दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।
विश्वका सबैभन्दा गरिबमध्येकै सही तर इन्टरनेटले हालैका वर्षहरूमा नेपालका हामी जनताको जीवनमा पारेको गहिरो (र, मुख्यतः सकारात्मक) असरको बखान गर्नु यो लेखको उद्देश्य होइन । इन्टरनेटमा विश्वविद्यालय खोजेर अमेरिका जाने तन्नेरीदेखि कतारमा काम गर्ने आफ्नो छोरासँग झापाको कुनै साइबर क्याफेबाट स्काइपमा कुरा गर्ने हजुरआमासम्मले इन्टरनेटबाट फाइदा लिएका छन् । केही वर्षयता धेरै नेपाली प्रयोगकर्ताका लागि इन्टरनेट भनेकै सामाजिक सञ्जाल साइट फेसबुक भएको छ । तर त्यसले विश्वका (र, नेपालका) इन्टरनेट प्रयोगकर्तामाझ गुगलको महत्त्व घटाएको छैन । यो अझै पनि विश्वका करोडौं र नेपालका लाखौं ब्राउजरका लागि इन्टरनेटमा छिर्ने ढोका भएकै छ । त्यसैले थुप्रै आकलनहरूअनुसार गुगल सबैभन्दा धेरै मान्छेले प्रयोग गर्ने साइटहरूको विश्वसूचीमा नम्बर एक र नेपालमा केही सूचीमा पहिलो (र, अन्यमा लगातार दोस्रो र तेस्रो) स्थानमा छ ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा विद्यावारिधिका दुई विद्यार्थीहरू ल्यारी पेज र सेर्गेई ब्रिनले १९९७ मा एउटा अनुसन्धान आयोजनाका रूपमा थालेको र गुगल डट कम दर्ता गरेर सेप्टेम्बर १९९८ बाट सेवा थालेको खोजी इन्जिन गए साता १३ औं वर्ष (अर्थात् किशोरावस्था, अङ्ग्रेजीमा टीनएज) मा छिर्यो । सेवा सुरु भएको केही वर्षमै कम्पनीले आफ्ना दुई संस्थापक र अन्य सेयर मालिकहरूलाई अर्बपति बनाउनुबाहेक इन्टरनेटसँगको मानिसहरूको सम्बन्धलाई व्यापक रूपमा बदलिदियो । त्यसैले गुगल नामबाट क्रिया बनेको छ, अचेल धेरैले ‘इन्टरनेटमा खोज न’ भन्नुको साटो ‘गुगल न’ या ‘गुगल गर न’ भन्न थालेका छन् ।
हालैका वर्षहरूमा (मुख्यतः) खोजीबाहेकका सेवामार्फत मानिसहरूको अनलाइन (र, अफलाइन पनि) जीवनमा छिरेको गुगलले सूचनाको साँच्चै नै अथाह खानीबाट आफूलाई चाहिएको सूचना फेला पार्न र तिनलाई अरूसँग साझेदारी गर्न बेजोडले सजिलो तुल्याएको छ । अघिल्लो दशकको सुरुतिर मानिसहरूले इन्टरनेटमा व्यापक रूपमा सूचना हाल्न थालेपछि ती सूचनालाई कसरी सजिलो ढंगमा उपयोगी तुल्याउने या तिनमा मानिसहरूको पहुँचलाई कसरी सहज तुल्याउने भन्ने प्रश्नको प्रभावी उत्तर गुगलले आफ्नो सेवाबाट दिएको थियो । सूचनाको खानीबाट आफूलाई चाहिएको कुरा मानिसले खोज्न नपाए/नसके त्यो खानीको के महत्त्व ? गुगलको आगमनले खोजी प्रक्रियालाई ‘टाइप एन्ड इन्टर’ जति सजिलो तुल्याइदिएकाले त्यो खोजी इन्जिनको महत्त्व भएको हो ।
