कोइलाखानीको जिन्दगानी

koila khani

koila khani jindagani
click to enlarge

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- श्यामप्रसाद पोखरेललाई बलको आवश्यकता दिनहुँ पर्छ । दुई सय फिट गहिरो इनारको फेदबाट धरापझैं लाग्ने गरी अड्याइएका काठका चिप्ला खुडकलामा टेक्दै थुन्सेभरी कोइला बोक्नु उनको दैनिकी हो । दुई साताअघि ज्यान खतरामा पर्दा उनलाई थप बल चाहिएको थियो । पूर्वोत्तर भारतको बंगलादेशी सीमानजिक कोइलाखानीमा काम गर्ने उनीजस्ता नेपालीलाई मेघालय राज्यका आदिवासी खासीले धमाधम कुट्न -र केहीलाई मार्न) थालेका थिए । क्वारी या झुल भनिने इनारबाट तीन किलोमिटर टाढाको व्यावसायिक केन्द्र लाड्रम्पाई खासीहरूले बन्द गराउूदा त्यहाूका केही नेपाली ‘बाहिर ताल्चा लगाएर कोठाभित्रै’ लुकेका थिए । थुप्रै क्वारीका कैयौं नेपाली रातारात भागेर असम पुगे भने नभागेका पोखरेल खान्की किन्न बजार जान सकेनन् । ‘त्यो दिन मैले कुलदेउता सम्झें,’ सिन्धुलीे खोलागाउँ ८, रातमाटेका ६० वर्षे पोखरेलले कान्तिपुरसँग भने, ‘स्वास्नी, छोराछोरी सम्झेँ । देउतासँग बल मागेँ ।’

कोइलाखानीका नेपाली र मेघालयमा बस्ने गोर्खाहरू यी दिनमा आफूहरूलाई यसपालि देउतैले सहयोग गरेको ठान्छन् । ‘धन्न एटिसिक्स दोहोरिएन,’ असममा जन्मेका, झापाको सानो केर्खास्थित घरमा आफ्ना स्कुले बच्चा राखेका र लाड्रम्पाईमा खुद्रा पसल गर्ने दिवाकर पौडेलले भने । सन् १९८६/८७ मा पूर्वोत्तर भारतमा ‘विदेशी भगाऊ’ आन्दोलन हुँदा यहाँका हजारौं नेपाली मजदुर खेदिइएका र अन्य भागका गोर्खा विस्थापित भएका थिए । ‘त्यतिबेला पुलिस आफैंले नेपाली छान्दै ट्रकमा खाँद्दै पठाएका थिए,’ पौडेलले भने, ‘हामी पनि ट्रकमै गुवाहटी पुग्यौं । सातापछि फर्कियौं ।’

यसपालि असमसूगको सिमानामा रहेको विवादित गाउँ लाम्पीमा बस्ने गोर्खाहरूलाई आक्रमण गर्न गएका खासीमध्ये चारजनालाई असम सीमारक्षा बलले गोली हानी हत्या गरेपछि त्यसको रिस खासीले मेघालयका विभिन्न भागमा छरिएका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीमाथि पोख्न थाले । वैशाख ३१ गते लाम्पी काण्ड भयो र त्यसको विरोधमा जेठ ३ मा खासी विद्यार्थी संगठनहरूले मेघालय बन्द गरे । यहाँ पार्टीहरूभन्दा पनि शक्तिशाली मानिने र गैरसरकारी संस्था (एनजीओ) भनी चिनिने खासी विद्यार्थी युनियन (केएसयू) लगायत केही आन्दोलित विद्यार्थी संगठनले कुनैकुनै ठाउँका गोर्खा र नेपालीलाई मेघालय छाडन चेतावनी पनि दिए ।

