भोट नहाल्ने गाउँ थबाङ पुग्दा

A woman walks past a Maoist mural at the entrance of Thabang village, Rolpa: 1st line: Workers of the world, unite. 2nd line: No election campaign zone!
A woman walked past a Maoist mural at the entrance of Thabang village, Rolpa:
1st line: Workers of the world, unite.
2nd line: No election campaign zone!

[Click here to read this article in English and see more photos.]

नेपालमा २०७० मंसिर ४ गते दोस्रो संविधान सभाका लागि राष्ट्रिय चुनाव भयो । जनताले सर्वाधिक संख्यामा मतदान गरे । त्यो दिन भोट हाल्ने ९४ लाख नेपालीहरू मध्ये म पनि एक थिएँ । तर मध्यपश्चिम नेपालको एउटा पुरै गाउँ मतदान केन्द्रमा अनुपस्थित भयो । रोल्पाको थबाङले चुनाव बहिस्कार गर्यो ।

थवाङ जाने एउटा अर्को बहाना, मैले सोचेँ ।

त्यहाँ जाने मेरो चाहना गाउँले चुनावपछि पाएको “ख्याती” भन्दा पुरानो थियो । २०११ मा म पाँच घन्टा हिंडेपछि थबाङ पुगिने ठाउँमा थिएँ । म र त्यो गाउँबीच एउटा डाँडोमात्र थियो । अनि त्यस्तो अवस्था थुप्रै दिन हिंडेपछि अाएको थियो । तर अनपेक्षितरूपमा शुरुभएको घुँडा दुखाइ असैह्य हुनथालेपछि मैले तेता उक्लिने चाहना मार्नु परेको थियो ।

थबाङमै हो भनिन्छ १९९६ मा माओवादी जनयुद्ध शुरुभएको । नेपाली राज्यविरुद्धका थप अाक्रमणका योजना बनाउदै गर्दा विद्रोहका केही उच्च नेताहरू त्यहीं बास बसेका थिए । काठमान्डू पोस्ट  मा दुर्गालाल केसीले लेखेझैं थबाङमा “पार्टीका अध्यक्ष प्रचन्ड (पुष्पकमल दाहाल) लाई राख्न स्थानीयहरूमा प्रतिस्पर्धा हुन्थ्यो ।”

२००५ को अन्त्यतिर माओवादीहरूले १० बर्षलामो द्वन्द सिध्याउने निधो गरे । द्वन्दचैं खासमा २००६ मा सकियो, त्यो वर्ष अप्रिलमा भएको बहुदलीय जनअन्दोलनको शानदार सफलता लगत्तै ।

सशस्त्र विद्रोहताका माओवादीहरूले यो ठाउँलाई “नमुना माओवादी गाउँ”कारुपमा विकशित गर्ने प्रयास गरेका थिए । युद्ध सकिएपछि निर्वाचित माओवादी नेतृत्वको सरकारले यसलाई देशका केही दर्जन नमुना गाउँहरूमध्ये एककारुपमा पहिचान दियो । त्यसले यो गाउँलाई राज्यको थप ध्यान र लगानी दिलायो । लामो कथालाई छोटोमा भन्नुपर्दा थबाङ कुनै त्यस्तो औसत नेपाली गाउँ हैन (कम्तिमा बर्णनमा) जसलाई एकसाथ कसरी खतरा पनि मोल्ने र राष्ट्रको ध्यान पनि अाफूतिर तान्ने थाहा हुदैन ।

त, २०११ अक्टोबरको त्यो दिन मैले त्यो डाडोलाई खुब नियाले । स्थानीयहरूका अनुसार थबाङ पुग्न मैले त्यो डाडो काट्नै पर्ने थियो । उकालो अप्ठेरो देखिन्थ्यो । मेरो घुँडा त्यसकालागि तयार थिएन । त्यसैले म रुकुमकोटपुगेर जिप समाउन एउटा खच्चरको लस्करसँगै गोडा खोच्याउँदै हिडें । (त्यो दिनको यात्रा जर्नल यहाँ पढ्नुहोस्Limping all day long with a mule caravan to reach Rukumkot)

