त्यो दसैंमा…

the happy kids of dadeldhura dashain day
कति राम्रो पोज केटाहरूको । डडेल्धुरा । दसै‌ २०१०

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । 

 ठ्याक्कै दस वर्षअघि सन् २००१ को दसैंमा म पूर्वी नेपालको संखुवासभामा थिएँ । लक्ष्य थियो, नेपालको सबैभन्दा सानो गाउँ, चीनसँगको सिमानाको, किमाथाङ्का । दशमीमा सदरमुकाम खाँदबारीमा क्याम्पसका सहपाठी र पत्रकारितामा सहकर्मी किरण चापागाईंका बाबुआमाबाट टीका लगाएपछि (‘छोरो आएन, बाबुलाई टीका लाइदिँदा खुसी लाग्यो,’ दम्पतीले भनेका थिए) लगातार ६ दिन हिँडेर म सिमानामा पुगेको थिएँ । मैत्री पुलभन्दा अलि माथिको एउटा सानो घरमा त्यो साँझ दुई जना दाजुभाइ छिन्डुम नावा र रिन्जिन नावाकी साझा पत्नी रिसे च्यावाले सहयात्री पत्रकार श्याम निरौला र मलाई सम्मानपूर्वक दिएको एक/एक गिलास चौंरीको दूधको स्वाद अझै बिर्सन सकेको छैन । अनि रिसेको त्यो उत्तर पनि । अझ भनौं प्रश्नहरू ।

‘किन चाहियो ?’ केहीन्जेल अघिसम्म हल्का लजाउँदै गफिएकी रिसेले थोरै मात्रै नेपाली शब्दहरू मिसिएको तिब्बती बोलीमा भनेकी थिइन्, ‘त्यस्तो सोध्ने तपाईं आफूलाई को ठान्नुहुन्छ ?’

त्यो यात्राबाट फर्केपछि नेपाल म्यागेजिनमा मैले त्यो परिवारबारे एउटा टुक्रा लेखे जसको एउटा अंश–
बहुपति प्रथा भएको परिवारमा दुई भाइमध्ये दाजुचाहिँ परिवारका मूली हुन्छन् । जैविक बाबु भाइ नै भए पनि ‘आधिकारिक’ पिताचाहिँ दाजु नै हुन्छन् । जस्तो, नागरिकतामा साझा पत्नीका छोराछोरीका ‘बाबु’ भनि दाजुकै नाम उल्लेख गरिन्छ । घर र जग्गा पनि उनकै नाममा दर्ता हुन्छन् । गाविसको वडा नम्बर ६ का अध्यक्ष कामी नावाले भने– ‘दाजुभाइले छुट्टिन चाहे कुन बच्चा कुन बाबुका हुन् भनी आमाले निर्णय गर्छिन् ।’एउटा सिकारु र बढी नै उत्साहित रिपोर्टरका रूपमा मैले रिसेलाई ‘छुट्टयाउने’ प्रसंग निस्कँदा ‘ठ्याक्कै कसरी छुट्टयाउनु हुन्छ ?’ भनी सोधेको थिएँ जसले सामान्यत: लज्जालु शेर्पिनीलाई उत्तेजित तुल्याएको थियो ।

‘अहिले हामी मिलेर बसेका छौं,’ कपालमा ज्यास्मिन फुल सिउरेकी उनले भनेकी थिइन्, ‘छुट्टिने आवश्यकता छैन ।’

परिवारमा फुट ल्याउनु मेरो पनि कहाँ उद्देश्य थियो र ? यात्रा अझै आधा बाँकी थियो ।

एउटा प्रश्न सोधुँ ? कहाँ हुनुहुन्थ्यो तपाईं त्यो दसैंमा ? ‘त्यो’ भन्नाले सन् २००१ कै हुनुपर्छ भन्ने छैन । पक्कै, तपाईंले थुप्रै दसैं देख्नुभएको छ, मनाउनु भएको पनि होला । या, नमनाए पनि त्यो पर्व या अवसरलाई एउटा ‘मापक’ बनाउँदा तपाईंको जवाफ के हुन्छ ? जस्तो, गए वर्षको दसैंमा म (संखुवासभाभन्दा ठ्याक्कै उल्टो) सुदूरपश्चिम नेपालको (अर्को) सीमावर्ती जिल्ला बैतडी र डडेल्धुरामा थिएँ । डडेल्धुरामा त्यो मेरो दोस्रो यात्रा थियो– लगभग १२ वर्षपछि । टीकाको दिन गाडी ठ्याप्पै नचल्दा म डडेल्धुरे सदरमुकाममै अल्मलिएको थिएँ, झन्डै भोकै । अघिल्लो साँझ डाँडामा उभिएर मैले मेरो वेबसाइटमा यस्तो लेखेको थिएँ–

