रेलभित्रको सिपाही

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।
त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।

‘कति बज्यो दाइ?’

मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।

साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा?

‘पौने दस,’ मैले भने– ‘नेपाल टाइम।’

खल्तीबाट मोबाइल निकालेर समय बताउँदासम्म उसले म बसेको सिटैमा मेरो सामुन्ने पलेटी मारेर आफूलाई थमाउन भ्याइसकेको थियो। ऊ मलाई हेरिरहेको थियो।

निधारमा रातो रुमाल बाँधेको, तीन दिनजस्तो अघि दाह्री काटेको, अमेरिकी जुत्ता कन्भर्सको विज्ञापन कुदिएको टिसर्ट र सादा ट्राउजर लगाएको त्यो जवानले मसँग गफ थाल्ने पर्फेक्ट बहाना भेट्टाएको थियो। मेरो टिसर्टमा ठूलो रंगीन ‘काठमान्डू, नेपाल’ इम्ब्रोइडरी कुँदिएको थियो। हल्का आश्चर्य मलाई त्यतिबेला भयो जब उसले ऊ पनि त्रिवेन्द्रम जान लागेको बतायो। त्यो ट्रेनमा कोही नेपाली यात्रारत छन् कि भन्दै चाहार्ने क्रममा स्लिपर क्लासको दुई नम्बर डिब्बामा ऊ आइपुगेको थियो।

दसैंको मुखैमा चाडलाई गत वर्षझैं बेवास्ता गर्दै ब्याकप्याक बोकेर दिल्लीतिर बिदा मनाउन हानिएको मैले रेल टिकट नपाएपछि तत्कालै केरला बरालिने निर्णय गरेको थिएँ। कामको मुडमा म पक्कै थिइन तर त्यो क्षण दुई हजार शब्दको एउटा स्टोरी तीव्र गतिको रेलभित्र मेरै सिटमा बसेर मलाई नियालिरहेको थियो। उसको परिचय सुन्नासाथ मैले नोटबुक निकालेको थिएँ।

‘सुरेन्द्र हमाल,’ ठिटोले परिचय दियो– ‘इन्डियन आर्मी। गोर्खा राइफल्स।’

‘आर्मीमा चाहिँ यस्तो,’ मैले टिप्दै गर्दा उसले थप्यो– ‘त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।’

पुतलीबजार–१ स्याङ्जाको २२ वर्षेलाई मैले जस्तो ‘दिल्ली गोवा झरेर मनाउला दसैं भन्ने छनोट थिएन। विदेशी सेनाले दिएको एक महिने बिदा एकै दिन बितेझैं सकिएको थियो। नसकिँदो हो त दसैंको के कुरा छ महिनाअघि बिहे गरेकी पत्नीलाई छाडेर झन्डै पाँच हजार किलोमिटर टाढा जाने रहर उसमा कसरी आउँदो हो?

‘भर्खर भर्खरको प्रेम कस्तो हुन्छ?’ उसले त्यसरी भन्यो मानौ ऊ जवाफ मबाट खोजिरहेको छ– ‘मागी बिहेमा प्रेम पछि हुन्छ क्या। बिहेपछि।’

यो लेख फोटोहरूपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद 🙂

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

taking order of food in an indian rail

selling food in an indian rail

………….
‘एई चाय, गरमागरम चाय,’ एउटा भट्ट्याउँदै आयो– ‘पिजिए भाई साहब, मजेदार चाय।’

‘एई वाट्रेएएए,’ अर्कोले पानीको अंग्रेजी शब्दलाई खाट्टी भारतीय रेल–व्यापार लवजमा उच्चारण गर्दै चियावालालाई पछ्यायो– ‘एई वाट्रेएएए। लिजिए कोल्ड ड्रिङ्क्स।’

‘लेओगे भाइ चाय?’ डिब्बाको उपल्लो कुनामा पुगेर फर्केको चियावालाले हमाललाई जिस्काउँदै सोध्यो।

‘अब तैंले खान्छन् है मेरो चुटाइ,’ उसले चियावालाको अनुहार र आफ्नो मुड्कीबीच आँखा सार्दै हाँस्दै भन्यो– ‘तेरेको तो मै दुंगा धुलाई। बढी कराउँछस्?’

