थाप्लोमा मसुरी

३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री
३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री

एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

दिनेश वाग्ले
तस्बिर– विदुर खतिवडा

भागी ती भागीका छोरा पिलेन घुइक्याउदा छन्
अभागी गरिवका छोरा भारी चुइक्याउदा छन्

मसुरी डाँडोमा भारतभरीका र संसारकै मान्छे पुग्छन् । तिनीहरु कुन देश या भारतीय राज्यका हुन् खुट्टयाउन हत्तपत्त सकिन्न । तर खुम्चिएको ढाका टोपी लगाएका, काँधमा नाम्लो भिरेका र यहाँका साघुरा गल्लीमा भारी बोकेर या त्यसै भौतारिइरहेका जुनै पनि मलिन अनुहारलाई सहजै चिन्न सकिन्छ । परिचय विनाकै पहिलो प्रश्न (‘कताबाट हो दाजू ?’) ले तत्कालै उत्तर पाइ हाल्छ– ‘कालिकोट’ ।

एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

केही मिनेट असिना बर्सिएपछि चिसिएको हालैको एक साँझ एक हुल कालीकोटेहरु मसुरीको केन्द्रमा रहेको घन्टाघर नजिकै सडक किनारमा आगो तापिरहेका थिए । दिउसो एकपटकमा डेढ क्विन्टलसम्म बोक्दाको थकान मेटाउन केहीले मदिराको सहयोग लिएका थिए जो गफमा प्रष्ट झल्किन्थ्यो ।

‘लौ लेख्नुस्, हामी कालिकोटका,’ ५९ बर्षे धनु विकले लरबरिएको लवजमा भने– ‘आफ्नो देशमा काम नपाएर अर्काकोमा कुकुरको जिन्दगी विताइरहेका छौं । यही हो हाम्रो खवर ।’

‘झ्याप भएर लाजमर्दो कुरा गर्ने हो ?’ ४९ बर्षे रति विकले धनुलाई सम्झाए– ‘राम्रो राम्रो कुरा गर्नुपर्छ पत्रकार सरसँग ।’

मसुरीमा कालीकोटे भरियाहरू ।दायाँबाट पहिलो– धनु विक, दोस्रो– रति विक ।
मसुरीमा कालीकोटे भरियाहरू । बायाँबाट पहिलो– धनु विक, दोस्रो– रति विक ।

जति राम्रो कुरा गरेपनि वास्तविकता त्यही हो जो धनुले व्यक्त गरे । देशकै पिछडिएको मध्येको एक जिल्लाका लगभग तीन हजार पुरुषहरु गाउमा खेती भ्याउनासाथ नोट कमाउने आशमा यो सानो, सुन्दर र विदेशी डाडोमा आइपुग्छन् । कोही दुई महिनामा फर्किन्छन्, केही छ महिनामा । कोही तीन बर्ष अघि आउन थालेका हुन् त कोही वितेका ३६ बर्ष देखि आइरहेका छन् । गाउमा थोरै जग्गा त छ सबैको तर त्यहा उब्जिने अन्नले परिवारलाई बर्षैभरी खान पुग्दैन । त्यसैले कपडा र नुन किन्ने पैसा अर्थात नोट– जो खनखनी गन्न मिल्छ– का लागि यहाँ आएर भारी बोक्नु उनीहरुको बाध्यता हो ।

‘न हामीले लेखेको, न पढेको,’ रतिले एउटा प्रश्नमा भने– ‘पल्लादारी हाम्रो काम । अर्काको भारी बोक्ने, पैसा तत्कालै छ्याट्टै पाइहाल्ने । त्यही रमाइलो हाम्रा लागि ।’

‘रमाइलो’ नै सही तर विदेशी भूमिमा त्यसरी पैसा कमाउनु उनीहरुलाई कत्ति चित्त बुझेको छैन किनकी त्यसमा प्राय बेइज्जती र हीनताबोध पनि मिसिएको हुन्छ । ‘हामीले ‘बाबुजी’ भनेर हात जोडेर कमाउनु पर्छ,’ रतिले भने– ‘उसलाई दया लाग्यो भने दुई पैसा बढी दिन्छ । नभए ‘तू नेपाली साले, तुम्हारा देशमा सरकार नही हे ?’ भन्दै झपार्छन् ।’

