उपेन्द्र यादव उवाच

आजैको कान्तिपुरबाट: प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

upendra yadab

दिनेश वाग्ले/अतुल मिश्र
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ । 

upendra yadab
ठूलो पार्न क्लिके हुन्छ

उपेन्द्र यादव भित्रभित्रै कम्ती रिसाएका छैनन् । त्यसैले केही दिनयता चर्को नकारात्मक अर्थ दिने चारवटा शब्द उनी खुबै प्रयोग गर्छन् । ती चार विशेषणहरू हुन्- अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाज । गए बिहीबार ललितपुरको बालकुमारीस्थित मधेसी जनाधिकार फोरमको सुनसान कार्यालयमा केही सहयोगीहरूसँग बैठकको तयारी गरिरहेका यादवले ती शब्द प्रयोग गर्दा कुनै व्यक्तिको नाम लिएनन् तर त्यो अनुमान गर्न कठिन थिएन । अघिल्लो साता सरकार बन्दै गर्दाको चर्को राजनीतिक मोलमोलाइमा उपेन्द्रलाई पछारेर उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदार अहिले यादवका शत्रु नम्बर एक भएका छन् । शत्रु नम्बर दुई- महन्थ ठाकुर । शत्रु नम्बर तीन- जयप्रकाश प्रसाद गुप्ता । मधेसमा आधारित नाटकीय राजनीतिमा अझै नाटकीयता यो जानकारीले थप्न सक्छ- गच्छदार र गुप्ता कुनै समय (तर धेरै अघि पनि होइन) यादवकै सहयोगी र सहकर्मी थिए । शब्दको घुमाउरो अर्थमा अहिले पनि ती दुवै (र ठाकुर पनि) यादवका सहकर्मी हुन् किनभने उनीहरू चारैजना बाबुराम भट्टराई नेतृत्वको वर्तमान माओवादी-मधेस गठबन्धनका मधेसतिरका सदस्यहरू हुन् ।

‘अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाजहरू,’ ढाड दुखेकाले कार्यालय कोठाको आफ्नो टेबुलसँगै रहेको कुर्सीमा बस्न मन नलागेको बताएका तर त्यहीँ बसेर गफिएका उपेन्द्र यादवले भने, ‘अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाजहरूलाई साथमा लिएर (अब केही सकारात्मक शब्दहरू) क्रान्तिकारी र स्वच्च छवि भएका बाबुरामजीले कसरी सरकार चलाउनुहुने हो ।’

शब्दको घुमाउरो अर्थमा ती ‘अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाजहरू’ मा यादव पनि पर्छन् किनभने उनको पनि साथ लिएका छन् प्रधानमन्त्री भट्टराईले । संविधानसभामा १२ सदस्य भएको उनको पार्टीले पनि दुईवटा मन्त्रालय पाएको चर्चा छ र तिनमा को मन्त्री पठाउने निर्णय उनैले लिँदै छन् । (कुनै जमानामा उनको पार्टीमा ५२ सभासद थिए तर त्यसको कथा लामै छ जसले उपेन्द्रको अन्यथा हँसिलो अनुहारलाई यो घमाइलो दिन निन्याउरो बनाइदिएको छ ।)

५२ बाट १२ को घटोत्तरी हालै भएको होइन तर यादवले महसुस गर्ने अर्को घटुवा अहिलेको चासोको विषय हो । अघिल्लो सातासम्म- झलनाथ खनाल नेतृत्वको गठबन्धनमा- उनी परराष्ट्र र उपप्रधानमन्त्री थिए । अहिले उनका शत्रु नम्बर १ ले गृहसहित त्यही पद पड्काएका छन् । के यो उनको हार र विजयको विजय हो ?