गुरिल्ला गाउँ हेर्ने मेरो चाहना अधुरै रह्यो ।

तर मलाई थाहा थियो एकदिन म यहाँ आउने छु ।

के चाहीं थाहा थिएन भने म यति चाडै फर्किने छु । यसमा एउटा गजवको संयोग भयो । काँक्री गाउँको जुन ठाउँबाट मैले थबाङ डाडोलाई नियालेको थिएँ यसपाली त्यही विन्दू नजिकैबाट मैले थबाङकालागि पदयात्रा थालें । त्यसलाई थबाङ डाडोको नाम चाहीं मैले भर्खर दिएको ।

काठमान्डूका लागि थबाङ निकै टाढाको गाउँ हो । एउटा २० मिनेटलामो उडान (काठमान्डू-पोखरा), २३ घन्टा लामो धेरैजसो उफार्ने सडक यात्रा (पोखरा-बुटवल- मुसिकोट खलंगा-खाबाङ/काँक्री) र पाँच घन्टा लामो मध्यमतहको पदयात्रापछि मात्रै म थबाङ पुग्न सकें । यो बाटो कुनैपनि हिसावले सबैभन्दा छोटो चाहीं हैन । तर जव रुकुम सदरमुकाम मुसिकोट खलंगास्थित सल्ले विमानस्थल मर्मतका लागि बन्द भएको हुन्छ; हुस्सुले गर्दा नेपालगन्ज वा भैरहवाकालागि उडान अनिश्चित हुन्छन्; र एकदिन भन्दाबढी पैदल हिड्न मन हुन्न अनि तपाईकालागि उपलब्ध एकमात्र छोटो रुट यही हुन्छ ।

तर मध्यपहाडमा थुप्रैदिन हिड्न मन पर्छ भने मैले २०११ मा हिडेकै बाटो हिड्न सल्लाह दिन्छु । थवाङ थप्नै पर्यो । महत पनि । यात्रामा अलि रंग थपिदिएर विशेष बनाइदिम्? एकजना अमेरिकीको सहयोगमा २०१२ मा माओवादीहरूले यो रूटका केही भागलाई गुरिल्ला पदमार्गकारूपमा प्रचारमा ल्याए ।

त, हालैको एकदिन मलाई थबाङ जाने मौका आयो । म माघे संक्रान्तिको दिन त्यो गाउँ पुगें । पुरै गाउँ पर्व मनाइरहेको थियो । गाउँ मात्र हैन पुरै भेग । मानिसहरूका अनुहार रंगले छोपिएका थिए । होलीको दिनजस्तो । मानिसहरू एक अर्कालाई रंगले हानिरहेका थिए । धेरैजसो मातेका थिए । खासमा छिमेकी गाउँहरूमा कतिपय त बिहानैदेखि फिट्टु भएको मैले बाटो हिड्दा देंखे ।

A woman smoked a cigarette from a bamboo stud in Thabang village, Rolpa.
A woman smoked a cigarette from a bamboo stud in Thabang village, Rolpa.
thabang village of rolpa, nepal
Thabang village

अघिल्लो साँझ काँक्री गाउँको खाबाङ बगरमा खाना खादैगर्दा म एकजनासँग गफिएको थिएँ । उनी हिंस्रक द्वन्दबाट बचेका र हालैमात्र रोजगारी गरेर खाडीबाट फर्केका थिए । माघीको एकदिन अगाडी भएकोले आँफू त्यो साँझ मातेको उनले बताए । उनले आफ्नी श्रीमती र तीन सालीहरू म र मेरा दुई सहयात्रीहरूसँग चिनाए । सहयात्रीहरू मध्ये एक अंग्रेज थिए । पीटरले आँफू विवाहित र दुईको बाउ हुँ भन्दाभन्दै पनि उनलाई मनपरेकी एउटी छान्न प्रस्ताव गरियो । हामीलाई भात र भैंसीको सुकुटी पस्किदै गर्दा केटीहरू खितखिताए । अगेनो नजिक उनीहरू खाम भाषामा केही खुसखुसाए ।

‘जनयुद्ध’काबारेमा सालीहरूका भेना के ठान्छन् कुन्नी ?

