दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!]
यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार हरिराम पौडेल र कृष्ण सुवेदीलाई भ्याई नभ्याई थियो ।
हरि केही कागजमा ड्यामकी ड्याम छाप हानिरहेका थिए । कृष्ण तिनलाई छिटोछिटो सम्याईरहेका थिए । स्टिच गरिएका तीन टुक्रामा तस्बिरयुक्त आईडी कार्ड, कार्ड वाहकको नागरिकता फोटोकपी र उसले खानुपर्ने सपथ विवरण थिए । एउटा कार्डमा सातवटा छाप हान्नु झन्झटिलो थियो तर कार्ड कम थिएनन् । त्यो दिन पाचसय कार्ड तयार पारेका उनीहरुले अघिल्ला दिनहरुमा समेतगरी जम्मा ८ हजार दुइ सय कार्ड बनाएका थिए । चैत २८ आओस्, ती कार्ड वाहकहरु देशका थुप्रै चुनावी बुथमा जाने छन् र मतदान प्रकृया नियाल्ने छन् । उनीहरु आयोगले स्विकृती दिएका निर्वाचन पर्यवेक्षक हुन् जो, आयोगको निर्वाचन पर्यवेक्षण स्रोत केन्द्रका अनुसार, यसपाली झन्डै ४० हजार हुनेछन् ।
ती मध्येकी एक हुन् सुष्मा केशी (तस्बिरमा) जो यसपाली चुनावी पर्यवेक्षणका साथै मतदानको पनि पहिलो अनुभव लिन आतुर छिन् । ‘कति एक्साईटेड छु,’ गत शनिवार विहान कालिकास्थानस्थित एउटा स्कुलमा पर्यवेक्षणबारेको प्रशिक्षणमा सहभागी २१ बर्षो युवतीले भनिन्- ‘अघिल्लो चुनावमा ११ बर्षकी थिए । अब त (भोट हाल्ने) आफ्नो र्राईट छ, त्यसको युज गर्नुपर्यो ।’ सुष्मा जस्तै अघिल्लो चुनावमा मतहाल्न उमेर नपुगेका र यसपाली ‘अधिकारको प्रयोग’ गर्न योग्य २५ बर्षमुनीका ३८ लाख ५४ हजार ३ सय ८८ युवा आयोगमा दर्ता भएका छन् । पर्यवेक्षण गर्न स्विकृती पाएका मध्यै थुप्रै त्यो उमेर समुहका भएको पर्यवेक्षण संस्थाहरुको प्रारम्भिक अनुमान छ । पर्यवेक्षक भएर अभूतपूर्व लोकतान्त्रिक अभ्यासलाई नजिकबाट नियाल्नु यी पहिलो-पटक-मतदाताका लागि ऐतिहासिक अवसर भएको छ ।
‘इलेक्सन कसरी हुन्छ नजिकबाट अर्ब्जर्भ गर्ने इच्छा थियो,’ आफूजस्तै करिव सय जना आईडीकार्डवाहकहरु सहभागी प्रशिक्षणमा एकजना प्रशिक्षकले पर्यवेक्षकका काम र कर्तव्यबारे सम्झाइरहदा सुष्माले भनिन्- ‘सबैकुरा सिक्न सकिन्छ ।’ कास्की क्षेत्र नम्बर ३ की मतदाताले त्यही पर्यवेक्षण गर्ने छिन् ।
सुष्माको जस्तो आफ्नै चुनावी क्षेत्रमा पर्यवेक्षण गर्ने चाहना छ २३ बर्षो दिनेश खनाललाई जो घादिङ्-३ मा भोटहाल्न दर्ता छन् । ‘आफ्नै ठाउमा जाने,’ कहाँ गएर पर्यवेक्षण गर्ने चाहना छ भन्ने प्रश्नमा उनले भने- ‘अर्कोमा गए प्रत्यक्ष निर्वाचनामा भोट हाल्न पाइदैन । भोट हाल्न नपाई नपाई फुल्ली भोल्युन्टर (पर्ण स्वयंसेवा) गरेर के भयो र?’
