पीडितगन्ज, पहाडगन्ज

piditganj paharganj
ठूलो पार्न यसमा क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

हिन्दीमा कुरा गर्छ पहाडगन्जले
बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि
अंग्रेजी त राम्रैसँग बुझ्छ
जापानी र जर्मनको ज्ञान राख्छ भने
फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन
नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू
लज, क्याफे र साइबरक्याफेहरू
खुद्रा पसल र क्युरियो पसलहरू

दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै नसकिने कुरा हो । नेपालीको कुरै छाडौ‌, भारतीय राजधानी आउने कुन विदेशी त्यहाँ पुगेको हुँदैन ? यता नआएका नेपालीलाई पहाडगन्ज चिनाउन कतिपयले ठमेलको सहयोग लिन्छन् । काठमाडौंको त्यो पर्यटकीय जमघटस्थलको दिल्लीस्थित समकक्षी हो, पहाडगन्ज । तुलनात्मक रूपमा कम पैसा लिएर घुम्न निस्कने ‘बजेट टुरिष्ट’हरूलाई ठमेलले जस्तै अनेकौं अन्तर्राष्ट्रिय खाना र सस्ता कोठाको प्रस्ताव गर्छ, पहाडगन्जले । फरक यत्ति हो, ठमेलमा १० हजार भारतीय काम गर्दैनन्, पहाडगन्जमा झन्डै १० हजार नेपाली काम गर्छन् । लगभग ७ सय होटल छन् यहाँ जसमध्ये- यो त्यति गौरवपूर्ण कुरा होइन, तैपनि- १० वटाजति नेपालीले सञ्चालन गरेका छन् । सञ्चालन भन्नाले मालिकै भएर चलाएको । भान्से, वेटर, रिसेप्सनिस्ट, भाडा माझ्ने र चौकिदार भएर पहाडगन्जका होटल चलाउने नेपालीको संख्या त अघि उल्लेख भइहाल्यो ।

दिल्ली आउने नेपालीका लागि पहाडगन्ज पन्साउनै नसकिने स्थान किन हो भने सहरका मुख्य दुई रेलवे स्टेसन यहाँबाट नजिकै छन् । प्लेनमा आउनेहरू पनि भ्रमणको खर्च कसैले व्यहोरिदिएको छैन या खर्च व्यहोरिदिने अवधि सकिएको छ भने सस्तोमा बस्न पहाडगन्ज नपुगी सुखै छैन । एजेन्टको लहलहैमा परेर भारत हुँदै खाडी या अन्य मुलुक जान हिँडेका नेपालीहरूको भीडै देखिन्छ यहाँ । विशेषतः नेपालीले चलाएका, सबैभन्दा सस्ता (भन्नाले एक रात सुतेको दुई-अढाई सय भारु) हुटेल ‘पीडित’हरूले भरिएका हुन्छन् ।

‘यी होटल सबै पीडितै-पीडितले भरिन्छन्’, पहाडगन्जको आराकासा रोडस्थित एउटा खुम्चिएको लेनमा ‘रेष्ट प्वाइन्ट’ नामको नेपालीको सानो होटलमा भेटिएका दिनेश भट्टले भने ।

‘गाउँको जग्गा बेचेर या ऋण लिएर आएकाहरू’ केही अघिसम्म पहाडगन्जकै एउटा अर्को होटलको गाडी चलाउने र अहिले आफैं पनि विदेशिन पाए हुन्थ्यो भन्ठान्ने दिनेशले भने- ‘विचराहरू सुरुमा खल्तीमा अलि पैसा होउन्जेल पहाडगन्जकै पनि अलि राम्रा होटलमा बस्छन् । नेपालीको बानी तपाईंलाई थाहै छ नि सकेसम्म नदब्ने, नझुक्ने र पैसा होउन्जेल सस्ता मस्ता होटल नदेख्ने । जब एजेन्टले ‘भोलि-भोलि’ भन्दै निकै दिन झुलाउँछ, उड्ने टुङ्गो हुँदैन, खल्ती हलुङ्गो हुँदै जान्छ, घरपरिवार नेपालको याद आउँछ, अनि उनीहरू ‘खै अरू नेपाली कता बसेका छन्’ भन्दै खोज्दै आइपुग्छन् ।’

विदेश उड्न चाहने कतिपयलाई चाहिँ एजेन्टले नै नेपालीले चलाएका ती होटलमा ल्याएका हुन्छन्, सामूहिक रूपमा । ती भए ‘पीडित’ हुनुभन्दा एक तह अगाडिका मानिसहरू । कतिपय अवस्थामा तिनलाई होटलमै विचल्लीमा पारेर (‘पीडित’ बनाएर) एजेन्ट फरार भइदिन्छ, जसले होटलवाला पनि अप्ठेरोमा पर्छन् । ‘ल, सातजना राख्नुपर्‍यो २० हजार एडभान्स लिनुस् दाजु भनेर दिन्छ सुरुमा’, रेष्ट प्वाइन्ट नजिकैको अर्को सानो तर सुन्दा भव्य लाग्ने ‘स्वीस प्यालेस’ होटलका सञ्चालक भरत रैलाले सुनाए- ‘अनि १५ दिनपछि थप पैसा माग्दा ‘भाको दिन त एडभान्सै दिइहाले नि, अहिले छैन, भएपछि दिइहाल्छु नि’ भन्छ । अब २० हजार एडभान्स दिनेलाई अर्को १० दिनका लागि पत्याउन करै लाग्छ । गर्दै जाँदा उसले तिर्नुपर्ने ५०/६० हजार हुन्छ । अब ती पाहुनालाई होलटबाट निकाल्नु कि के गर्नु हुन्छ । निकालौं, त्यो ६० हजार एजेन्टले तिर्ला कि भन्ने हुन्छ, ननिकालौं कति दिनसम्म त्यसरी राखिरहने । होटलको कारोबार चौपट ।’

