दसैँ उपहारको किताब सूची

मैले एकजनालाई यो दशैंमा पढ्न दिएका पुस्तकहरू
मैले एकजनालाई यो दसैँमा पढ्न दिएका पुस्तकहरू

रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’ भनि प्रतिकृया दिए । बाँकी, मैले हल्का पृष्ठभूमी बताउदै पढ्न जोडदार सिफारिस गरेका पुस्तक हुन् । यही मौकामा यी किताबारे मेरा ‘दुइ शब्द’ भनिहाल्ने निर्णय गरें ।

सुधीर शर्माको प्रयोगशाला
सुधीर शर्माको प्रयोगशाला

प्रयोगशाला को सबभन्दा सवल पक्ष, मलाई लागेको, यसमा सामेल सूचना र जानकारी हुन् । तिनलाई जसरी प्रस्तुत र प्रतिवेदन गरिएको छ त्यसले यो किताबलाई सर्वथा पठनीय र रोमाञ्चक बनाएको छ । साथै सरल भाषाले किताबलाई जोकसैले बुझ्ने तुल्याएको छ । गैरअाख्यान लेखनमा कल्पना (द्वयार्थ छैन है!) को पनि सही प्रयोग हुनुपर्छ । अन्यथा त्यो रुखो हुन्छ जसलाई पढ्दा रमाइलो होइन सजाय पाएको अनुभव हुन्छ। पैसा हालेर आफैलाई सजाय दिने मुर्ख्याइँ कसले गर्छ ? गैरअाख्यानमा प्रयोगशाला  र अाख्यानमा पल्पसा क्याफे मलाई उस्तै लाग्छन् । क्याफे जस्तै चिरप्रतिष्ठित र पढ्नै पर्ने किताब भएको छ प्रयोगशाला । दुबै अाअाफ्नो क्षेत्रमा मानक बनेका छन् जसलाई भेट्टाउनु या नाघ्नु पुस्तककै लेखकहरूलाई चुनौतीपूर्ण हुने या भएको देखिन्छ ।

केही साता अघि मैले काठमान्डूका दुइजना परिचित युवतीहरूको वार्तालाप संयोगले सुनें । एउटी व्यापारिक क्षेत्रसँग नजिक रहेर काम गर्छिन् त अर्की मानवअधिकारको संसारमा । त्यो क्षण उनीहरूबीच नेपाली राजनीतिबारे कुरा चलिरहेको थियो । पछिल्लीले फ्याट्ट एउटा प्रश्न गरिन् जो म यहाँ उल्लेख गर्दिन । जवाफ निकै लामो, झन्डै पुस्तक अाकारकै हुन्थ्यो । तर अघिल्ली त्यो झन्झट मोल्न तयार थिइनन् । त्यसैले उनले यस्तो सटिक जवाफ दिइन्- “प्रयोगशाला पढ न । सबै छ त्यो किताबमा ।”

माअोवादी अान्दोलनको पृष्ठभूमीमा नेपाल-भारत सम्बन्ध मात्र हैन समग्र नेपाली राजनीति बुझ्न प्रयोगशाला एक ‘अावश्यक पाठ्य’ भएको छ ।

विनोद मेहताको एडिटर अन्प्ल्ग्ड
विनोद मेहताको एडिटर अन्प्ल्ग्ड

सिफारिस सूचीको अर्को किताब हो, एडिटर अन्प्ल्ग्ड । (त्यो शब्दलाई मैले देवनागरीमा कहिल्यै लेखेको रहेनछु । दुइवटा पुरा अक्षरहरको बीचमा चारवटा अाधा अक्षरहरू लगातार लेखिंदा त्यस्तो देखिंदो रहेछ । अनौठो ।) भारतीय साप्ताहिक खवरपत्रिका अाउटलुक का पूर्व सम्पादक र भारतीय रक्षा विशेषज्ञ तथा पूर्व सैन्य अधिकृत अशोक मेहताका भाइ भनेर मैले स्वर्गीय विनोद मेहताको परिचय दिएँ । थुप्रै बर्ष पत्रकारिता (अनि अाउटलुक) पढेको र त्यो भन्दा धेरै बर्ष गरेको पनि हुनाले अन्प्ल्ग्ड  पढ्दा म रोमाञ्चित नहुने कुरै थिएन । फेरी ‘दशैं पाठ्य’ भन्दै किताब दिने नै भएपछि सबै विषय मिलाउनु पनि पर्यो । कि कसो ?