पाँच वर्षअघि भारतीय सेनामा काम थालेयता हमालको आत्मविश्वास ह्वात्तै बढेको छ, जो प्रायः प्रकट भइहाल्छ। सेनाको कठिन तालिमलाई त्यसको जस जान्छ। ‘सुरुसुरुमा आउँदा अर्काको ठाउँ, कुट्लान् भन्ने हुन्थ्यो,’ उसले मसँग भन्यो– ‘अहिले इन्डिया खाइयो। हतियारै लिएर आए भने पनि एक/दुई जना मान्छे कसरी फाँड्ने थाहा छ। खतरा ट्रेनिङ गरियो।’

त्यो चियावालासँग अघिल्लो यात्रामा परिचय भएको हमालले बतायो। चिनाजानी त्यो बिहान अद्यावधिक भएको थियो। हमालको ‘एक/दुईजना फाँड्ने’ कुरा नबुझेको चियावाला अनिश्चयात्मक मुस्कान दिँदै र उही खाँट्टी भारतीय रेल लेग्रोमा पेयको विज्ञापन गर्दै अर्को डिब्बातिर लाग्यो।

filling water in an indian railway platform

inside rapti sagar express

rapti sagar express indian rail

…….
संसारकै सबैभन्दा ठूलो र व्यस्त सञ्जालमध्येको भारतीय रेल प्रणाली खासमा त्यो समाज र अर्थतन्त्रको जीवनरेखा हो, जसमार्फत सम्पूर्ण भारत चलायमान हुन्छ। अंग्रेज साम्राज्यले भारतमा छाडेको सम्भवतः सबैभन्दा उपयोगी र प्रभावशाली विरासत हो रेल, जसले सस्तो र आरामदायी यात्रा गराउनुबाहेक एउटा कुनामा उत्पादित सामानलाई कम खर्चमै अर्कोमा पुर्यारइदिन्छ। आकाशबाट हेर्दा घिसि्रइरहेका लामा अजिंगरजस्ता देखिने तथा भित्र प्रायः भीड र होहल्लामा गुन्जिने भारतीय रेलमा दैनिक झन्डै दुई करोडले यात्रा गर्छन्। रेल आफैमा एउटा संसार हो, जहाँ अनेकौं भाषा बोलिन्छन्, थरीथरीका लजव देखिन्छन् र विविध खान्की खाइन्छन्। डिब्बाभित्रका ट्वाइटेलबाट निस्कासित बस्तु सोझै झर्ने हुँदा भारतीय रेल लिक संसारकै सबैभन्दा ठूलो शौचालय पनि हो। भारतीय रेलवेको चौथो लामो रुटको २३ डिब्बे ‘राप्तीसागर एक्स्प्रेस’ मा आज एउटा सानो सहरै सवार छ। ‘कति ठूला छन् यी रेलहरू,’ स्याङ्जाली राइफलम्यानले भन्यो– ‘सुरुमा एउटा रेलबाट मान्छे झरेको देख्दा मेरा जिल्लाका सबै आएछन् कि जस्तो लाग्या थियो।’

भारतीय सैनिक भएकाले हमालले निःशुल्क (र सिपाही भएकाले) शयन डिब्बामा यात्रा गर्न पाउँछ। तर उसका आँखा वातानुकुलित (एसी) तिर छन्। ‘हवल्दार भएपछि एसीमा हिँड्न पाइन्छ,’ उसले भन्यो।