सरकार त किन नहुनु ? तर त्यसले उनीहरुलाई देश भित्रै कामका मौका दिलाउन सकेको छैन । त्यसैले उनीहरुले सरकारको सिर्जनात्मक आलोचना गरे ।

‘नेपाल सरकारले राम्रो गरिदिएको भए भारतको गल्ली किन डुल्नु पर्थ्यो,’ रतिले भने । तत्कालै अरुले मुन्टो हल्लाउदै र ‘त्यै त’ भन्दै समर्थन गरे ।

‘यसपाली पानी पनि परेन, खेती पनि उति राम्रो नहुने भयो,’ अर्काले भने– ‘त्यो समयको कुरा हो, सरकारको हातको होइन । तर सरकारले हामीलाई देशमै काम दिनुपर्‍यो नि ।’

‘यो रस्सी कन्धामा हामीले आफ्नो देशमा हाल्नुपर्छ,’ दाहिने काध हुदै काखुमुनी बेरिएको नाम्लो समातेका ३६ बर्षे आइत खत्रीले भने– ‘तर के गर्ने, हाम्रो गल्ति हो या देशको या नेताको (विदेशमै आउनु परेको छ ।)’

मसुरीमा कालीकोटे भरियाहरू ।दायाँबाट पहिलो– रति विक
मसुरीमा कालीकोटे भरियाहरू । बायाँबाट पहिलो– रति विक
कोठाभित्र कालिकोटे भरियाहरु । धनु विक, सबैभन्दा दायाँ ।
कोठाभित्र कालिकोटे भरियाहरु । धनु विक, सबैभन्दा दायाँ ।
मसुरीमा कामका लागि पर्खिदै कालिकोटे भरियाहरु । राज खत्री क्यामेरामा हेर्दै, सबैभन्दा पर ।
मसुरीमा कामका लागि पर्खिदै कालिकोटे भरियाहरु । राज खत्री क्यामेरामा हेर्दै, सबैभन्दा पर ।

वितेका थुप्रै दशकमा अन्य नेपालीले जस्तै कालिकोटेले पनि नेपालमा कयौं सरकार सरकार र सत्ता देखेको छन् । ती बदलिए, तर उनीहरुको अवस्था बदलिएन । ‘राणा, पञ्चायती र बहुदल सबै देखियो,’ आइतले भने– ‘अहिले माओवादी छन् । तर हाम्रो रस्सी कसले छुटाउने ?’

‘तर हाम्रो रस्सी कसले छुटाउने?’ मदिराबाट प्रभावित धनुले त्यसलाई दोहोर्‍याए ।

अहिलेको सरकार नेतृत्व गर्ने पार्टीलाई उनीहरुले गत चुनावमा भोट हालेका थिए– मन पराएर या डराएर । भोट हालेको लगभग १० महिनामा उनीहरुमा निराशा छाएको छ जो आइतको गीतमा व्यक्त हुन्छ–

भेरी कर्णालीको पानी थोपा त रातो नाई
सात भन्दा आठकी चु्न्यौ कही पनि तातो नाई

(भेरी/कर्णालीको पानी खुनले रंगीएपछि हामीले सात मात्रै होइन आठौ दललाई पनि चुन्यौ– आइतले अथ्र्याए– तर कसैले केही गरेन ।)

२०५२ साल यता आफूहरु गाउमै घेराबन्दीमा परेकाले ‘इन्डिया आउन नपाएको’ उल्लेख गर्दै रतिले भने– ‘त्यस्तो दुखमा परेकाले माओवादीलाई स्विकार्‍यौं र जितायौं । तर हेरौला भनेको खै ?’

