Kathmandu Kakani Jhor Hiking (71)

हामी सबै यात्री

Kathmandu Kakani Jhor Hiking (71)
काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्राको अन्तिमतिर झोर गाउँ मास्तिरबाट देखिएको काठमान्डू उपत्यका ।

दिनेश वाग्ले
पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ

‘यत्तिकै’ मेरा सहयात्रीले भने ।

‘यत्तिकै नि कोही घुम्न हिड्छ ?’ अब पनि ‘सही’ कारण नपाए झोक्किने संकेत दिदै उनले सोधे ।

‘अहिले भ्रमण बर्ष हो नि दाजू,’ सहयात्रीले भने– ‘त्यसैले घुम्न निस्केको ।’

दाजूले टाउको तल–माथी हल्लाए, कुरो बुझेजस्तो गरे र आफ्नो ‘किन हिडेको ?’ प्रश्नले थालेको छोटो लहरोलाई टुङ्ग्याए ।

एउटा यस्तो समाज जहाँ दुई–चार दिनका उकाली ओराली हिडाई लाखौ मानिसका दैनिक जीवनका सामान्य बाध्यता हुन् त्यहाँ कोही हिड्नैका लागि हिड्छन् भने उनीहरुलाई केही साताअघि ललितपुर भट्टेडाडाका गंगा थापाले गरेजस्तो प्रश्न सोधिनु अनौठो हुदैहोइन । बाध्यताबस् गरिने हुन् या स्वेच्छाले, यात्राहरुमा निश्चित समानाता हुन्छन् । सामान्यतः ती रमाइला बाहेक चुनौतीपूर्ण पनि हुन्छन् । आनन्द बाहेक दुःख यात्राहरुको अभिन्न अंग हो । त्यसैले काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्रा होस या जापानी नाओको यामाजाकीले अप्रिल २०१०मा गरेको अन्तरिक्ष यात्रा, दुबैमा केही निश्चित समानता छन् ।

बाध्यताले हिड्नु एउटा कुरा तर संसारभरी मानिसहरु ‘विनाकामै’ घुम्नुलाई नै काम बनाएर यात्रामा निस्कन्छन् । आखिर उनीहरु किन त्यसो गर्छन् ? जवाफ व्यक्तिपिच्छे फरक हुनु अस्वभाविक होइन तर सबैका जवाफहरुलाई एकैछाउमा निचोर्ने हो भने तिनमा पनि केही समानाता झल्किन्छन् । केट हप्किन्स लेख्छन्– १) हामी केहीकुरा पाउन २) केहीकुराबाट टाढिन, र ३) कुनै अर्को व्यक्तिको लडहका कारण घुम्न निस्कन्छौं । केटका निचोडमा थपथाप र विस्तार गर्न सकिन्छ तर असहमत हुन सकिदैन ।

कतिपय मान्छेहरूसँग मेरा कुराकानी मैले या उनीहरूले गरेका ताजा यात्रा र हामी दुबैले जान चाहेका तर कसोकसो नभ्याएका नमिलेका गन्तव्यहरुको थकथकीपुर्ण बर्णनबाट शुरूहुन्छ । उनीहरुले जान चाहेका तर आफू गइसकेका गन्तव्यबारे शानपूर्वक (अँ, म त्यहाँ गएको छु भन्दै) धाक दिन कम्ति मज्जा आउदैन । ‘रारा’ धेरैले जान चाहेको त्यो सुन्दर नेपाली ताल मेरो सिफारिस सूचीमा पनि पहिलो स्थानमा पर्छ । केही साता अघि विवाह गरेका दुइ साथीमध्ये बेहुलाले ‘हनिमुनका लागि कहाँ जाँदाठिक होला ?’ भनि सोध्दा मैले रारा, मुस्ताङ्, खुम्बु र लाङटाङ्लाई जोड दिएको थिएँ । बीचका दुइ गन्तव्यबारे कुरा गर्दा चाहि म आफै ‘आहा, म पनि गएको छैन, नगई छाड्दिन’ भन्ने लवजमा थकथकी मान्दै थिए । रारा किनारमा बसेर पानीमा खुट्टा छुवाउदै मध्यान्हपछि उर्लिने छालहरु नियाल्दाजस्तै आनन्द आउछ लाङ्टाङ्को केन्जिङ् गुम्बा आसपास उभिएर चारैतिर (यादगर्नुस्, चारैतिर) हिमालै हिमाल देख्दा । खुम्बु क्षेत्रको कालापथ्थरबाट देखिने हिमाली श्रृंखला या मुक्तिनाथ वरीपरिको वातावरण मैले यहाँ मेचमा बसेर या अरुका कुरा सुनेर जति कल्पना गरेपनि त्यो वास्ताविकताको नजिक पुग्न सक्दैन । त्यसैले त हो, मान्छे आफै अनुभव गर्न चाहन्छ, आफै त्यहा पुग्न चाहन्छ, आफै देख्न चाहन्छ । त्यो न प्रतिनिधि खटाएर हुनसक्छ न टीभी हेरेर ।

