साझा बस र त्यसका कन्डक्टर*

Sajha bus chairman Kanak Mani Dixit, standing, sees off chief secretary Lilamani Poudel who traveled in an inauguratory service.
सानो (माइक्रो) बस चढेर ठूलो साझा बसको फेरी थालिएको सेवाको गाडी चढेर उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलसँग हात मिलाउदै बसका अध्यक्ष कनकमणी दीक्षित । तस्बिर राजेश केसी ।

उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । सहरमा सार्वजनिक बस सेवा साझा यातायात पुनर्जागृत भयो । अहिलेलाइ १६ वटा बसले दुईवटा रूटमा सेवा दिने भनिएको छ । तर आशा गर्न सकिन्छ सेवाको विस्तार हुन्छ- शहरभरी, देशैभरी र विदेशसम्म पनि । सञ्चालकहरूले पनि त्यो प्रतिज्ञा गरेका छन् । साझा यातायातको सेवा विस्तारबाट भन्दा ठूलो आशा मैले यो प्रयासले नेपालमा रही आएको नीजि यातायात सेवालाई ‘राम्रो हुन’ प्रेरणा र दबाब दिने छ भन्ने हो । एनसेलको आगमनले एनटीसीलाई कसरी प्रेरणा र सकारात्मक दबाब मिलेको छ भन्नेकुरा सहरमा हालै खुलेका एनटीसीका सेवा केन्द्रहरूले प्रष्ट्याउछन् ।

काठमान्डूमा सार्वजनिक यातायातको दुर्दशाको चित्रण/बर्णन गरी के साध्ये । निकै अगाडीको एउटा लेख र केही अगिको एउटा ब्लग इन्ट्रीमा मैले त्यो प्रयास गरिसकेकोले अहिले दोहोर्याउदिन । त्यो दुर्दशाबाट अलिकति भएपनि मुक्ति पाइएला भन्ने आशा भएकैले अहिले यति लेख्न जाँगर चलेको हो ।

हाम्रो देशमा अहिले सबैभन्दा ठूलो समस्या भनेको प्रबन्धनको हो । स्रोत, साधन, जनशक्ति र ज्ञान नभएको हैन । तर उचित प्रबन्धन क्षमता अलि कम भएको देखिएको छ । माइतीघर-तीनकुने सडक विस्तार हुनथालेको महिनौं भइसक्यो । पैसा नभएर काममा ढिलाइ भएको हो ? कि बेरोजगारीहरूले िभत्ता रंगाएको यो सहरमा त्यो सडकखण्डमा काम गर्ने मानिसको कमी भएर ? यसअघिका प्रमले प्राथमिकतामा राखेको सडक विस्तार कार्यको सबैभन्दा सुरूवाती प्रयास यति धीमा गतिमा चल्नुमा प्रबन्धन क्षमतामा कमजोरी देख्छु ।

अपेक्षा के हो भने साझाको व्यवस्थापन र प्रबन्धन कुशल र चुस्त छ अनि त्यसले साझा बसमात्र चलाउदैन नेपाली सार्वजनिक यातायातको सुधारमा प्रेरणा, दबाब र योगदान दिने छ । हिजोको कान्तिपुर को लेखमा साझा सहकारी यातायातका अध्यक्ष कनकमणी दीक्षितले पनि त्यस्तै गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

दीक्षितको प्रसंग आइहाल्यो अबको भाग उनकै बारेमा ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