(निर्वाचन आयोगका अनुसार सम्बन्धित क्षेत्रको मतदाता नामावलीमा नाम नभएका पर्यवेक्षकले समानुपातिकमा पनि भोट हाल्न पाउदैनन् जो दिनेशले प्रशिक्षणको अन्त्यसम्ममा थाहा पाए ।)
दिनेशले त्यो कुरा गरिरहदा माइक्रोफोनमा थिए कृष्ण पोखरेल जो चुनावी प्रकृयाबारेको आफ्नो ज्ञान साझेदारी गर्न त्यहाँ उपस्थित भएका थिए । ‘संविधान सभा चुनाव अभूतपूर्व हो,’ उनले भने- ‘हामी भाग्यमानी पुस्ता हौ जसले यसमा भाग लिइरहेका छौं ।’
‘त्यस्तो बेला पनि भोट नहाली बस्न सकिन्छ ?’ पोखरेलको कुरा अठ्याउदै दिनेशले आफ्नो तर्कलाई निरन्तरता दिए ।
‘भोट हाल्नु महत्वपूर्ण की पर्यवेक्ष गर्नु ?’ मैले सोधे ।
‘भोट हाल्नु,’ उनले भने ।
‘हैन, पर्यवेक्षण गर्नु,’ दिनेशसँगै बसेकी सिता ढुंगानाले भनिन् । २१ बर्षे सिता पहिलो-पटक-मतदताका साथै पर्यवेक्षक हुन् । उनी त्यहाँ प्रशिक्षण निम्ति उपस्थित भएकी थिइन् । ‘एक भोटले जित्ने हार्ने भन्ने कमै हुन्छ,’ उनले भनिन्- ‘भोट हालेर भन्दा पर्यवेक्षण गरेर चुनावी प्रकृयामा बढी योगदान दिन सकिन्छ ।’
पहिलो-भोट र पहिलो-पर्यवेक्षणसँगै युवाले एउटा विरोधाभाषको सामना गर्नेछन् । एउटा मतपत्रमा एउटै चिन्हमा भोट हालिन्छ, त्यो भन्दा बढीमा हाल्नुको अर्थ हुदैन । एउटाको पक्ष लिनैपर्छ जो पर्यवेक्षणको आधारभूत सिद्धान्त (कसैको पनि पक्ष नलिनु) सँग मेल खादैन । मतदातामा स्वभावत आफूले भोट हालेको पार्टीको उम्मेदवारले जितोस भन्ने हुन्छ । तर पर्यवेक्षकले कसैको जित हारको अपेक्षा गर्नु या पक्ष लिनु हुदैन । त्यसलाई कसरी सन्तुलन गर्ने ?
‘आफ्नो आस्था हुन्छ मानव भएपछि,’ सीताले भनिन्- ‘परिभाषित धारणा हुन्छ । भोट हाल्ने वेलामा न्यूट्रालिटी हुदैन । तर पर्यवेक्षण गर्ने बेलामा हुन्छ ।’
त्यो व्यक्तिको नैतिकतामा पनि भरपर्ने कुरा हो । तर पर्यवेक्षकको काम चुनावी प्रकृयामा सहभागी हुने होइन, त्यसलाई एउटा कुनामा बसेर हेर्ने मात्र हो । उनीहरुले मतदातालाई प्रभावित गर्न या कुनै पार्टीको पक्षमा कुरा गर्न पाउने छैनन् जो सुदर्शन खनालले बुझेका छन् । नुवाकोट क्षेत्र नम्बर १ का यी २६ बर्षोले चुनावी दिन विहानै जिन्दगीको पहिलो भोट खसाएपछि सकेसम्म अर्को बुथमा गएर पर्यवेक्षण गर्ने योजना बनाएका