भरिया नै सही तर राजनीतिको प्रसंग आउनसाथ उनीहरु चासो पूर्वक छलफलमा सहभागी हुन्छन्– अनेकौ रुचिपूर्ण दृष्टिकोणसाथ । उनीहरुका विचारमा निराशा र हिनताका साथै आशा र गौरव पनि झल्किन्छन् ।

‘अहिले कांग्रेस यो सरकारले काम गर्न सकेन भन्दैछ,’ आइतले भने भने– ‘कांग्रेसले गर्दा हुदैन राम्रो काम ?’

‘पार्टी जसको भएपनि देश त हाम्रो हो नि,’ अर्काले थपे– ‘देशको इज्जत कसरी बचाउने भन्ने चाहियो नि ।’

‘निमुखा जनताका छोरा छोरीले पढ्न पाउनु पर्‍यो,’ अर्काले भने– ‘गाडी पुग्नु पर्‍यो ।’

‘त्यो बजेट भाषण गर्‍यो नि बाबुराम भट्टराईले,’ आइतले भने– ‘भनेजति लगानी हुने हो कि होइन भन्ने चिन्ता छ ।’

‘हाम्रो देशमा विकाशै नभएको चाहि होइन,’ अर्काले भने– ‘पहिले १० दिन लाग्थ्यो नुन लिन, अहिले एक घन्टामै हुन्छ । हामीलाई नेपालमा चार हजार कमाउन पाए पुग्छ, यहाँको चारहजार आसी चाहिदैन । आफ्नै गाउमा बसेर त्यति कमाउन पाए कसले विदेशमा आएर यत्रो दुख गर्छ ?’

‘आफ्नो देशमा भारी नै बोक्ने काम पनि गरिन्थ्यो,’ अर्काले भने– ‘तर छैन ।’

त्यसैले विदेशमा दुख बेसाउनु दशकौ देखिको जीवन शैली बनेको छ उनीहरुको । मसुरीलाई विदेश भन्नु पनि विडम्बनापूर्ण छ । यहाँबाट ओर्लिएको नागवेली सडक हुदै पुगिने देहरादून उपत्यकामा त्यो नालापानी थुम्को प्रष्टै देखिन्छ जहाँ कुनै समय वीर नेपाली योद्धा अंग्रेजसँग लडेका थिए । हार्नु अघि त्यो उपत्यका र यो डाडोमा नेपालीले शासन गरेका थिए जो यहाका स्तम्भहरुमा पढ्न पाइन्छ । आफ्नो कब्जामा लिएपछि कलकत्ता र दिल्लीमा शासन गर्ने अंग्रेजहरुले मसुरीलाई ती ठूला शहरको प्रचन्ड गर्मी छल्ने ‘स्टेशन’कारुपमा विकाश गरे । सदावहार चिसोपना यो ठाउको विशेषता हो जो विदा मनाउन चाहने पर्यटकहरु बाहेक कालिकोटेका लागिपनि यहाँ आउने कारण बनेको छ । ‘घुम्न हामी कसरी आउन सक्थ्यौं,’ रतिले भने– ‘घुम्ने पैसा भए यहाँ किन आउथ्यौं, हाम्रो नेपालको काठमान्डू देखेका छैनौ, त्यही जान्थ्यौं । यहाँ त बाध्यताले आएका हामी ।’

नजिक त कुमाऊ र नैनिताल पर्छन् कालिकोटबाट तर २२ सय मिटर अग्लो यो डाडाको हावापानी कालिकोटसँग ‘ठ्याक्कै मिल्छ’ । ‘यहाँ आएर विरामी हुन्नौं हामी कालिकोटे,’ रतिले भने– ‘गर्मी ठाउ त हामीलाई नदेखाए भइगयो । तवियत खराव भइहाल्छ । पहिला आएको केटाले पछिल्लोलाई ल्याउने, त्यसो गर्दा गाउ नै आउछ ।’ गाऊ होइन यहाँ पुरै जिल्लै आएको छ । मसुरीमा कालिकोटका १६ गाउका लगभग २५ सय पुरुष छने भने कालिकोटकै अन्य गाउका पुरुष नजिकैको टिहरीतिर र आसपासको क्षेत्रमा जान्छन् ।