थुप्रै नेपाली र नेपाललाई नजिकबाट चिनेका विदेशीले समेत उनलाई पत्रकारकारूमा चिन्छन् । साझाप्रति मेरो यति धेरै उत्साह र अपेक्षाको मुख्य कारण त्यो प्रयासको नेतृत्वमा यी पत्रकार (पत्रकार) को सहभागिता नै हो । हुन पनि कुन बस सेवाका प्रमुख कोलम्बियाका ग्य्राजुएट छन् ? हो काठमान्डूमा बस चलाउन आइभी लिग डिग्रीले खासै अर्थ राख्दैन र दीक्षित काठमान्डूका सार्वजनिक बसहरूका यात्रु पनि होइनन् । हुन त गरिवी निवारण गर्न गरिबै हुनुपर्ने पनि हैन । त्यसैले म बसमात्रै चलाउदिन सहरको सार्वजनिक यातायात प्रणालीमा सुधार पनि ल्याउछु भन्ने लक्ष्य राख्नुले केही न केही अर्थ राख्छ ।

मैले उनीसँग र उनले सम्पादन/प्रकाशन गर्ने कुनै पनि पत्रिकामा काम गरेको छैन (एकपटक उनले सम्पादन गर्ने हिमाल साउथएसिएनमा उत्तरपूर्वी भारतका नेपालीभाषी भारतीय र नेपाली आप्रवासी कामदारबारेको एउटा लेख र कान्तिपुर मा उनको बालसाहित्यिक किताबबारे दुई टुक्रा (एकदुइ) लेख्ने बाहेक) । तर मैले उनका कतिपय सार्वजनिक गतिविधिहरू यदाकदा नियालेको छु, तिनकाबारे सुनेको छु । ती सबै गतिविधिले के दर्शाउछन् भने उनी एक असाधारण क्षमता, शक्ति (इनर्जी), संजाल, र पहुँच भएका व्यक्ति हुन् । र, त्यो भन्दा महत्वपूर्ण ती सबैकुरालाइ उनले सकारात्मक काममा प्रयोग गरेको देखिएको छ । यद्यपी उनका आलोचकहरूका लागि दीक्षित सामन्ति सोचका सामन्त बाहुन र, एकजना पूर्व प्रमका शब्दमा, डलरमणी हुन् जसले, केही क्रान्तिकारीहरूका अनुसार, ती सबैकुरालाइ शान्ति प्रकृया भाड्नदेखि बान की मुनलाइ नेपाल आउन नदिने अभियान चलाउन उपयोग गरेकाले पत्रिकाको आवरणमै उनलाई जनदुश्मन घोषणा गर्नुपरेको हो ।

एउटा मान्छेका लागि कति धेरै विशेषण ! त्यो किन भनि थाहा पाउन यो प्रश्नको उत्तर पनि जान्नु पर्ला । एउटा मान्छेले जिन्दगीमा कति सम्म या मात्र गर्न सक्छ? न्युजरूममा रिपोर्टरहरूलाइ आकास मुनी र माथिका समेत विषयबारे उत्तिकै सूसुचित ढंगमा स्टोरी आइडिया दिनेदेखि विदेशी उर्दू कविहरूका सिर्जनामाथि बहस गराउने, दक्षिण एसियाली बृत्तचित्र महोत्सव काठमान्डूमा गराएर मुलुकमै त्यो माध्यमबारे चेतना फैलाउने, सर्वोच्चले अपराधी ठहर्याएका हत्यारालाइ जेल सजाय हुनुपर्यो भन्दै मानवअधिकारवादी अभियान चलाउने, अनि न्याय माग्दै दैलेख पनि पुग्न भ्याइहाल्ने, नेपालको एउटा प्रमुख म्यागेजिन निकाल्ने, दक्षिण एसियामै सम्मानित अर्को म्यागेजिन सम्पादन गर्ने, काठमान्डुकै उत्कृष्ट मध्येको एउटा स्कुल खोल्ने, नेपाली समाज र राजनीतिबारे कितावहरू अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेख लेखिरहने, नेपालका प्रधानमन्त्रीले विदेशी राजधानीमा दिने औपचारिक भाषण ड्राफ्ट गर्नेदेखि र ब्लगहरू पढेर तिनमा प्रतिकृया पनि दिन भ्याउने, दक्षिण एसियाली सहरहरूबीच परोपकार कार यात्रा पनि गरिहाल्ने । अनि अब आएर बससेवा पनि चलाउने । यी त मैले उनलाइ टाढाबाट हेर्दा देखिएका र उनीसँग काम गर्नेहरूले पत्रकार सहकर्मीहरूले सुनाएअनुसारका विवरण मात्रै हुन् । भनिसकेँ, मलाइ उनकोबारेमा खासै धेरै जानकारी छैन ।