र, त्यो चाहना पुरा गर्न सधै सजिलो र मनोरन्जक हुदैन । मैले रारामा त्यसरी खुट्टा पानीमा छुवाएको अवस्थाको बर्णन गर्दा त्यो पढ्नेहरुलाई जति जाउँ जाउँ लाग्छ, त्यो सँग जोडिएका चुनौती सुन्दा ‘हैन, दुख पो हुदो रैछ, नजाउँ क्या हो’ भन्ने पनि लाग्न सक्छ । त्यो सबै ठाउ“हरूका सन्दर्भमा लागूहुने कुरा हो ।

तीन बर्ष अघि लाईफ ज्याकेट विनै मुडे ढुगामा गहीराइका कारण कालो देखिने राराको चौडाई दुई घन्टा लगाएर छिचोल्दा मलाई त्यति डर लागेन जति ताल भन्दा एक दिन मुनीको घना जङ्गलमा हिड्दा लागेको थियो । ठूलो आवाज निकाल्दै डौडिरहेको कर्णाली भन्दा केही मिटर माथिबाट बगेको जुम्लाको सिँजा जाने बाटोमा हावा, रुखहरु र पारिपट्टीको अक्करे पहरामा उफ्रिरहेका बादरको रोमान्चक संयोजन र अनौठो आवाज अहिले सम्झिदा मात्र रोमान्चक लाग्छ । त्यतिबेला चाहि म एक्लो यात्रीका पाखुराका रौंहरु ‘छ्यास्य्राक्क’को आवाजैसँगै बारम्बार ठाडा भएका थिए र हिडाईको गती बढेको थियो । (राम्रै भयो, अहिले सम्झिदा लाग्छ, सिंजा समयमै पुगियो । फेरी त्यहा पनि होटल नभएकाले बास पाउन कत्रो टेन्सन ।)

चार बर्षअघि पिसाङ् हिमालको उत्तरी (हो, उत्तरी) काखमा अवस्थित मनाङ्गे गाउँ नारबाट पाँच हजार दुई सय मिटरको काङ्ला पास (भङ्ज्याङ्) तरेर हुम्दे विमानस्थलभएपट्टि निस्कन खोज्दा मन पश्चातापले भरिएको थियो । भन्ज्याङ् पुग्नै लाग्दाको क्षण कुनै पनि सेकेन्डमा भुक्लुक्क ढलेर च्याट्टै मरिन्छ कि जस्तो भएको थियो । १६ मध्येका १२ दिन हिडिसकिएको थियो, उकालो छिमल्न दुई सय मिटर जति बाँकी छँदा पनि ‘फर्किउँ कि क्या हो’ भन्ने विचार मनमा आएको थियो ।