पहिलो यात्रामा देखेभन्दा बढी सुन्दर देखिन्छ यो डडेल्धुरा । तुफान डाँडाभन्दा मुनिको घना जंगल र त्योभन्दा निकै पर हिउँले लेपिएका पहाड देख्दा तिनले ‘आइज’ भनि बोलाइरहे जस्तो लाग्छ । मैले यी हरफहरू टाइप गरिरहँदा आजको दिनका अन्तिम सूर्यकिरणहरूलाई थुप्रै पहाडहरूले महसुस गरिरहेका छन् । समय कस्तो बदलिए छ । (पहिलो यात्रामा) यो डाँडोमा मोबाइल फोन सञ्जाल थिएन, दिक्कै लाग्दो गरी ढिलै सही तर (मोबाइल फोनहरूमा इन्टरनेट प्रयोग गरिने प्रविधि) जीपीआरएसको कुरै छाडौं । यो बस्ती यतिबेला हावा चल्दा धुलाम्मे हुन्थ्यो किनकि बजारमा सडक पिच गरिएको थिएन । आज बस्ती उल्लासमय (मुढमा) र शान्त छ, बजारमा निकै कम मानिसहरू छन् । थुप्रै होटलहरू बन्द छन्, भाग्यै भनुम् एउटाले मलाई छिर्न दियो यद्यपि त्यहाँकाले ‘सुत्ने ठाउँ छ, खाना चाहिँ पकाइँदैन’ भने । कोठा राम्रो छ, जोडिएकै बाथरुम, दुईवटा खाटहरू, ठूला बाक्ला सिरक र, (सबैभन्दा महत्त्वपूर्ण कुरा, झ्यालबाहिर चियाउँदा) रोमाञ्चक दृश्य ।’

भोलिपल्ट निधारभरि टीका लगाएका र खुसियालीले पूर्ण केटाकेटीहरूका तस्बिर खिच्दै बिताएपछि (केटाकेटीले कस्तो गज्जबको पोज दिएका क्यामेरालाई !) पर्सिपल्ट म बल्लबल्ल पाइएको जिपमा कोच्चिएको थिएँ । त्यो प्रख्यात घनघस्याको उकालो छिचोल्दै दौडिने सडकबाट बैतडी हुँदै झुलाघाटको पुल तरेपछि भारत पसेको थिएँ म, दिल्लीलाई लक्ष्य बनाउँदै ।

संयोग नै मान्नुपर्छ, त्योभन्दा अघिल्लो वर्ष (सन् २००९) को दसैंमा चाहिँ म ठ्याक्कै उल्टो नेपालको सुदूर पूर्वी सिमानाको मेची पुल तरेर कुनै बेलाको स्वतन्त्र मुलुक तर अहिले भारतीय राज्य सिक्किम पुगेको थिएँ । त्यसैले के अनौठो भयो र अघिल्लो साता सिक्किम नजिकै तर नेपाली सीमापट्टि कञ्चनजंगा हिमालमुनि केन्द्रविन्दु बनाएर काठमान्डुलाई समेत थर्काउने गरी भुइँचालो जाँदा मैले त्यहाँका सुन्दर डाँडाका घरहरू सम्झिँदा । भिरालैमा झुरुप्पै बनेका बहुतल्ले घरहरूमध्ये कतिपय ध्वस्त भएको दृश्य तस्बिरहरूमा देख्दा ‘ओ हो’ भन्दै मेरो चित्त अल्ली बढी दुख्नुमा पनि कारण छ । नगएको भए त्यो ठाउँप्रतिको ममा उत्पन्न हुने सहानुभूति जाँदा भन्दाको तुलनामा अल्ली कम हुँदो हो । हैन र ?