सन् २००१ अगस्टमा लमजुङको एउटा भीरबाट खसेर मर्स्याङदीमाथिको अक्करे पहरोमा अड्किएका र थुप्रैदिन पछि लगभग मरेको अवस्थामा फेला परेका यी मान्छेले सद्दे भएपछि गरेका कामहरूको मात्रै लेखाजोखा गर्ने हो भने पनि त्यो थुप्रै मान्छेहरूले उनीहरूको जिन्दगीभर गरेका कामहरू भन्दा धेरै, बढी समाजोपयोगी र प्रभावशाली ठहरिन्छ ।

पदयात्रा दुर्घटनाबाट पुनर्जीवित उनले आफ्नो क्षमता, प्रभाव र पहुँच सबै प्रयोग गरेर एउटा अस्पताल खोले (स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र) जसले अहिले थुप्रै गरिव नेपालीलाई सहज सेवा दिइरहेको छ । दीक्षितले देशमा वितेको एकदशकमा नेपालमा चलेका लोकतान्त्रिक र मानवअधिकार आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिका कुनैपनि ठूलो पार्टीका प्रमुख नेताहरू भन्दा कम छैन ।

त्यसैले मलाइ लाग्छ काठमान्डूमा साझाको पुनरोदय हुनु जति महत्वपुर्ण छ त्यति नै छ एउटा व्यक्तिकारूपमा कनक दीक्षितको उपस्थिति- विशेषत यो अभियानमा र सामान्यत नेपाली समाजमा । पक्कै साझाको पुनर्जन्म उनकैमात्र प्रयासमा भएको होइन र बसहरू उनैले चलाउने पनि हैन । तर मैले माथि उल्लेख गरेँ, अहिले हामीलाई नेतृत्वको खाँचो छ । सवल नेतृत्व दिएकैले त भगवान कोइरालाको हामीले जय गाएको ।

पुनश्च:

१. यो टुक्रा साझा पुनरोदयको पहिलो र उनन्सत्तरीको अन्तिम दिन बेलुका लेखिया हो ।
२. सत्तरीको दोस्रो दिन आज मैले पहिलोपटक साझाको वेबसाइट भेट्टाएँ जसमा कनक दीक्षितको परिचय रैछ । थाहा पाएँ, उनी आर्काइभिङ र जनावरको हितमूलक काममा पनि संलग्न रैछन् ।
३. साझाको पुनरोदयको पहिलो दिनबारे थप जान्ने भए गिरीशजीको यो सुन्दर सेतोपाटी स्टोरी र यी दुइ (एक, दुइ) अन्तर्वार्ता सिफारिस गर्छु ।
४. त्यो दिनका केही सम्बन्धित ट्वीटहरू:

*conductor |kənˈdəktər|
noun
1 a person who directs the performance of an orchestra or choir: he was appointed principal conductor of the Berlin Philharmonic Orchestra.
2 a person in charge of a train, streetcar, or other public conveyance, who collects fares and sells tickets.
3 Physics a material or device that conducts or transmits heat, electricity, or sound, esp. when regarded in terms of its capacity to do this : graphite is a reasonably good conductor of electricity.
• another term for lightning rod .

