Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

पानीमाथिको जिन्दगी

दिनेश वाग्ले

धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्‍यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्‍यापिडमा) एउटा बाटो हुन्छ, त्यसलाई फलो गर्नुपर्छ ।’

परिचय गरौं नरेश राईसँग । उमेर-३२, घर- धरान । अफिस- नेपालका केही चर्चित खोलाहरू, काम- हावाले भरिएका ठूला डुंगा चलाउँदै पानीको बहावसँगै दक्षिणतिर हानिने साहसिक शौखिनहरूलाई सहयोग पुर्‍याउने । शनिबारको घमाइलो दिन नरेश तयार भएका छन् धादिङको मलेखुबाट खटौतीसम्मको तीन घन्टे जलयात्राका लागि । आजको डुंगामा नेपाली पत्रकारहरूको एउटा टोली छ र नरेशका हरेक निर्देशन छचल्किएको पानीले भिजेको डायरीबाट च्यात्तिएका पन्नामा नोट गरिने छन् ।

धराने राईले नेपालीभाषी पत्रकारहरूसँग राफि्टङ गर्दा किन त्यति सारो अंग्रेजी शब्दहरू प्रयोग गरेका होलान् ? फरवार्ड (अगाडितिर), प्याडल (डुंगा खियाउने साधन), राइट (दायाँ), ब्याक (पछाडि), र्‍यापिड (तेजिलो बहाव र छालको संगम) । उसो त सगरमाथा अंग्रेजी नाम माउन्ट एभरेस्टबाट विश्वविख्यात छ । नेपाली हिमालहरू जस्तै खोला पनि गोराहरूले नै अन्वेषण गरेका हुन्, राईले बताए । नेपालीहरूले अलि धेरै संख्यामा र्‍याफि्टङ गर्न थालेको दुई, तीन वर्ष मात्र भयो । ‘र्‍याफि्टङलाई नेपालीमा के भन्छ थाहा छैन,’ उनले भने- ‘धेरैजसो र्‍याफि्टङ गोराहरूले गर्छन् । शब्द पनि अंग्रेजी चल्ने भयो ।’

लौ, कुरैकुरामा मलेखुभन्दा अलि तलको झोलुङ्गे पुलमुनि आइएछ । माथिबाट केही फुच्चेहरूले चेतावनी दिए- ‘तलतिर बाटो भत्केर जाम छ

है ।’ डुंगामा हासोको फोहोरा छुट्यो । नेपाली सडकहरूमा भइरहने दिक्क लाग्दो क्रिया धन्न खोलाको यात्रा सरेको छैन । तर जोक्सहरू पर्याप्त बनिसकेका छन् । अर्कोले थप्यो- ‘टायर पनि बालेको छ है ।’ संवाददाताहरू प्याडल खियाउन छाडेर हासे ।

टाउकामा प्लास्टिकको हेल्मेट र शरीरको माथिल्लो भागमा लाइफ ज्याकेट (पानीमा तैरिने सामग्रीले बनेको कपडा) लगाएपछि दुवै हातले प्याडल समाएर डुंगालाई पानी बगेको दिशातिर डोर्‍याउनु र्‍याफि्टङको मुख्य क्रिया हो । पानी छचल्किँदै उप|mेको ठाउँलाई र्‍यापिड भनिन्छ, जहाँ पुगेपछि डुंगा पनि त्यहीरूपमा उपि|mने हुँदा केही सतर्क हुनुपर्छ । ‘र्‍यापिडको तीव्रता अनुसार तिनलाई बर्गीकरण गरिएको हुन्छ र त्यही बर्गीकरणका आधारमा र्‍याफि्टङका लागि कुन खोला कति खतरापूर्ण हुन्छ भन्ने किटान गरिन्छ,’ र्‍याफि्टङ गाइड राईले बहिरहेको डुंगामा लिइएको अन्तर्वार्तामा भने- ‘क्लास फाइभ (पाँचौं बर्ग) भन्दा माथिका खोलाचाहिँ साँच्चै खतरापूर्ण हुन्छन् ।’ नेपालमा सातौं वर्गसम्मका खोला छन् तर आजलाई संवाददाताहरूले धन्दा नमाने हुन्छ, मलेखुदेखि खटौतीसम्मको रुटमा मुस्किलले क्लास दुईसम्मका र्‍यापिड छन् । पोखरा-चितवनको बीचमा र काठमाडौं नजिकै भएकाले त्रिशूलीमा र्‍याफि्टङ गर्नेको भीड लाग्छ । पदयात्राको भाषामा भन्ने हो भने त्रिशूलीको र्‍याफि्टङ हेलम्बुको ट्रेेकिङ जस्तै हो- हजुरबाहरूले समेत गर्न सक्ने । र्‍याफि्टङका लागि त्रिशूलीलाई सदावहार नेपाली खोलाका रूपमा वर्णन गरिने राईले बताए । ‘माथिल्लो भोटेकोसीचाहिँ र्‍याफि्टङका लागि विश्वस्तरको सदावहार खोला हो,’ उनले भने- ‘सुनकोसी र कणर्ाली पनि कम छैनन् । यी संसारकै उत्कृष्ट खोलामा पर्छन् ।’

