मेघालयका “घरज्वाइँ’हरु

family
कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu
ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं ।

‘यो जमिन तिमीहरूको, खानी तिमीहरूका,’ खासीहरूलाई आफूहरूले दिएको जवाफ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, लाड्रम्पाई इकाईका अध्यक्ष टोपलाल भण्डारीले कान्तिपुरसँग सम्भिmए, ‘तिमै्र मान्छेहरूलाई सस्तो श्रम चाहिन्छ जो गरिब नेपालीबाट लिएका छौ । नेपालीलाई रक्सी बेच्न यहाँ दिइँदैन, पसल खोल्ने र श्रमिकलाई बेच्ने तिम्रै समुदायका मान्छे हुन् । नेपालीहरू आतंकवादी गतिविधिमा सामेल छैनन् र आतंकवाद जाति विषेशमा सीमित हुँदैन । खासमा नेपालीले तिमीहरूको सीमा रक्षा गरिदिएका छन्, तिनले भारतको अहित चिताउने कुरै छाडिदेऊ । अब रह्यो हाम्रा मान्छेले तिमीहरूका आइमाई बिहे गरेर संस्कृति बिगारेको कुरो । तिमीहरूको समाज मातृसत्तात्मक हो जहाँ पुरुषको नाममा सम्पत्ति हुँदैन त्यसैले तिम्रा महिलाबाट नेपालीले सम्पत्ति लाने कुरै भएन । बरु उमेर छउन्जेल तिनले सेवा गर्छन् र बूढो भएपछि तिनै महिलाले ‘म्याद सकिएको औषधि’ फालेझै लात्ताले हानेर निकालिदिन्छन् । अनि उनीहरू नेपाल फर्किनुपर्छ जहाँ उनीहरूको केही हुँदैन ।’

खासी र मेघालयको अर्को आदिवासी समूह गारो (जोसँग नेपालीहरूको तुलनात्मक रूपमा सौहार्दता छ) मातृसत्तात्मक हुन् जसको परिवारमा महिला सर्वेसर्वा हुन्छिन् । सम्पत्ति आमाको नामबाट कान्छी छोरीमा सर्छ र बच्चाहरूले आमाको थर राख्छन् । बिहेपछि पुरुष श्रीमतीको घरमा सर्छन् र प्रायले थर बदलेर श्रीमतीकै प्रयोग गर्छन् । धेरै नेपाली र गोर्खाझैं पुरुष हिन्दू छ भने ऊ क्रिश्चियन बन्नुपर्छ । (त्यस्ता पतिले सामान्यतः डखार भन्ने खासी थर पाउँछन् जसको अर्थ ‘विदेशी’ भन्ने पनि लाग्छ । केही नेपाली ब्राह्मणचाहिँ बुर्मान भएका छन् ।)

केही खासी/गारो पुरुषहरूले चाहिँ ‘महिलाहरूको थिचोमिथो’ प्रति गुनासो गर्ने गरेका छन् । १८ फेब्रुअरी १९९४ को ‘न्युयोर्क टाइम्स’मा लेख्दै सइद जुबइर अहमतले तिनताका मेघालयका पुरुषहरूको हितार्थ पुरुष अधिकार संस्था खुलेको उल्लेख गरेका छन् । महिलाहरू बढी नै घमण्डी र थिचोमिचो गर्ने भएको उल्लेख गर्ने पुरुषका अनेक गुनासा हुन्थे, ‘हामी महिलाहरूका लागि बच्चा जन्माउने साधन र बच्चा हेर्नेको भूमिकाबाट वाक्क भएका छौं । हाम्रोबाट वंशज पनि हुँदैन । हामीसँग जग्गा पनि छैन, व्यवसाय पनि छैन ।’ अर्कोतिर महिलाहरूचाहिँ आफ्ना समुदायका पुरुष पारिवारिक मामिलामा गैरजिम्मेवार भएको भन्दै नेपालीजस्ता बाहिरियाहरू रुचाउने बताउन थाले । मेघालयमा पूरै पुरुषकैमात्र राज भएको क्षेत्र राजनीति र सत्ता सञ्चालन हो । राज्यमा अहिलेसम्म महिला मुख्यमन्त्री भएकी छैनन् ।