7 thoughts on “साझा बस र त्यसका कन्डक्टर*

  1. राम्रो आलेख। दिनेश दाई तपाईको ब्लगमा देश बिदेशको अनुभव सँगालेर मेहनतपुर्वक लेखिएका यती धेरै लेखहरु छन्, यद्दपी ब्लगमा एउटा पनि प्रचार देखिदैन। यसलाई monetize गरेको भए २ / ४ पैसा आउथ्यो होला हैन र? लाईफह्याकर, टेकक्र्न्च, हफिङ्टनपोस्ट जस्ता बल्गहरुले केवल ब्लगिङ बाटै महिनामा लाख देखी दशौ लाख डलर कमाउछन् भनेर पढेको थिए, अमित अग्रवाल नामका भारतिय ब्लगरले पनि महिनामा ३६ हजार डलर भन्दा बढी कमाउदा रहेछन्।

    Like

  2. कनकमणि दीक्षितको उत्साह, जाँगर र योगदान सजिलै बिर्सिनमिल्ने खालका छैनन् | तर, एउटा दलविशेषप्रति उनले छर्लङ्ग्याउने अति-पूर्वाग्रहले उनी राजनीतिक वृतमा अलि अलोकप्रिय बनेका हुन् | सन्तुलित र निष्पक्ष राजनीतिक विचार लिन सके उनको बहुआयामिक व्यक्तित्वका अरु पाटाहरु ओझेलमा पर्दैनथिए | डलरमणिको आरोपसम्बन्धमा र राजाको सरकारमा संचारमन्त्री खान चाकडी गरेको आरोपसम्बन्धमा उनले जनतालाई स्पष्टीकरण दिए राम्रो हुन्थ्यो |

    Like

  3. ‘डलरको खेती’

    ‘डलर’को नाजायज कमाइ गरेको भनेर अधिकारकर्मीहरुमाथि जो जाइलागिरहेछन्, उनीहरूकै आयस्रोत र ढुकुटी अनुसन्धान गर्नु उपयुक्त हुन्छ कि?

    कनकमणि दीक्षित
    आईतबार , २५ चैत्र २०६९ २:११

    चन्द्रशमशेरको शासनकालमा ‘मकैको खेती’ लेखेको भनेर कृष्णलाल अधिकारीलाई कारागारमा जाकियो । पुस्तकमा उनले मकैमा राता टाउके र काला टाउके कीरा लाग्छन् भनेर लेखेकामा राणा शासकलाई लक्षित गरेको भनियो । उनको जेलमै मृत्यु भयो । निर्दोषमाथि कपोलकल्पित अभियोगद्वारा कसरी सत्ताधारी डेमागग्ले आफूविरुद्ध हुनसक्ने क्रियाकलाप नहोस् भनेर शुरूमै तर्साउने काम गर्दछन् भन्ने प्रमाण हो– राणाकालको ‘मकै पर्व’ । आज अर्कै शक्ति आफ्नो क्रियाकलापमा निर्धक्क अनुसन्धान र टीकाटीप्पणी गर्नेलाई ‘डलरको खेती’ को प्रचारवाजीमार्फत धम्क्याउन तल्लीन छ ।

    विकासे पैसा

    नेपालमा ६ दशक अगाडि विकास कार्यक्रम शुरू भएसंगै विदेशी सहयोगस्वरुप डलरलगायत येन, डोइच्मार्क, रुबल र भारु भित्रिन थालेको हो– मुख्यतः सरकारको ढुकुटीमा जाने गरी । २०४६ पछिको खुला समाजमा मात्र गैरसरकारी संस्थाहरूले विकास कार्यक्रममा हात हालेका हुन्, जसलाई विदेशी स्रोतको जरुरत पर्‍यो । मुनाफा नखाने गरी संगठित हुँदै शिक्षा, स्वास्थ्य, ग्रामीण उत्थानदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्न चाहने नागरिक वा समूहहरुले ‘एनजिओ’ अर्थात् गैसस खोले, जसको संख्या ह्वात्तै बढ्यो । रकमको स्रोत भने विदेशी नै हुनेभयो, विदेशी दूतावास, दातृ नियोग वा संयुक्त राष्ट्रसंघ, विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्क जस्ता अन्तर्राष्ट्रिय संस्था । दातृ नियोगहरूबाट रकम लिएर नेपाली गैससहरूलाई परिचालन गर्ने अन्तर्राष्ट्रिय ‘आईएनजिओ’ पनि अर्को स्रोत बन्न पुगे ।

