नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र भौगोलिक प्रभाव नौलो होइन । महाशक्ति अमेरिकाले नेपाललाई हेर्दा भारतीय नजरबाटै हेर्ने कुरो पनि नौलो होइन । अघिल्लो साता सार्वजनिक अमेरिकी सरकारका दस्तावेजले त्यो ‘हेराइ’ कसरी हुन्छ भन्ने देखाउँछन् जो धेरैका लागि नौलो र रुचिपूर्ण हुनसक्छ
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।
०६२/०३ को जनआन्दोलन सुरु हुनु एक महिनाअघि सन् २००६ को मार्चमा भारत गएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले नयाँ दिल्लीको हैदराबाद हाउसस्थित मुगल बगैंचामा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उभिँदै नेपालबारे बोलेका थिए । अङ्ग्रेजीका २५ शब्द, दुई अर्धविराम र एउटा पूर्णविरामयुक्त त्यो वाक्यमा बुसले भनेका थिए, ‘नेपालमा माओवादीले हिंसा त्याग्नुपर्छ र लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्न राजाले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्छ भन्नेमा हामी सहमत भयौं ।’
हामी अर्थात् बुस र सिंह, अमेरिका र भारत ।
ज्ञानेन्द्रको प्रत्यक्ष शासनअन्तर्गतको त्यतिबेलाको नेपालमा त्यो एउटा वाक्यले कम्पन उत्पन्न गराएको थियो । त्यसले तत्कालीन तानाशाहलाई थप दबाबमा पारेको थियो भने आन्दोलित पार्टीहरूलाई उत्साहित । अहिले अनुमान गर्न सजिलो भएको छ, त्यो वाक्य बुसले त्यतिबेला त्यत्तिकै बोलेका थिएनन् ।
‘आँखामा आँखा’
त्यसको चार दिनअघि काठमान्डुमा नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जी र तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले त्यसको आधार तयार पारेका थिए ।