नेपाल स्ट्रयाटिजी फर सर्भाइवल पहिलोपटक पढ्दा मलाई नेपालको रणनीतिक इतिहासलाई एउटा चक्की बनाएर क्वाप्ल्याक्क निलेजस्तो भएको थियो । क्वाप्ल्याक्क हैन चपाएर निलेजस्तो । साह्रै स्वादिलो । कतिपय कुरा नौला लागेका थिए । छिमेकीहरूसँगकाे नेपाली सम्बन्धमा हालैका केही वर्ष, महिना र, यहाँसम्म की, साता देखिएका घट्नाक्रमहरूसँग कितावमा वर्णित कुराहरू कस्तो (न) मज्जासँग मिल्न खोज्छन् भने कुरा गरी साध्य छैन । म जस्तो खासै धेरै किताब नपढ्नेलाई त कुनै सनसनीखेज तर सूसुचित दस्तावेज या भनौं प्रयोगशालै पढेजस्तो भएको थियो, सर्भाइवल पहिलोपटक पढ्दा । पाठ नम्बर १० को शीर्षक छ, “नयाँ दिल्लीसँगको सम्बन्धमा सङ्कट, १९६१-६२”, हेर्नुस् है । त्यही पाठमा एउटा उपशीर्षक छ, “चीनसँग निकट सम्बन्ध” । यो उपशीर्षक भित्रपनि एउटा अर्को उपशीर्षक (शब्दकै खाचो पर्यो यसको वर्णन गर्न, देख्नुभो?) छ, काठमान्डू तिब्बत सडक सम्झौता , (त्यसैगरी ढल्क्याएर लेखिएको) ।

लियो ई. रोजको नेपाल स्ट्रयाटिजी फर सर्भाइवल
लियो ई. रोजको नेपाल स्ट्रयाटिजी फर सर्भाइवल

यो किताव १९७१ मा लेखिएको हो तर मैले पहिलोपटक पढें केही वर्षअगाडी मात्रै । दोहोर्याएर पढें हालसालै । लेखक लियो ई. रोजको परिचय (युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लेका, नेपाल विशेषज्ञ) का कारण किताबका कुरा नपत्याउने कुरै भएन । तैपनि कोदारी राजमार्ग महेन्द्रको ‘चीनीयाँ पत्ता’ अन्तर्गत हैन बरू ती राजाले नचाहदा नचाहदै चीनले बनाएको थियो भनि पहिलोपटक थाहा पाउँदा पत्याउन मुस्किल परेको थियो । चीनीयाँ सर्वेक्षकहरूले २० किलोमिटर छोटो पनि हुने र सजिलो भूभागबाट पनि जाने भएकाले केरूङतिरको बाटो बनाउन खोजेको तर त्यतिबेलाको नेपाल सरकारले (राजा महेन्द्रै त बुझ्नुपरो नि हैन?) कोदारीतिरबाटै बनाउन जोड दिएको थाहा पाउँदा मलाई नौलो लागेको थियो । “[केरूङको साटो कोदारी किन छानियो] काठमान्डूले कहिल्यै प्रष्टिकरण दिएको छैन तर सम्भवत: [त्यसो गर्दा] बाटो निर्माण अवधी सकेसम्म लम्बिने अाश नेपाली निकायहरूले गरेका थिए,” रोजको त्यो विश्लेषण पढ्दा त मेरो जिब्रो बाहिर निस्केको थियो । साच्चै । चीनले चाँहि, हो न हो यो, बाटोबाट तिब्बतमा पेट्रोल अायातगर्ने सम्मको योजना बनाएको हुनसक्थ्यो रे । अनि नेपालले चाँहि त्यो बाटो हुदै भारतबाट अाएका केही सामान चीन लैजान प्रतिबन्ध लगाएको थियो रे । त्यसरी प्रतिबन्धित सामान मध्ये एक (अनुमान गर्ने?) पेट्रोल थियो । भयो त अब ? त्यसैले मैले यो निस्कर्ष निकालेको छु, नेपालको रणनीतिक इतिहास र वर्तमान पनि बुझ्न सर्भाइवल  पढ्नै पर्छ । त्यसैले मैले यसलाई मेरो उपहार सूचीमा र ‘अावश्यकीय पाठ्य’मा राखेको ।