‘भारत आए हुन्छ, नेपालको गरिवीको हालत बुझ्न,’ रतिले भने– ‘नेपालमै बस्नेहरु अलि हुनेखाने, पूजीपति, रोजगारी खाएकाहरु र पढेलेखेका छन् ।’

‘कालिकोटमा पूजीपति को छ र विचरा, सबै गरिव,’ अर्काले भने ।

‘तै पनि जागिर कमाउने उपाय भएकाहरु घरैमा छन्,’ रतिले भने ।

जसो तसो नेपालमै बस्ने ‘भाग्यमानी’ र ज्यामी गर्न विदेसिएका ‘अभागी’बीचको फरक प्रष्ट पार्न आइतले ‘पिलेन घुइक्याउने’ र ‘भारी चुइक्याउने’ गीत गाए ।

यहाँ कालिकोटेको मुख्य काम भारी बोक्नु हो । स्थानीय पसले र ठेक्केदारहरुअन्र्तगत रहेर उनीहरु सामान बजारकै एउटा कुनोबाट अर्कोमा पुर्‍याउछन् । यता कामको चाप नभएको बेला उनीहरु बद्रिनाथ–केदारनाथ जाने तिर्थालुका सामान र कतिपय अवस्थामा तिर्थालुलाई नै पनि बोक्ने गर्छन् । ‘हामी पल्लेदारीको रेट हुन्न,’ रतिले भने– ‘जस्तो राम्रो कस्टमर फस्यो, त्यस्तै राम्रो पैसा मिल्छ ।’ तिर्थालु बोक्दा ‘एकदम राम्रो पैसा, एकपटकको दुइ/तीन हजार सम्म’ मिलेपनि मसुरीमा कहिलेकाही कतिपय कालीकोटेले दिनभरी खाली नै रहनुपर्छ । औसत महिनामा पाच हजार कमाई हुन्छ जो घरमा बस्ने ठूलो परिवारका सदश्यलाई मुख्यत लुगाफाटो र खानेकुरा किन्दैमा ठिक्क हुन्छ ।

३० बर्षे राज खत्रीको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । चार कक्षासम्म पढेका उनले मुसरीमा डेड क्विन्टलसम्मको बोरा उठाउदा ‘पढ्नु सबैभन्दा ठूलो कुरा रैछ’ भन्ने बुझेका छन् । ‘बा, आमा, श्रीमती भन्दा पनि भविश्य पढ्नुमा रैछ,’ उनले भने । आफ्ना बच्चालाई उनले गाउमै नजिकैको स्कुलमा पठाएका छन् ।

‘यति दुख हुदा पनि किन धेरै बच्चा जन्माएको ?’ उनलाई सोधियो ।

‘जन्माउनु पनि बाध्यतै भयो हाम्रो ठाउमा,’ हसिला युवकले भने– ‘परिवार नियोजन गरौं भने काम गर्न सकिदैन । यो झुटकुरा होइन । खुराक भए पो भिटामिन पाइन्छ । सुकेको भातमा भिटामिन हुदैन । परिवार नियोजन गरेपछि डाइट के खानु ?’

दुइ छोरा, छ छोरी, दुइ बुहारी, एक नाती र एक पत्नी भएका रतिले राजको तर्कको समर्थन गर्दै ‘अब त जन्माउने उमेरै कट्यो, चिन्ता’ नभएको बताए ।

त्यो भयो कालिकोटको परिवारको कुरा । मुसरीमा चाहि उनीहरु पाँच/सात जनाको समुहमा साँघुरा कोठा भाडामा लिएर एउटै परिवारझैं बस्छन् । कुरा के सिद्धिन्थ्यो तर घन्टाघरको घडीमा रातको नौ बजिसकेको छ । आगो निभिसकेको छ । अब आजलाई काम पाइने छैन । त्यसैले अब कोठामा जानुपर्छ । ‘लौ त हजुर यस्तै हो दु:खको कुरा,’ रतिले भने– ‘सुनाईदिनुस् हाम्रो सरकारलाई ।’

delhi@wagle.com.np

यो लेख पहिलोपटक कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।