‘परिभाषा र सोचै गलत,’ उनले दोस्रो ‘विजय’ शब्दप्रति आपत्ति जनाउँदै भने, ‘नीतिगत रूपमा मेरो विजय भएको छ ।’ त्यो कसरी, प्रस्ट पार्न अलि समय लाग्छ, उपेद्रलाई । उनका अनुसार फोरम (उपेन्द्रको फोरम, किनकि अहिले धेरै फोरम जन्मेका छन् जसले उपेन्द्रलाई थप रिस उठाउँछ) ले लिएको बाटो नै परिवर्तनकारी शक्तिसँग हिँडेर संघीय गणतन्त्रसम्म पुग्ने थियो । ‘मैले त्यसो भन्दा केही व्यक्ति (शत्रु नम्बर एक र तीन) ले माओवादी परस्त लाइन भन्दै माओवादीसँग गठबन्धन गर्न छाडेर विभिन्न सरकारमा गए (भलै जानेमध्येमा उनी पनि थिए)’ यावदले भने, ‘उपेन्द्रले पार्टी माओवादीलाई बुझाए, मधेसलाई माओवादीविहीन पार्नुपर्छ’ भन्दै जेपी गुप्ता (बल्ल उनले नाम लिए) ले श्वेतपत्रै जारी गरे । (तीन महिनाअघि) दिल्ली गएर ‘संविधानसभा विघटन गर्नुपर्छ’ भने । जब कि त्यतिबेला हामीले म्याद थप्नुपर्छ भनेका थियौं । अहिले उनीहरू (त्यही थपिएको म्यादको संविधानसभामै रहेर) माओवादीसँग सरकारमा गएका छन् । अब भन्नुस् कसको विजय हो ?’

फट्ट उत्तर दिन अझै पनि गाह्रो छ किनकि ५२ बाट १२ को घटोत्तरीलाई उपेन्द्रले ‘ह्या, हेर्नुस्, जब सभासदहरू खसीझैं किनबेचका लागि उपलब्ध हुन्छन्, जसले बढी पैसा दियो उसैसँग जान्छन्,’ भनी बचाउ गरे । यादव नेतृत्वको फोरमका २८ सभासदहरू विजयको फोरम लोकतान्त्रिकमा गए । त्यसपछि अरू १३ जना गुप्ताको फोरम गणतान्त्रिकमा गए । उपेन्द्रलाई सभासदहरूले छाडेको देख्दा डुब्न लागेको जहाजलाई मुसाहरूले लुरुलुरु छाडेको दृश्य कसैका मनमा आए त्यो अस्वाभाविक हुन्न तर प्रश्न उठ्छ, २०६३ सालमा काठमाडौंको माइतीघरमा त्यतिबेलाको अन्तरिम संविधान जलाएपछि मधेसमा दन्केको आगोको ठूलो लप्को भएर राष्ट्रिय राजनीतिमा उदाएका यी व्यक्ति आज किन यसरी एक्ला भएका छन् ? त्यतिबेला उनको तातो ताप्नेहरूले आज किन उनलाई धुवाइरहेको मुढोझैं छाडिदिएका छन् ?

२०१७ सालमा सप्तरीको भगवतपुर गाउँमा जन्मेका उपेन्द्र धनिलाल र फुलनीदेवीका कान्छा छोरा हुन् । कोसी ब्यारेजपारिको सप्तरीकै (साविकको) मधुवन (हाल सुनसरी) मा बाल्यकाल बिताएका उनले त्यहीँबाट २०३२ मा एसएलसी गरे । धरानको हात्तीसार कलेजबाट आईएस्सी र महेन्द्र मोरङ, विराटनगरबाट स्नातक/स्नातकोक्तर गरेका उनी ‘राजनीतिकर्मीको सबैभन्दा ठूलो विश्वविद्यालय जनता’ ठान्छन् । ‘सिक्ने जनताबाटै हो,’ उनले भने ।

कलेज पढ्दै कम्युनिस्ट राजनीति थालेका २०४२ मा कांग्रेसको सत्याग्रहमा सामेल हुँदा काठमाडौंमा समातिए । एक वर्ष जेल गए । २०५६ मा उनले कम्युनिस्ट राजनीति त्याग्दै ०५४ मा गठित मधेसी जनअधिकार फोरममार्फत राजनीति थाले । त्यसताका माओवादी सहकार्य गरेका यादवलाई पछि सुरेश आलेमगर लगायतका नेतालाई भारतमा पक्राउ गर्न सुराकी गरेको आरोप माओवादीले लगाएको थियो ।

