गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

dev bahadur budhathoki
रुकुमका देवबहादुर बुढाथोकी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

shanti ko laamo saas
ठूलो पार्न क्लिके हुन्छ

लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको खुसी अझै पनि उनले लगाएको पोसाकमा झल्किन्छ । कुनाको रुकुमेली गाउँ तकसेराको पनि कुनाको बस्ती दमचनमा अघिल्लो साता भेटिएका उनी सैनिकले लगाउने कम्ब्याट पोसाकमा ठाँटिएका थिए ।

‘अचेल यस्तो लगाउन पाइन्छ, है ?’ एक जना संवाददाताले उनलाई सोधे ।

बाटैको पसलमा किलिपाई ब्रान्डका चिनियाँ खेल-जुत्ता र सनसिल्क स्याम्पुका प्याकेट (स्यास्से) सम्याइरहेका बुढाथोकी मुस्काए । अनि उनले भने- ‘शान्ति आएपछि कसले रोक्छ (लगाउन) ?’ बढो आत्मविश्वासी र निडर पारामा त्यसो भन्दा उनले दाहिने हात उज्याउँदै त्यसका चोरी र बूढी औंला फैलाएका र बाँकी तीन औंला खुम्च्याएका थिए ।

रुकुमको पुरानो सदरमुकाम रुकुमकोटका स्थायी बासिन्दा उनी ढोरपाटन सिकार आरक्ष (बाग्लुङ) सँगको सीमावर्ती बस्तीको जनप्रिय निमाविका शिक्षक हुन् । धेरैलाई पुरानो लाग्न सक्छ तर २०५६ मंसिर २९ गते पुलिसले गाउँ सर्च गर्दा खुबै दुख्ने गरी पिटेको, तारिक बोकाएको र केही दिनपछि ‘माओवादी हैन रै’छ’ भनी छाडिदिएको घटना उनले बिर्सन सकेका छैनन् ।

त्यस्तै अविस्मरणीय बनेको छ ३२ वर्षे बुढाथोकीका लागि युद्धकालमा माओवादीलाई चन्दा दिँदाको हैरानी । ‘पहिले चौमासिक चन्दा खुब दिइयो,’ दसैंको टीकापछिको त्यो दिन एक जना ग्राहकसँग किलिपाई जुत्ताको मोलमोलाई टुंग्याएपछि बुढाथोकीले भने- ‘नदिए ‘(गाउँबाट) निस्केर जा’ भन्थे ।’ फेरि उनले त्यसैगरी हात उज्याए र थपे- ‘शान्ति आएपछि त कसले दिन्छ ?’

बुढाथोकीमा देखिएको त्यो आत्मविश्वास र निडरपना नै बितेका पाँच वर्षयता जारी शान्ति प्रक्रियाले देशैभरिका जनतालाई दिएको सबैभन्दा ठूलो उपहार हो । ‘अहिल्यै मरिन्छ या एकछिन पछि’ को त्रासमा रहेका जनताले, रुकुमकै मरवाङ गाउँका ४६ वर्षे बलप्रसाद सुनारका शब्दमा, ‘आफ्नो परिवारसँग दुःखसुख जे छ खान, बस्न’ पाएका छन् । द्वन्द्व सकिएपछिका पाँचै वर्षमा देशले आर्थिक फड्को मार्ने भनी गरिएका अपेक्षाको समीक्षा हुन बाँकी नै छ तर यो अवधिमा फोन र जनताकै सहभागितामा सडक सञ्जाल फैलाउनुबाहेक राज्यले पहाडै फेर्ने या कल्पनै नगरेको सुखसुविस्ता नदिएको थुप्रै मानिस बताउँछन् । राष्ट्रिय तथ्यांकैले बताउँछ, द्वन्द्व सकिएपछिका वर्षहरूमा पनि देशको अर्थतन्त्र द्वन्द्वकालकै जस्तो साढे तीनदेखि चार प्रतिशतभन्दा बढीले फैलिन सकेको छैन । निजी लगानी झन् घटेको छ । ०६४/०६५ मा कुल गार्हस्थ उत्पादनको १७ प्रतिशत पनि निजी लगानी अहिले झन्डै १४ मा झरेको छ । त्यसका लागि लोकतन्त्र पुनस्र्थापना लगत्तैका ‘भाँडतन्त्र’ र हडतालहरूको शृंखला जिम्मेवार होलान् तर यी पाँच वर्षमा रुकुम र रोल्पाजस्ता माओवादी हिंसाबाट अति प्रभावित जिल्लाका जनताले पनि स्वतन्त्र जिउन र आफूखुसी रोजीरोटी गर्न पाउँदा त्यसले जनतालाई गरिबीमा थप जाकिनबाट रोकेको छ ।