‘हुनेवाला पीडित’ या ‘पीडित’हरूलाई मैले नभेट्टाउने कुरै भएन । उनीहरूले दुई छुट्टाछुट्टै कारणले पत्रिकामा छापिनेगरी कुरा गर्न मानेनन् । हुनेवाला पीडितहरूको तर्क थियो- ‘हामीलाई तत्कालै उडाइहाल्छु भनेको छ, सायद केही दिनमै । कानुनी रूपमा जान पाइने ठाउँ होइन, बाध्य भएर जानलागेको, त्यसैले नलेखौं ।’ पीडितहरूको तर्क थियो- ‘मैले अझै आशा मारेको छैन । मेरो ऋण गरेको पैसा डुब्यो, त्यसलाई भेटेँ भने छ्याक्कै काटेर मार्न मनलागेको छ । तर पत्रिकामा आयो भने झन् त्यसले मेरो पैसा फिर्ता गर्दैन कि ?’ दुईजना साला-भिनाले परिवारलाई राम्रो थाहै नदिई अलिअलि आफ्नै र बाँकी ऋण गरेर कुनै युरोपियन देशमा जाने भनी १५ लाखभन्दा बढी डुबाएछन् । एजेन्टको पत्तो छैन, दिल्ली आएर उसलाई कुरेको दुई महिना हुन लाग्यो । ‘सास रहेसम्म आश भन्नुपर्‍यो’, भिनाजुचाहिँले भने । सालाचाहिँलाई एउटा अर्को साँझ पहाडगन्ज नजिकैको कन्नट प्लेसमा भेट्टाएँ । ‘खै मलाई घर जानै मन छैन’, २५ चानचुनका ती ठिटाले भने- ‘मान्छेहरूलाई हामीजस्तो पीडित हुनबाट रोक्न चेतना फैलाउने एउटा संस्था पो खोल्न मनलागेको छ ।’ मलाई खुसी लाग्यो, तिनले हरेस खाइसकेका छैनन् । पहाडगन्ज ठाउँ नै त्यस्तो जहाँ ठग्नु, झुक्याउनु जीवनको एक भाग हो ।

पहिलोपटक आइपुग्नुभएको छ भने पहाडगन्जमा
साह्रै दयालु, मायालु र मिजासिलो भएको
अनुभूति हुन्छ, तपाईंलाई त्यसमा कुनै शंकै छैन
किनकि पहाडगन्जले तपाईंको हातै समाएर
रेष्टुराँको काठे बेञ्चमा बसाउँछ
बाह्र रुपैयाँमा टन्न भात खान पाइन्छ भनी
लाजै नमानी डेढ सय तिराउँछ
त्यत्तिले मात्रै कहाँ सुख पाइन्छ र महामान्य
प्रत्येक पसलेहरूले
मान्छेको रूप, रङ्ग र चेहराअनुसार
सामानहरूको मूल्यसमेत बताउँछ पहाडगन्जले

अलि अप्ठेरा कविता म बुझ्दा पनि बुझि्दन, लेख्ने कुरै भएन । पहाडगन्ज बारेका यी कवितात्मक टिप्पणीचाहिँ जय छाङ्छा राईका हुन् । दिल्लीस्थित नेपाली दूतावासमा ड्युटी नहुँदा यी दिल्ली दर्शनमा निस्कन्छन् र यदाकदा नजिकैको पहाडगन्जमा हिँडेरै पुग्छन् । कूटनीतिक कविले भने- ‘बार्गेनिङ राम्रो गर्नसके राम्रै सामान (र रुम पनि) निकै सस्तोमा पाइन्छन् ।’

पहाडगन्जको रेलवे स्टेसन अगाडिको भाग प्रायः विदेशी खान्कीहरूयुक्त रेष्टुरेन्टहरूका लागि प्रख्यात छ, जहाँ केही नेपालीले वेटर र भाँडा माझ्ने बाहेकको पनि सेवा दिएका छन् । दोलखाका- नामै हो यो चाहिँ- कवि कार्कीले केही महिनाअघि ‘हिमालय किचन’ नामको सानो रेष्टुराँ खोलेका छन् । केही अघिसम्म उनी नजिकैको करोल बागमा ट्राभल एजेन्सीसहितको अफिस चलाउँथे । ‘यो खासै इज्जतिलो ठाउँ होइन’, उनले भने- ‘तर विदेशीहरू यहीं आउने भएकाले म यता सरेँ ।’

यो लेख पहिलोपल्ट आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए माथिको तस्बिर क्लिके हुन्छ ।

One thought on “पीडितगन्ज, पहाडगन्ज

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s