त्यो सम्भवतः अबका १० बर्षमा भइसक्नेछ, जसको समाप्तिसँगै ऊ पेन्सनका लागि योग्य हुनेछ। त्यसपछि रेलै दिन्छु भने पनि उसलाई भारतीय जागिर गर्ने चाहना छैन।

‘अबका दस वर्ष पैसा जोगाउँछु,’ उसले भन्यो– ‘फेरि अर्को नोकरी गर्न मन छैन। पैसा जोगिए एउटा घर बनाएर फ्यामेली लिएर बस्न सकिन्छ।’

…….
घरमा पत्नीबाहेक हमालकी विधवा आमा, हजुरबा र भाउजु छन्। हजुरबाजस्तै भारतीय सेनाबाट निवृत्त बाबुलाई हमालले १७ वर्षको हुँदा मोटरसाइकल दुर्घटनामा गुमाएको थियो। उसका दाइ नेपाली सेनामा छन्। बाबु बितेको चोटमा रोजगारीका दृष्टिले असुरक्षित बनेको हमालले सजिलो विकल्पका रूपमा भारतीय सेनामा जाने निर्णय गरेको थियो। पोखरामा भर्ती भएर सिम्लामा ५२ हप्ताको प्रारम्भिक सैन्य प्रशिक्षणसँगै ‘भारतका लागि मर्न पछि नहट्ने’ कसम खाएपछि ऊ औपचारिक रूपमा पल्टनमा सामेल भएको थियो। त्रिवेन्द्रम नजिकैको ब्यारेकमा दुई महिनाअघि पोस्टिङ हुनुअघि उसले सुदूर उत्तर भारतको पाकिस्तानी सीमा नजिकै विश्वकै सबैभन्दा अग्लो लडाइँ स्थल सियाचेन ग्लेसियरमा दुई वर्ष बितायो। त्यसअघि ऊ पूवोत्तर भारतको अरुणाचल प्रदेशस्थित चिनियाँ सीमा नजिकै थियो। ‘सबै ठाउँ छुट्टै संसार जस्तो,’ उसले भन्यो– ‘अरुणाचल अर्कै, ग्लेसियर झन् अर्कै। ग्लेसियरमा बंकरको बंकरै। निस्किए जाडोले बरफ होइन्छ या गोलीले माथि गइन्छ। अब केरला तल समुद्रमै भइगयो।’

‘रमाइलो छ जागिर?’ मैले सोधें।

‘अर्काको देशमा, अर्काको खटनपटन के रमाइलो हुनु,’ उसले भन्यो– ‘अर्काको लागि लड्नुपर्छ। घरैमा बस्न धनीको छोरा परिएन। जानुपर्ने विदेशमै हो, छाडेर पनि के गर्ने? १४ हजार आईसी पैसा ठीकै छ तर इज्जत हुन्न।’

इज्जत हुने र आफ्नै देशको सेवा पनि गरिने काममा हमालले रुचि नदेखाएको होइन। ‘तीन वर्षअघि,’ उसले भन्यो– ‘नेपाली सेनामा सेकेन्ड लेफि्टनेन्टमा नाम निस्केको थियो तर द्वन्द्वको समयमा माओवादी डरले त्यसमा भर्ती भइएन।’ यो एउटा तीतो विडम्बना हो, हमाललाई सेनामा भर्ती हुन रोक्ने माओवादीका प्रमुख अहिले नेपाली सेनाका पनि प्रमुख छन् र आफ्ना कार्यकर्तालाई त्यो राष्ट्रिय संस्थामा घुसाउन प्रयत्नशील छन्। हमाललाई अब त्यसमा खासै गुनासो छैन। उसले जसोतसो पेन्सन पकाउने निर्णय गरेको छ।
हो, हमालले देशले दिन नसकेको रोजगारीका खातिर विदेशीका लागि मर्नेसम्मको बाचा गरेको छ तर त्यसो भन्दैमा उसले स्वदेशको मूल्यमा विदेशीलाई हृदयदेखि रुचाउँछ भन्ने होइन। सिर्फ पैसाका लागि विदेसिनु परेको वास्तविकताप्रति उसमा जति गहिरो ग्लानी छ, स्वदेशप्रति त्यति नै माया।