    नेपालमा गैससहरूको जन्म भएताका अन्तर्राष्ट्रिय दातृजगत विकासोन्मुख मुलुकहरूमा सरकारसँग मात्र काम गर्दा प्रभावकारी हुन नसकेकोबाट कायल थिए । विश्वको विकासे संस्थाले जताततै सरकारको विकल्प खोजिरहेको बेला भर्खर वामे सर्दै गरेको नेपाली गैरसरकारी क्षेत्रमा पैसाको वर्षा नै हुनपुग्यो । यसरी पैसा बर्संदा विकृतिहरू पनि बल्झिए, कति ठाउँमा हिनामिना भयो । कतिपयले ‘एनजिओ’ लाई जुझरु कार्यको यन्त्र नभई आयस्रोतको रूपमा प्रयोग गरे ।

    मुलुकमा राजनीतिक अस्तव्यस्ततामाझ् व्यापार र उद्योग खुम्चिंदा पनि धेरैले गैससलाई रोजे, राम्रो तलब खान । विदेशी सहयोग भएकोले सरकारी जागिर अथवा मास्टरी काममा भन्दा यतातिरै राम्रो हुने भयो । नियत खराब हुँदा कति गैसस बदनाम भए, राम्ररी हिसाबकिताब नराख्ने गैससहरु संकटमा परे ।

    समय बित्दै जाँदा धेरै गैससले जुझरु प्रवृत्ति गुमाए । जल्दाबल्दा ‘एक्टिभिस्ट’हरू तलबे कर्मचारीमा परिणत भए, नागरिकमाझ् समाज रूपान्तरणका लागि उत्साह सल्काउनुको साटो भत्ता दिंदै सभा–सेमिनारमा सहभागी जुटाउने व्यवसायी हुन पुगे । धेरै गैसस मागिखाने भाँडो हुनपुगे । आफ्नो देखाइ–भोगाइका आधारमा समाजको कुनै क्षेत्रमा संस्थागत योगदान पुर्‍याउनु र त्यस निम्ति रकम जुटाउन खोज्नु एउटा कुरा, दाताको ‘प्रायरिटी’ अनुरुपको संस्था खोल्नु अर्को ।

    क्यासको कुरा

    काम गर्न, संस्था संचालन गर्न, तलब बाँड्न, पैसा चाहिन्छ र यतातिर सबै सञ्चालकको ध्याउन्न आवश्यक पनि छ । यसका लागि स्वदेशी दानवीर व्यक्ति र संस्थाको खडेरी छ । नेपालमा एक त ऐतिहासिक संस्कारले मठमन्दिर निर्माणतर्फ नै डोरिने चलन छ भने अर्कोतर्फ राजनीतिक अवस्थाले पूँजीपतिलाई समेत धनराशी जोड्ने मौका दिएको छैन । यसले गर्दा सामाजिक कार्यमा खर्च गर्ने क्षमता कम रहेको छ ।

    स्रोतको रूपमा नेपाल सरकार ठूलै हो, तर स्वतन्त्र रहन चाहने गैससहरु स्वाभाविक हुन गएको राजनीतिकरणका कारण यतातिर आँखा लगाउँदैनन् । यस्तो अवस्थामा गैरराजनीतिक क्षेत्रमा काम गर्न विदेशी दातृ निकायको आशा गर्र्नुको विकल्प छैन, र यहीं उठ्छ ‘डलर’ को कुरा ।
    स्वदेशी गैससहरुले विदेशी संस्थाबाट सहयोग लिनु भनेको विदेशी दुतावास (फिनल्याण्ड, नर्वे, भारत, जापान आदी) अथवा दातृ निकाय (डिफिड, यूएसएड आदी) अथवा अन्तर्राष्ट्रिय गैसस (जस्तैः अक्स्फाम, एक्सन एड) तर्फ हात पसार्नु हो । यस्तो सहयोग लिनु भनेको रकममाथि भाँडभैलो गर्न पाइन्छ भन्ने होइन । दातृ संस्थाहरूले आफूले दिएको ‘ग्रान्ट’ माथि राम्रै निगरानी पनि गरेका हुन्छन् । दातृ संस्थाको सहयोग लिनुको अर्थ डलरको वर्षामा नुहाउनु होइन, सोझसिधामाथि टाठाबाठाहरुले गरेको प्रयोग मात्र हो ।