आन्तरिक राजनीति

अघिल्लो महिना मेघालयको सत्ता समीकरणमा फेरबदल हुँदा सरकार परिवर्तन भयो । खासी समुदायका डीडी लापाङ मुख्यमन्त्रीबाट हटाइए । उनको सट्टामा कंग्रेस पार्टीकै तर गारो समुदायका मुकुल सङ्मा आए । त्यसो हुनुमा छिमेकी असमका प्रभावशाली मन्त्री तथा कंग्रेसका नेता हिमन्त विश्व शर्माको हात रहेको मेघालयका पत्रिकाहरूले लेखेका छन् । हिमन्त तिनै व्यक्ति हुन् जो युरेनियम भएको लाम्पीलाई आफ्नो प्रभावअन्तर्गत असममै राख्न चाहन्छन् । उनैले लाम्पीलाई असमको राजधानी गुवाहटीसम्म जोड्ने बाटो खन्न बजेट छुट्टयाई त्यसको उद्घाटन गरे । उनले लाम्पीमै गएर गोर्खालाई जति चाहियो त्यति सहयोगको प्रस्ताव गरेका छन्, भन्नेबित्तिकै हेल्थ पोस्ट खोलिदिएका छन् । लाम्पीमा नेपालीलाई उक्साउने हिमन्तले आफूलाई नेतृत्वच्यूत गराएको रिस मेघालयका लापाङलाई हुनु स्वाभाविकै भयो । लापाङको सहभागिताको प्रमाण कसैले देखाएको छैन तर वैशाख ३१ गते नियोजित ढंगमा हजारभन्दा बढी अन्य गाउँका खासी नेपाली कुट्न लाम्पी पुग्नुलाई कतिपयले सुनियोजित ठानेका छन् ।  ‘आफू सरकारबाट हटेपछि राज्यको सुरक्षा व्यवस्था बिगि्रएको देखाउन त्यो काण्ड रचिएको थियो,’ सिलाङको सार्वजनिक जीवनमा सक्रिय एक गोर्खा नेताले कान्तिपुरसँग भने, ‘भयो पनि त्यस्तै । नयाँ मुख्यमन्त्रीमाथि शान्ति सुरक्षा कायम गराउन र असमबाट आफ्नो गाउँ फिर्ता लिन नसकेको आरोप लाग्यो ।’

आन्तरिक राजनीतिक खेलमा नेपाली समुदायलाई उपयोग गरिएको चाल पाएपछि सङ्मा सरकारले नेपालीलाई दुःख दिनेविरुद्ध तत्कालै कारबाही थाल्यो, जुन १९८६/८७ मा हुन सकेको थिएन । नेपालका मिडियाले व्यापक रूपमा घटनाबारे प्रकाशन/प्रसारण गरे जसले सोझै मेघालय सरकारलाई दबाब दियो । १९८६/८७ ताका नेपालमा अहिलेजस्तो मिडिया थिएनन् । अहिले सिलाङ, लाड्रम्पाईजस्ता बजारमा ‘कान्तिपुर’, ‘इमेज’ जस्ता टीभी च्यालनहरू आउँछन् । ‘सिलाङ टाइम्स’ जस्ता प्रभावशाली पत्रिकाले पनि यसपालि जातीय मामिलामा सकेसम्म निष्पक्ष समाचार लेख्दै सरकारलाई दबाब दिएको सिलाङका गोर्खा बताउँछन् । ‘पुलिस र गाउँका मुखिया (गाउँबुढा)ले हामीलाई बोलाएर, नडराउन र नफर्किन अनुरोध गरे,’ आठ वर्षदेखि लाड्रम्पाईमा नेपाली पत्रिकासमेत बेच्ने पसल चलाइरहेका टोपलाल भण्डारीले भने, ‘उनीहरूले चाहिएको सुरक्षा दिने वाचा गरे ।’ नभन्दै मेघालयले पहिलोपटक लाड्रम्पाईमा प्रहरीको एउटा टोली पठायो जो अहिले पनि यहीँ छ ।

मेघालय छाड्न सूचना दिने ‘गाउूबाहिरका खासीहरू’ सँग कोइलाखानीका मालिक र लाड्रम्पाईमा नेपालीलाई घर भाडामा दिने साहु पनि सहमत भएनन् । खानी मालिक र घरभेटीले पनि नेपालीभाषीलाई नभाग्न, लुकेर बस्न र बजारमा ननिस्कन सुझाव दिए । ‘आन्दोलनकारीको भनाइ छ, नेपाली आएर काम खोसिदिए,’ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रम्पाई नगर समितिका अध्यक्षसमेत रहेका भण्डारीले भने, ‘तर हामीले भनेका छौं, त्यो गुनासो कोइलाखानीका मालिकसँग गर ।’