अँ साँची, अस्तिको भूकम्प जाँदा तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो ? मापक भनेको यही न हो । कतिपय घटना, पर्व या अवसरहरू– मनै नपरे पनि– सामान्य भन्दा फरक भए भने अविस्मरणीय बन्छन् । रामबाबु नेपालले फेसबुकमा लेखेका छन्– ‘जीवनमा पहिलो पटक महसुस गरेको यति ठूलो कम्पन । दराज हल्लियो । सडकमा निस्केको ओहो बिजुलीको पोल कस्तो जोडले हल्लिराथ्यो । खुला ठाउँमा भाग्न खोजेको कहाँ पाउनु र काठमान्डुमा अनि ढोकाको ठेलामा भगवान्को नाम जप्दै एक मिनेट कटाइयो ।’

‘त्यो हुँदा कहाँ हुनुहुन्थ्यो ?’ भन्ने प्रश्न पनि खासमा ‘त्यो दसैं मा कहाँ हुनुहुन्थ्यो ?’ जस्तै हो ।

मान्छेलाई कत्रो रहर हुन्छ है ‘त्यो हुँदा या त्यो बेला’ आफू कहाँ के गर्दै थिएँ भनेर साथीभाइ, चिनाजानका (र, मेरा सन्दर्भमा, तपाईंजस्ता थुप्रै नचिनेकालाई पनि) ठूल्ठूलो स्वरमा अरूलाई बोल्नै नदिई बताउने । फरक यत्ति हो, हामीमध्ये थुप्रैले उत्तेजित हुँदै दुई चार जनाबीचको गफमा या केहीले अचेल फेसबुकका भित्तामा (या, अहिले मैले गरेझैं) थोरैले पत्रिकाका पन्नामा पनि ती अनुभव बाँड्छौं । सेप्टेम्बर ११ को त्यो दु:खदायी घटनाका क्रममा ‘कहाँ के गर्दै थिए ?’ को उत्तर अमेरिकीहरू र विश्वका थुप्रै नागरिकले अहिले पनि बाँडिरहेका छन् । अहिलेलाई दसैंमै फर्कुं । २००८ को दसैं ।

त्यो दसैंमा म भारतका गोवा र केरलाका समुद्री किनारहरूमा डुल्दा थाकेको ज्यानलाई मुम्बईको एउटा होटलमा आराम दिलाई रहेको थिएँ । मुम्बईमा दसैंको खासै चहलपहल हुँदैन । कोलकातामा दुर्गा पूजाका नाममा धुमधामले दसैं मनाइन्छ । तर गणेश चौथी या त्यस्तै अन्य पर्व भव्य मनाइने मुम्बईमा दसैं (या उनीहरूले भन्ने दसेहरा) को टीकाको दिन त्यस्तो केही धमाका भएको मैले पाइन । पहिलोपटक मुम्बई जानेहरूलाई त्यो सहर भयानक र भव्य लाग्छ (त्यो मेरो पहिलो थियो र त्यसपछि दुईपटक त्यहाँ पुगेको छु) । औपनिवेशिककालको झल्को दिन पुराना भवनहरू, काठमान्डुको तुलनामा फराकिला सडक र समुद्रसँगको त्यो सहरको सामीप्यताले एकदुई दिन चकितै खाइन्छ । अनि त्यो थामिनसक्नुको भीडको के कुरा गर्नु ? मरिन ड्राइभ भनिने समुद्री किनारको सिमेन्टको पर्खालमा पानीतिर खुट्टा झुन्ड्याएर र बाँकी मानव सभ्यतालाई ढाड फर्काएर एकअर्कालाई अँगालो मारेर बसेका जोडीहरूको बखान दुई चार शब्दमा कसले गर्न सक्छ ? अनि बलिउडप्रति अलिकति पनि चासो हुनेहरूलाई ‘हिरो हिरोइनका घर खुट्याउनु, ‘ओहो, अभिताभ ह्याँ, सलमान त्याँ, शाहरुख ह्वा’ भन्दै उत्तेजनाका औंलाहरू तेस्र्याउनु पनि कम्ती रोचक हुँदैन । सेलिब्रिटीहरूमा खासै चासो नभएकाले अभिताभ र अन्य सेलिब्रिटीको घर नजिकैको जुहुबीच पुग्दा पनि उत्तेजनाको साटो ‘कस्तो फोहोर’ भन्न मन लागेकै हो ।