    करोड होइन अर्ब

    डलर कताबाट कति कारणले बर्सन्छ र नेपाली गैससका पोल्टामा कति खस्दछ भन्ने कुराको विश्लेषण अन्यत्रको तुलनामा पनि गर्नुपर्ने हुन्छ । नेपालको लागि छुट्याउने डलरको धेरै हिस्सा परामर्शदाता, कम्पनी र सरसामानमार्फत दातृ मुलुकतिरै गएको अवस्था हेर्दा ‘डलर खेती’ विदेशीहरुले गरेको मान्नुपर्छ । उता नेपाल सरकारको खर्च र अनुदान क्षमता पनि सानो छैन । यसमा विशेषगरी गत ६–७ वर्षमा चरम राजनीतिकरणकाबीच चुलिएको भ्रष्टाचारको अनुपातमा विदेशी सहयोगको दुरुपयोग थोरै रहेको अनुमान गर्न सकिन्छ । कुनै पनि क्षेत्रमा ‘रुपैयाँ खेती’ ले ‘डलर खेती’लाई जितेको ठोकुवासाथ भन्न सकिन्छ ।

    ‘डलर खेती’ लाई भ्रष्टाचार भन्न खोजिएको हो भने सतहमुनि हेर्नुपर्‍यो । आधुनिक नेपालमा भ्रष्टाचारको श्रृंखला लामो छ, तर घोटालाको ‘भोलुम्’ भने लाख र करोडबाट अब अर्बौंमा पुगेको छ । लाखौं वा करोडौंको हिनामिनामा दोषी ठहरिएका मन्त्री र प्रशासक जेल चलान भएका छन् भने अर्बौंको घोटाला गर्ने र कमिसनखोरहरु रवाफका साथ हिंड्छन् ।

    पूर्वलडाकूको रासन खर्चबाट अर्बौं लुट्ने, टेलिकम लाइसेन्सबाट त्यस्तै गर्ने, पोखरा विमानस्थलदेखि अपर–त्रिशूली परियोजनामा दिनदहाडै कसैले देख्ला भन्ने पर्वाहसम्म नगरी भ्रष्टाचार गर्ने नेताहरु अधिकारकर्मीलाई ‘डलर खेती’को लाञ्छना लगाइरहेछन् । यथेष्ट भारु संकलन गर्नेहरुलाई डलरको के आवश्यकता ! तर पनि पछिल्ला दिनमा तीनै नेताहरूबाट भएको ‘डलर खेती’को तुलना अरुकोसंग गर्न सकिंदैन । एउटा उदाहरण– कुनै चिनियाँसँग ‘सिक्स मिलियन डलर’ मिलाउन फोन वार्ता गर्ने कृष्णबहादुर महराले राम्रै ‘डलर बाली’ उठाउन खोजेबाट प्रस्टिन्छ ।