आठ बर्षअघि लाङ्टाङको केन्जिङ् उपत्यका भ्याएर स्याब्रु डाडो हुदै गोसाईकुन्ड छिचोल्नेक्रममा स्याब्रु नजिकैको जङ्गलका बादरहरुको भीडले रुखबाट झरेर कुट्लान् कि भन्ने डर मनमा नउब्जेको होइन । अनि पानी बोक्न बिर्सिदा तिर्खा मेटाउन बुटा चपाउँ कि जस्तो लागेको थियो भनि मैले लेख्दा पढ्नेहरुले ‘हैत्, बढाईचढाई गर्यो यसले’ नभने हुन्छ किनकी लालीगुराँस टिपेर खाएकै हो ।

१० बर्ष अघि चीनसँगको सीमानाको सबैभन्दा सानो नेपाली गाउँ किमाथाङ्का जादा संखुवासभाको सदरमुकाम खादबारीबाट लगातार छ दिन हिडनुपरेकोमा कुनै गुनासो थिएन । तर किमाथाङ्का पुग्न दुई दिन अघिको रात चेपुवा गाउँमा विताउदा चाहि यात्राबारे गम्भीररुपमै समिक्षा गर्न मन लागेको थियो । सानो घरका धनीले टाढाबाट आएका पाहुनाको सत्कार गर्न कसर राखेका थिएनन् । दोस्रो तल्ला छिर्ने मुलढोकासँगै जोडिएको खाली भागमा गुन्द्रि ओछ्याएर सुताएका थिए । मूल ढोकालाई उनले शौचालय नबनाएका हुन्थ्ये त निद्रा मज्जाले लाग्थ्यो तर…। मुलढोकैबाट मलमुत्र त्याग्नु उनका लागि स्वभाविक थियो किनकी ढोकामुनी दुई सुँगुर पालिएका थिए । तर गन्ध र ती जन्तुको निरन्तरको आवाजले थाकेर चुर भएका मेरा दुई सहयागी र मलाई निदाउन दिएनन् ।

‘हामी किन यात्रा गछौं?’ यात्रा लेखक बेन कल्क्लफ सोध्छन् । अनिदा आखा लिएर, अप्ठ्यारा उडान (समय)हरुको सिकार भएर र नयाँ (नपच्ने) खान्कीहरु खाएर किन हामी यात्रामा जान्छौं ? किन कोही गर्मीमा पिल्सिदै हिड्छन् त कोही थोरैमात्र मान्छेले भ्रमण गरेका बस्नै नसकिने क्षेत्रहरुमा जान्छन् ? ‘धेरैका लागि (उत्तर) साधारण लाग्न सक्छ– किनकी हामीले घुम्नै पर्छ । रगतमै त्यही छ । हिडिहालौं भन्ने भित्रैदेखिकोको चिलाई मेटाउने, केही नयाँ कुरा गर्ने र देख्ने तथा जीवनको दैनिकीमा केही बदलाव ल्याउने चाहना ।’

हामीमध्ये धेरैका लागि यात्राको सबैभन्दा उत्कृष्ट पक्ष भनेकै फरक पना या बदलाव हो, बेल ठान्छन् । हाम्रो एकनासे दैनिकीबाट बदलाव, अर्को मौसम, काम र संस्कृतीसँगको भेट । ‘हामी अर्को देशसँग आफ्नो शहर साट्छौं,’ उनी भन्छन्– ‘सम्पन्नतासँग सामान्यपन, अल्छेपनासँग सक्रियता, जीनवको तीब्रतासँग मन्दता (या उल्टो) र सुरक्षासँग खतरा । नयाँ ठाउँ हेर्न, नयाँ कुरा गर्ने (खाना, कृयाकलाप, भाषा आदि) र नयाँ मानिसहरुलाई भेट्ने– यो सबै बदलाव हो । हामी वरीपरिको वातावरणलाई मात्रै बदल्दा पनि हामी हाम्रो सोचाईलाई बदल्न सक्छौं र दैनिक जीवनको तनावबाट मुक्ति पाउन सक्छौं ।’