२०६३ माघ १ मा बनेको खोटपूर्ण अन्तरिम संविधानले यादवको राजनीतिलाई कतिसम्म ऊर्जा दियो भने त्यसैका बलमा उनी राष्ट्रिय व्यक्तित्व र दुईपटक उपप्रधानमन्त्री बने । भोलिपल्ट माइतीघरमा संविधान जलाएपछि गिरफ्तार गरी उनलाई हनुमान ढोका राखियो । त्यहीँबाट आन्दोलन छेडेका उनी अन्ततः ५२ सभासदसहित संविधानसभा पुगे । उफ, त्यो सुन्दर इतिहास, अब मधेस आन्दोनल या माइतीघरमा संविधान जलाउँदाताका निस्केको धुवाँमा उडेको छ । उनीसँग १२ सभासद मात्रै छन् (तिनले पनि कहिले छाड्ने हुन्, के पत्तो) र अघिल्लो सातासम्म उनी बसेको उपप्रधानमन्त्रीको कुर्सीमा शत्रु नम्बर एक विजय विराजमान छन् ।

ती चार शब्दमध्ये, उनका विपक्षीले भन्लान्, कुनै पनि शब्द उपेन्द्रलाई पनि सुहाउँछ । तर भ्रष्टाचारचाहिँ उनी नगर्लान् या कम गर्लान् कि ? ‘पैसा कमाउने भए म परराष्ट्र किन जान्थेँ,’ विराटनगरमा पारिवारिक (‘तर मेरो हक लाग्दैन,’ उनले प्रस्ट पारे) घर भए पनि ललितपुरको हरिसिद्धीमा भाडाको घरमा आमा, श्रीमती र (चन्डीगढ, भारतमा पढ्ने) छोरासँग बस्ने उनले भने, ‘विदेश सम्बन्ध नसुधारी आन्तरिक प्रगति हुन सक्दैन ।’

देशका स्तरमा सुधारे पनि होलान् (‘रूसले जलविद्युत्मा लगानी गर्ने भयो,’ उनले भने, ‘ब्राजिलले पनि ठूलै लगानी गर्ने भएको छ । नारायणहिटीमा देशभरिका जनताको बिजोगपूर्ण लाइनलाई हटाएर जिल्लाबाटै पासपोर्ट पाउने व्यवस्था गरेँ ।)

तर पार्टीस्तरमा चीनसँग सम्बन्ध सुधार्न लाग्दा उपेन्द्रसँग भारत झस्क्यो र उनको अधोगति सुरु भयो, कतिपय विश्वास गर्छन् भारतकै उक्साहटमा सभासदहरू क्रमशः गच्छदार र गुप्ताको नेतृत्वमा यादवलाई छाडेर गए । संगठन र पैसाको खेलोमा यादव कमजोर छन् भन्ने सुनिएकै हो । अहिले उनलाई हेर्दा पहिलो कुरा त ठोकुवै गरेर हो भन्न सकिन्छ, दोस्रोमा पनि उनी साँच्चै कमजोरै पो छन् कि भन्न मन लाग्छ । अरू कुनै स्रोतबाट सुनेको कुरा हो- पहिलोपटक मन्त्री हुँदा उनका छोराले कति रेलबाट जाने, प्लेनबाटै जान्छु चन्डीगढ (भारत) भनेछन् । यादवले आफ्नै पैसा खर्च गरेर या भनसुन गरेर टिकट किनिदिनुको साटो ‘रेलबाटै जा’ भन्दै छोरालाई हप्काइदिएछन् । तर अहिले यादवलाई देख्दा यस्तो लाग्छ, त्यो घटनाप्रति उनलाई कुनै पश्चात्ताप छैन । तर यादवमा रिसचाहिँ छ । छोरासँग होइन । रिसको कारण र उनका शत्रुको नालीबेली त तपाईंलाई थाहा भइहाल्यो !

One thought on “उपेन्द्र यादव उवाच

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s