‘घरमा जति रमाइलो कहाँ होला,’ उसले भन्यो– ‘आफ्नो मर्जीमा बस्न पाइन्छ। फेरि हिन्दी शब्द आइहाल्छ, नेपाली बोलौ भनेको।’
सधैं घर बस्ने समय आइसक्दा उसको बोलीमा सम्भवतः अझ बढी हिन्दी शब्द मिसिनेछन् तर त्यसो भन्दैमा हमालले गन्ती गर्न छाडेको छैन।

‘पेन्सन पाक्दा ३३ वर्षको हुनेछु,’ झ्यालबाट बाहिरको फराकिलो खेततिर आँखा डुलाउँदै उसले भन्यो– ‘त्यसपछि खुरुक्क घर फर्केर आनन्दले बस्छु। अर्को काम गर्दिनँ। विदेश मरे पनि जान्न।’

रेल निरन्तर दौडिरहेको छ, धान खेत सकिएको हैन। आवाज प्रस्ट सुन्न म ऊतिर ढल्किएको छु।

‘तर अबका १० वर्ष एकदम लामो लाग्छ,’ उसले भन्यो।

म सुनिरहेको थिएँ, ऊ बाहिरै हेरिरहेको थियो। हामी लखनउलाई निकै पछि पार्दै कानपुर कटिसकेका थियौं।

‘घरमा हुँदा दुई महिना दुई दिन जस्तो बितिहाल्छ,’ उसले थप्यो– ‘पत्तै हुँदैन, फर्किने बेला आइसक्छ।’

……….
यसपालि फर्किंदा सबैभन्दा बढी ‘मिस’ हमालले आफ्नै पत्नीलाई गरेको छ। बिदा एक दिन बाँकी थियो तर त्यही दिनको ‘नेपाल बन्द’ छल्न उसले अघिल्लै दिन गोरखपुर हानिनुपर्योक।

‘नयाँ नयाँ छ नि प्रेम,’ उसले भन्यो– ‘एक दिन भए पनि सँगै बसौं भन्ने हुन्छ।’

सेनाको जागिर, ब्यारेकको जिन्दगी। केटी कल्पनामै मात्र हुन्छन्, वास्तविकतामा दुर्लभ। ‘केटीको फेस देख्न पनि पाइँदैन आर्मीमा,’ उसले भन्यो– ‘फौजीको नराम्रो भनेकै त्यही। केटाकेटा होइन्छ। उत्तेजना भइहाल्छ। अनि विकृति, रोग, वेश्यालय।’

मैले दाँत सिरिंग हुँदा बन्ने अनुहार पार्दै उसलाई हेरें। ऊ बोलिरहेको थियो। ‘बिहे नगरे फौजी बिग्रिन्छ,’ उसले भन्यो– ‘छिट्टै गरेको राम्रो। बूढो भएपछि के रमाइलो? जहाँ पायो त्यहीँ जाने, खर्च गर्ने सबै कन्ट्रोल हुन्छ।’

मैले टाउको हल्लाएँ।

‘कन्ट्रोल के ठप्पै हुँदो रहेछ,’ उसले भन्यो– ‘केही गर्नुपर्छ, पैसा जोगाउनुपर्छ भन्ने हुन्छ। अलि व्यावहारिक होइन्छ।’
बिहे नगर्दा पैसा उडाउने गरेको सम्भिँदै उसले भन्यो– ‘बिदा सकिएर फर्किने बेला खर्च हुँदैन थियो। आमासँग माग्न लाज लागेर ऋण गरेर जान्थें।’