यहाँका कोइलाखानी लगभग नेपालीले नै चलाएका छन् । औपचारिक तथ्यांक छैन तर जयन्तिया हिल्सलगायत क्षेत्रका कोइलाखानीमा डेढदेखि दुई लाखसम्म नेपाली रहेको अनुमान छ । जुनै कोइलाखानीमा गए पनि नेपालीभाषामा गफ, गीत, गाली र गुनासा सुन्न सकिन्छ । उनीहरू इनारनजिकैका खाली जमिनमा कोइला मालिकको अनुमतिमा छाप्रा बनाएर बसेका छन् । कतिपय ३० वर्षदेखि नेपालै नगई बसिरहेछन् । कतिपयचाहिँ सिजनमा आउने, पैसा कमाउने र नेपाल फर्किने गर्छन् । नेपालीमध्ये ९० प्रतिशत इनारबाट कोइला बोक्ने, सुरुङमा पसेर कोइला खन्ने (काट्ने) काम गर्छन् । केही टाठाबाठा नेपालीचाहिँ सरदार (ठेकेदार) बनेका छन् । कोही साना बजारहरूमा पसल गर्छन् ।

koila khani jindagani

किन फर्किए नेपाली ?

बितेका दुई सातामा मेघालय छाड्नेमा गोर्खा नभई मुख्यतः जयन्तिया हिल्स जिल्ला (जसको मुख्य बजार हो लाड्रम्पाई) का कोइलाखानीका नेपाली थिए । त्यहाँ केही खासीले केही नेपालीलाई कुटे, केहीका हातखुट्टा भाँचे जसबारेको हल्ला खानीहरूमा डढेलोझैं फैलियो । हल्लामा बढाईचढाई पनि भयो, जसले मानिसहरूमा चाहिनेभन्दा बढी अन्योल र त्रास सिर्जना गरायो । ‘राति त्यसलाई कुटे, बिहान उसलाई मारे भन्छन्, अनि के के न गर्नु भयो,’ पोखरेलले भने, ‘कोही लुक्न क्वारीभित्र छिरे, कोही कुम्लो बोकेर भागे । त्यस्तोमा कसरी बस्नु ?’ उनले जेठ ५ को दिन भातै खाएनन् । सिन्धुलीबाट परिवारले क्वारीका मजदुरका लागि मेस चलाउने भान्सेको मोबाइलमा फोन गरेर पोखरेललाई तत्कालै घर फर्किन भने । ‘त्यो दिन त हिँडिहालुँ जस्तो लागेको थियो,’ उनले भने, ‘फेरि रातिहुँदो कहाँ जाने ? अहिले फेरि सञ्चो भएको छ । अब दसैंमा जान्छु ।’ यसपालि लाम्पी गोली काण्डसँग जोडिएकाले नेपालीहरू फर्किएको घटनाले व्यापक चर्चा पायो । तर यहाँ महिनैपिच्छे सानातिना घटना भइरहने र हप्तैपिच्छेजस्तो खानीमा पुरिएर, झगडा गरेर एक-दुई जना मान्छे मरिरहने लाड्रम्पाईमा लामो समयदेखि बसिरहेका बासिन्दाहरू बताउँछन् । ‘कहिलेकाहीं त एउटा कोइलाखानी मालिकले आफ्नो प्रतिस्पर्धीको कारोबार कम गराउन पनि त्यहाँका कामदारलाई दुःख दिन्छ, मेघालयबाट निकाल्दिन खोज्छ,’ लाड्रम्पाईबाट ८५ किलोमिटर परको सिलाङमा आधारित भारतीय गोर्खा परिसंघका अध्यक्ष बीबी छेत्रीले भने । यो विवादमा नेपालीभाषी छेत्रीले सबैभन्दा ठूलो स्वरमा नेपालीको पक्षमा आवाज उठाए जसलाई सिलाङकै कतिपय नेपाली र नेपालीभाषीले ‘ओ हो, यो त कडै भयो’ भनी टिप्पणी गरे । उनले सिलाङनजिकैको गोठमा जिउँदै जलाएर मारिएका लोकनाथ बाँस्तोलाको परिवारलाई पनि मेघालय सरकारले लाम्पीमा मारिने खासीका परिवारलाई जत्तिकै क्षतिपूर्ति दिनुपर्ने माग राज्यसमक्ष गरेका छन् ।

One thought on “कोइलाखानीको जिन्दगानी

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s