खोजीबाहेक गुगलले वेबमा आधारित निःशुल्क इमेल सेवा (जीमेल) पनि प्रदान गर्छ जो त्यसले उपलब्ध गराउने भण्डारण क्षमता र प्रयोगमा सहजताका कारण थुप्रैको मन जितेको छ । बितेका केही वर्षमा गुगलले एन्ड्रोई सफ्टवेयरमार्फत सुविधाजनक मोबाइल फोनहरूमा पनि आफ्नो बलियो उपस्थित जनाएको छ । विश्वको नम्बर एक भिडियो साझेदारी साइट युट्युब र मानिसहरूले अनलाइन डायरीमार्फत आफ्ना भावनाहरू अभिव्यक्त गर्ने मञ्च ब्लगर डट कम पनि गुगलकै हुन् (दुवैलाई गुगलले किनेर आफ्नो बनाएको हो) ।
गुगल मुख्य रूपमा पछाडि एउटै क्षेत्रमा छ जसमा लगभग ७० करोड प्रयोगकर्ता भएको फेसबुकको झन्डै एकाधिकार छ । इन्टरनेटमा प्रकाशित हुने मुख्यतः शब्दहरूमात्र हुने विज्ञापनमा एकाधिपत्य जनाउँदै अर्बौं डलर कमाउन सफल गुगलले फेसबुकको त्यो आधिपत्य भङ्ग गर्न अघिल्लो साता मात्रै आफ्नो तीन महिना पुरानो सेवा (गुगल प्लस) सबै इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराएको छ ।
फेसबुकको बढ्दो शक्ति र त्यसप्रति सचेत गुगलको मनस्थितिले वेबमा जारी सबैभन्दा ठूलामध्येको एउटा प्रतिस्पर्धाको प्रतिनिधित्व गर्छन् । कुरा यस्तो छ । करोडौं मानिसले दिनहुँ अढाइ अर्बदेखि तीन अर्बसम्म तस्बिरहरू र त्योभन्दा बढी मनस्थिति वर्णनहरू फेसबुकमा साझेदारी गर्छन् । त्यो बेजोडको गतिविधिले फेसबुकलाई सूचनाको महत्त्वपूर्ण खानी बनाइदिएको छ । र, ती तस्बिर र सूचनामध्ये धेरैजसो फेसबुकको पासवर्डरूपी पर्खालभित्र छन् जसमा गुगलका खोजी माकुराहरूको पहुँच हुँदैन । सर्च स्पाइडरहरूको पहुँच नहुँदा गुगल प्रयोग गरेर इन्टरनेटमा खोज्न चाहनेले ती फेसबुक तस्बिर र स्ट्याटसहरूलाई देख्न पाउँदैनन् । नपाउनु भनेको गुगलको सीमितता हो । र त्यो सीमितता गुगलका लागि चुनौती र फेसबुकका लागि सम्पत्ति हो ।
फेसबुकमा फालिएका तर सार्वजनिक नगरिएका त्यस्ता सूचनालाई फेसबुकले मात्र खोज्न सक्छ । त्यसका लागि फेसबुकले गुगलको प्रतिस्पर्धी माइक्रोसफ्टको खोजी इन्जिन विङ्गको सहयोग लिएको छ जसले गुगलको टाउको झन् दुखाएको छ । मानिसहरूलाई सूचना हाल्न (र, खोज्न) प्रेरित गर्ने र ती सूचना जसले हालेको हो उसैलाई या उसका साथी या इन्टरनेटका अन्य प्रयोगकर्तालाई देखाउन तिनको तलमाथि/छेउछाउ विज्ञापन देखाएर पैसा कमाउने नै गुगल र फेसबुकको व्यापार हो । त्यही व्यापारबाट हो दुवै कम्पनीले पैसा कमाउने । त्यसैले दुवै कम्पनीको व्यापारको प्रत्यक्ष सम्बन्ध छ मानिसहरूले इन्टरनेटमा सार्वजनिक रूपमा या पासवर्डका पर्खालभित्र साझेदारी गर्ने सूचनासँग । जीमेलका प्रयोगकर्ताहरूले इन्बक्स छेउपट्टी स-साना विज्ञापन देखेको हुनुपर्छ । तिनलाई गुगलले ‘स्वचालित’ कम्प्युटर सफ्टवेयरमार्फत मानिसहरूको इन्बक्समा पठाउँछ र त्यसो गरेबापत या तिनीहरूलाई इमेल प्रयोगकर्ताले क्लिक गरेअनुसार विज्ञापनदाताबाट पैसा असुल्ने गर्छ । फेसबुकको हकमा पनि त्यही कुरा लागू हुन्छ ।

You must be logged in to post a comment.