त्यो दिउसो म त्यहाँ पुग्दा सोह्रखुट्टे पाटी ढलिसकेको थिएन । तर त्यसको छानो उडिसकेको थियो । काठमान्डू सहरका सर्वाधिक ख्यातिप्राप्त ल्यान्डमार्करूमध्येको त्यो सत्तल छिट्टै नजिकै स्थानान्तरण हुनेवाला थियो । सडकलाई फराकिलो हुनबाट रोकेको हुनाले तुलनात्मकरुपमा एेतिहासिक त्यो संरचनालाई सार्न लागिएको थियो । त्यो प्रकृया निर्विवाद थिएन । तर मेरो ध्यान त्यसलाई खोतल्नु थिएन । म त यत्तिकै, बरालिँदै, त्यहाँ पुगेको थिएँ ।
सोह्रखुट्टे पाटीको नाङ्गो छानोमुनी केही मानिसहरू केही गर्दैथिए । एउटी महिला केही कपडाहरू अोल्टाईपल्टाई गर्दैथिइन् । शायद त्यो उनको बिछ्यौना थियो । दुइ पुरुषहरू एउटा भाँडोबाट अर्कोमा केही खन्याईरहेका थिए । शायद त्यो कुनै पेय पदार्थ थियो । अनि एकजना अधवैंशे सज्जन पाटीको एउटा कुनामा बसेर घडी मर्मत गरिरहेका थिए । उनी अगाडीको बाकसमा झुन्डेको पातोमा लेखिएको थियो-
“घडी, लाईटर मर्मत सेन्टर ।
यहाँ घडीको ब्याट्री, फित्ता पाईन्छ । साथै लाईटरमा ग्यास भरिन्छ ।”

उनी एउटा घडीमा व्यस्त हुँदा उनी अघिल्तिर दुइ महिलाहरू बडो चासोपूर्वक उनको काम नियालिरहेका थिए । ती दुइ मध्ये अलि कम उमेरकी जस्ती देखिनेले अाफ्नो देब्रे कुहिनो सोकेसमा अड्याएर हत्केलामा मुन्टो अड्याएकी थिइन् । यो सबै दृश्य केहीबेर अवलोकन गरिसकेपछि मलाई ती घडी मर्मतगर्ने मान्छे नजिककै जान मन लाग्यो । विना कुनै कारण । खोटाङतिरका ती दुबै महिला त्यहाँ अा-अाफ्ना घडीहरू मर्मत गराउन पुगेका रहेछन् ।
“यहाँ यो पसल खोल्नुअघि मैले खुबै सोचे,” वरीपरीका ग्राहकहरू गएपछि फुर्सदिला बनेका घडी मर्मत गर्ने भलाद्मीले मेरो एक प्रश्नमा भने, “एक मनले सोचेको थियो, अब म बाँच्न सक्दिन । मरौं जस्तो लाग्यो । साच्चै । मरौं नै जस्तो लाग्यो मलाई । तर फेरी अर्को मनले भन्यो, म त झन्डै मरेको मान्छे । अब झन बाच्नु पर्छ । हरेस चैं खानु हुन्न । अनि मैले यो पसल थापे । अब यहाँ त ग्राहक मकहाँ अाउछन् । मैले उनीहरूकहाँ जान पर्दैन ।”
नुवाकोटको एउटा गाउँका उनी थुप्रै बर्षअघि थुप्रै नेपालीहरूझैं कमाउन खाडीको एउटा मुलुक गएका थिए । त्यहाँ उनी एउटा छापाखानामा काम गर्थे । काम ठिकै थियो तर कार्यस्थलमा दुर्घटनामा परेपछि नसोचेको ढंग र समयमा उनले नेपाल फर्किनु फर्किनु पर्यो ।
“उपचारमा हेलचेक्रयाई गरिदिए,” उनले भने । “नेपाल फर्केपछि पनि उपचार त गराएँ । तर भएन । यो दाईने खुट्टो काट्नै पर्ने भयो ।”
अचानक अाएको त्यो सूचनाप्रति मैले अाफ्नो अाश्चर्यभाव प्रकट गर्दा नगर्दै उनले मलाई अाफ्नो ठुटो तिघ्रा देखाउदै यति भन्न भ्याइसकेका थिए- “अब म जीवन प्रति अाशावादी छु । एकै खुट्टाले पनि ज्यान पाल्न सकिदो रैछ ।”

You must be logged in to post a comment.