विनोद चौधरीको अात्मकथा
विनोद चौधरीको अात्मकथा

विनोद चौधरीको अात्मकथा को सबैभन्दा सवल पक्ष विनोद चौधरी होइनन् । न त वाईवाई नै हो । यसो भन्न मलाई कुनै सङ्कोच छैन । किताबलाई किताब बनाएको छ यसमा प्रयुक्त भाषा र प्रस्तुतीकरणले । प्रतिवेदनले । किताबले चौधरीलाई शब्दहरूमा पनि अरबपति बनाइदिएको छ । एक पाठककारूपमा मलाई त्यही उत्कृ्ष्ट प्रस्तुतीकरण र लेखनीले नै हो पन्ना पल्टाउन प्रेरित गरिरहेको । पुस्तकको सुरूवात जुन बुलन्द ढंगले हुन्छ त्यसले चौधरी स्वयंलाई अाफ्नो जीवनको त्यो वर्णीत अंश सिनेमाको पर्दामा हेरेको जस्तो लागेको हुनुपर्छ । मलाई त त्यस्तै लाग्यो । त्यति शक्ति छ लेखक सुदीप श्रेष्ठको प्रतिवेदनमा । चौधरीले श्रेष्ठसँगको सहकार्यमा यो लेखेका हुन् भनि कितावमै जानकारी दिइएको छ ।

(कक्षा कोठामा देखेको सम्झना छैन तर सुदीप क्याम्पसमा मेरा सहपाठी र धेरै वर्षसम्म पत्रकारितामा सहकर्मी हुन् । साथै मित्रपनि (झन्डै छुटेको) । लेख्ने विषयमा दखल राख्ने अनि शब्द खेर नफाली खिपेर प्रतिवेदन गर्ने उनको बाँनीको म प्रशंसक हुँ । त्यसो भन्दैमा म उनले लेखेका सबैकुरा म अब्बल ठहर्याउछु भन्न होइन । जस्तो, कान्तिपुर मा उनले हतारमा लेख्ने ‘उपभोक्ता अदालत’ स्तम्भ कतिपय हप्ता म वास्ता पनि गर्दिनथिएँ। तर उनका लामा लेखहरू अनि अचेल सेतोपाटी मा आउने विश्लेषणात्मक प्रतिवेदनहरू छुटाउनै नहुने खालका हुन्थे/हुन्छन्। सम्बन्धको कुरा गर्दा प्रयोगशालापल्पसा क्याफे का लेखकहरू क्रमश: सुधीर शर्मा र नारायण वाग्ले, जोसँग मेरो पारिवारिक नाता छैन भनेर मैले २०१० मै काठमान्डू पोस्ट को एउटा स्तम्भमा प्रष्ट पारिसकेको छु, मेरा अग्रज सहकर्मीहरु हुन् जससँग म प्रभावित छु र मैले कान्तिपुर मै काम गरेको छु:  दुबै व्यक्तित्वहरू सम्पादक र म सम्वाददाताकारूपमा । तर यी किताब मेरा पूर्व व्यवसायिक सम्बन्धहरू या नीजि झुकावका कारण सिफारिस गरेको पटक्कै हैन ।)

Enter your email address to follow this blog and receive notifications of new posts by email.