छन् । (अघिल्लो चुनावमा मतदाता नामावलीमा उनको नाम थिएन ।) ‘यसलाई उसलाई (भोट) हाल नभन्नु भनेको छ,’ उनले पर्यवेक्षण गर्न सिकाइदा भनिएको कुरा सम्झिए- ‘हाम्रो काम मतपत्रमा मदतान अधिकृतले हस्ताक्षर गरेको छ छैन, ऊ कुनै पार्टीतिर पो लागेको छ कि, राजनीतिक दलले धाधली पो गरेका छन् कि भन्ने हेर्ने मात्र हो ।’
धाँधली गरे नगरेको टुलुटुल हेर्ने मात्र, त्यसलाई रोक्ने पर्यवेक्षकको काम होइन । तैपनि नेपाली इतिहासमा सबैभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको यो चुनावलाई अहिलेसम्मकै सबैभन्दा धेरै राष्ट्रिय र अर्न्तराष्ट्रिय पर्यवेक्षकले निगरानी गर्ने गर्नेछन् । (एक करोड ७६ लाख मतदाता र ८ सय जति विदेशी पर्यवेक्षक आयोगमा दर्ता भएका छन् ।) प्रत्यक्षरुपमा धाँधली नरोकेपनि आफ्नो उपस्थितीले सम्भावित धाधलीकर्तालाई निरुत्साहित पार्ने पर्यवेक्षकको अपेक्षा छ ।
त्यस्तो अपेक्षा गर्ने एकजना हुन् डरेन न्यान्स जो चुनाव पर्यवेक्षण गर्न वितेका १४ महिनादेखि नेपालमा छन् । उनी नेपाल सरकार, केही पार्टी र निर्वाचन आयोगले चुनावी प्रकृया नियाल्न बोलाएको अमेरिकी शान्ती संस्था कार्टर सेन्टरका फिल्ड निर्देशक हुन् । हात्तिसारस्थित सेन्टरको कार्यालयबाट उनी पूर्व अमेरिकी राष्ट्रपती जिम्मी कार्टरले खोलेको संस्थाले विदेशबाट ल्याएर नेपालका विभिन्न भागमा पुर्याएका पर्यवेक्षकहरुको संयोजन गर्छन् ।
‘(पर्यवेक्षकको उपस्थितीले प्रतिस्पर्धीहरुबीच) विश्वासको एउटा तहको निश्चितता गर्न सहयोग पुर्याउँछ,’ डरेनले भने- ‘खेल नियम अनुसार भइरहेको सुनिश्चित गर्न भूमिका खेल्छ ।’ पर्यवेक्षकको उपस्थितीले चुनावी प्रकृयालाई विश्वसनीय तुल्याउनुका साथै जनतामा त्यसप्रति विश्वास सिर्जना गर्ने डरेन ठान्छन् ।
२००३ देखि नेपाली शान्ती प्रकृयामा सक्रिय सेन्टरले २००७ मार्च पहिलो सातादेखि १३ अर्न्तराष्ट्रिय दीर्घकालीन चुनावी पर्यवेक्षकहरु खटाएको छ । गत जुन र नोभेम्बरमा हुने भनिएका चुनाव रद्ध भएपछि सेन्टरको नेपाल बर्साई अवधी लम्बिएको छ । ‘त्यै त,’ डरेनले मेरो एउटा ठट्टामा प्रतिक्रिया जनाए- ‘गिनिज बुकतिर सर्म्पर्क गर्नुपर्ला विश्वकै सबैभन्दा लामो चुनावी पर्यवेक्षण मिसन भयौ भनेर !’