बितेका १२ वर्षदेखि राई खोलाहरूको बहावसँग पौठेजोरी खेलिरहेका छन् र सबैभन्दा बढी र्‍याफि्टङ खेलिने एक दर्जनजति नेपाली खोलाहरूलाई नजिकबाट चिनेको उनको दाबी छ । पानी बग्ने मार्गमा हुने ढुंगाको आकार, सांघुरा खोच, बहावको तीव्रता र छोटो दूरीमै खोलाको उचाइमा हुने फरकले नेपाली खोलाहरूलाई विश्वस्तरका बनाएको राईको भनाइ छ । ‘कुनै पनि खोलाका ढुंगा, त्यसको बगाई र र्‍यापिड चिन्न कम्तीमा एक वर्ष त्यहाँ बिताउनुपर्छ,’ उनले भने- ‘खोला चिनेपछि बग्नु त फिलिलि ।’

रमाइलो र शोख पूरा गर्नका लागि एकाधपटक र्‍याफि्टङ गर्नु फिलिलि नै होला तर वर्षौंदेखि कामका रूपमा त्यो साहसिक क्रिया गर्नु कत्तिको रमाइलो छ ? ‘एकदम रमाइलो,’ उनले कत्ति समय नलगाई जवाफ दिए- ‘प्रत्यक्ष प्रकृतिसँग खेल्ने काम हो यो । पानीमा जीवन हुन्छ । पानीको आवज ध्यानपूर्वक सुन्नुस्, त्यसले केही भनिरहेको हुन्छ । पानीसँग नजिकबाट सम्बन्ध राख्दा सबैभन्दा ठूलो आनन्द आउँछ । त्यसबाहेक यो आफ्नो जागिर पनि हो । रमाइलो गर्दा पैसा पनि पाइन्छ ।’ र्‍याफि्टङ गर्न संसारभरिबाट अनेकौं थरी मान्छे आउने र तिनीहरूसँगको भेटघाट रमाइलो कामको अर्को आकर्षण भएको उनले बताए ।

‘ठ्याक्कै पत्रकारिता जस्तो,’ संवाददाताले पनि आफ्नो कामको बखान गर्ने लवजमा भन्यो- ‘हाम्रो पनि काम त्यस्तै हो । आज तपाइर्ंसँग मस्ति गरिएको छ, भोलि यही लेख्यो, अफिसले पैसा दिन्छ । अनि दिनहँु जस्तो तपाईंजस्ता नौला र शक्तिले भरिपूर्ण मान्छेहरूसँगको भेट कम्ती रुचिपूर्ण हँुदैन ।’