त, विनोद चौधरीको अात्मकथाको कुरा हुँदैथियो । किताबको दोस्रो महत्वपूर्ण पक्ष चाँही विनासन्देह चौधरी नै हुन् । र हुन् उनका बा अनि उनीहरूको व्यापार । व्यापारको वृद्धि र फैलावटको यो नेपाली कथा अाफैमा लोभलाग्दो त छदैछ, त्यो कसरी र कुन दु:खले सफल भयो थाहा पाउँदा अाफूलाई फाइदै भएको मैले महसुस गरेको छु । चौधरीले अाफ्नो व्यापार फैलाउदै गर्दाताका र पछिल्ला दशकहरूमा समेत यो देशको व्यापारिक वातावरण र परिवेश कस्तो थियो भन्ने थाहा पाउन र अड्कल काट्न सकेँ मैले । त्यसैले म सन्तुष्ट छु । या भनौं, किताव पढ्दा त्यो किन्न लागेको पैसा पुरै असुल भएको महसुस हुन्छ । त्यति भए पुगेन?

पैसा असुल हुने त्यस्तै अर्को आत्मकथा खुसी पनि हो जो मैले बडो चासोसाथ निकै छोटो समयमा पढी सिध्याएको थिएँ। त्यो पुस्तकचाहिं मैले अरु कसैलाई दिईसकेको रहेछु । त्यो किताव सरल तर प्रभावशाली भाषामा लेखिएको र सशक्त प्रस्तुतिकरण भएको लेखन हो । ओहो, खुसी कालागि धेरै विशेषण प्रयोग गरेछु, हैट्। तत्कालीन नेपाल पाक्षिकमा मलाई कनिष्ट सम्बाददाताकारुपमा नियुक्त गर्ने विजयकुमार समाचार कक्षमा सँधै भन्थे- “रिपोर्टहरूमा धेरै विशेषणको प्रयोग नगर है । जसलाई पनि ‘महान मान्छे’ भनिदिने हो भने एक दिन साच्चैको महान मान्छेलाई चाहिँ के भनेर बर्णन गर्छौं ?” त्यसैले खुसी लाई मैले निकै सोचेर ती विशेषणहरु प्रयोग गरेको हुँ ।

बराक अोबामाको द अड्यासिटी अफ होप
बराक अोबामाको द अड्यासिटी अफ होप

सूचीको अन्तिम किताव अड्यासिटी अफ होप किन भन्ने प्रश्न अस्वभाविक हैन । २००७/८ तिरै पढ्नुपर्ने किताब अहिले किन ? उत्तर सजिलो छ । बराक अोबामा अबका केही महिना अमेरिकाको राष्ट्रपति रही नै रहने छन् । अागामी जनवरी भित्रै यो गज्जवको र प्रेरणादायी किताब पढ्नुको मज्जै बेग्लै हुनेछ । उनी जाँदैछन् र त यो किताब पढ्नुपर्ने जरूरी बढेको छ । राष्ट्रपतिको पदावधी सकिएपछिको एकाध वर्षमा अोबामाले अर्को किताब लेख्न भ्याइ हाल्छन्, शंकै छैन । अड्यासिटी २००६ मा लेखिएको हो तर उनको जिन्दगीमा घट्नाहरू यति छिटो भए उनले त्यतिबेला ह्वाइट हाउसको बासिन्दा हुन्छु भन्ने गम्भिरतासाथ सोचेका पनि थिएनन् होला । अमेरिकी राजनीतिमा एउटा गतिलो भाषणमार्फत उदाएका करिस्मादार राजनीतिज्ञले लेखेको अाफ्नो कथा हो यो जो, मलाई लाग्छ, समय मिलेमा पढ्नुपर्छ ।