धन्यवाद, उसको जीवनमा पत्नीको आगमनलाई, हमाल अब पैसा बैंकमा जोगाउन चाहन्छ। घर बनाउने उसको लक्ष्य छ।

गत वर्षको त्यो दिन उसले कहिल्यै बिर्सने छैन। जब हमाल १२ कक्षाको परीक्षा पर्खिंदै गरेकी केटी हेर्न अहिलेको ससुराली पुगेको थियो। पहिलो हेराइमै ऊ आकर्षित भयो। ‘अर्काकी छोरीलाई कसरी नराम्रो भन्न सकिन्छ?’ उसले भन्यो– ‘अनि मन पर्योम। बाउले बीए पास गरेरपछि मात्र दिने भन्दै थिए, मैले भने– ‘ममीले कर गर्नुभएको छ।’ केटीले सोधी– ‘मैले पढ्न पाउँछु?’ मैले भने– ‘म शिक्षाप्रति त्यस्तो छैन । मैले पेन्सन नपकाउन्जेल जति पढे पनि हुन्छ।’

बिहेअघिको प्रतिज्ञा हमालले पूरा गरेको छ। पत्नी पोखरामा पीएन क्याम्पसमा भर्ना भएकी छिन्। ‘उनी,’ हमालले भन्यो, ‘त्यहीँको एउटा प्राथमिक स्कुलमा पढाउँछिन् पनि।’ पढाइमा सहयोग पुर्यानउन तत्काल बच्चा नजन्माउने सहमति उनीहरूले गरेका छन्। ‘(बच्चा जन्माए) पढ्ने मान्छेको पढाइ बिग्रन्छ,’ पतिले भन्यो। ‘उसले पनि काम गरे पो पैसा जोगाउन सकिन्छ,’ हमालले थप्यो– ‘मेरो कमाइले घरखर्च चलाउन थाले पेन्सन निस्कँदा जस्ताको तस्तै। तर इन्टरमात्रै गरेर जागिर पाइँदैन। (त्यसैले पत्नीले) डिप्लो त गर्नैपर्छ।’
पत्नीलाई पढ्न उक्साउने हमाल आफैंमा पनि पढ्ने चाहना नभएको होइन। गणितमा असफल भएपछि पूरकमार्फत एसएलसी उत्तीर्ण गरेर सेनामा गएको उसले एकजना वरिष्ठ अधिकृतबाट अंग्रेजी नजाने केही नहुने जानकारी पाएपछि प्राइभेट परीक्षा दिएर आईए पास गर्योे। ‘अहिले काम चलाउ अंग्रेजी बोल्छु,’ उसले भन्यो– ‘म घरमा जाँदा पनि कम्प्युटर सिकेर बस्छु। नयाँ कुरा सिक्नैपर्छ।’

……
‘नयाँ कुरा’ नसिके भारतीयहरू भन्दा उन्नतकोटीको कसरी होइन्छ? हमाल प्रत्येक हिसावले नेपालीहरू भारतीयभन्दा उच्चकोटीका र आधुनिक छन् भन्ने ठान्छ– विशेषतः फेसनमा।

कस्मिरमा हुँदा आतंकारी आक्रमणबाट बाँच्न हमालले लामो कपाल र दाह्री पाल्न पाउँथ्यो, जो उसको सोख हो। अब शान्तिपूर्ण क्ष् त्रमा सरुवा भएकाले पाल्न पाइँदैन। त्यसैले पत्नीपछि सम्भवतः उसले दाह्रीलाई मिस गर्नेछ। ‘मेरो कपालको स्टाइल हेर्नुस् न,’ उसले रुमाल फुकाएर क्रमशः तालु र कान मास्तिर इंगित गर्दै भन्यो– ‘यहाँ पूरै ठाडो, यहाँ तल झरेको। घरमा हुँदा दाह्री पालिहालिन्छ।’ तर ससुराली जाँदा चाहिँ काटिन्छ किनकि सम्बन्ध भर्खरको जो छ। ‘अब ससुराली जाँदा रुमाल बाँधेर, दाह्री पालेर ट्यापे जस्तो हुनु त भएन,’ उसले मुस्काउँदै भन्यो– ‘त्यसैले काटें। सुटपाइन्ट लगाउनैपर्योर। फेरि भर्खरको ससुराली।’