विदेशबाट पैसा मिलेपछि पर्यवेक्षक परिचालन गर्न तछाड मछाड गर्ने केही नेपाली संस्था जस्तै सबै विदेशी पर्यवेक्षक राम्रा हुन्छन् भन्ने होइन । धेरैले चुनावी पर्यवेक्षण गर्ने निहुमा नेपालीका लागि आउनुपर्ने पैसामा मस्ति गरिहेका पनि हुनसक्छन् । तर त्यो भन्दा महत्वपूर्ण कुरा सेन्टरजस्ता पर्यवेक्षण संस्थाको उपस्थितीले नेपाली चुनावलाई अर्न्तराष्ट्रिय समुदायको ध्यानमा राखिरहेको छ जसले हाम्रो लोकतन्त्र र शान्ती प्रकृयाप्रति विश्व समुदायको चासो हराउन दिएको छैन ।
सेन्टरले आफ्ना दीर्घकालीन पर्यवेक्षकलाई सबै जिल्लामा पठाएर चुनावी प्रकृयासँग सम्बद्ध पक्षहरुसँग अर्न्तक्रिया गरेको छ । त्यस्ता अभियान ती पर्यवेक्षकका लागि चीरस्मिरणीय हुनेगरेका छन् । ‘हामीले थुप्रै अविश्मरणीय अनुभव सगालेका छौं, थुप्रै भेट विर्सनै नसकिने भए,’ १४ महिना अघि विराटनगरलाई आधार बनाउदै पर्यवेक्षण थालेकी स्टिफेनी ग्रोसले सेन्टरको वेब र्साईटमा लेखेकी छिन् ।
‘दीर्घकालीन पर्यवेक्षककारुपमा वितेका ६ महिनामा नेपालमा काम गर्दा म ६ सय माईल हिडे,’ ज्यासान कात्ज लेख्छन्- ‘र हामीभन्दा माथि सगरमाथा उभिइरहेको त्यो पाच हजार पाच सय मिटरमा पुग्दा मेरो समूहले सबैभन्दा उचाईमा पुगेर चुनावी पर्यवेक्षण गरेको विश्व रेकर्ड कायम गरेको हुनुपर्छ । पछि थाहा पायौं, वास्तवमा, ठ्याक्कै त्यही ठाउमा १९८५ मा राष्ट्रपती कार्टर पुग्नु भएको रहेछ । त्यसैले शायद हामी त्यो रेकर्ड साझेदारी गर्न सक्छौं ।’
रेकर्ड राखेको दावी गर्नु बाहेक ‘कार्टर सेना’ले मगर भाषाका केही शब्द सिकेको, उनीहरुबारेका आफ्ना टिप्पणीले मगरहरु टोल थर्काउदै हासेको र ओछ्यानमा सुतिरहेकै ठाउमा आएर उत्सुक माओवादीले कुराकानी थालेको उल्लेख गरेका छन् ।
‘विभिन्न कारणले मजस्ता अमेरिकीहरुलाई माओवादीले खासै मनपराउदैनन्,’ ज्यासन लेख्छन्- ‘तर माओवादी नेतृत्वसहित अरु पार्टले हामीलाई निम्त्याएका पत्र र हामीले के गरिरहेका छौ भन्ने विवरण देखाउदा हामीहरुप्रतिको उनीहरुको शंका हरायो । त्यसपछि हामीले (ओछ्यानबाट उठेर) उनीहरुकै पार्टी अफिसमा गएर अलि औपचारिक शैलीको बैठक गर्यौं ।’
शंका नगर्नेले चाहि पर्यवेक्षकहरुबाट बढी आशा गरेका हुन्छन् । जस्तो, सेन्टरका बेलायती पर्यवेक्षक रोजर ब्रायन्टले भने- ‘धेरैले चुनाव निष्पक्ष गराउन भूमिका खेल्नुपर्यो भने । हामीले उनीहरुलाई सम्झायौं, हाम्रो भूमिका चुनावी प्रकृया नियाल्ने मात्र हो, त्यसमा कुनै सहयोग सल्लाह गर्न या सहभागी हुन मिल्दैन ।’
आठ महिना अघि नेपाल आएका रोजरले खोटाङ् जस्तो दुर्गम ठाउमा हिड्दा बुढो ज्यानलाई अप्ठेरो भएपनि रमाइलो अनुभव बटुलेको बताए ।
