दिनेश वाग्ले/सुरज कुँवर
यो लेख पहिलोपटक आज शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

किउल (सिन्धुपाल्चोक)– हालैको घमाइलो दिन मेलम्ची आयोजनाले बनाइदिएको धुले सडकमा हेलम्बुलाई लक्ष्य गर्दै टिम्बुतिर हान्निएका दुई तन्नेरी संवाददातासामु एक हूल युवती देखापरेका थिए । झ्याप्प दाह्री पालेका एक र सिनित्तै काटेका अर्का पत्रकारले तत्कालै झिलिमिली पोसाकमा सजिएका र दसैंको माहोलमा रमेका ती युवतीको मन चोर्न चाहेका थिए । ‘कतातिर दौडिएका हो बहिनीहरू ?’ लटरम्म फलेका स्याउ र त्यस्तै गाला भएका सोल्टिनीहरूको कल्पना गर्दै उकालिएका संवाददाताले बाटैमा अन्तर्वार्ता गर्न थालेका थिए- ‘बिस्तारै हिँडौं न, हामी पनि उतै जाने हो ।’
‘सांस्कृतिक कार्यक्रममा,’ एउटीले नरोकिईकन जबाफ दिइन्- ‘सुरु भइसक्यो ।’
‘त्यसो भए हामी पनि त्यतै जाने,’ मूल गन्तव्य बिर्सिएका संवाददाताले भने- ‘बहिनीहरू कुन (उच्च माध्यमिक) स्कुलमा पढ्ने ?’
‘हामी घाँस काट्ने केटी हौं हो दाइ,’ अर्कीले भनिन्- ‘स्कुल पढ्दैनौं ।’
‘कति राम्रा घाँस काट्ने केटी हौ यो गाउँमा !’ संवदादाताले त्यति भन्दा केटीहरूबाट एकैपटक हाँसोको फोहोरा छुट्यो जसको प्रतिध्वनि मेलम्ची खोलापारिको पहराबाट आयो । रंगीचंगी कुर्ता-सुरुवाल लगाएका र सलले ज्यान बाँधेका केटीहरूको त्यो समूहमा एउटीले सेतो टिसर्ट र नीलो जिन्स लगाएकी थिइन् । हातमा फ्रेन्डसिप ब्यान्ड बाँधेकी थिइन्, कपाल रंगाएकी थिइन् र अलि ठूलो ज्यान भएकीले होला, सबैभन्दा पछि लम्किइरहेकी थिइन् । उनी हुन् सरस्वती लामा जसलाई घरमा माया गरेर ‘माया’ भनी बोलाइन्छ । उमेर २१, शिक्षा एसएलसी जो दुई पटकको लगनशील प्रयासमा पनि पूरा हुन सकेन । बिहे भएको छैन तर अरूका बच्चा खेलाएको अनुभव छ, पैसा उतिसारो कमाउने उनी होइनन् तर अन्तर्राष्ट्रिय उडान गरेकी छन् । अहिले उनी दौडिइरहेको स्थान समेट्ने गाविस किउलमा (नजिकैको) लामाटोलकी यी बासिन्दाका आँखामा आफूले गरेको संघर्ष देख्न सकिन्छ । (धेरै…)