त्यो रुमालचाहिँ लद्धाखबाट फर्किदा ट्रेनमा छिरेका केटीको मन राखिदिन उसले त्यो किनेको थियो। ‘आज अलि टाउको दुखेजस्तो भएको छ, त्यसैले बाँधेको,’ उसले भन्यो।

हमालले रेलका भारतीय यात्रुको लवाइको बारम्बार टिप्पणी गरिरह्यो। ‘ऊ त्यसको पाइन्ट हेर्नुस् न,’ नजिकैको कम्पार्टमेन्टमा साइड पकेट भएको कटनको पाइन्ट लगाएको भारतीय ठिटोलाई संकेत गर्दै हमालले भन्यो– ‘आफूलाई खुबै हिरो ठानेको होला। हाम्रोमा त्यस्तो डिजाइनको पाइन्ट आएर पनि हराइसक्यो।’ त्यसपछि उसले धाक लगायो– ‘मेरो जस्तो टिसर्ट यिनीहरूले देख्नै पनि पाउँदैनन्। हेर्नुस् त सबैले एकनाशको सर्ट लगाएका।’ हमालको दाबीमा पूरै सत्यता छैन भन्न कुनै प्रमाणै चाहिँदैन तर एउटा गजवको संयोग थियो– उसको टिसर्टमा कुँदिएको डबल लेस मोडलको कन्भर्स जुत्ता मेरो ब्याकव्यापकमा थियो।

……………..
फेसन टिप्पणी गर्दै पत्नीको सम्झना र भविष्यको योजनालाई मनमा साँचेर ऊ अहिले घरबाट निरन्तर टाढिँदो छ। पूरै तीन दिन, दुई रातको ६२ घन्टे यात्रापछि त्रिवेन्द्रममा उत्रेर उसले अटो चढेर ब्यारेक पुग्नुपर्छ। तर एउटा समस्या छ, गोरखपुरमा उसले पैसा हरायो। कसोकसो खल्तीको अर्को कुनामा थोरै आईसी र ८० जति नेरु भेटियो। सँगै रेलमा सोही बटालियनमा काम गर्ने एक वरिष्ठ सिपाही पनि छन्, जसलाई ऊ गुरु भन्छ तर अगाडि गफिन धक मान्छ। ‘अटोमा जान गुरुले सहयोग गर्लान् नि,’ मैले भने।

‘आम्मै,’ अनुहार फैलाउँदै भन्यो– ‘गुरुलाई भन्नै हुन्न। ब्यारेकमा थाहा पाए बबाल हुन्छ। हमाल लुटिएछ भनेर सबैले गिल्ला गर्छन्। सिपाही भएर पैसासमेत ठेगानमा राख्न नसक्ने भनेर जिस्काएरै मार्छन्।’

रात पर्दै थियो, त्रिवेन्द्रम आउन आधा घन्टा जति बाँकी थियो। मैले उसको नेपाली पैसा भारुमा साटिदिएँ। ‘यति भए पुगिन्छ,’ उसले ढुक्क हुँदै भन्यो।

ट्रेन रोकिँदै थियो, हामी ब्याकप्याक बोकेर ढोकातिर बढ्दै थियौं, उसले फेरि सोध्यो– ‘कति बज्यो?’

‘पौने नौ,’ मैले भने, उसलाई बाई गरे र थपें– ‘नेपाल टाइम।’

यो लेख तपाईले वेबसाईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुहुन्छ भने बाकससँगैका बटन थिच्नुहोला सहजताकालागि । धन्यवाद ।