थुप्रै नेपाली र्‍याफि्टङ गाइडहरू विदेशमा काम गर्न गएका छन् र राईले पनि त्यो मौका हेरेका छन् । न्युजिल्यान्ड, अमेरिकाको कोलोराडो जस्ता स्थानमा उनका कयौं मित्र पुगेका छन् । उनका सहकर्मी ३२ वर्षे मीनबहादुर गुरुङ विदेश जानका लागि प्रक्रियामा रहेको बताए । ‘उनीहरूले अनुभव र तालिमको कागज खोज्छन्,’ यो क्षेत्रमा १२ वर्ष काम गरेका गुरुङले भने- ‘म त्यो मिलाइरहेको छु ।’ नेपालमै पनि अवसरहरू बढी रहेका छन् । राई र गुरुङ दुवैले काम गर्ने ‘लस्ट प्याडल एडभेन्चर’ नामको कम्पनी यसै वर्षको सुरुमा खोलिएको हो, जसले अघिल्लो महिनादेखि काम थालेको हो । ‘अब नेपालीले पनि र्‍याफि्टङ गर्न थालेकाले हामीमा उत्साह बढेको छ,’ प्रबन्ध निर्देशक विष्णु पौडेलले भने । खोलामै फर्किऊ । ‘र्‍याफि्टङमा टिमवर्कको बडो महत्त्व हुन्छ,’ र्‍याफि्टङ सकिएपछि खोला किनारमा बसेका राईले भने- ‘सबैले प्याडल खियाउनै पर्छ ।

मैले पैसा तिरेको छु भनेर ठूलो हुन पाइँदैन । मैले त गाडीको स्टेरिङजस्तै डुंगालाई सही दिशातिर लैजाने मात्रै हो, अगाडि बढाउने यात्रुहरूले हो । प्याडल खियाउँदा रिदम मिलेमा सबैलाई सजिलो हुन्छ ।’ यात्रुहरूबीचको समझदारी लामो र्‍याफि्टङ यात्रामा विशेष आवश्यक हुन्छ, जहाँ सुरुको र अन्तिम विन्दुमा मोटर हुन्छन्, बाँकी स्थानमा अनकन्टार जंगल या खोलाको आवाज । ‘सुनकोसीमा नौ र कणर्ालीमा ११ दिनसम्मका र्‍याफि्टङ एक्स्िपडिसन हुन्छन्,’ उनले भने- ‘त्यस्ता यात्रामा खाना, सुत्ने पाल डुंगामै बोकिन्छ । दिनभरि तैरेपछि पाल टांगेर सुत्ने ।’

लौ, सुत्ने कुरा गर्दा घरमा त यी ३२ वर्षे ठिटा एक्लै हुन्छन् । काम त्यस्तो रमाइलो, संसारका अनेकौं रंगका र थरी-थरी मनका मान्छे भेटिने, बिहेबारे उति गम्भीर भएर सोचेकै छैन । ‘समयै आएको छैन,’ उनले भने- ‘काम आउटडोर -घर बाहिर) को छ, बिहेपछि इन डोर -घरभित्र) हुनु परिगयो ।’ सुरक्षालगायतक र्‍याफि्टङ गाइडका लागि चाहिने अनेकौं तालिम लिएका राईले जिन्दगी यही पेसामा बिताउने निर्णय गरेका छन् । पेसाको उचाइ बढाउने उनको सपना छ । ‘सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने- ‘आफू होसियार भए पानीसँग डराउनै पर्दैन । बरु अहिलेको चिन्ता नेपाली खोलाहरूको संरक्षणको हो । त्यसमा केही गर्नैपर्छ ।’

लौ, त्यसो भए ‘फरवार्ड’ राई जी ।’

Dinesh Wagle experience: White Water Rafting in Trishuli

One response to “पानीमाथिको जिन्दगी”

  1. White Water Rafting in Trishuli « Wagle Street Journal Avatar

    […] परिचय गरौं नरेश राईसँग । उमेर-३२, घर- धरान । अफिस- नेपालका केही चर्चित खोलाहरू, काम- हावाले भरिएका ठूला डुंगा चलाउँदै पानीको बहावसँगै दक्षिणतिर हानिने साहसिक शौखिनहरूलाई सहयोग पुर्‍याउने । शनिबारको घमाइलो दिन नरेश तयार भएका छन् धादिङको मलेखुबाट खटौतीसम्मको तीन घन्टे जलयात्राका लागि । आजको डुंगामा नेपाली पत्रकारहरूको एउटा टोली छ र नरेशका हरेक निर्देशन छचल्किएको पानीले भिजेको डायरीबाट च्यात्तिएका पन्नामा नोट गरिने छन् । (continue reading this Kantipur story about a rafting guide and Nepali rafting world here.) […]