गल्ति छापिएको पो हो कि जस्तो लाग्छ।’