
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफपहिलो पेज र १४ पेज । चित्रकारुपमा हेर्ने भित्र/तल)
खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले आफ्ना ३५ औं प्रधानमन्त्रीको राजीनामा अहिल्यै मागिसकेका छन् ।
‘बाबुराम, पद छाड’ भन्नेहरूको त्यो सूचीमा विपक्षी दलहरूका नेता र आफ्नै पार्टीभित्रका ‘खुट्टा तान्ने कमरेडहरू’ मात्रै भए त्यसलाई राजनीतिक दाउपेचको एउटा अस्वाभाविक उदाहरण भन्दै अस्वीकार गर्न हुन्थ्यो । तर यहाँ दुई महिनाअघिसम्म ५७ वर्षे भट्टराईलाई ‘हृदयका राजा’, ‘आशाका केन्द्र’ र ‘आइडल’ जस्ता प्रेम र प्रशंसाका शब्दहरू बर्साउने कतिपयले नै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको, हत्यारालाई माफी दिन खोजेको, प्रशासनयन्त्रलाई ‘ध्वस्त’ बनाएको भन्दै गाली गरेका छन् । प्रशंसकहरू निराश हुँदै उनलाई आफ्नो अपेक्षाविपरीत, अघिल्ला प्रधानमन्त्रीहरूजस्तै, निष्प्रभावी र ‘उही ड्याङका मूला’ भन्न थालेका छन् भने आलोचक र शंकालुहरू चाहिँ ‘मैले त भनेकै थिएँ नि’ जस्ता शब्दावलीबाट कुरा थाल्छन् ।
‘पहिले घरभित्र पसेर अवस्था के छ भन्ने नबुझी उहाँले बोल्नुभयो, मान्छेहरूले आशा गरे,’ पूर्वप्रशासक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अर्थमन्त्रीका रूपमा बनेको उहाँको राम्रो छविमा आधारित भएर जनताले उहाँबाट बढी नै आशा गरे । व्यक्तिगत रूपमा उहाँ अहिले पनि बदनाम हुनुभएको छैन । ‘भट्टराईले यसो गरे, उसो गरे, खाए’ भन्ने सुनिएको छैन । शान्ति प्रक्रिया टुंगिने बाटोमा बढेको छ, त्यसको जस उहाँलाई जाला । तर शासनलाई राम्रो पाटोमा लैजान र नतिजा देखाउने सन्दर्भमा उहाँ असफल हुनुभयो ।’