“जनयुद्धले सडक ल्यायो,” उनले भने । युद्ध सकिएको चार बर्षपछि २०१० मा काँक्रीमा पुगेको कच्चीबाटोको उनी कुरा गरिरहेका थिए ।

“अर्को कुरा, कहिल्यै मन्त्री बन्लान् भनेर नसोचेका मान्छेलाई पनि मन्त्री बनायो,” उनले थपे । उनी रोल्पा र रुकुम जिल्लाबाट २००६ पछिका मन्त्रीपरिषदहरूमा सदस्य बनेका माओवादी राजनीतिज्ञहरूको कुरा गरिरहेका थिए ।

“तर यो सडक चाहीं हाम्रालागि बढी महत्वपूर्ण छ । यसको हामीलाई अर्थ छ । यो हाम्रो जीविकासँग जोडियो । अर्थोक केही भएन भने पनि यहा आएर चिया पसल थापेर बाँच्न त पाइयो ।”

सडकबारे यीनले भनेका कुराले मलाई हेमराज पुन सम्झाए। ३० वर्षे पुनलाई मैले २०११ मा काँक्रीको छिमेकी गाउँ तकसेरा नजिकै बाटोमा भेट्टाएको थिएँ । “हाम्रो काँक्री गाविसजस्तो ठाममा पनि गाडी आउनु भनेको धेरै ठूलो कुरा हो सर,” उनले भनेका थिए, “द्वन्द रहिरहेको भए अझै दस वर्ष लाग्थ्यो ।” गाउँमा जनतालाई चाहिएको मुख्य कुरा ‘गाडी नै’ भएको ठान्ने पुनले थपेका थिए, “बाँकी कुरा त गाडी आएपछि जे पनि गर्न सकिने भयो नि ।”

म थबाङ अपरान्ह आइपुगें । गाउँमा फोटो खिच्न त्यो उपयुक्त समय थियो । गाउँलेहरूलाई चुनाव बहिस्कार गर्न आग्रह गर्दै नेकपा-माओवादीका तर्फबाट भित्तैभरि पोतिएका लेखनले स्वाभाविकरुपमा मेरो ध्यान खिंचे। भोटहालेको एकजना मतदाताकारुपमा म ती नाराका सन्देशसँग सहमत हुन सकिन। तर कलात्मक दृष्टिले चाहिँ देशका अन्य भागमा देखिने भित्तेलेखन भन्दा यी सुन्दर लागेकोचैं पक्कै हो । यी भित्तेलेखनमा कताकता ब्यवसायिकता झल्किन्थ्यो।

मलाई गाउँ सफा लाग्यो । बाटो ढुंगा छापिएका र फराकिला थिए । थुप्रै घरहरूसँगै शौचालय बनाइदै थियो। जनयुद्धको बर्षगाँठका अवसरमा फाल्गुण १ मा गाउँलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने योजना रहेछ । परम्परागत माटो ढुंगाले बनेका घरका धेरैजसो छाना ढुंगाले छाइएका थिए । त्यहाँ कुनै खाले प्रदुषण थिएन । गाउँसँगैको सानो खोलापारि एउटा ठूलो फुटबल चौर थियो । पहाडी गाउँ भैकन पनि नजिकै ‘प्रसस्तै’ खेतबारी थियो । तर मलाई गाउँ बिछट्टै सुन्दर चाँही लागेन । त्यसमाथि सिमेन्ट र पिल्लर सहितका दुइटा घर बन्दै गरेको देखेपछि यसको सौन्दर्य-भविष्य मलाई थप निराशाजनक लाग्यो ।

नजिकैको रुकुमकोट कति हो कति सुन्दर छ । वास्तवमा थबाङबाट महत गाविसले छुट्याएको रुकुमकोटलाई म सबैभन्दा सुन्दर नेपाली गाउँहरूको सुचीमा माथिल्लो स्थानमा राख्छु । तर थाबाङ एक्लो र बढी एकान्त लाग्छ । शायद त्यसैले माओवादीहरूले लुक्नकालागि यो ठाउँ छानेका थिए ।

A Dalit boy carries drinking water in gaagri to his home from a nearby tap in Thabang village.
A Dalit boy carries drinking water in gaagri to his home from a nearby tap in Thabang village.

………………………….
रेशम शाहको घर नजिकैको सानो हुटेलमा हामी खाजा पर्खिरहेका थियौं- अण्डासहितको चाउचाउ । दुईजना भोकाएका केटाहरू त्यहा आए । जिन्स पाईन्ट लगाएका उनीहरूमध्ये एकले आफ्नो मोबाइल फोनमा गीत बजाईरहेको थियो । उसको सांगीतिक स्वाद फराकिलो थियो । पहिला ग्यांग्नम स्टायल । अनि होटल क्यालीफोर्निया । त्यसपछि बलिउड गीत तू ही रे । अनि एउटा नेपाली फिल्मको गीत तिम्रो मायाले के गर्यो । होटेल्नी अरू नै काममा व्यस्त भएकाले फोन नसमाउने अर्को युवकले दुबैजनाकालागि चाउमिन बनायो ।