‘शान्ति स्थापना भएयताका पाँच वर्षमा स्थानीय अर्थतन्त्र चलायमान भएको छ,’ काठमाडौंमा आधारित अर्थशास्त्री चिरञ्जीवी नेपालले फोनमा कान्तिपुरसँग भने, ‘त्यसलाई टेवा दिन सरकारले साना/ठूला आयोजना र पूर्वाधारमा गर्नुपथ्र्यो जो हुन सकेन ।’ जनताले निर्धक्क गरिखान पाउँदा स्थानीयस्तरमा स्वरोजगारी बढेको, जनतासँग पैसा हुन थालेको र त्यो पैसा धेरैले अझ बढी कमाउने आशामा विदेश जान प्रयोग गरिरहेको अर्थशास्त्री नेपालको विश्लेषण छ । ‘द्वन्द्वकालमा दैनिक पाँच सयको हाराहारीमा जनता विदेशिन्थे,’ उनले भने- ‘उनीहरूसँग विदेश जान पैसै हुँदैनथ्यो । अहिले स्वदेशमै केही कमाएपछि त्यही पैसा प्रयोग गरेर दैनिक १२/१५ सयको हाराहारीमा मानिस विदेशिइरहेका छन् । यो आफैंमा रुचिपूर्ण विकासक्रम हो ।’

द्वन्द्वकालमा सुको नकमाउने तर शान्ति आएलगत्तै विदेशिएर अहिले महिनाको २० हजार बचाउने केही सफल नागरिकहरूमध्येका हुन् पृथ्वी बुढामगर । रोल्पाली सदरमुकाम नजिकैको सानो बस्ती सिमलबाङका उनी अघिल्लो महिना तीनमहिने बिदामा घर फर्किएका हुन् । युद्धको अन्तिम एक वर्ष एउटा एसएलआर बोकेर माओवादी सेनामा सामेल भएका उनले बिहीबार आफ्नै घरमा एक जना संवाददातासँग कुरा गर्दै ‘काभ्रेको पनौती र मकवानपुरको फापरबारीमा भएका आक्रमणमा सहभागी’ भएको बताए । (अहिले ‘स्वतन्त्र नागरिक’ र माओवादीको ‘शुभेच्छुकमात्रै’ रहेको बताउने बुढामगर त्यतिबेला स्वेच्छाले माओवादी सेनामा गएका थिएनन् । त्यसबारेको कथा गए शनिवारको कान्तिपुरको पृष्ठ ६ मा पढ्नुहोस् ।) ‘विदेश गएर हल्का पैसा कमाइयो,’ साउदी अरबमा आफू काम गर्ने कम्पनीको नाम लेखिएको सर्टमै भेटिएका बुढामगरले भने, ‘दुई अढाइ लाख ऋण तिरियो । अब केही जग्गा जोड्ने विचार छ ।’

शान्ति स्थापना भएयताका पाँचमध्येका चार वर्ष (जो फागुन २ मा पुग्दैछ) विदेशमै बिताए पनि रोल्पाका गाउँहरूमा सडक बन्न थालेको, मोबाइल फोनको संकेत घरैमा पुगेको र जनताले शान्तिमा आनन्दको सास फेर्न पाएको देख्दा आफूलाई निकै खुसी लागेको बुढामगरले बताए । ‘त्यतिबेला कतैबाट पैसा कमाउँला, घरपरिवारलाई सुखसँग राखौंला, कपडा किनिदिउँला भन्न कहाँ पाइन्थ्यो ?’ उनले भने । ‘कि मर्‍यो कि मारियो भन्ने थियो । अहिले विदेशमा जति गर्मी भए पनि तलब आइरहेको छ महिना-महिनामा । परिवार पाल्न पाइएको छ । यो त राम्रो भयो नि, हैन र सर ?’

One thought on “गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s