बेनसँग म असहमत हुनै सक्दिन । त्यसैले उल्लेखित मेरा यात्राका ‘हृदयविदारक’ विवरण पढ्ने/सुन्नेहरुमा यात्राप्रति वितृष्णा नजागोस भन्न केही प्रष्ट्याईहाल्नु जरुरी छ । ती सबै ‘दुखद’ (कतिपयलाई त्यस्तो लाग्न सक्छ) अहिले सम्झिदा चाहिं ‘साहसिक’ लाग्छन् र आनन्द आउछ । अनि तिनलाई न्यूट्रलाईज गरेका छन् तीसँगै जोडिएका मनै फुरुङ्ग पार्ने घट्नाले । राराको त्यो खतरनाक (खतरनाकै भन्नुपर्छ किनकी रारा निकुन्जको त्यो डुङ्गा पल्टिने सम्भावना थियो र त्यसो भएको भए हेलिकप्टरै डुबेको ठाउँबाट कसरी उत्रिइन्थ्यो होला र?) यात्रा नै मेरालागि सबैभन्दा रोमान्चक क्षण भयो । (त्यो यात्रामा मैले भेट्टाएका केही पात्रहरुका बारेमा यसै पत्रिकामा लेखिसकेको छु, फेरी पढ्ने भए यी लिङ्कमा गए हुन्छ– १) राराको छेउ नजर जुराईदेऊ २) एसएलसी फेल, बिहे पास । ती पात्रहरुसँगका जम्काभेटहरू स्मरणीय रहे । अनि अर्को– कर्णाली एक्स्प्रेसः ५२ घन्टा उफ्रिदै थचारिदै

अनि काङ्ला भन्ज्याङ्मै पुगेपछि नाकैमा ठोक्किएला झै सामुन्ने उभिएका अन्नपूर्ण  हिमालहरु देख्दा सबै थकान मेटिएको थियो भन्दा पढ्नेले त्यसलाई पत्याउनै पर्छ । काङ्ला मुन्तिरको नार गाउँका जनतालाई २५ बर्ष अघि खिचिएका उनीहरुका तस्बिर देखाउदा उनीहरुले दिएको प्रतिक्रिया चाख लाग्दो भयो । त्यस्तै ठूलो स्याब्रुमा लसुनको झोल पिएपछि मिलेको तागतले गोसाईकुन्डमाथिको भन्ज्याङ् (पास) तर्न सजिलो भएको थियो । त्यो पासबाट देखिने ताल क्षीतिजसम्मै पुगेका छन् जस्तो लाग्ने थुम्काहरुको दृश्यले थाई विमान ठोक्किएको घोप्टेभिर हुदै ओर्लिदा मिलेको शारिरिक दुखलाई महसुसै गर्न दिएनन् । उता किमाथाङ्का पुगेपछि सानो काठे मितेरी पुलको चीनिया पट्टीको भागमा ‘भेटघाट गर्न’ आएका चिनीया सैनिकहरुले दिएको कोसेली (शक्तिवद्र्धक विस्कुट) र किमाथाङ्का गाउका दुईजना दाजूभाईकी साझा पत्नी रिसे च्यावाले दिएको चौरीको दुधको स्वाद पछिसम्म मुखमा रहिरह्यो । (रिसे र उनका दुई पति र छ सन्तानको तस्बिर त्यतिबेलै ‘नेपाल’ पत्रिकामा प्रकाशित भएकै हो ।) हेर्ने भए यो लिङ्कमा गए हुन्छ ।

जादाजादै ती भट्टेडाडा, ललितपुरका थापा दाजूबारे थप केही लेखिहालूँ । उनी चाहि त्यो विहान कामैले यात्रामा थिए । गाउँको एउटा प्राथमिक स्कुलमा निर्वाचन आयोगले मतदाता परिचय पत्र बनाउन गाउलेहरूको तस्बिर खिचिरहेको थियो र उनी त्यही भोटर आईडी कार्ड बनाउन हिडेका थिए ।

यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s