……………………..
क्रमश परित्यक्त माओवादी कम्यूनले थबाङमा चलाएको एउटा होटल उतिराम्रो अवस्थामा थिएन । त्यसले पाहुनाहरू राख्न पनि बिस्तारै छाडिरहेको रहेछ । हामीलाई नजिकैको रेशम शाहको होमस्टे वासतिरको बाटो देखाइयो । उनीसँग कुरा गरेपछि थाहा भयो, हाम्रो ध्यान बिशेषरुपमा तान्ने प्रवेश बिन्दुको त्यो कलात्मक चित्र सहित गाउँभरिका चुनाव बिरोधी नारा पोत्ने व्यक्ति उनै रहेछन् । त्यो सहजै चिनिने ‘कम्युनिस्ट कला’ नेपालमा जताततै देख्न पाइन्न । पूर्व शिक्षक तथा माओवादी कार्यकर्ता उनीसँग भन्नलाई जनयुद्धताकाका थुप्रै कथाहरू रहेछन् ।

तर मलाई सबैभन्दा पहिला जान्नु परेको थियो, गाउँले किन भोट हालेन?

“प्रचण्डलाई सन्देश पठाउन,” शाहले भने । “उनले हामीलाई ढाँटे ।”

कुरा यस्तो रहेछ । प्रधानमन्त्रीबाट हटेको दुई बर्ष पछि र द्वन्द सकिएपछि पहिलो पटक २०११ मा प्रचण्ड थबाङ् गए, जनयुद्धको बार्षिकोत्सव मनाउन । स्थानीय माओवादी नेताहरूको नेतृत्वमा गाउँलेहरूले उनलाई मागहरूको एउटा सूची बुझाए । प्रमुख चार माग यी थिए:

  1. फुलिबनसम्म सडक- (फुलिबनबाट सुलिचौर हुँदै लिबाङ या दाङ पुग्न सकिन्छ)
  2. जलजला क्षेत्रलाई सरकारमार्फत पर्यटकीय घोषणा गराउने (थबाङ गाउँ जलजला पहाडको काखमा छ । जलजलाबाट केही घण्टा हिंडेपछि धरमपानी पुगिन्छ । ३१०७ मिटर उचाईंको यो डाँडो नै यो भेगको सबैभन्दा अग्लो बिन्दु हो। तर रुकुम रोल्पाको सबै भन्दा अग्लो बिन्दु चै सिस्ने हिमालको चुचुरो हुनु पर्छ। यिनै सिस्ने र जलजलाको छोटकरीरूप प्रयोग गर्दै माओवादीहरूले द्वन्दताका अंग्रेजी शब्द cease या “सीज”को अर्थ दिनेगरी राज्यसत्ता कब्जा (सिज) अभियान चलाएका थिए ।)
  3. त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको एउटा क्याम्पस निर्माण
  4. गाउँमुनिबाट बग्ने थबाङ खोलामा तटबन्द हाल्ने

बार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेको शाहले सम्झिए-

थबाङवासीले के के न माग्लान अनि म पुरा गर्न नसक्ने पो हुँ कि भन्ने लाग्या थियो । तर थबाङले यति सानो कुरा पो माग्यो । तपाईंहरूका यी माग चाडै पुरा हुनेछन् ।

पुरा भएनन्, शाहले भने ।

एकबर्ष पछि २०१२ अप्रिलमा प्रचण्ड फेरी थबाङ गए, त्रिभुवन विश्वविद्यालयको एउटा अनुसन्धान कार्यक्रम अन्तर्गत गाउँमा ट्रफल खेतीको शुभारम्भ गर्न । स्थानीय माओवादी नेताहरूले पुरानै मागपत्र उनलाई बुझाए । बुझाउनेमा यसपाली चैं पार्टीमा उनको खेमातिरका मात्रै थिए । त्यसको केही महिना पछि फुटेको उनी विरोधी खेमाका कार्यकर्ताले त्यो प्रचण्ड यात्रा बहिष्कार गरेको यो रिपोर्टमा उल्लेख छ ।