‘नेपालीहरुसँग गफ थाल्न एकदम सजिलो,’ रोजरले भने- ‘एउटा उकालो चढेपछि सानो चिया पसलमा छिर्यो, भीड जम्मा भइहाल्छ, अनि गफ थाल्यो । विस्तारै चुनावको प्रसंग निकाल्यो, उनीहरु आफ्ना विचार राखिहाल्छन् ।’
तीन महिना अघि आएका बोस्निया हर्जगोभिनाका डेजान डानिलोभिकले आफू पनि झन्डै उस्तै समश्या भएको देशबाट आएकाले नेपालको समश्याबुझ्न अन्य विदेशीलाई भन्दा सजिलो भएको बताए । ‘जनसाधारणसँग कुरा गर्दा उनीहरुलाई शान्ती कति चाहिएको छ भन्ने थाहा पाइन्छ,’ सेन्टरका पर्यवेक्षक डेजानले भने- ‘उनीहरुलाई सुनेपछि चुनावको सर्न्दर्भ झन् प्रष्ट हुन्छ ।’
विदेशीहरु अप्ठेरा उकाला चढ्दै जनसाधारणसँग चिया पसलमा गफिएर पर्यवेक्षण व्यस्त रहदा सिस्नेरी, ओखलढुंगाका २० बर्षो पदमबहादुर सुनुवार जस्ता तन्नेरी पनि आफ्नो भन्दा फरक जिल्लामा गएर लोकतान्त्रिक अभ्यास नियाल्न कम्मर कसिरहेका छन् । पाटन बहुमुखी क्याम्पसमा बीए तेस्रो बर्षा विद्यार्थीलाई पर्यवेक्षणका लागि रोल्पा जाने मन छ । ‘हेर्न, घुम्न पाइन्छ,’ उनले भने- ‘त्यहा नपाए आफूलाई पायक पर्ने ठाउमा गइन्छ ।’ पायक सिस्नेरीमै पर्छ जहाँका उनी मतदाता हुन् । ‘भोट त जसरी पनि हाल्नु पर्ने,’ राजनीतिमा उति सारो चासो नभएको बताउने युवाले भने- ‘मन त छ…।’ सगै बसेका उनका साथी (जो पर्यवेक्षक होइनन्, पदमको साथ लागेर प्रशिक्षण स्थलमा पुगेका थिए) ले थपे- ‘मनको कुरा हैन, अधिकार हो ।’
‘त्यै त अधिकार हो,’ पदमले भने । उनले कुनै पार्टीको जित भन्दा संविधान सभाको सफलता आफ्नो चासो भएको बताए । ‘जसले जितेपनि राम्रो संविधान बनाओस,’ उनले भने- ‘यस्तो गुर्छ उस्तो गर्छु भन्छन् तर व्यवहारमा लागू गर्न पर्यो ।’
‘संविधान सभा निर्वाचन पर्यवेक्षण संयुक्त मञ्च’ अर्न्तगतका ५६ संस्था मध्ये एउटाले परिचालन गर्न लागेका यी युवाले पैसा पाउदैनन् किनकी मञ्चले पर्यवेक्षणका लागि कसैको आर्थिक सहयोग नलिने र पर्यवेक्षणलाई पुरै स्वयंसेवाकारुपमा लैजाने निर्णय गरेको छ । (आयोगले आफ्नो कम्पाउन्ड बाहिर यूएनडीपीको सहयोगमा खोलेको ‘निर्वाचन पर्यवेक्षण स्रोत केन्द्र’मा कार्ड बनाइरहेका हरि र कृष्णको जोडी पनि मञ्चमै आवद्ध छ ।) त्यसो भन्दैमा सबैका लागि पर्यवेक्षण स्वयंसेवा पक्कै होइन । कतिपय संस्थाका लागि पैसा खेलाउने (र कमाउने) अभूतपूर्व अवसर भएको छ । मान्नैपर्छ नेपालीहरुको त्यो खुवी जसको प्रयोग गरेर उनीहरु कुनै पनि घट्नालाई कमाइको मौकामा बदल्न खप्पिस भएका छन् । तर त्यसमा के गुनासो यदि उद्धेश्य कमाउनु साटो चुनावबारे जान्नु छ भने ?
‘नदिए पनि गुनासो छैन,’ सुस्माले भनिन्- ‘पैसा कमाउन टाइम छ, पछि कमाउला नि । मलाई देख्नु छ चुनाव कसरी हुन्छ । मेरालागि त्यही ठूलो कुरा हो ।’