फेरी अोबामाको त म शुरूदेखिकै प्रशंसक हुँ ।

मैले पहिलोपटक २००७ जनवरी २१ मा बराक अोबामालाई अाफ्नो एउटा ब्लग प्रविष्टमा उल्लेख गरेको रहेछु (हाई अमेरिका, हाई हिलारी) । त्यतिबेला म अोबामाबाट खुबै प्रभावित त भएको रहेछु तर २००४ देखि नै समर्थन गरेकी क्लिन्टन पनि २००८ को त्यो अमेरिकी राष्ट्रपतीय चुनावी दौडमा डेमोक्रेटिक पार्टीको टिकटका लागि अोबामाकी प्रतिस्पर्धी भएकीले कसलाई समर्थन गर्ने कुनै निर्णय गर्न नसकेर तटस्थ बसेको रहेछु । तर त्यो तटस्थता धेरै टिकेन । एकमहिना पनि नवित्दै मैले प्रशंसाको शाब्दिक हिउँ बर्साउँदै अोबामाको समर्थन गरेको रहेछु, अर्को ब्लग प्रविष्टमा । त्यसको शीर्षक थियो, “बराक अोबामा र मौसम (यहाँ र त्यहाँ)“। यहाँ अर्थात काठमान्डू र त्यहाँ अर्थात एलेनोय राज्यको स्प्रिङफिल्ड शहर जहाँको खुबै चिसो बिहान अोबामाले अाफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

अनि अोबामासँग हात मिलाउने मैले चिनेका एकमात्र नेपाली दीपक अधिकारी मेरा मित्र हुन् जोसँग थुप्रै चिया-गिलास रित्याउदै मैले २००८ को (र यसपालीको पनि) अमेरिकी चुनावको विश्लेषण गरेको छु । अनि मैले अड्यासिटी  सिफारिस नगरूँला?

हालैका केही महिनामा मैले पढेका किताबहरूसँगको अनुभव क्रमश: लेख्ने विचार गरेको छु । हेरौं के हुन्छ ।

१. वीरगन्ज (गिरीश गिरी)
२. द प्रिजनर अफ काठमान्डू (चार्ल्स एलेन)
३. माइ स्टोरी रूकमाङ्गद कट्वाल (रूकमाङ्गद कट्वाल)
४. निर्वाण (घनश्याम खड्का)
५. पहिलो संसद (जगन नेपाल)
६. उपल्लो थलो (मोहन मैनाली)
७. कहर (जनकराज सापकोटा)

तर अागामी प्रविष्टोमा चाँही गए सप्ताहन्तमा मैले रजबास गाउँमा एक रात विताउँदाको अनुभव समेट्ने छु ।

5 thoughts on “दसैँ उपहारको किताब सूची

  1. It will be great if you can provide name of the writers for these books:
    . वीरगन्ज
    २. द प्रिजनर अफ काठमान्डू
    ३. माइ स्टोरी रूकमाङ्गद कट्वाल
    ४. निर्वाण
    ५. पहिलो संसद
    ६. उपल्लो थलो
    ७. कहर

    Like

    1. Thanks. Here’s the list with writers names:

      १. वीरगन्ज (गिरीश गिरी)
      २. द प्रिजनर अफ काठमान्डू (चार्ल्स एलेन)
      ३. माइ स्टोरी रूकमाङ्गद कट्वाल (रूकमाङ्गद कट्वाल)
      ४. निर्वाण (घनश्याम खड्का)
      ५. पहिलो संसद (जगन नेपाल)
      ६. उपल्लो थलो (मोहन मैनाली)
      ७. कहर (जनकराज सापकोटा)

      Have updated in the main text as well.

      Liked by 1 person

  2. Autobiography of a Yogi पनि पढ्नै पर्ने किताब को सुचिमा राख्न मिल्छ

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s