तर प्रचण्डलाई न्याय गर्ने हो भने उनले थबाङलाई धेरैकुरा दिलाएको देखिन्छ (यद्यपी थबाङलाई सुलिचौर केबलकार मार्फत जोड्ने चुनावी प्रतिज्ञा पनि उनले पुरा गरेका छैनन्) । नमुना गाउँ घोषित भएकै कारण यसले अन्य थुप्रै नेपाली गाउँहरूले पाउने भन्दा निकै बढी पैसा पाउँछ । प्रचण्डकै प्रधानमन्त्रित्वताका यो गाउँ नमुना घोषित भएको हो । पत्रकार काशीराम डाँगीको यो कान्तिपुर रिपोर्ट अनुसार युद्धसकिएपछिका सात वर्षमा राज्यले थबाङलाई सातकरोड रूपैयाँ भन्दा बढी दिएको छ । अहिले सरकारी पैसाले शौचालय र गाउँभरी ढल बनाइदै छ । शान्ति छाएपछि बनाईएको लघु जलबिद्युत आयोजनाले गाउँलाई राति उज्यालो पार्छ । नजिकै डाँडामा नेपाल टेलिकमको जीएसएम टावर उभिएको छ । म गाउँमा हुँदा त्यो टावर मर्मतका लागि बन्द थियो तर शाह टेलिकमकै सीडीएमए नेटवर्कमा कुरा गरिरहेका थिए ।

तर मलाई कस्तो लाग्यो भने द्वन्दमा ३३ जना गुमाएको यो गाउँ माओवादी जनयुद्धमा आफूले निर्वाहगरेको भूमिकाका कारण आफूले बढी नै पाउनुपर्छ भन्ने ठान्छ । माओवादीहरूले बनाएरै छाड्छौं भनेको मगरात राज्यको राजधानीकारूपमा यो गाउँलाई द्वन्दताका प्रस्तुत गरिएको थियो । माओवादी “जनसरकार” को प्रभाव क्षेत्रको मुटु थियो यो गाउँ । घरजग्गाको कारोबार समेत “जनसरकार”कै नियम अनुसार हुन्थ्यो, भयो । त्यसले अहिले केही गाउँलेहरूलाई समस्यामा पारेको छ, उनीहरुबीच झगडा पो सिर्जना गरेको छ । त्यतिबेला ‘युद्ध’को त्रासमा सस्तैमा ‘जनसरकार’को नियम अनुसार जग्गा बेच्नेहरू अहिले त्यो “कारोबार” नेपाल राज्यको कानुनअनुसार लिबाङ मालपोतमा नभएको भन्दै वास्तविक भाउको दाबी गर्न थालेका छन् ।

background is an anti-election slogan- "the one who asks for vote will get chot (hurt)."
A man in Thabang, Rolpa celebrated the Maghi festival by letting his friends put colors on his face. On the background is an anti-election slogan- “the one who asks for vote will get chot (hurt).”

एकजना बाहिरियाको दृिष्टले हेर्दा मलाई लाग्यो थबाङका जनताले बहिस्कारलाई आफुतिर राष्ट्रिय ध्यान तान्ने रणनीतिकारूपमा प्रयोग गरे । त्यसमा उनीहरु सफल पनि भए । भोट नहाल्दै प्रचार (र, सम्भवत साधन स्रोत) पाइन्छ भने किन भोट हाल्ने । हालेर चैं के पो भा’छ? हुनलाई थबाङले भोट नहालेको यो पहिलो होइन । विस्तृत यहाँ छ ।

गाउँका नेकपा-माओवादीका इन्चार्ज प्रतापले इमान्दारितासाथ स्वीकारे, गाउँलेहरुले आफ्ना मागहरू राष्ट्रियतहमा सुनिइयुन् भनेरै चुनाव बहिस्कार गरेका हुन् । विरोधाभासपूर्ण लाग्छ तर राज्यविरोधी छवि बनाएका थबाङ्गीहरू गाउँमा राज्यको अधिकतम् उपस्थिति र विकास चाहन्छन् । “स्थानीयतहमा कुरा मुख्य त विकासकै हो,” प्रतापले भने, “राष्ट्रियतहमा, हो, हाम्रो पार्टीका मुद्दाहरू छन्- राष्ट्रियता, स्वाधिनता आदि । तर मुख्य कुरा त गाउँले विकाश नै खोजेको हो । राज्यले हामीलाई सडक दिनै पर्छ ।”

अनि मैले सोचेँ नेपालमा जुनै पनि कुनामा जनताले खोज्ने सडकै रहेछ ।