सबैभन्दा सफा त जसले जे भने पनि नेपाली पहाडहरू नै हुन् । २००७ को दसैं त्यस्तै सुन्दर पहाडहरूमध्येको एक हेलम्बुमा बितेको थियो । अष्टमीका दिन सहकर्मी सुरज कुँवर र म स्याउहरूको कल्पना गर्दै बनेपा पुगेपछि बसको छतमा चढेका थियौं, कुन्ताबेसी पुगिने पक्का थियो । दशमीमा हामी तार्के घ्याङ पुग्यौं जहाँ सुन्दर गुम्बामा ‘दसैं समारोह’ भइरहेको थियो– बुद्धको पद्मसम्भव मूर्ति वर्षमा त्यही दिन मात्रै गुम्बाबाट निकालेर बाहिर बाजागाजाबीच घुमाइने कुरा हामीलाई प्रमुख लामाले बताए । उक्त समारोहलाई त्यहाँका मुख्य लामाले बौद्धमार्गी र हिन्दुहरूबीचको सौहार्दताको एउटा उदाहरण भएको हामीलाई बताए । फर्केपछि कान्तिपुरमा हामीले ‘पदयात्राका पात्रहरू’ शीर्षकको एउटा लेखमा त्यो गुम्बाको त्यो सुन्दर क्षणबारे पनि उल्लेख गर्‍यौं । केही मान्छे त्यसबाट साह्रै बेखुसी भए, उनीहरूले ‘बाहुन, क्षेत्री मिलेर बौद्ध गुम्बामा हिन्दु पर्व मनाइन्छ भनी लेखेर बाहुनवाद लाद्न खोजेको’ तर्क गरे । तर न्युयोर्कमा रहेका त्यही गाउँका केही बासिन्दाले चाहिँ त्यो लेखेकोमा र पर्वको भिडियो खिचेर यूट्युबमा राखी दिएकोमा हामीलाई धन्यवाद पनि दिए । धर्ममा राजनीति मिसाउनेलाई बेवास्ता गर्न पनि उनीहरूले न्युयोर्कबाट पठाएका इमेलहरूमा सल्लाह दिए ।

हिन्दुहरूको बाहुल्य भएको नेपालमा दसैं परम्परागत रूपमा पारिवारिक तथा सामाजिक मिलनको एउटा महत्त्वपूर्ण अवसर बनेको छ । अनि कतिपयका लागि यो पर्व नयाँ ठाउँ घुम्ने र देश चिन्ने मौका पनि भएको छ । यात्राहरू पनि सामाजिक अन्तरक्रियाका महत्त्वपूर्ण पाटा हुन् । दसैंमै त होइन तर २००७ को अघिको बर्खामा भर्खरै खुलेको र पूर्ण रूपमा बस चलिनसकेको कर्णाली राजमार्गको यात्रा गरेको थिएँ । सदरमुकाम मुनि र तिला खोला मास्तिरको मान्म गाउँको धुले सडक छेवैमा पसल गरेर बसेका भरतबहादुर शाहीले भनेको कुरा कहिल्यै विर्सन्न– ‘जब हाम्रा घरहरू अगाडि गाडीहरू दौडिन थाले हाम्रा लागि अवसरका ढोकाहरू खुले ।’ हालैका वर्षमा खुलेका सडक र तिनमा दौडिने गाडीले स्थानीयलाई अवसरका ढोका खोल्नुबाहेक घुमन्तेको यात्रालाई कति सजिलो बनाइदिएका छन् वर्णनगरी साध्य छैन ।

त्यसैले, अर्को प्रश्न सोध्छु, यो दसैंमा तपाईं कुन गाडी पक्रिँदै हुनुहुन्छ ?

(मेरो यात्राबारे जान्ने चाहना भए facebook.com/dwagle । यो लेखमा परेका प्रसंगका सूची– http://wp.me/pjyem-1pm)

यो लेख आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो ।

One thought on “त्यो दसैंमा…

  1. nepal ka parti haru ma kina jhagada hunchha vanne prashna ko uttar teti garo chhaina. khasma uniharu rajnitik prani nai hoinan, byapari hun sabai, tyo pani footpathe byapari. ani nafa badine darle jhagada gari rahanchhan. sanjogle rajnitima lageko iniharuma neta ko gun ta sukko pani chhaina. rajnitik siddhanta ta uniharu ko bigyapan garne sabda matra ho.

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s