धेरैपछि फेरी एक पटक दिल्लीको गर्मीमा अाफैसँग सिकसिको लाग्नेगरी पसिनाले फतक्कै भिजेको डेढ दिन के भएको थियो मलाई काठमान्डूका कतिपय कुराहरू खड्किन थालेका थिए ।
१४ सय मिटरमा अवस्थित उपत्यकाको प्रशंसा गरेर नथाकिने मुख्य कुरा यहाँको मौसम हो जस्तो लाग्छ मलाई । सजिलै पुगिने र चढ्न सकिने वरिपरीका हरिया डाँडाहरूलाई पनि म यो ठाउँको सवल पक्ष मान्छु । काठमान्डू खाल्डो घेर्ने पहाडहरूको महत्व मेरालागि अाफू कहाँ छु भनि ठम्याउने कुरासँग पनि जोडिएको छ । पहाडमा पलाएका अनि हुर्केकाहरू सबैलाई यस्तै हुन्छ कि मैलाई मात्र हो मैले खुट्याइसकेको छैन । दक्षिण बग्ने लिखु खोलाको दाईने किनारबाट उम्रिएर पश्चिमतर अडेस लागेको रामेछापेली पाखोमा जन्मे-हुर्केको मेरालागि म कुन उचाईंमा या ठ्याक्कै कहाँ छु भन्ने ठम्याउन सबैभन्दा महत्वपूर्ण सन्दर्भ विन्दु हुन्थ्यो, लिखुको द्रेब्रेकिनारबाट अग्लिएर पूर्वतिर लमतन्न फैलिएको अोखलढुङ्गे पाखोको टुप्पो । पूर्वतिर फर्केको घरको अाँगनमा उभिएर त्यो अोखलढुङ्गे भिरालोमा अाँखा सार्दै टुप्पैसम्म पुर्याएर त्यो पानीढलो पछ्याउदै उत्तर बढ्दा पुगिने हिमालमै पुगेर ठोक्किएपछि मात्रै म निश्चित हुन्थे अाफ्नो अवस्थितिप्रति । काठमान्डूमा पनि पहाडी टुप्पाहरूले मलाई “ए, म यहाँनिर छु है” भनि खुट्याउन साह्रै सघाउँछन् ।
पहाडहरूसँगको सामीप्य त्यस्तो बानी परिसकेको छ ।
जब म पहाड नदेखिने ठाउँमा पुग्छु मलाई अाफू ठ्याक्कै कहाँनिर छु भनि पत्तालगाउन कठिन हुन्छ । त्यस्तो बेला अाकाश अलि धुम्म परेको छ भने त उकुसमुकुस हुन बेरलाग्दैन । कुनैबेला म दिल्लीको अस्थायी बासिन्दा हुँदा पनि मलाई पहाडहरूको अभाव खड्केको थियो । घरैमात्र देखिन्छन् जहीं पनि । त्यो पनि सम्झनलायक अाकार, व्यक्तित्व र उचाई भएका त झन् पटक्कै हैनन् ।
हो, फोन खोलेर गुगल नक्सामा अमेरिकाले संसारलाई सित्तैमा उपलब्ध गराईरहेको पृथ्वीमा अाफ्नो भौगोलिक/शारीरिक स्थान पहिल्याउने प्रणाली (ग्लोवल पोजिसनिङ् सिस्टम/जीपीएस) मार्फत अाफू कहाँ उभिएको ठम्याउन नसकिने हैन । केही महिना अघि काठमान्डूबाट नेपालका केही ठाउँहरूमा हेलिकप्टरबाट दौडादौड गर्दा मैले फोनकै जीपीएस अनि गुगल नक्साको संयोजनले अाफू अहिले ठ्याक्कै कुन पहाड माथि छु भनि ठम्याउँदा एकखाले रोमाञ्च महशुस नभएको हैन । तैपनि नाङ्गा अाँखाले पहाडको टुप्पो हेरेर अाफूलाई पहिल्याउन बानी परेको र रमाउने मनलाई जीपीएसले पूर्ण सन्तुष्टि नदिंदो रैछ । प्रविधीका कयौं पक्षहरूसँग जीवनले पूर्णरूपेण सहजता महशुस गर्न समय लाग्दो रहेछ । Continue reading