बलराम बानियाँ र उजिर मगर
चैत १६ – आठ दलबीच शनिबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा २६ सदस्यीय अन्तरिम सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारमा कांग्रेसका प्रधानमन्त्रीसहित सात, एमालेका ६, माओवादीका ६, कांग्रेस (प्रजातान्त्रिक) का ४, जनमोर्चा, सद्भावना (आनन्दीदेवी), र वाममोर्चाका १/१ जना मन्त्री रहनेछन् । कांग्रेस, एमाले, माओवादी र कांग्रेस (प्रजातान्त्रिक) ले थप एक/एक जना राज्यमन्त्री राख्ने समझदारीसमेत भएको छ ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीच सहमति हुन नसकेपछि कसैलाई पनि उपप्रधानमन्त्री नबनाइने भएको छ । तीनवटै प्रमुख दलले आफूलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने अडान राखेपछि समझदारी हुन नसकेको हो । सात पार्टीबाट सिफारिस भएर आउने सबभन्दा वरिष्ठ नेतालाई प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रमको मन्त्री बनाइनेछ ।
कांग्रेसले महत्त्वपूर्ण तीन मन्त्रालय गृह, रक्षा र अर्थ आफैंसित राखेको छ भने नयाँ गठन भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयसमेत आफैंले लिएको छ । शान्ति तथा पुनःस्थापना मन्त्रालय शान्ति सचिवालयलाई मन्त्रालयमा रूपान्तरण गर्न लागिएको हो । कांग्रेसको भागमा विज्ञान तथा प्रविधि मन्त्रालयसमेत परेको छ ।
सहमतिअनुसार एमालेको भागमा परराष्ट्र, शिक्षा, कृषि, पर्यटन तथा नागरिक उड्डयन र सामान्य प्रशासन मन्त्रालय परेका छन् । माओवादीले सूचना तथा सञ्चार, स्थानीय विकास, भौतिक योजना तथा निर्माण, वन तथा भू-संरक्षण र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय पाएको छ । सबभन्दा बढी बजेट भएका महत्त्वपूर्ण विकासे मन्त्रालय माओवादीको भागमा परेका छन् । कांग्रेस (प्रजातान्त्रिक) को भागमा जलस्रोत, श्रम तथा यातायात, कानुन, न्याय तथा संसदीय व्यवस्था परेका छन् । जनमोर्चाले स्वास्थ्य, सद्भावना (आनन्दीदेवी) ले उद्योग, वाणिज्य तथा आपूर्ति र वाममोर्चाले भूमिसुधार तथा व्यवस्था मन्त्रालय पाएका छन् ।
माओवादीद्वारा मन्त्री चयन माओवादीले संसदीय दलका नेता एवं पार्टीका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा छ सदस्यीय टोली सरकारमा पठाउने निर्णय गरेको छ । महराले सूचना तथा सञ्चार मन्त्रालय सम्हाल्नेछन् । माओवादी नेता डा. बाबुराम भट्टर्राईका अनुसार पार्टीले स्थानीय विकासमा देव गुरुङ, भौतिक योजना तथा निर्माणमा हिसिला यमी, वन तथा भू-संरक्षणमा मातृका यादव र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीमा खड्गबहादुर विश्वकर्मालाई पठाउने निर्णय गरेको छ । राज्यमन्त्रीमा पदम र्राईलाई पठाउने तयारी गरिएको छ । महरासहित सबै जना अन्तरिम संसदका सदस्य हुन् ।
सद्भावना (आनन्दीदेवी) ले महासचिव राजेन्द्र महतोलाई सरकारमा पठाउने भएको छ । जनमोर्चाले कसलाई पठाउने निर्णय गरिसकेको छैन । आठ दलबीचमा कसैलाई पनि उपप्रधानमन्त्री नराख्ने सहमति भएपछि जनमोर्चाले अध्यक्ष अमिक शेरचनलाई सरकारमा निरन्तरता दिन नमिल्ने भएको छ । वाममोर्चाले पनि सरकारमा कसलाई पठाउने निर्णय गरिसकेको छैन । कांग्रेस, एमाले, कांग्रेस (प्रजातान्त्रिक), जनमोर्चा र वाममोर्चाले शनिबार नै सरकारमा जाने व्यक्तिहरू तय गर्ने जनाएका छन् ।