उल्लेखित पृष्ठभूमिमा प्रवासी नेपालीहरूले गरेको तर्क पत्यारिलो लाग्छ जसलाई हालै मात्र पनि एक जना नेपालीलाई उनकी खासी पत्नीले घरबाट निकालिदिएको घटनाले थप बलियो तुल्याउँछ । तर त्यो नै सम्पूर्ण सत्य होइन । कतिपय धूर्त नेपालीहरूले व्यापार गर्न र पैसा कमाउनकै लागि खासी महिलाहरूसँग विवाह गरेका छन् । ‘मलाई टिम्बरको कारोबार गर्नु थियो,’ सिलाङस्थित एक जना गोर्खाले आफैंलाई लाज लाग्ने भएकाले नाम उल्लेख नगर्न भन्दै कान्तिपुरसँग भने, ‘त्यसका लागि एउटी खसिनी नखोजी भयो ? गर्नै पर्‍यो ब्ये ।’ केही वर्षमै मेघालय सरकारले टिम्बरको व्यापारमा प्रतिबन्ध लगाएपछि उनका लागि बिहेको उपादेयता पनि सकियो । उनले अर्की नेपाली महिला बिहे गरे जसबाट केही बच्चा जन्मेका छन् । खासी पत्नीबाट एउटी छोरी भएकी छन् । खासी पत्नीको घरमा धेरै समय नबसेको उल्लेख गर्दै उनले भने, ‘सधैं नभेटे पनि सम्पर्कमा छौं । दुवै आआफ्नो जिन्दगीबाट खुसी छौं ।’

खासी पत्नीकै घरमा बस्ने थुप्रै नेपाली या गोर्खाहरू त्यो स्वीकार्न गाह्रो मान्छन् । कतिपयले कान्तिपुरसँग कुरै गर्न रुचाएनन् । पितृसत्तात्मक समाजमा जन्मेहुर्केका उनीहरू एउटी महिलाको अधिनमा घरज्वाइँ भएर बसेको स्वीकार्न अप्ठ्यारो मान्ने खासी महिलासँग विवाह नगरेको सिलाङका केही गोर्खाले बताए ।

तर सबै घरज्वाइँ भएका छैनन् । जस्तै कुलबहादुर जसकी पत्नीको नाम खास नाम ड्याङ होइन, त्यो बोलाउने नाम मात्र हो । उनी आफैं पनि रामेछापका तामाङ र खासी महिलाकी छोरी हुन् । आमाको पनि घर नभएकाले उनी बिहेपछि मगरको छाप्रोमा सरेकी थिइन् । अहिले उनी प्रस्ट नेपाली बोल्छिन् तर नेपालको चलन पूरै सिकिसकेकी छैनन् जो उनले बताएको थरबाट झल्किन्छ ।

‘गोमा,’ उनले कान्तिपुरको ‘नाम के हो’ भन्ने प्रश्नमा भनिन् ।

‘थर ?’

‘बहादुर तामाङ,’ उनले भनिन् ।

हालैका दिनमा भएका अशान्तिले हुर्कंदा छोराछोरीलाई अप्ठ्यारो पर्ने महसुस गरेका कुलबहादुर र गोमाले अब नेपाल फर्किने कुरा सोच्न थालेका छन् । ‘छोरीहरू हुर्किंदै छन्,’ बाल्यकालमै देब्रे आँखो गुमाएका मगरले भने, ‘आफ्नो जातको केटा छोडेर डखारसँग बिहे गरेकी आइमाईका छोराछोरी भन्दै खासीहरूले तिनलाई हेप्न थालेका छन् ।’ केराबारी, मोरङमा पैतृक सम्पत्ति भएको बताउने कुलबहादुरलाई गोमाले पनि ‘नेपालै जाउँ, यता गाह्रो होलाजस्तो छ,’ भनेर हैरान पार्न थालेकी छिन् । ‘यति छिटो नेपाल फर्किनुपर्ला भन्ने सोचेकै थिइनँ,’ २०४६ सालमा नेपाल छाडेर यहाँ आएका कुलबहादुरले भने, ‘तर अब जतिसक्दो चाँडो फर्किने विचार गर्दैछु ।’

यो लेख आजको कान्तिपुरको पृष्ठ तीनमा प्रकाशित भएको हो ।

4 thoughts on “मेघालयका “घरज्वाइँ’हरु

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s