    मानवअधिकार क्षेत्र

    आफ्ना केही पीडक नेता—कार्यकर्ताको राजनीतिक यात्रा खल्बलिन्छ भनेर माओवादी नेतृत्वले अधिकारवादी संस्थाका नेतृत्वलाई के दाग लगाउने भनेर घोत्लिंदा ‘डलर खेती’ को अस्त्र फेला पारेका हुन् । जबकि, एड्भोकेसी फोरम र इन्सेक जस्ता संस्थाहरूले राज्य–विद्रोही दुवै पक्षका पीडकहरूलाई कारबाहीको माग राख्दै आएका हुन्, द्वन्द्वकालदेखि नै । त्यसबेला माओवादी नेताहरूको जीउज्यानमाथिको गैरन्यायिक कारबाही विरुद्ध उभिने संस्था यिनै हुन् । राष्ट्रसंघीय उच्चायुक्तले आज आएर द्वन्द्वकालको घटनाबारे विश्वसनीय आधार खोज्दा यिनै संस्थाको सूचना संकलनको भर परेको छ ।

    मानवअधिकारवादी संस्थाहरूले पक्कै पनि विदेशी (विशेषगरी युरोपेली) निकायबाट सहयोग जुटाएका हुन्छन्, किनकि नेपाल सरकार या निजी स्रोतबाट त्यस्तो संवेदनशील र मानवीय दर्शनमा आधारित कामका लागि रकम उपलब्ध हुँदैन । नेपालका द्वन्द्व पीडितहरुको हक संरक्षण, मानवता बिरोधी घट्नाहरुको अभिलेखीकरण र सशक्त कानूनीराजको लागि मुलुकभर सञ्जाल खडा गर्ने हो भने— त्यसको लागि त पैसा चाहियो । त्यस्तो ‘नेरु’ न ‘क्यास माओवादी’को ढुकुटीबाट आउँछ न त नेपाल सरकारबाट । विदेशी स्रोतबाट आउने रकम डलर नै हुनेभयो ।
    आज द्वन्द्वपीडितहरूलाई सहयोग गरिरहेका संस्था र सञ्जालहरूबाट पुष्पकमल दाहाल, बाबुराम भट्टराईदेखि अग्नि सापकोटा र बालकृष्ण ढुंगेलसम्म धेरै नै सशंकीत देखिन्छन् । त्यसैले, अन्यत्रको बेहाल, बेथिति र धनराशीको बर्बादीको पर्वाह नगरी अधिकारकर्मीहरूमाथि ‘डलर खेती’ को लाञ्छना लगाईदैछ ।

    सकारात्मक अर्थमा डलरको खेती गर्नु भनेको कामको लागि रकम संकलन र परिचालन गर्नु हो । डलरको खेती गरेर आफ्नो कार्यक्षेत्रलाई सशक्त बनाउनु हरेक गैसस सञ्चालकको कर्तव्य हो । अधिकारकर्मीले डलर संकलन गर्ने मानवअधिकारको काममा खर्चका लागि हो । खर्च नगरि, घरभाडा नतिरि, तलब नदिइकन काम गर्न सक्ने स्थिति हुदैन । ‘डलर खेती’ गर्नु आफैंमा नकारात्मक होइन, बनाइएको हो, यी दुईशब्दको पूर्वाग्रही प्रयोगले ।

    व्यक्ति वा संघसंस्थाहरूले जथाभावी गरेको भए तिनीहरू जवाफदेही हुनै पर्छ । तर, रकम परिचालनबाट काम भएको छ भने आरोपको सट्टा ताली बज्नुपर्दछ । हामीले हेर्नुपर्‍यो, पीडित समुदायको लागि काम भएको छ/छैन, सामाजिक न्याय, जवाफदेहिता, दस्तावेजीकरण, कानूनीराज, अदालती कारबाही तथा पीडितको मनोबल बढाउन काम भएको छ कि छैन । कुनै ज्यादतीकर्ता अथवा उनीहरूको संरक्षक नेताले ‘डलर खेती’ भन्लान्, तर त्यो ‘डलर’ को प्रयोग पीडितको हकहितको लागि भयो कि भएन, हेर्नुपर्ने त्यो हो ।

    साप्ताहिक हिमाल खबरपत्रिकाबाट

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s